चिसो चुल्होबाट नेतालाई चिठ्ठी

-विजयमणी पौडेल-
नेताज्यू,
तिमी सत्ताको शिखरमा छौ, म देशको पुछारमा छु । तिमी बालुवाटार र सिंहदरवारमा छौ, म झुप्रोमा छु । तिमी टाँडमा छौ, म आँगनमा छु । अब पुछारमा पलाएको आगोको प्वाँखको कुरा सुन्ने साहस गर । तिमीले आफुलाई सम्मानित स्थानमा उभ्याउँनुपर्थ्यो । तर, तिमीले आफ्नै महत्व बुझेनौ । आफुले आफ्नै अपमान गर्‍यौ । आफुलाई एउटा बुख्याँचा बनायौ । आज निर्लज्ज भएर सत्ताको टुप्पोमा विराजमान छौ ।

तिमीले बिर्सीयौ, तिमी जनताका नेता थियौ । आज तिमी जनताका नेता रहेनौं । तिमीले बर्लिनलाई बुझेनौ । भोल्कालाई बुझेनौ । कोसी र कर्णालीलाई बुझेनौ । परिवर्तनको भेललाई बुझेनौ । जनताको सपनालाई बुझेनौ । गणतन्त्रको मर्म बुझेनौ ।

संविधानसभा तिम्री आमा हुन् । तर, तिमीले आफ्नै आमाको अपमान गर्‍यौ । आफुलाई फाइफुट्टे चल्लो घोषित गर्‍यौ । संविधानसभाको लागि ज्यान अर्पण गर्ने शहिदहरुको खिल्ली उडायौ । नयाँ संविधानको आशामा बसेका जनताको सपनामाथि तुषारापात गर्‍यौ । सायद तिम्रा लागि गणतन्त्र, धर्मनिरपेक्षता र संघियता पनि फाल्तु कुरा हुन् ।

तिमीले सत्तालाई सर्वस्व ठानेका छौ । सत्ताको लागि जनताको अपमान गरेका छौ । जनआन्दोलनको सफलताले सत्तामा चढ्ने तिम्रो काकाकुल सपना पुरा भयो । जनताले आफ्ना घरआँगनबाट तिमीलाई आशाले हेरेका थिए । तर तिमीले जनतालाई जिस्काउँने पाङ्दुरे नाटक मञ्चन गर्‍यौ । लोकतन्त्रको घण्टा बजाएर तिमीले श्वेत अधिनायकवाद खडा गर्‍यौ । तिमी जस्ता थियौ, त्यस्तै छौ । जहाँ थियौ, त्यही छौ । यति बद्लिएको छ, तिमी पातला थियौ, आज ज्यानमा बोसो लाग्न थालेको छ । तिमी सत्ताहिन थियौ, आज सत्तासिन भएका छौ । देश र परदेश बद्लिएको छ, तर तिमी पुरानै चरित्रमा छौ । तिम्रो सुर र स्वर बद्लिएको छैन । तिमीमा सत्ताको मोह थियो र अझै छ । तिम्रो बिरोधमा तिम्रा पुत्लाहरु जलिरहेका छन्, तर तिमी सत्ताको भतेरबाट फर्किएका छैनौ ।

हामीले कोही महान् नेता पाउँदैनौ ? हामीले पढेको इतिहासका वीरताका गाथा सबै झुटा हुन् ? भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवर सबै भ्रम हुन् ? धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठ देशका लागि बलि चढेका होइनन् ? मण्डेला, गान्धी र माक्र्स सबै कथाका काल्पनिक पात्रहरुमात्र हुन् ?

नेपाल र विश्वको इतिहास नभुल । सत्ताका भुक्तभोगीहरु कोही पनि महान् भएका छैनन् । महान बन्न त्याग्न सक्नुपर्छ । वीरहरु आफ्नो ख्याल गर्दैनन्, देशको माया गर्छन् । सत्ताले तिमीलाई दौरा, सुरुवाल र कुर्सी दिएको छ । तर तिमीले देशलाई रगत दिएका छौ । तिमी सत्ता होइन, देशलाई बचाउ । फर्केर हेर, आन्दोलनमा होमिदा तिम्रा सपना कस्तो थियो ? भुमिगत छँदा तिम्रो लक्ष्य के थियो ? अनि आज तिमी कस्ता भएका छौ ?

तिमीले बिर्सीयौ, तिमी जनताका नेता थियौ । आज तिमी जनताका नेता रहेनौं । तिमीले बर्लिनलाई बुझेनौ । भोल्कालाई बुझेनौ । कोसी र कर्णालीलाई बुझेनौ । परिवर्तनको भेललाई बुझेनौ । जनताको सपनालाई बुझेनौ । गणतन्त्रको मर्म बुझेनौ ।

हामी भुपि शेरचनले भने झै बुद्धु भएर वीर भएका हौ । हामी धेरै चोटी लड्यौ । धेरै रगत बगायौं । आजसम्म आफ्नो लक्ष्य पुगेका छैनौं । हामीले जंगबहादुरको शासन भत्कायौं । पञ्चायतमाथि हमला गरेर जित्यौ । राजतन्त्र पनि पाखा लागिसक्यो । अद्यपी सुन्दर, शान्त नेपालको हाम्रो सपना सपनामै सिमित छ । हामीसँगै प्रजातन्त्र पाएका मुलुकहरु कहाँ कहाँ पुगिसके । ती अन्तरिक्षमा पुगे । अरु ग्रह, उपग्रह चाहार्दै छन् । नयाँ नयाँ आविश्कार र अन्वेषणका कथा लेख्दैछन् । हामी भने पुरानै डुंगामा छौ ।

अझै उस्तै छन् नेपालीका पिडाहरु । अझै हटेका छैनन् अछामका छाउपडीका गोठहरु । अझै मुक्त भएका छैनन् कमैयाहरु, कमलरी र बादीहरु । अझै चिसा छन् अँगेना र ओदानहरु । अझै कस्सिएका छैनन् जिर्ण पुलहरु । अझै टालिएका छैनन् भत्केका भित्ताहरु । अझै भरिएका छैनन् भोकले अमिलिएका रित्ता पेटहरु । बरु मेटिदैछन् हाम्रा दशगजाहरु । कति हेर्नु हामीले भोका र नांगा आङहरु ? कसरी हेर्नु गरिबीले किचिएका लास र चित्ताहरु ? कसरी हेर्नु बिजुलीका खम्बा मुनि अध्यारा झुपडीहरु ?

जोसँग परिवर्तनको उभारलाई नेतृत्व गर्ने ल्याकत छैन, नेपथ्यमा जाउ ।
तिम्रा निमुखा जनता

3 Comments

  1. nepali citizen says:

    A lamentation by poor nepali citizen.

  2. Abinash says:

    हामी भुपि शेरचनले भने झै बुद्धु भएर वीर भएका हौ । हामी धेरै चोटी लड्यौ । धेरै रगत बगायौं । आजसम्म आफ्नो लक्ष्य पुगेका छैनौं । हामीले जंगबहादुरको शासन भत्कायौं । पञ्चायतमाथि हमला गरेर जित्यौ । राजतन्त्र पनि पाखा लागिसक्यो । अद्यपी सुन्दर, शान्त नेपालको हाम्रो सपना सपनामै सिमित छ । Liked

  3. गीता says:

    जति कराए पनि नेताले सुन्ने होइनन् ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)