लेखक बन्नका लागि पहिलो शर्त हो, लेख्नु । दोस्रो शर्त हो, लेखिरहनु ।

लेख्नु भनेको के ? शब्दहरुको भण्डारण वा आफुले बुझ्ने भावको संगालो ? थाहा भएन । तर आज एउटा असाइन्मेन्ट छ, साथीहरुलाई केहि लेखेर सुनाउँनु छ, जसमा ३०० शब्दहरु जसरी पनि लेख्नु छ । नत्र क्याफेमा खाएका आधा दर्जन भन्दा बढि अमेरिकानोको बिल मैले तिर्नु पर्छ ।

असाइन्मेन्ट किन छ ? किनकी मैले जेम्स क्लियरको एटोमिक ह्याविट पढेको छु र त्यसले कति दिनलाई हो थाहा छैन तर अहिले मलाई आफ्नो लक्ष्य छान्न र लक्ष्यसम्म पुग्ने बाटोमा अल्छि नगरी अलिअलि गर्दै अगाडी बढ्न घच्घच्याएको छ । मलाई लेखक बन्नुछ । लेखक बन्नका लागि पहिलो शर्त हो, लेख्नु । दोस्रो शर्त हो, लेखिरहनु ।

पुस्तकमा जेम्स क्लियर भन्छन्, ‘सफलताका लागि सबै भन्दा ठुलो चुनौति असफलता होइन, आलश्यता वा दिक्दारी हो । यसलाई कुनै पनि हालतमा तह लगाउनै पर्छ ।’ उनै जेम्स क्लियरले सोही किताबमा एउटा जुक्ति सुझाएका छन् । उनी लेख्छन्, ‘कुनै बानी बसाउनका लागि कसैसँग एउटा सम्झौता गर । हरेक दिन वा कुनै समयावधीमा कुनै काम गरिसक्ने नत्र जरिवाना बुझाउने नियम बनाउ ।’ हामीले जेम्सलाई मानेका हौँ ।

लेख्ने बिषय के ? जे पनि हुन सक्छ । जे पनि हुन सक्नु भनेको केहि पनि नहुनु हो । यहि प्रसंगमा हरेक दिन लेख् भनेर कसैले जिन्दगीभर पुग्ने दिनदिनैको सूचि दिने थियो भने बरु सजिलो हुन्थ्यो । जे पनि लेख्न पाइने भए पछि के पनि लेख्ने भन्ने छान्नमा ठुलो कसरत गर्नु पर्छ । म बालखैदेखि जे पनि वा जति पनिबाट आफुलाई चाहिने मात्रा छान्न कमजोर छु ।

यो मेरी हजुरआमाको आदेश जस्तो भयो । म सानै हुँदा उहाँ भन्नु हुन्थ्यो, “गएर गोडा पाँचेक खोर्सानी लिएर आ ।”

गोडा पाँचेक भनेको कति हो ? मैले कहिलै बुझिन । मैले पढेको अंकतालिकामा शुन्य हुन्थ्यो । एक हुन्थ्यो । दुई हुन्थ्यो । र हुँदै हुँदै मलाई जाँगर लागेसम्म संख्याहरु तन्किन्थे । तर यो गोडा पाँचेक कति हो ? थिएन । म मन लाग्दी खोर्सानी बोकेर फर्किन्थेँ । कहिले कम हुन्थे । र, कहिले बढि । संयोगले हजुरआमाले भने जति नै बराबरी भए हजुरआमा खुसी हुनुहुन्थ्यो ।

यो असाइन्मेन्ट म मेरा साथीहरुलाई जब सुनाउँछु, उनीहरुले मेरी हजुरआमा झै, भने जति ल्याएन भन्लान् कि ! भने भन्दा बढि ल्याएछ भन्लान् ? या संयोगले उनीहरुले सोचे झै केहि होला ?

जे होस् । केहि नहुनु भन्दा जे भए पनि राम्रो । तर फेरि उहि कुरा । जे हुनु भनेको भने जस्तै नहुनु पनि त होला ।

लेख्नुको लागि सबै भन्दा सजिलो आफ्नो बालापन फर्किनलाई हुन्छ । कोही मान्छे पक्का बाँचेको हुन्छ भने बालापनमा बाँचेको हुन्छ । बालापन सकिए पछि मान्छे बालापनको ह्याङओभरमा मात्रै बाँच्छ । त्यो कुरा अलग्गै हो कि ह्याङओभरको कुरा गर्नलाई ह्याङओभर पनि नहुने बुढेसकाल ठिक हुन सक्ला । अहिले उमेरको त्यो उकालो चढिसक्नु पुर्व बालापनकै कथा सहि छन् । सजिला छन् । जिउँदो छन् ।

म भर्खरै कखग सिक्दै थिएँ । भान्सामा खाना पकाउँदै गर्दा भुँइमा ममीले माटो फुटाएर धुलो बनाइदिनु हुन्थ्यो र त्यहि हुन्थ्यो मेरो ‘कालोपाटी’ । ममीले जे जान्नुहुन्थ्यो, त्यहि सिकाउनु हुन्थ्यो । उहाँलाई अरु जस्तै कपुरी क आउँथ्यो । अरु भन्दा फरक आँखे ख आउँथ्यो । मैले तोते बोलीमा कपली क र आँखे ख भन्न सिकेँ । लेख्न सिकेँ ।

एकदिन दाजुदिदीको पछि लागेर म ट्युसन पढ्न गएँ । नयाँ विद्यार्थी देखेर सर खुसी भए । म महिनाको नयाँ २० रुपैया थिएँ ।

उनले सुरुमै मायालु पारामा सोधे, “कख आउँछ ?”

मैले टाउको तलमाथि मात्रै हल्लाएँ । बोलिन ।

उनले अझै माया गरेर भने, “लु भन त ।”

“कपुली क ।” मैले यति भन्दा कक्षाका सबैजनाले मेरो तोतेबोलीमा लोभिएर सुने । कक्षा चकमन्न भयो । म फेरि बोलेँ, “आँखे ख ।”

कक्षामा एक्कासी हाँसो फैलियो । ति कसैले पनि आँखे ख सुनेका थिएनन् । खरायो ख सुनेका थिए । म लजाएँ । धकाएँ । परिणाम, म अर्को दिनदेखि ट्युसन गइन । सरको नयाँ २० रुपैया गोजीमा पस्नु अगाडि नै हरायो ।

मैले ट्युसन छोडे पनि कखग छोडिन । पछि बाह्रखरी सबै जानेँ । कबाट कलम बनाएँ । खबाट खरायो । त्यसपछि मलाई आँखे ख भनिराख्नै परेन । त्यसपछि मैले आँखे ख भन्छु कि खरायो ख भन्छु भनेर कसैले सोधेन ।

मैले अभ्यासका लागि लेख्दै गर्दा अरुले जस्तै खबाट खरायो नलेखुँला । अर्थोकै लेखुँला । तर कुनै दिन मैले के लेखेँ भन्ने कसैले ख्याल नगर्लान् वा यति ख्याल गर्लान् कि मैले लेखे भन्दा बढि बुझ्लान् र मलाई नै मेरो लेखको भाव बुझाउलान् ।

लेखाइको सजिवता त्यहि होला । लेखाइले पाउने विशालता त्यहि होला । जहाँ लेखक भन्दा पाठकले भावहरुलाई नयाँ क्षितिजसम्म धकेल्लान् ।

अहिलेलाई यति थाहा छ, आज एउटा असाइन्मेन्ट छ, साथीहरुलाई केहि लेखेर सुनाउँनु छ, जसमा ३०० शब्दहरु जसरी पनि लेख्नु छ । र, यसमा झन्डै दोब्बर शब्दहरु पुगिसकेका छन् । आधा दर्जन भन्दा बढि अमेरिकानोको खर्च बचेको छ । 😁😁

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)