पुरुष सबैभन्दा जोखिमपूर्ण ‘मानव प्रजाति’ बन्छ

म कक्षा ९ मा हुँदाको कुरा हो । ९ कक्षाको पहिलो त्रैमासिक परीक्षा सकिएको थियो । हामी नतिजा कुर्दै थियौं । अहिले त्रैमासिक, अर्धवार्षिक परीक्षाहरूको नतिजा कसरी विद्यार्थीको हात लगाइन्छ भन्ने बारेमा म जानकार छैन तर हामी स्कूलमा हुँदा विषयगत शिक्षकले आफ्नो घण्टीमा नम्बर सुनाउने गर्दथे ।

हरेक विषयका शिक्षक कक्षामा छिर्दा शिक्षकको हातमा फाइल छ कि छैन भन्ने हामी ध्यान दिन्थ्यौं । प्राय: शिक्षकहरू फाइल बोकेर शुरुमा नै नतिजा पढेर सुनाउँथे भने कसैले घण्टी सकिने बेलामा गोजीमा पट्याएर राखेको नतिजाको पाना पढ्न थाल्थे ।

म कक्षा ८ को जिल्लास्तरीय परीक्षामा कक्षा प्रथम भएर कक्षा ९ मा पुगेको थिएँ । मेरो रोल नम्बर १ थियो । यसैले नतिजा भन्न शुरु मेरै नामबाट हुन्थ्यो । रोल नम्बर एक, गणेश कार्की, यति । रोल नम्बर दुई, उमा लामिछाने, यति । रोल नम्बर ३ … ।

त्रैमासिक परीक्षाले कक्षा चढ्नमा उस्तो योगदान दिन्थेन । जम्मा २० नम्बरको त परीक्षा हुन्थ्यो । यसैले त्यो परीक्षालाई हामी खासै गम्भीरतापूर्वक लिंदैनथ्यौं तर नतिजाको रोमाञ्चकता भने त्यो परीक्षामा पनि हुन्थ्यो । कसले कति ल्यायो ? मेरो फलानो विषयमा कति आउला ? आदि आदि । ती जिज्ञासा र रोमाञ्चकता उमेरजन्य मात्रै हुन्थे भन्न सकिन्छ ।

त्रैमासिक परीक्षा मेरो राम्रै भएको थियो । नतिजा सुनाइएका सबै जसो विषयमा सबैभन्दा धेरै नम्बर मेरै आएको थियो । यो कुनै समाचार बनेन । समाचार लगभग अन्तिमतिर सुनाइएको विषयले बनायो । मलाई त्यो विषयमा उमाले २ नम्बरले जिति ।

तर समाचार मैले बनाएको थिइनँ

उमाले २ नम्बरले जितेर मलाई केही फरक परेको थिएन । परोस् पनि कसरी ? गणितको परीक्षामा एउटा हिसाबको उत्तर जुधाउँदा उसको र मेरो उत्तर फरक फरक आएको थियो । उसले मैले प्रश्न नै गलत बुझेको भनेर सम्झाई । प्रश्नको अर्थ यो हो र हल यसरी गर्ने भन्ने सिकाई । परीक्षा हलमा बसेका सरबाट जोगिएर सास दबेको स्वरमा उसले यो सबै सिकाएकी थिई । सरको नजरमा परेकी भए बेस्मारी गाली खाने थिई । त्यो हिसाब नमिलेको भए मेरो उसको भन्दा ३ नम्बर कम हुनेथियो । त्यस्तै, अर्को विषयमा उसले मलाई सोधेकी थिई । मैले जवाफ बताउँदै गर्दा सरको नजरमा परेको थिएँ र सरले गाली गर्दै भनेका थिए, ‘बरु लेखि नै देन ।’

‘अक्षर नै मिल्दैन सर ।’ मैले सानो स्वरमा यसो भनेको सुनेपछि मुठ्ठी पारेर गालामा सरले पुक्क हानेका थिए । उमासँग मेरो अक्षर वास्तवमै मिल्दैन थिए । ऊ राम्रा अक्षर लेख्थी । मेरा अक्षरहरू केही दिन पछि मैले नै पनि पढ्न गाह्रो हुन्थ्यो । उमा मभन्दा धेरै मिहिनेती थिई ।

बिहान सबेरै उठेर पढ्थी । म बजारमा दूध पुर्‍याउन जाने बेलामा जबरजस्ती उठाइन्थें । ऊ कहिल्यै पनि होमवर्क छुटाउदिन थिई । मैले स्कूले जीवनभरि पूरा होमवर्क गरेको दिन शायद गन्न सकिन्थ्यो ।

म परीक्षामा प्रथम कसरी हुन्छु भन्नेमा म आफू सबैभन्दा बढी आश्चर्यमा पर्थें । म भन्दा प्रथम हुनको हकदार ऊ थिई । यसैले उसले कुनै एक विषयको त्रैमासिकमा मलाई दुई नम्बरले जिती भन्दा मलाई केही अनौठो लागेको थिएन ।

तर सर कक्षाबाट बाहिर निस्किसक्दा थाहा पाएँ, त्यो ठूलो खबर हो । स्कूल सकिएर साथीहरूसँग खेलेर घर पुग्न अलिकति ढिला भएको थियो । म घर पुग्नु भन्दा पहिले उमाले मलाई २ नम्बरले एक विषयमा जितेको खबर पुगिसकेको रहेछ ।

‘अब तँ सकिइस्’, ‘फुर्केर बिग्रिइस्’, ‘एसएलसीमा कक्षा नौबाट झन् धेरै नम्बरको सोध्छ, एसएलसीमा गुल्टिने भइस्’ घरमा यस्ता धेरै कुराहरू भनिए । मलाई ती कुराहरूले असर गरेनन् । ‘एउटी केटीले जितिदिई तँलाई ।’ कसले हो यसो भन्दियो, अनि यसले मलाई घोच्यो । ‘साँच्चै, केटीले पो जिती । बेइज्जत पो भएको रहेछ मेरो त ।’ मलाई यस्तै लागेथ्यो । त्यसपछि मेरो ‘पुरुष अहम्’मा धक्का लागेको थियो, जुन ‘अहम्’का बारेमा मैले केहीबेर अगाडि मात्रै थाहा पाएको थिएँ । त्यो अनुभव शायद केही मिनेट मात्रै रह्यो तर केही मिनेट पनि निकै सघन भएर रह्यो ।

अहिले सोच्छु, त्यो केहीबेरको सघनता दर्दनाक थियो । मलाई हारको पीर थिएन । मलाई थाहा थियो, मलाई २ नम्बरले जित्ने मेरो साथी मभन्दा अब्बल छे । उसले जित्नु स्वाभाविक हुन्थ्यो । तर केटीसँग हार्ने भनेर मलाई उक्साउन खोजे ।

मैले पहिलो पटक पुरुष अहमको रक्षा गर्ने जिम्मेवारी मेरो दिमागमा थोपरिदिएको अनुभव गरें । यो प्रसंग पढिरहँदा महिलामाथिको चैं लैंगिक विभेद वा हिंसा भन्ने लाग्ला । तर यसमा महिलामाथि मात्रै विभेद वा हिंसा भएको हुन्न । यसमा महिलाले मात्रै भोग्नु पर्दैन । त्यो दिनको उक्साहटले उमालाई छोएन, उसले त थाहै पाइनँ । मलाई केही बेर भए पनि छोयो । नमीठो गरेर छोयो ।

समाजको आग्रहले पीडित

म अहिले बुझ्न सक्छु, मेरा घरकाले मलाई थप राम्रो पढोस्, मिहिनेत गरोस् भनेर ती सबै कुरा भनेका थिए तर त्यो तरिका सही थिएन । यो मेरो घरकाले मात्रै उब्जाएको सोच पनि थिएन । उनीहरूको सोचाइमा पनि समाजले हालिदिएको त हो ।

समाजको आग्रह छ कि पुरुषले जित्नै पर्छ । अझ पुरुषले महिलासँग त झन् हार्नै हुँदैन । पुरुषले महिलासँग हार्नु भनेको इज्जत जानु हो । महिला भन्दा कम अब्बल हुनु भनेको ‘फुर्केर बिग्रिनु’ हो । जित्नै पर्ने निर्मम प्रतिस्पर्धामा हालिएको छ पुरुषलाई । सानैदेखि । पुरुष र महिलाको भेद छुट्याउनै नसक्दादेखि । म पुरुष हुँ भन्ने थाहा नपाएकै उमेरदेखि ।

सानै उमेरमा केटी सहपाठीले पढाइमा जिते ‘केटीलाई नि जितिनस्’ भन्दै अनावश्यक हीनताबोध सहित प्रतिस्पर्धामा लगारिन्छ । ‘तँ पुरुष होस्, तैंले गर्नै पर्छ’ भनेर सानै काँधदेखि ठुला ठुला भारी बोकाइन्छ ।

आफ्ना सपना भन्दा धेरै परिवारका, समाजका र देशका सपनाहरू प्राथमिकतामा पार्न जोडबल गरिन्छ । पुरुषले संसार हाँकेका अर्धसत्य सुनाइन्छ । मानौं कि, यो जगत र सृष्टि केवल पुरुषको चालले मात्र गतिशील छ । मानौं कि, पुरुषले म पुरुष हुँ भन्ने बिर्सियो भने संसार टक्क अडिन्छ ।

पुरुष होस्, पुरुषले सक्नुपर्छ, सक्छस् भन्ने एकोहोरो रटानमा कतिखेर मान्छे भित्र अहम् छिर्छ, स्वयम् मान्छेले नै थाहा पाउँदैन । र, उ ‘पुरुष’ बन्छ । यसरी समाजले अनावश्यक रूपमा पुरुषलाई पुरुष हुनुको अहमताको भारी बोकाएको छ ।

आफ्नै अहमको पीडित

पुरुषको पहिलो पहिचान वा मानक नै वलिष्ठ भुजाहरू हुन् । घोडा चढेर आउने, सहन सक्ने र युद्धमा जित्ने मात्रै कसैको सपनाको राजकुमार हुनसक्ने कथा छ । राजकुमार हुन दुःखमा पिल्पिलाएर हुँदैन । आँशु बगाउने र कसैको दुःखमा समवेदना राख्नेहरू राजकुमार वा राजा हुन सक्दैनन् भन्ने स्थापित गराउन जोडबल गरियो ।

यस्ता संवेदना हुनेहरू राजकुमार छ भने सिद्धार्थ गौतम जस्तै दरबार छोड्छ । राजा छ भने ‘सम्राट अशोक’ ले जस्तै संन्यास लिन्छ । इतिहासका यी संयोगहरूलाई सिद्धान्त झैं बनाइयो । र भनियो, कसैको सपनाको राजकुमार मात्रै बन्नु छ भने पनि पुरुषत्वको घोडा नै चढ्नुपर्छ । ढाल झैं चौडा छाती नै हुनुपर्छ । नत्र इतिहासमा भावनाले भरिएका राजकुमारहरूले देश मज्जाले हाँकेका उदाहरण पनि त प्रशस्तै होलान् ।

एउटा पुरुषले कसैलाई प्रेम प्रस्ताव राख्यो, अस्वीकृत हुनुको पीडा भन्दा बढी ‘म पुरुष’लाई के ठान्लान् भन्ने संशयले बढी दुःख दिन्छ । आफूलाई थाम्न सक्नु वा नसक्नुको मापन नगरी उसैले परिवार पाल्ने र ‘संसार थाम्ने जिम्मा’ बोकाइएको छ ।

पुरुष हुनका लागि त्यसलाई भारी वा पीडा मान्नुहुन्न भन्ने समाजको आदेश हुन्छ । पीडा भयो र आँशु बग्यो भने ‘लोग्नेमान्छे भएर रुनुहुन्न’ भन्दै सामाजिक मान्यता अगाडि उभिन्छ ।

सामाजिक अवस्था र संरचना यस्तो बनाइएको छ कि पुरुषलाई पुरुष हुँ भन्ने अहमबाट निस्किन सहज छैन । अहिलेको समाजमा पनि पुरुष अहमबाट मुक्त हुनु पुरुषका लागि जोगी झैं गन्तव्यविहीन भएर भौंतारिनु हो, बुद्ध झैं घरबारविहीन हुन निस्किनु हो ।

यो अहमता पाल्न सबैभन्दा बढी शक्ति खर्च पुरुषकै हुने गर्छ । जे परोस्, जस्तो अवस्था आओस्, त्यो अहमता जोगाउनै पर्छ भन्ने भ्रम हालिएको छ दिमागमा । त्यो भ्रम दिमागका तन्तुसँगै बढेर हरेक स्नायुमा जोडिएका छन् । यो वा अर्को सन्दर्भमा ती देखिन्छन्, देखिन्छन् ।

इतिहासमा देखिन्छ, पुरुष अहमले विगतमा धेरै युद्धहरू भोगिएको छ । वर्तमानका धेरै घटनाहरूमा पनि देखिन्छ, पुरुषत्वको अहमताको भार जोगाउन, सिद्ध गर्न पुरुषहरू महिलामाथि पनि हिंस्रक हुन्छ । यसैको कारण बलात्कार, कुटपिट र एसिड आक्रमणहरू हुन्छन् ।

अहिलेका यस्ता आपराधिक घटनाहरू देखिरहँदा पुरुष अहमताको पीडित महिला मात्र हुन् जस्तो लाग्छ तर गहिरिएर हेर्ने हो भने पुरुष अहमताको सबैभन्दा बढी पीडित स्वयम् पुरुष हुन्छ । यो अहमताले उसलाई मान्छे हुन रोकिराख्छ ।

ऊ मान्छे भइरहन पाउँदैन, ठाउँ कुठाउँ पुरुष बन्दिनुपर्छ र बेला बेला पुरुष हुँ भन्ने सिद्ध गरिराख्नु पर्छ । समाजले भन्छ, पुरुषहरू मान्छे जस्तै दुखी हुन, सक्दिन भन्न र ‘बिन्दास’ हुन पाउँदैनन् ।

आफैंले खनेको खाल्डोमा पुरुष आफैं परेको छ

समाजले नियम बनायो, ती नियमहरूले पुरुषलाई ‘मान्छे’ भइरहन दिएन । पुरुषलाई केवल अहम् बोक्ने यन्त्र बनाइदियो भनिरहँदा बिर्सन मिल्दैन कि समाजका नियम बनाउने जिम्मेवार शक्तिमा पुरुषकै हैकम थियो र धेरै हदसम्म अहिले पनि छ ।

नियमहरू प्राय: पुरुषलाई फाइदा हुने गरी सोचेर बनाइयो । सम्पत्तिको हक वा राजनैतिक हक होस् वा पारिवारिक हक, पुरुषको हातमा राखियो । धेरैजसो ठाउँमा महिलालाई सीमान्तकृत नै गरियो ।

बाहुबलको युग आयो । मत्स्य शासन अपनाइयो । शारीरिक बलियाले निर्धाहरूमाथि गरिने ज्यादती प्राकृतिक ठानियो । लैंगिक रूपमा यसले पुरुषहरूलाई पीडक र महिलाहरूलाई पीडित बनायो ।

जसै सभ्यताहरू अगाडि बढ्दै आए र लैंगिक समानताका स्वरहरू बुलन्द हुन थाले । लामो समय पीडित रहेका महिलाप्रति सामाजिक करुणा जागृत भयो, राजनीतिक रूपमा आरक्षण दिन थालियो, कानूनी रूपमा महिलाहरूका लागि विशेषाधिकार बन्न थाले ।

उदाहरणका रूपमा नेपालको सम्बन्धविच्छेदको कानूनलाई लिन सकिन्छ । मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद–३ सम्बन्धविच्छेद सम्बन्धी व्यवस्थाको ९५ को च मा पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा पत्नीले पतिसँग सम्बन्धविच्छेद गर्न सक्ने भनिएको छ । तर पत्नीले पनि पतिको जबरजस्ती करणी वा यौन हिंसा गर्न सक्छन् भन्ने कल्पना पनि गरिएको छैन । अहिले लैंगिक समानताको संक्रमणकाल भएकाले महिलालाई विशेष अधिकार दिएका कानूनहरू बन्ने दर झन् बढ्नेछन् ।

यसको दुरूपयोग हुने सम्भावना पनि अत्यधिक हुनेछ । तर सामाजिक रूपमा महिलाप्रतिको करुणाभाव, कानूनी रूपमा महिलाहरूलाई विशेषाधिकार जस्ता कुराहरूले कुनै पनि पुरुष लैंगिक अपराध वा दुर्घटनाको शंका वा आरोपित भएमा मात्रै पनि सामाजिक रूपमा अपराधी करार गरिने सम्भावना अधिकतम हुन सक्छ । पुरुषका आवाजको कम सुनुवाइ हुन सक्छ ।

यदि साँच्चै नै त्यस्तो हुन गयो भने सामाजिक र कानूनी रूपमा अबको शताब्दीको सबै भन्दा जोखिमपूर्ण मानव प्रजाति भनेको पुरुष नै हुनेछ । इतिहासमा पुरुषले खनेको खाल्डोमा स्वयम् पुरुष नै पर्नेछ ।

तर त्यस्तो नहोस्

पुरुष जिम्मेवारी बोक्न, पैसा कमाएर बिल तिर्न, युद्ध र राजनीति गर्न मात्रै जन्मिएको होइन । दैनिक जीवन पुरुषको पनि छ । समाजले बाँधिदिएको नियम भन्दा बाहिर, आफ्नै अहमताले नढाकेको संसार पनि छ पुरुषको ।

आज अन्तर्राष्ट्रिय पुरुष दिवस । हरेक पुरुषहरू पुरुष हुनुको सामाजिक बन्धनबाट उम्किएर स्वतन्त्र हुन सकून् । हरेक पुरुषहरू आफ्नै मनको पुरुषत्वको अहमताबाट बाहिर निस्कन सकून् ।

पुरुषले धीत मरुञ्जेल रुन सक्ने संसार बनोस् । पुरुषले दुई हात उठाएर ‘म सक्दिनँ’ भन्दा उसको इज्जत नजाओस् । सबै पुरुषहरूलाई अन्तर्राष्ट्रिय पुरुष दिवसको साह्रै धेरै शुभकामना ।

२०७८ मंसिर ३ गते अनलाइनखबरमा प्रकाशित

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)