अल्मुताइरीको सम्झौता, उनको घुर्की र हाम्रो प्रवृत्ति

नेपाली फूटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नयाँ सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फूटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फूटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी सम्झौताका लागि तयार भएका हुन् । (१० कात्तिक २०७८, अनलाइनखबर)

यो खबर पढ्ने बित्तिकै आफ्नो खुशी प्रकट गर्न हतारो भयो । खुशी प्रकट गर्न अहिले सजिलो छ, भनिराख्नै पर्दैन । फेसबुकमा केही शब्द लेखेरै खुशी प्रकट गर्न सकिन्छ । मैले पनि त्यही गरें । तर त्यतिमा रोकिन मन मानेन ।

कतार फूटबल एशोसिएसनको फेसबुक पेज खोजेर त्यसको प्रोफाइल फोटोमा कमेन्ट गरें, ‘धन्यवाद । नेपालबाट ।’ नेपालमा प्रशिक्षक भए पनि अल्मुताइरीलाई तलब दिने कतार फूटबल एशोसिएसनले नै हो । सोचें, एक धन्यवाद त कतार फूटबल एशोसिएसनलाई पनि भाग लाग्छ ।

त्यसपछि फेसबुक टाइमलाइनमा अरुका खुशीहरू पनि देखिन थाले । अहिले इन्टरनेटका समीकरण (अल्गोरिदम) हरू नै यस्ता छन् कि, तपाईं जे देख्न चाहनुहुन्छ, त्यही धेरै देखिन्छन् । मैले पनि फेसबुक टाइमलाइनमा अल्मुताइरीको सम्झौतामा खुशी भएका धेरै मानिस देखें । तर कमेन्ट ? कमेन्टमा इन्टरनेटका समीकरणहरूको पनि कम नियन्त्रण हुन्छ । यसैले समाजको चरित्र कमेन्टमा बढी देखिन्छ भन्नेहरू पनि छन् । यसैले पोस्टहरूमा भन्दा फरक चरित्र कमेन्टमा देखिए ।

अल्मुताइरीको थप तीनवर्षे सम्झौता भएका पोस्टहरूमा सबै विशुद्ध सकारात्मक मात्रै थिएनन् । कतिपय फरक किसिमका र कतिपय उडाइएका जस्ता पनि थिए । जसमध्ये केही कमेन्टहरू यस्ता थिए- ‘अब बेस्मारी घुर्की लाउँछन्’, ‘रुन चै छोडे हुने’, ‘काम पाइनस् अल्मुताइरी, घुर्की लाउँदै फर्किंदै’, ‘नेपाली फूटबलको भीम रावल’ आदि इत्यादि ।

घुर्की हेर्ने कि घुर्कीको कारण ?

फूटबलमा हाम्रा ठूला सपना कहिल्यै भएनन् । हामीले नेपालले कुनै ठूलो खेल जितेको सपना देख्न पनि सकेका छैनौं । हाम्रो सपना नै साफको फाइनल खेल्नुहुन्थ्यो । यसपालि हामीले साफको फाइनल खेल्यौं । उपाधि नजिते पनि हामीले सम्झनलायक प्रतिस्पर्धा गरेका थियौं ।

साफको फाइनल खेल खेल्नु नेपाली फूटबलका लागि अहिलेसम्म पूरा हुन नसकेको सपना थियो, जसलाई अल्मुताइरीको आगमनपछि साकार पार्न सकियो । खेलको नतिजा बाहेक पनि नेपालको फूटबल फरक किसिमले खेलिन थालेको प्रत्यक्ष अनुभव खेलाडी तथा दर्शकले गर्न थालेका छन् । यो अल्मुताइरीको प्रशिक्षण र सोचको नतिजा हो भन्नलाई कन्जुस्याइँ गर्नुपर्ने कारण देखिंदैन ।

यी फरक नतिजा देखिरहँदा यसो सोच्छु, हाम्रो ध्यान उनको घुर्कीतिर लैजाँदा बढी फाइदा होला कि अल्मुताइरी किन घुर्की लाउन वा ‘रुन’ बाध्य हुन्छन् भन्ने पट्टि लग्दा बढी फाइदा होला ? यो बुझ्न उति गाह्रो पनि शायद नहोला ।

राजनीति, तिकडमहरू बिर्सेर सोच्दा निष्कर्ष फेरिन्छ कि अल्मुताइरी आउनु भन्दा अगाडि हाम्रो फूटबल अचम्मै राम्रो भएर यिनले बिगार्नलाई घुर्की लाउँछन् होला कि बिग्रिएकाले सपार्न चैं घुर्की लाउँछन् होला ?

मैले समस्याको कुरा गरें, मलाई समस्या देख्यौ

आजभन्दा १५ वर्ष जति अगाडि, जतिबेला व्यवस्थाको आलोचना गर्ने बित्तिकै विद्रोही वा आतंककारी भनिन्थ्यो, त्यो बेला मैले एउटा कविता लेखेको थिएँ । जुन यस्तो थियो –

भोक लाग्यो,
मैले भात मागें
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

मसँग पाखुरी छ,
मैले जमीन मागें
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

म बिरामी छु,
मैले औषधि मागें
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

म अज्ञानी छु,
मैले शिक्षा मागें
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

म यो देशको नागरिक,
मैले आफ्नो अधिकार मागें
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

मेरो आवाजमा तिमीले विद्रोह देख्यौ
शान्तिको निकै लामो भाषण गर्‍यौ ।
तिम्रो भाषण पेट भर्ने भात थिएन,
तिम्रो भाषण परालको वा जस्ताको छानो थिएन,
तिम्रो भाषण रोग निको पार्ने जडीबुटी वा औषधि थिएन,
तिम्रो भाषण पछि पनि म उस्तै रहें,
भोको, नाङ्गो, रोगी र अज्ञानी ।
मैले फेरि भात मागें
मैले फेरि जमीन मागें
मैले फेरि औषधि मागें
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

तिमीले टन्न खाएकोमा म रिसाएको थिइनँ
तिमीले लगाएको देखेर म रिसाएको थिइनँ ।
खाली, मैले पनि खान पाउँ भनें
म मान्छे हुँ, मान्छे हुन देउ भनें
तिम्रो ज्ञानले त्यस्तै भन्छ ?
– खाली खुट्टा हिंड्नेहरू मान्छे होइनन् भनेर
– भोका नाङ्गा आङहरू बाँच्ने होइन भनेर
मेरो प्रश्नले तिम्रो शान्ति बिथोलिएछ
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!

मैले मेरो समस्याको कुरा गरें
तिमीले मलाई समस्या देख्यौ
मैले मेरो आवाज बोलें
तिमीले विद्रोह बोलेको सुन्यौ
म अज्ञानी, म नाङ्गो,
म असभ्य, म उदाङ्गो
हातमा जे थियो, त्यही लिएर उठें
ज्ञानका कुरा म बुझ्दिनँ
गीताका उपदेश म जान्दिनँ
तिमीले खान दिनुपर्थ्यो
तिमीले आफू जस्तै ठानेर
ज्ञान दिनुपर्थ्यो
तिमीले त चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

१५ वर्षपछि पनि प्रवृत्ति उस्तै देखिन्छ । अहिले पनि यहाँ समस्या छ भनेर समस्या औंल्याइदिरहँदा ‘ए समस्या ठीक पार्’ भनेर थप दबाव दिनेतिर भन्दा पनि कति एउटै कुरामा किचकिच गरिराखेको भन्नेतिर चैं मान्छेहरू बढ्दै जान्छन् ।

यो ठाउँ वा यो विधि बिग्रियो भनेर कराइरहने अन्तत: सस्तो भएको धारणा बनाउनेहरू प्रशस्तै भेटिन्छन् । अनि समस्या ज्यूँकात्यूँ रहे पनि समस्या भन्दा समस्या औंल्याइरहने चैं मुख्य समस्या मान्ने गरिन्छ ।

‘जति नराम्रो खबर ल्याए पनि खबर ल्याउनेलाई गोली नहान’

अल्मुताइरीको सम्झौताका पोस्टहरूमा आउने कमेन्टहरू हाम्रो नियमित प्रवृत्तिकै पछिल्लो शृङ्खला नै हो त ? होइन भन्ने आधारहरू कम छन् । हामीले जानेर वा नजानेर सिकेका कुराहरू त्यस्तै छन् । सम्पूर्ण मानव सभ्यता नराम्रो खबर ल्याउनेलाई अलच्छिनी भन्ने बाटो हुँदै विकास भइरहेको त हो; हामी नेपाली त्यसको अपवाद कसरी हुन सक्थ्यौं र ?

संसारभर अशुभ खबर ल्याउने ‘अलच्छिनी’हरू छन् । त्यो मान्ने अन्धविश्वासी छन् । बाटो हिंड्दा बिरालोले बाटो काट्यो भने अशुभ हुने हो कि अशुभ हुन लाग्दैछ भन्ने संकेत गर्‍यो भन्ने कुनै पनि अन्धविश्वासीले शायदै सोच्छ ।

घरछेउको रुखमा बसेर काग करायो भने अन्धविश्वासीले पहिले काग बसेको हाँगो हेर्छ, हरियो हाँगो छ कि सुकेको भन्ने विचार गर्छ र सुकेको हाँगोमा बसेर काग कराएको रहेछ भने अशुभ खबर ल्याउने काग भनेर त्यसलाई जसरी हुन्छ, खेदाउँछ वा खेदाउने प्रयत्न गर्छ । एकछिनलाई अन्धविश्वासी भइदिने हो भने पनि काग त्यहाँ बसेर कराएकै कारण अशुभ खबर आउने हो कि अशुभ भएर चैं खबर ल्याएको हो भन्नेतिर शायदै सोचिन्छ ।

इतिहासमा विपक्षीहरूबाट खबर ल्याउने वा नराम्रा खबर ल्याउनेहरूलाई मृत्युदण्डसम्मको सजाय दिइएको पनि पाइएको छ । जसलाई रोक्न प्रयोग गरिएको ‘जति नराम्रो खबर ल्याए पनि खबर ल्याउनेलाई गोली नहान’ भन्ने उक्ति निकै प्रसिद्ध भएको थियो ।

महाभारतमा शान्तिदूतका रूपमा गएका कृष्णलाई पक्राउ गरेको प्रसंग होस् या रामको दूत भएर गएका अंगदले रावणप्रति देखाएको व्यवहारको दृष्टान्तले होस्, पूर्वीय दर्शनहरूमा पनि दूत वा युद्ध भन्दा पहिले पठाइएका शान्तिदूतहरूलाई बन्दी बनाएका र त्यो कर्मका बारेमा वादविवाद भएका प्रसंगहरू उठाइएका छन् । यी सबै कुराहरूले समाजमा खबर ल्याउनेहरू प्रति निरपेक्ष धारणा कहिल्यै थिएन भन्ने प्रमाणित हुन्छ । र, फेरि पनि भन्नै पर्छ, हाम्रो सभ्यता तिनै धारणाको बाटो हुँदै आएको त हो ।

दुःखद चैं के हो भने हाम्रो प्रवृत्ति अझै पनि त्यही धारणाको बाटोमा नै छ भन्ने पटक पटक देखिन्छ । हामीले त्यही प्रवृत्ति अल्मुताइरीको प्रसंगमा मात्रै देखाएको पनि होइन । अन्य कुरा यथावत् राखेर हेर्ने हो भने डाक्टर गोविन्द केसीको भद्र अवज्ञामा पनि सोही प्रवृत्ति दोहोरिएको देखिन्छ ।

यस्ता धेरै मानिसको धारणा मैले सुनेको छु जो डाक्टर केसीले उठाएको मुद्दामा बढी किचकिच गरेको सम्झिन्छन् । उनीहरूलाई लाग्छ कि समस्याका मात्रै कुरा गरेर डाक्टर केसीले आफ्नो वजन घटाउँदैछन् र सस्तो हुँदैछन् । उनीहरू धेरैलाई डाक्टर केसीले उठाएका मुद्दाहरूमा कति प्रगति भए वा के भए भन्ने बारेमा चासो छैन । उनीहरू मान्छन् कि उही र उस्तै मुद्दामा उन्नाइसौं पटक अनशन बसेर ‘किचकिच’ गर्नु ठीक होइन ।

भन्न सकिन्छ, भर्खरै अल्मुताइरीको प्रसंगमा आएका कमेन्टहरू त्यही प्रवृत्तिको पछिल्लो शृंखला मात्रै हुन् । नत्र अल्मुताइरीको ‘घुर्की’ त्यति सामान्य र त्यो हदको प्रतिक्रिया पाउने गरिको मात्रै होइन । यसै पनि अल्मुताइरी ‘नेपालको ल्याकत भन्दा माथिका कोच’ हुन् भने फूटबल अबको समयमा केवल एउटा खेल मात्रै होइन ।

फूटबल खेल मात्रै होइन, प्रशिक्षकले खेल्न मात्रै सिकाउँदैन भनिरहँदा, फूटबलको आर्थिक पाटो र सम्भावनाका कुराहरू सबैभन्दा पहिले सतहमा आउलान् तर फूटबल जस्ता खेलहरूको विशेषता मनोरञ्जन, कसरत र आर्थिक पाटोमा मात्रै सीमित छैन । खेलहरूले कुनै पनि देशको अन्तर्राष्ट्रिय पहिचान बनाउँछन् र सो देशको प्रतिनिधित्व पनि गर्छन् भने मुलुकभित्र यसले विशेष एकताको अनुभूति गराउँछन् ।

मुलुक भित्र खेलहरू कसरी एकताको महत्वपूर्ण साधन बन्न सक्छन् भन्ने नेल्सन मण्डेलाले दक्षिण अफ्रिकामा गरेको प्रयोग स्मरणीय र शानदार छ । दक्षिण अफ्रिकामा जब गोराहरूको जातीय राज्य भत्किएर नेल्सन मण्डेला पहिलो कालाजातिका राष्ट्रपति बने तब दक्षिण अफ्रिकाको समाज भयपूर्ण र टुक्रिएको थियो । धेरैजसो गोराहरूमा अब के हुने हो भन्ने डर थियो भने कालाहरूले मूलधारमा आफूलाई कसरी स्थापित गर्ने भन्ने अन्योल । रंगभेद विरुद्धको आन्दोलन गोराजातिको विरुद्धमा थिएन, बरु छालाको कुनै पनि रंगका आधारमा उत्तम र निकृष्ट मान्नुहुँदैन भन्ने समानताको लडाइँ थियो ।

यसैले मानसिक रूपमा नै छालाको रंगभन्दा माथि देशलाई उठाउनु नेल्सन मण्डेलाको पहिलो कार्यभार थियो । नेल्सन मण्डेलाले जेलभित्र रहँदै फूटबलले कैदीहरूमा अपनत्व बढाएको प्रत्यक्ष देख्न पाएका थिए । नेल्सन मण्डेलाले सोही साधनलाई दक्षिण अफ्रिकाको टुक्रिएको समाज जोड्नका लागि प्रयोग गरे । त्यसले काम गर्‍यो । खेलमा छाला हेर्न छोडियो र जुन रंगका छाला भएका खेलाडीले पनि सिंगो देशका लागि खेले । हेर्नेले पनि खेल मात्रै देखे, छालाको रंग धुमिल हुन थाल्यो ।

नेपालमा पनि नेल्सन मण्डेलाको सूत्र चाहिने हो ?

नेल्सन मण्डेलाले खेलबाट पनि कसरी दक्षिण अफ्रिकालाई एकसूत्रमा बाँध्न सके भन्ने उदाहरण अन्तर्राष्ट्रिय रूपमा नै विशेष मानिन्छ । नेपालको सन्दर्भमा यसको उपादेयता रहन्छ त ?

प्रश्न सोध्न सकिन्छ र जवाफमा रहँदैन पनि भन्न सकिएला तर नियालेर हेर्ने हो भने हामीले एकताको प्रतीक भन्ने गरेको राजतन्त्र ढलिसकेको छ र सर्वमान्य एकताको प्रतीकको अनुभूति भइसकेको छैन । उल्टो संघीयताले क्षेत्रीयतावाद बढाएर द्वन्द्व बढ्ने हो कि भन्ने चिन्ता थपिएको छ ।

यस्तोमा खेलले सम्पूर्ण नेपाललाई एकजुट बनाइराख्न ‘गम’को काम गर्न सक्छ भने खेललाई कम आँक्नु पक्कै पनि सही हुँदैन । यी सबै कुरा गराउन सक्ने सक्षम खेल प्रशिक्षक कुनै पनि युद्धको सेनापति भन्दा विशेष मान्न सकिन्छ ।

नेपालको विशेष परिस्थितिमा ‘नेपालको ल्याकतले भ्याउने भन्दा अब्बल’ कोच पाइएको छ भने उनका घुर्कीहरूलाई सामान्य ढंगमा नलिंदा राम्रो हुन्छ । उनलाई ट्रोल गर्ने वा सामाजिक साइटमा अरु भन्दा फरक बन्ने लहडमा कमेन्ट गरेर थाहै नपाई हामीले नकरात्मकता पो फैलाइरहेका छौं कि ! वा उही पुरानै प्रवृत्तिको बाटोबाटै आजको पुस्ता पनि हिंड्दैछौं कि !

सोच्नै पर्छ । र, दृष्टिकोण बदल्नका लागि साना भनिएका विषय नै पनि काफी हुन्छन् ।

अनलाइनखबरमा २०७८ कार्तिक ११ गते प्रकाशित ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)