मलाई पनि मानसिक रोग छ !

केही वर्ष पहिले म विदेशमा थिएँ । विदेश गएको केही समयपछि मलाई केही गाह्रो जस्तो भयो । अकारण नै सास फेर्न गाह्रो भए जस्तो हुन्थ्यो । घाँटीको नशा च्यापिएर टाँसिएपछि सास तलमाथि गर्न नसकेको जस्तो हुन्थ्यो ।

म चोर औँला र बुढी औँलाले च्यापेर घाँटीको छाला बाहिरतिर तान्थेँ । संसारको गडबडी सबै मेरै दिमागमा छ जस्तो लाग्थ्यो । लिफ्ट चढ्दा गुम्सिएर निसास्सिन्छु भन्ने लाग्थ्यो र दशौँ तलासम्म पनि भर्‍याङबाट तलमाथि गर्थेँ ।

झ्याल ढोका बन्द हुने बसमा कति सकसपूर्वक गन्तव्य पुग्थें भन्ने म शब्दमा भन्नै सक्दिनँ । एक्कासी जाडो बढे जस्तो भएर थरथरी काम्थेँ ।

निदाउन झकाउँदा सास फेर्न बिर्से जस्तो भएर हतार हतार झ्याल खोलेर बाहिरको हावा बलजफ्ती निकैपल्ट तानेको छु ।

मलाई चिन्नेहरुका लागि यसले यस्तो कहिले भोगेछ, विचरा भन्ने लाग्ला । नचिन्नेहरूका लागि सामान्य मानसिक समस्या तर मेरा लागि त्यो समय यति अत्यासलाग्दो र तर्साउने हुन्थ्यो कि एकदिन राति अढाई बजे दौडिंडै २० मिनेट परको अस्पताल पुगेको छु । छातीमा अनेक थोक टाँसेर निकैबेर जाँच गरेपछि सोडापानी खुवाएर फर्काइदिएका छन् ।अर्थात्, मेरो शरीरमा कुनै समस्या थिएन ।

यो कसैलाई भन्न हुन्न भन्ने लाग्थ्यो । अरुले खिसी गर्लान् वा नजिककाहरू झन् तर्सिएलान् भन्ने हुन्थ्यो । कसैलाई भनिनँ तर बिस्तारै महसुस गर्न थालें कि यो सबै मेरो भ्रम हो । दिमागको ‘खेल’ हो । नत्र १० मिनेट भन्दा बढी सास नफेरेको झैँ हुँदा म बाँचिरहन सक्थें कसरी ? २० मिनेट परको अस्पताल सासै नफेरी म पुग्थें कसरी ? भ्याइभ्याइ भएर काम गरेका बेला भने यी कुनै कठिनाइको पत्तै नहुने कसरी हुन्थ्यो ?

अनि मैले आफ्नो दिमागलाई विश्वास नगर्ने निर्णय गरें । तर म कुनै साधक वा योगी थिइनँ । जुन कुरा बिर्सिन्छु भन्यो, दिमागले त्यही कुरा धेरै ल्याइदिन्छ ।

अनि मेरो कोशिस सुरु भयो, दिमागलाई अरु नै काममा अल्झाइदिने । खासै गीत नसुन्ने मेरा लागि सुन्ने सामग्रीहरू भए, अडियो बुकहरू, रूचिका बिषयका लेक्चर तथा प्रवचनहरू । अनि नेपाली, हिन्दी कमेडी सिरियलहरू । राती ओछ्यानमा पल्टिंदा पनि मोबाइलमा तिनै कमेडी सिरियल बजाएर इयरफोन लगाएर सुत्थें ।

बिस्तारै मेरो एन्जाइटीको समस्या कम हुँदै गयो । र, फेरि भोग्न परेको छैन ।

पछि थाहा पाएँ, मैले भोगेको समस्यालाई एन्जाइटी भन्दा रहेछन् । यो मानसिक रोग रहेछ ।

मानसिक समस्याहरूलाई हामीले यति भयानक बनाएका छौँ कि हामी त्यो बारेमा खुल्नै सक्दैनौँ । खुल्न गाह्रो छ । मैले एकदमै नजिकको मान्छेलाई पनि कहिलै भन्न सकिनँ कि म सँधै इयरफोन लगाएर किन सुत्छु !

त्यो बेला लाग्थ्यो- मैले मेरो अवस्था बताएँ भने म संसारकै कमजोर ठानिनेछु र जसले उनीहरूको सम्भावना, भविष्यको आधार मलाई ठानेका छन्, तिनको आधार भत्किने छ । मैले उनीहरूको सम्भावना, भविष्यको आधार भत्काइदिन सकिनँ । सोच्थेँ- आफ्नाहरूका लागि बरु आफैं भोग्छु ।

यस्तै भ्रममा मैले चाहिंदो भन्दा धेरै सहें ।

अहिले सबैलाई भन्न सक्छु कि मैले के के भोगेँ । त्यति बेलै भन्न सकेको भए अवस्था फरक पर्थ्यो कि ! अथवा, मानसिक रोगलाई अन्य रोग जस्तै सामान्य हो भन्ने बुझ्ने परिवार वा समाज बनाउन सक्ने भए पनि आफैं बुझेर नतिजा फरक बनाउन सकिने हुन्थ्यो कि !

त्यो समयमा मैले दोहोर्‍याइ दोहोर्‍याइ सुनेका अडियो बुकहरू, सिद्धार्थ उपन्यास, युभल नोआ हरारी तथा ज्यारेड डाइमण्डका सेपियन्स, थर्ड चिम्पाञ्जी जस्ता किताबहरू, रिचार्ड डी उल्फका अर्थशास्त्रका भाषणहरू र तारक मेहताका उल्टा चश्मा एकआपसमा बेग्लाबेग्लै ध्रुवमा छन् तर मेरो विचार र सोच्ने कुरामा यिनले साह्रै ठूलो प्रभाव पारेका छन् ।

अहिले बेलाबेला सोच्छु- त्यो बेला अरू नै कुरामा भुलिरहेको मलाई धन्न एन्जाइटी भयो र मैले संसारका गजब कुराहरू त्यो किसिमले अनुभव गर्न पाएँ ।

अहिले बेलाबेला सोच्छु- त्यो बेला अरु नै कुरामा भुलिरहेको मलाई धन्न एन्जाइटी भयो र मैले संसारका गजब कुराहरु त्यो किसिमले अनुभव गर्न पाएँ ।

र, संसारभरका मानसिक समस्या भोगिरहेकाहरूका लागि कुनै न कुनै कुरा मैले भेटे जस्तै भेटिऊन्, जसले कुनै दिन विगततिर हेर्दा मानसिक समस्या भएर पनि खासै नराम्रो चै भएन भन्न सकून् ।

बिडम्बना ! सँधै त्यस्तो हुँदैन ।

मेरै घरमा भएन ।

मेरो दाजुले आत्महत्या गर्‍यो ।

अहिले मानसिक रोगहरू, रोगीले देखाउने लक्षणहरूका बारेमा पढ्दा लाग्छ, मेरो दाजुले निकै पहिलेदेखि मानसिक समस्याको लक्षण प्रष्ट देखाइरहेको थियो । मात्रै हामीले बुझ्न सकेनौँ र दाजु गुमायौँ ।

आत्महत्याको ‘युद्ध’

मैले जस्तै नबुझेर वा बुझ्न नसकेर वा बेलामा उपचार हुन नसकेर धेरैले धेरै आफन्तहरू गुमाएका छन् । नेपाल प्रहरीको तथ्याङ्कले भन्छ, नेपालमा हरेक दिन औसतमा १९ जनाले आत्महत्या गर्छन् । यही दर कायम रहने हो भने औसतमा महिनामा ५७० जना, वर्षमा ६ हजार ८४० जना र दश वर्षमा ६८ हजार ४ सय जनाको मृत्युवरण आत्महत्याको कारण हुने रहेछ । दुःखको कुरा आत्महत्याको दर बढ्दो छ ।

१० वर्षे माओवादी जनयुद्धमा मारिएका मानिसहरूको संख्या १७ हजार थियो भनिन्छ । त्यहि संख्या देखाएर त्यो युद्धलाई, त्यो समयलाई भयानक ठानिन्छ । त्यो युद्ध रोक्न कति लगानी, सामर्थ्य र समय खर्च गरियो भन्ने त जगजाहेर छ । त्यस्तै किसिमको युद्ध हुन सक्ने राजनीतिक सम्भावनाको अन्त्य गर्नु सरकारको ऐतिहासिक सफलता मानिन्छ । त्यस्ता युद्धप्रतिको राज्य र नागरिकहरूको चासो, चिन्ता र रोकथामको पहलकदमी असाध्यै ठुलो हुन्छ ।

अन्य कुराहरू यथावत राखेर हिसाब गर्दा १० वर्षमा त्यो युद्धमा मारिएका जति त अढाई वर्षमा आत्महत्याबाट मारिँदा रहेछन् ।

यसरी हेर्दा, आत्महत्या विरुद्धको तयारी, लगानी, चासो र पहलकदमीले माओवादीको युद्धभन्दा चार गुणा बढी महत्व पाउनुपर्ने हो । तर खोइ त ?

व्यवहारिकरुपमा यो सङ्ख्या रोकेर शुन्य बनाउन नसकिएला तर कम भने अवश्य नै गर्न सकिन्छ । आत्महत्याबाट ज्यान गुमाउनेहरूको औसतलाई १९ बाट १० मात्रै गर्न सकियो भने पनि एक वर्षमा मात्रै ज्यान जोगिनेहरूको संख्या ३ हजार जना भन्दा बढी हुने रहेछ ।

समाज अझै निरक्षर छ

हो, व्यवहारिकरुपमा अफ्ठ्याराहरू छन् ।

फेसबुकमा सक्रिय पुरुष युवाहरूको एक ग्रुप छ- मेन्स रुम रिलोडेड । केही समय पहिले सो फेसबुक ग्रुपले आफ्ना सदस्यहरूका लागि नियमितरुपमा मानसिक समस्याका बिषयमा अनलाइन कार्यक्रमहरू गर्‍यो ।

कार्यक्रममा मानसिक स्वास्थ्यका विज्ञहरू तथा मनोचिकित्सकहरू लाइभ आउथेँ । रोग तथा समस्याका बारेमा जानकारी दिन्थे भने कमेन्टमार्फत् आफ्ना समस्या तथा जिज्ञासाहरूको बारेमा सोझै विज्ञहरूलाई सोध्न सकिन्थ्यो ।

संयोगवश, त्यो कार्यक्रमको आयोजक समूहमा म पनि थिएँ । अनौठो के हुन्थ्यो भने १८ वर्ष नाघेका र अनलाइनबाट मात्रै भए पनि संसार बुझेका केही युवाहरू पनि यस्ता कार्यक्रमलाई एकदमै वाहियात, अनुपात्पादक र गैरअसरदार मान्थे । मर्नेलाई बचाउन नसकिने धारणाहरू राख्थे । कतिलाई त ‘गाला फुट्ने गरी झापड’ दिएरै मानसिक समस्या ठिक हुन्छ भन्नेसम्म लाग्दोरहेछ ।

यो अमुक मान्छेको धारणा मात्रै थिएन । हाम्रो समाजमा यस्ता धारणा, भ्रमहरू असाध्यै छन् ।

मानसिक समस्या र आत्महत्याका बारेमा परिवार र समाज अझै पनि निरक्षर छ । मानसिक रोग अन्य रोग जस्तै रोग हो, उपचार वा रोकथाम सम्भव छ भन्ने समाजले बुझिसकेकै छैन । बरु पहिले नै भ्रम र खराब जानकारीहरूले उल्टो बाटो हिंडेको छ । आत्महत्या रोकथामको लागि सबैभन्दा पहिलो अफ्ठ्यारो पनि यहि हो ।

तथ्यांकले भन्छ, आत्महत्या गर्नेहरूमा ९० प्रतिशत भन्दा ज्यादा मानसिक समस्या भोगिरहेका हुन्छन् र उनीले आत्महत्या गर्न सक्ने पूर्वसंकेत दिन्छन् । पूर्वसंकेत बुझ्न सकियो भने ज्यान बचाउन सकिन्छ । बाँकी १० प्रतिशतहरू आवेगात्मक परिस्थितिका कारण आत्महत्याको बाटो रोज्छन्, जसलाई कम गर्ने विभिन्न उपायहरू पनि सुझाइएका छन् ।

समाजले सायदै यस्तो तथ्याङ्क पढेको छ । समाजलाई मानसिक समस्या र आत्महत्याको सम्बन्धका बारेमा ज्ञान छैन । आत्महत्या गर्नु पूर्वका सङ्केतहरूका बारेमा जानकारी छैन । यसैले त समाजले भन्छ- ‘मर्नेलाई कसै गरे पनि बचाउन सकिंदैन । कुनै दिन फेरि आत्महत्या गर्छ, गर्छ ।’

तर पहिलो आत्महत्या प्रयासबाट बाँचेकाहरूमा पनि हरेक २५ जनामा १ जनाले मात्रै ५ वर्ष भित्र पुन: आत्महत्याको प्रयास गर्छ । र, त्यसले पनि आत्महत्या गर्नुपूर्व कुनै संकेत दिन्छ ।

यदि ती संकेत बुझ्न सक्ने हो भने भनिने थियो- ‘तिमीलाई भएको अफ्ठ्यारो मलाई भन । म छु नि ।’ र, रोकिने थियो बिष किन्न हिंडेको मान्छे । फुक्ने थियो दलिनमा झुन्ड्याएको डोरीको गाँठो ।

सचेतनाको प्रयास खेरै चै जाँदैन

कतिलाई अझै पनि लाग्छ कि यो सबै किताबी कुराहरू हुन् । व्यवहारिक छैन । तर व्यवहारमा यो सम्भव रहेछ ।

यही लेखमा उल्लेख गरिएको मेन्स रुम रिलोडेडमा भएको मानसिक स्वास्थ्यको कार्यक्रमका बारेमा थप कुरा यहाँ उपयोगी हुनसक्छ ।

सो कार्यक्रम तीन महिना चल्यो तर कुनै पनि कार्यक्रमलाई सायदै १०० जनाले लाइभ एकै पल्ट हेरे । केवल कार्यक्रम गर्ने नाममा हामी कार्यक्रमको कर्मकाण्ड पूरा गर्दैछौँ भन्ने पनि लाग्थ्यो ।

दुई तीनजना साथीहरूले मसँग इनबक्समा ती चिकित्सकहरूको सम्पर्क नम्बर माग्ने बाहेक म आफैंले पनि थप परिणाममुखी कुरा केहि पाइनँ ।

तीन महिने कार्यक्रमको अन्त्यसँगै हामी धेरैलाई लाग्यो, कार्यक्रम सोचे जस्तो सफल भएन । आयोजक कमिटीमा रहेको कारण यो दुःखको हिस्सा मेरो भागमा पनि थियो ।

मैले कार्यक्रममा सहभागी भएका मनोचिकित्सकलाई दुःख सुनाएँ तर जवाफ अनपेक्षित आयो ।

‘कार्यक्रम असाध्यै सफल भयो,’ उनले भने- ‘लाइभमा चिनिन डर भएर हुन पर्छ, धेरैले म्यासेजमा सोधे । त्यही लाइभ हेरेर झन्डै एक दर्जन दाजुभाइहरू आफू वा परिवारका कोही लिएर उपचार गर्न मसँग आए ।’

अचम्म, एउटा फेसबुक ग्रुपमा केही कार्यक्रम गरेकै भरमा केही मान्छेहरूले आफ्नो उपचारका बारेमा खुल्ने ठाउँ भेट्ने सक्ने रहेछन् । सोही कार्यक्रमले केही मान्छेहरूको आत्महत्यासम्म पुग्ने एउटा बाटो बन्द पनि भयो कि !

समाज पूर्णरूपमा मानसिक स्वास्थ्यका बारेमा सामान्य बनिदिएर कुनै पनि रोगीले मलाई पनि मानसिक रोग छ नि भन्न सक्ने अवस्था बन्न सके कति ज्यान बच्थ्यो होला ?

अनलाइनखबरमा २०७८ भदौ २५ गते १९:०४ मा प्रकाशित

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)