पञ्चायतकालको भुमिगत आन्दोलन र वाल्मिकीको आश्रममा छुटेको आइपड – समयरेखा भत्काउने संस्मरण

पञ्चायतकालमा म भुमिगत हुँदा एक पल्ट पार्टीले खटाएर विरगञ्ज एरिया तिर गएको थिएँ । उखुम गर्मिको दिन थियो । मुल पनि सुकेका थिए । इनार त छोड्नुस्, टाइटनिकको रुमालले लेदो छोपेर पिउँछु भन्नलाई कतै जमेको पानी पनि थिएन ।

त्यतिकैमा म एउटा घरमा पुगेर पानी मागेँ । एउटा युवकले पानी ल्याएर दियो । घर यसो हेरेको रित्तो रित्तो जस्तो थियो । केहि दिन देखि घरमा लिपपोत पनि गरेको थिएन । आफु त परिवर्तनका लागि हिडेको मान्छे । रित्तो घरमा एउटा मात्रै युवक देख्दा क्रान्तिमा काम आउला कि भनेर कुरा निकालेँ ।”घरमा एक्लै हो ? कोही छैनन् ?”

“छन त छन् तर अहिले छैनन् ।” खुइयय गर्दै केटोले कुरा गर्यो, “मेरो नाम राम हो । सीता नामकी मेरी श्रीमती छन् । यहाँ एउटा धोबीले मेरो दिमाग भुटिदियो अनि मैले पनि सन्किएर श्रीमतीलाई पनि के के भन्दिएँ । उनी रिसले घर छोडेर हिडिन् । जंगलमा के होला होला भनेर भाई लक्ष्मणलाई बुझ्न पठाएको छु । उता एकजना गुरुजीको आश्रममा छन् रे । यसैले अहिले घर रित्तै छ ।”

“लौ, के गरेको यस्तो ?” मलाई त कुरा सुन्दा झनक्क रिस पनि उठेको हो तर रिस थामेर गुरुजीको आश्रममा उनलाई पनि लिएर गएँ । सबैलाई सँगै राखेर झाँको झारेँ । दुलही नानी त दुइ जिउकि रहिछन् । एकछिनको भनाभन पछि सबै जना मिले तर मसँग त्यो बेला आइफोन र म्याकबुक केहि पनि थिएन । पुरानो सत्ताले ट्रयाक गरेर पक्राउ परिन्छ भनेर पार्टीले मोबाइल बोक्न दिएको थिएन । नत्र त्यो पारिवारिक मिलनको म फोटो पनि खिच्ने थिएँ ।

अनि त्यो रमाइलो वातावरणमा म निकै बेर बसेँ । त्यो आश्रम बाल्मिकी नामका गुरुको रहेछ । ज्ञानी मान्छे । उनले अहिले मिलेका भए पनि घर पुगे पछि झगडा गर्न सक्छन्, दुइजिउकीलाई घर चै नपठाम् होला भन्न थाले ।

मैले पनि ‘नपठाउँदै राम्रो होला । यसै पनि ठुलो पेट छ, जम्ल्याहा जन्मिन्छन् । नाम चै लब र कुश राख्नु है’ भन्ने सल्लाह दिएँ ।

गुरुजीले दंग परेर भने, “कसरी थाहा पाउनु भयो जुम्ल्याहा जन्मिन्छन् भनेर ? तपाई ज्योतिषी हो कि क्या हो ?”

“हामी त्यस्तो अन्धविश्वास बोकेर हिड्दैनम् ।” मैले खुलस्त भन्दिएँ, “म क्रान्तिकारी हुँ । देशमा प्रजातन्त्र ल्याउन हिडेको । खासै काम केहि हुन्न अनि पढेर बस्छु । मैले दुइ ट्रक जति किताब पढिसकेँ हुँला । त्यत्रो पढेको मान्छेले एउटी महिला हेरेर जुम्ल्याहा बच्चा जन्मिन्छन् र दुइटै छोरा हुन्छन् भन्न नसके पढेको के काम ?”

“यस्तो विद्धान मान्छे यो गर्मीमा के दुख पाउन हिड्नु भएको होला ?” बाल्मिकीले दुखेसो पोखे ।

“त्यस्तो दुख भन्ने त छैन ।” बुढाको माया देखेर मैले अर्को रहस्य पनि बताइदिएँ, “यो क्रान्ति भनेर हिडेको त यसै हो । केहि गरेको जस्तो त गर्नु पर्यो नि । बहुदल त ४७ सालमा आइहाल्छ ।”

यति भनेर म हिड्न लाग्दै थिएँ, बाल्मिकीले बस्न कर गर्न थाले । उनले आफुले एउटा किताब लेख्न लागेको र त्यसमा म जस्तो विद्धानको सहयोग भए छिट्टै किताब लेखिसक्ने थिएँ, भन्न थाले ।

“किताब लेख्न के गाह्रो हो र ?” मैले उनलाई अर्को हिन्ट्स दिएँ, “तपाईकै वरिपरी कथा हुनेछ । ध्यान दिएर हेर्नु ।”

त्यसपछि म त्यहाँबाट निस्किएँ । बाटोमा नै बयलगाडा चढेर पार्टीका अर्का कमरेड मलाई खोज्दै आएका रहेछन् । म बयलगाडा चढेर अन्तै लागेँ । दुखको कुरा के भयो भने, त्यो आश्रममा मैले आइपड छोडेछु । त्यो आइपड चै मैले पछिसम्म सम्झिरहेको थिएँ ।

त्यो आइपड सामान्य आइपड थिएन । स्टिभ जब्स एप्पल कम्पनी सुरु गर्नु भन्दा पहिले यतातिर घुम्न आएको थियो, त्यहि बेला मलाई दिएको थियो । मैले त्यो आश्रममा गएर आइपड ल्याइदिन पार्टीमा कुरा पनि राखेँ । कुरा अगाडी बढ्दै गर्दा निकै समय भइहाल्यो । अहिले जस्तो मोबाइल, क्यामेरा थिएन नि त । पछि एकजना कमरेड त त्यहाँ पुगेका थिए तर आइपडको आइ एकातिर र पड अर्को तिर भने जस्तो भएछ । लब र कुशले तानातान गर्ने भएर आइपडको हालत बनाएछन् ।

अहिले यसो सम्झिन्छु, नजन्मिदै मैले नाम राखिदिएका ति लब कुश कत्रा भए होलान् । एउटा किताब त लेख्छु लेख्छु भन्ने बाल्मिकी बुढाले कस्तो किताब लेखे होलान् । जान नि हुन्थ्यो तर साथीसंगत गतिलो परेन मेरो । चर्पी बस्न र निस्केर हात धुन त डरसरी छ । कुर्सी लगिदिहाल्न तयार भएर बसेका छन् । समस्या फेरि यहि बेला छ कि हात कम्तिमा ३० सेकेन्ड फिँज निकाली निकाली धुनु पर्ने भएको छ । नत्र कोरोना लाग्छ नि त ।

पुनश्च : आजकै दिन हाम्रा देशका प्रधानमन्त्रीले विरगञ्ज पश्चिममा अयोध्या पर्छ भन्नु भएछ । त्यो भनाइ र यो लेखमा केहि सम्बन्ध छैन । मिल्न गएमा संयोग मात्रै मानिनेछ । धन्यवाद ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)