सुर्य ग्रहण, ज्योतिष ज्ञान र हाम्रो धारणा

भोलीपर्सी हेर्दा यो कहिले लेखेँ भन्ने सम्झिन गाह्रो पर्ला । अनि अर्को कुरा, म भित्र ज्योतिष ज्ञान भरिएर यता छछल्किएको पनि होइन । आज सुर्य ग्रहण लाग्यो । केहि साथीहरुले यो बेला खान हुन्न भन्ने कुराहरु गरिन्छ, त्यो अन्धविश्वास हो कि वैज्ञानिक हो भन्ने प्रश्न गरे पछि यो लेखेको हुँ तर यसमा खोज्न जाँगर नचलाएका कारण विज्ञानले के भन्छ चै लेखेको छैन ।

जाँगर हुनेले खोजेर कमेन्टमा लेख्न सक्नुहुनेछ । धन्यवाद । अब मेरो कुरा ।

सामान्यतया, ज्योतिष ज्ञान दुई खालका हुन्छन् । एउटा गणित ज्योतिष र अर्को फलित ज्योतिष । जान्नेले दुइटालाई मिसाएर राम्रै गुजारा पनि गरिरहेका होलान् । तर हामी कतिपयले भने यो नबुझेर ज्योतिष भन्ने बित्तिकै गलत भन्ने वा अन्धविश्वासी बन्ने भइराखेका हुन्छौँ ।

गणित ज्योतिष भनेको चै आकाशिय पिण्डहरुको गतिबिधीलाई सुत्रबद्ध गरेर तिनको अध्ययन गर्नु हो । जस्तै : उहिलै पश्चिमतिर जोर्डानो ब्रुनो, निकोलस कोपर्निकसहरुले पनि गणितिय सुत्रबाट नै पृथ्वी गोलो छ र सुर्यलाई घुम्छ भन्ने पत्ता लगाएका हुन् । स्मरणका लागि, जोर्डानो ब्रुनोलाई चर्चका पादरीहरुले इश्वरको महिमालाई क्षति पुर्याएको भनेर जिउँदै जलाएर मारेका थिए भने निकोलस कोपर्निकसलाई सायद बिष पिलाइएको थियो । चर्चका पादरी बाइबल ठोकेर भन्थे, पृथ्वी चेप्टो छ र इश्वरले पृथ्वीको सेवा गर्न सुर्य बनाएका हुन् जसले पृथ्वीलाई घुम्छ । टेलिस्कोप त पछि ग्यालिलियो ग्यालिलीले बनाएको । उनले टेलिस्कोपबाट हेरेर पनि जोर्डानो ब्रुनोहरुकै मत राखे । उनलाई पनि पादरीहरुकै कारण जेलमा कोचेर मारियो ।

यताका ऋषिहरुले पनि आकाशिय पिण्डका बारेमा धेरै व्याख्या गणितिय सुत्रबाट गरेका छन् । त्यहि भएर त अबका निकै बर्ष पछि लाग्ने सुर्य ग्रहण र चन्द्र गहण पनि पात्रो हेरेर हिसाब गरे भन्दिन्छन् । र, नासासँग दुरुस्तै मिल्छ पनि । अचम्म । तपाईले वैदिक ज्योतिषका कुराहरु पढ्नु भयो भने छक्क पर्नु हुन्छ कि कसरी पत्ता लगाए होलान् ।

सम्भव छ, केहि सुत्रहरु गलत होलान् । त्यस्तै, केहि अहिले पत्ता लाग्न सकेका भन्दा पनि उत्तम होलान् । त्यो विज्ञान हो । धेरै तपस्या, साधन र प्रयोग पछि पत्ता लागेको कुराहरु होलान् । यसैले गणित ज्योतिषलाई गलत भन्न नमिल्ला ।

यो सबै राम्रो भइराथ्यो । अनि जन्माइयो फलित ज्योतिष ज्ञान । बाठाहरुले त्यो ज्ञानलाई फलित बनाइदिए । हिसाब त गरे तर के भन्न थाले भने त्यो ग्रह र ताराले तेरो दिन बिगार्यो, गाइ पैसो राखेर ग्रह शान्ती गर्न पर्छ, सब ठिक हुन्छ । त्यस पछि गणित ज्योतिष पनि विवादित र बदनाम हुदै आयो ।

यो ग्रहणको कुरामा पनि कति कुरा त्यस्तै छन् । आज ग्रहण यति बजे लागेर यति बजे सकिन्छ भन्ने नासाले भन्नै पर्दैन, पात्रो हेरेर भन्दिन सक्छन् । यो गजब हो । अनि हामीले सुने जस्तै कुनै विकिरणहरु उत्पादन हुन सक्ने र त्यसले हामीलाई हानी वा असर पुर्याउँन सक्ने हुन पनि सक्छ । आखिर मान्छे भनेको आफै चलायमान हुन सक्ने रसायनहरुको थुप्रो न हो । विकिरणले रसायनमा असर गर्छ भन्ने सोच्नु त रकेट साइन्स पनि होइन नि, सामान्य कुरा हो । यदि असर गर्छ भने मानिस मानिसमा उसको शारिरिक बनोट र क्षमता अनुसार फरक असर गर्दो हो । यति सम्म भनेको भए ठिक हुने ।

तर फलित ज्योतिष ज्ञान बिचमा छिर्यो । अनि त्यहि ज्ञानले भन्दियो, तँ जेठको कृष्णपक्ष चर्तुर्थीमा जन्मिस्, तेरो नाम चुन्निलाल भयो, तेरो राशी मेष भयो, तैले आज ग्रहण हेर्नु हुन्छ है । अनि यो चै पुषमा जन्मिएको रहेछ, घनिष्टा नक्षत्र पर्यो, राशी कुम्भ भयो, तैले हेर्नु हुदैन है । यो चै गलत हो ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)