एउटा ‘आन्दोलनकारी’ फेसबुक ग्रुप, जुन बिचैमा ‘अर्काइभ’ भयो

एक पल्ट ‘षड्यन्त्रका सिद्धान्तहरु’ लाई पाखा लगाऔँ । एउटा फेसबुक ग्रुप बनेको, आन्दोलनमा मानिसहरु (खास गरि नवयुवक युवतीहरु) लाई तानेको हेरौँ । र, यसको विसर्जन हेरौँ ।

नयाँ जस्तो लाग्छ ?

नयाँ होइन भन्न सकिन्छ । अहिले प्रबिधीले गर्दा पहिलो पल्ट आन्दोलन गर्ने ग्रुप अर्काइभ भएको देखिन्छ । यसरी कुनै पनि एड्मिन प्यानल पहिलो पल्ट डिसम्यान्टल भए जस्तो देखिन्छ तर हामीले यो पटक पटक भोगिरहेको समस्या हो । ७ साल पछि, ४६ साल पछि, ६२/६३ पछि पनि ।

किन दोहोरिन्छ त यो ? कारण एउटै हो । हामी आन्दोलनका लागि सम्पुर्ण ध्यान लगाउँछौँ । विपक्षी चिन्न र मानिसहरु आफुतिर तान्न हाम्रो प्रयोग सँधै सफल छ तर किन ग्रुप अर्काइभ भए जस्तो परिवर्तन गर्ने पक्षहरु विलिन हुन्छन् ?

एउटा सत्य घटना छ । मैले पात्र र देशको नाम चै बिर्सेँ । निकै पहिले डिस्कभरी च्यानलमा हेरेको थिएँ । एउटा अपराधीको कथा हो यो । उ पक्राउ पर्छ । एकदमै सुरक्षित मानिएको जेलमा उसलाई राखिन्छ । उसले जेलको सबै तालिकाका बारेमा थाहा पाउँछ । जस्तो : कति बेला सुरक्षाकर्मीहरु खाजा वा खाना खान जान्छन्, कति बेला सुरक्षाकर्मीको पालो फेरिन्छ । आदि आदि ।

महिनौँको अध्ययन र अरु केहि महिनाको प्रयत्न पछि उ जेलबाट भाग्न सफल हुन्छ । त्यति चलाख अपराधी जेलबाट भागेको केहि समयमा नै पक्राउ पर्छ ।
किन थाहा छ ?

उसले अन्तरवार्तामा भनेको छ, “मैले सम्पुर्ण दिमाग जेलबाट भाग्नेमा मात्रै लगाएछु । जेलबाट भागे पछि कहाँ पुग्छु र कसलाई भेट्छु भन्ने नै सोचिनछु । म सुरुमा आफ्नी गर्लफ्रेन्डकोमा पुगेँ । त्यहिँ फेरि समातिएँ ।”

हाम्रो राजनीतिमा दोहोरिरहने घटनाक्रमको कारण पनि त्यहि हो कि हाम्रा परिवर्तनका पक्षधरहरुले कहिलै पनि परिवर्तन पछि के गर्ने भन्ने बारेमा गहन तयारी गरेनन् । जति गरे सतही गरे जसले परिवर्तन हुने बित्तिकैको धरातलमा सन्तुलन कायम गर्न सकेन ।

पटक पटक यस्तै भयो । आन्दोलनताका अराष्ट्रिय भनिनेहरु आन्दोलनभर राष्ट्रिय तत्व बने तर आन्दोलन सकिने बित्तिकै अराष्ट्रिय जस्ता देखिन थाले । त्यस्तै, युद्ध गरेर आतंकवादी भनिउञ्जेज जनताका तारणहार जस्ता देखिनेहरु युद्ध सकिए पछि चै ‘आतकंवादी’ जस्ता देखिए ।

र, फेरि त्यस्तै भयो । बिना तयारी आवेगमा भएको आन्दोलन सम्हालिन नसकेर अर्काइभ भयो ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)