जेठ १९, २०७७ को धर्म संकट

धर्मसंकट भन्ने शब्द छ । त्यो बडो गजबको छ । फोहोरी सुनिएला तर खकार र सिंगानमा कुन सुन्दर भन्नेमा छान्नु भन्दा पनि गाह्रो कुरा भए धर्मसंकट भन्दिदा हुन्छ । अलिक कम गाह्रो अवस्थालाई त ‘द्विविधा’ शब्दले पनि काम चल्छ ।

आजको सन्दर्भमा चै, धर्मसंकट २ वटा छन्:

१. विरेन्द्रको हत्यारा को हो भन्नु राजावादीहरुका लागि धर्मसंकट ।

दिपेन्द्र हो भनौँ, पृथ्विनारायणको सन्तानले पनि परिवारकै हत्या गर्दा रहेछन् भने जस्तो हुने । त्यस्तो मान्छे भावीराजा रहेछ, दरवारको शिक्षादिक्षा र शाहवंशको कुलमा पनि खराबी हुन सक्ने रहेछ भनेर ‘वैरी हसाएँ जस्तो’ हुने ।

दिपेन्द्र होइन भनौँ, पारस शाह लगायत शाह परिवारले नै दिपेन्द्र हो, हाम्रै आँखाले देखेको भनिराछन्, तिनलाई कसरी फटाहा बोल्नेहरु भन्नु ? फेरि ‘ज्ञानेन्द्रले स्विकारेको’ ‘भुटुटुटुटु प्रतिवेदन’मा पनि दिपेन्द्रले नै मारेको भन्ने किटानी छ ।

अनि भन्दिन्छन्, अन्तराष्ट्रिय शक्तिले नेपाल हत्याउँने ग्रान्ड डिजाइन अन्तर्गत नेता किन्यो, आर्मी किन्यो र मारिदियो ।

तिनलाई प्रश्न सोध्नु पर्छ, “नेता नै किनेर, आर्मी नै किनिसके पछि, देश हत्याउँनलाई रोकेको चै के ले थियो ? भारतमा लुकेको प्रचण्डले कि तत्कालिन प्रधानमन्त्री गिरिजाले ?”

२. राष्ट्रपतिलाई १ करोडको गलैचाको नेकपाका धेरै साथीहरुलाई धर्मसंकट ।

१ करोडको गलैचा राष्ट्रपतिका लागि रकम माग्नु र दिनु ठिक हो भनौँ, राहतमा पैसा सकिएको र क्वारेन्टाइनको हालत समाचारमा देखिएको नै छ । हिजो अस्ति भर्खर अर्ब माथिको हेलिकप्टर, करोडौँको गाडी अनि अब गलैचा त अति नै हो भने जस्तो लाग्ने ।

रकम माग्नु र दिनु ठिक होइन भनौँ, यस्तो ‘लिच्चड स्कुलिङ’ नेकपाकै हुन्छ भनेर ‘वैरी हासिदिने’ । फेरि दिनेमा पनि आफ्नै सरकार छ ।

अनि भन्दिन्छन्, राष्ट्रपति पदको गरिमाका लागि त्यति चाहिन्छ । त्यो विद्या भण्डारीको लागि हो र ?

तिनलाई प्रश्न सोध्नु पर्छ, “कति करोडको कार्पेटमा खुट्टा राख्छ भनेर मात्रै राष्ट्रपतिको पद गरिमामय हुने हो र ?”

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)