दलितको थर लेखौँ भन्ने बाबुरामको सुझाबलाई के भन्ने ?

समाचार : समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थर परिवर्तनको प्रस्ताव गरेका छन् । प्रतिनिधि सभामा आइतबार भएको बजेटमाथिको छलफलका क्रममा उनले वर्णाश्रम व्यवस्था परिवर्तन गरेर श्रमको संस्कार निर्माण गर्नुपर्ने बताए ।

रुकुममा भएको ‘नवराज बिक’को घटनाले नेपाली समाज पुन: एक पटक जातीय विभेदको बहसमा उत्रिएको छ । यो बहस गर्नै पर्ने बिषय हो तर यो बहस पहिलो पल्ट हुदै छैन । यो भन्दा धेरै अगाडी धेरै पटक धेरै किसिममा यी बहस उठेर सेलाएका छन् ।

राज्यका तर्फबाट हेर्ने हो भने राणाकालमा बनेको जातीय विभेद बढाउँने कानुन बाहेक त्यस यता जातीय विभेदलाई बढावा दिने कानुन बनेका छैनन् भने समाजमा खुल्मखुल्ला म जातीय विभेद मान्छु भन्न नसकिने धरातल भने बनेको छ । तर यति हुँदा हुदै पनि जातीय विभेद भने समाजमा जरा गाडेर बसेको छ ।

पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले यहि सेरोफेरोमा रहेर सबैले आफ्नो थरमा दलितहरुको थर लेख्ने सुझाव दिएका छन् । उनको यो सुझाबमा टिप्पणी गर्नु भन्दा विभेद हटाउँन पहिले प्रयोग भएका सुझाव वा साधनहरुका बारेमा कुरा गरौँ ।

शिक्षाले जातीय विभेद हट्छ

जातीय भेदभाव खराब हो भनेर पढाउँदा केहि फरक देखिएको छ तर त्यसलाई समाज वा परिवारको नाममा कायम राखिएको छ । घरमा अघिल्लो पुस्ताले मान्दैन भन्दै जातीय विभेद बोक्ने पछिल्लो पुस्ताको संख्या पनि ठुलो रहेछ । शिक्षाले मात्रै जातीय विभेद हट्ने रहेछ भन्न गाह्रो हुने रहेछ ।

धन भए’सी सबै बराबर

धनै नहुने दलित भन्दा धन हुने दलितमाथि कम विभेद भएको देखिन्छ । धनी छ भने समाजमा उसको स्विकार्यता भने बढेको पाइन्छ । धन भएपछि जातसात मानिदैन भन्ने सोचाइ पर्याप्त छ तर धनी भए पनि ‘ए फलानो पो रहेछ’ भने जातलाई प्राथमिकता दिने वा ‘फलानो जातको भए पनि धनी छ है’ भनेर जात जोड्ने चलन छँदैछ ।

सुन्दरताको कुरामा पनि यो कुरा लागू भएको देखिन्छ । ‘दलित भएर पनि कति राम्री’ भन्ने प्रतिक्रिया त युवा पुस्तामा पनि आमप्रतिक्रिया हो ।

घुलमिल बढ्नु पर्यो

सामाजिक घुलमिल त पहिले पनि थियो तर सामाजिक काममा बराबर सहभागीता भने थिएन । पछि सामाजिक काममा सहभागीता बढाएर वा भोजभतेरमा एकै ठाउँमा भोज खुवाएर जातीय विभेद उन्मुलनका काम नभएका भने होइनन् । राजा महेन्द्रको पालाको सहभोज होस् या माओवादीको जनयुद्धकालको कुरा, यी दुवै प्रकृति सहभागिताबाट जातीय विभेद हट्छ भन्ने नै थियो तर त्यसले सानो स्थान वा थोरै समयका लागि मात्रै विभेद हटेको जस्तो देखियो ।

राजाको सर्वजातीय भोज पछि ठुला जातका घरमा क्षमापूजा र चोख्याउँने काम चल्थ्यो भनिन्छ । त्यस्तै जनयुद्धको समाप्तीसँगै पुन: विभेद उस्तै देखियो ।

सहनु हुन्न

सहनु हुन्न वा प्रतिरक्षा गर्नु पर्छ भन्ने सोचलाई शंकाको दृष्टिले हेरेको पाइन्छ । पिडितले विभेदका विरुद्धमा आवाज उठाउँने र कानुनी कारबाही खोज्ने दुवै कुरालाई समाजले पचाइनसकेको जस्तो देखिन्छ । फलानो शब्द प्रयोग गरेर किन हेपिस् भनेर ‘जातीवाचक शब्द’मा आपत्ति जनाउँदा समाजमा ‘अब बाहुन भन्दिम्ला नि त’ अथवा ‘मलाई पनि मेरो जातले बोला न त’ भन्ने ओठे जवाफ दिने र कानुनी कारबाही खोज्दा समाज नै उल्टिएर ‘बेकारमा फसाइस्’ भनेर उल्टै पिडितलाई सम्झाउँने गरेको देखिन्छ ।

प्रतिरक्षालाई ठुलो समुहले उग्र मानिदिनाले यो प्रत्युत्पादक हो कि भन्ने पनि देखिन्छ तर उग्रताको बुझाइ व्यक्तिगत हुन्छ । कसैलाई आङकाजी पनि उग्र होइनन् र कसैलाई यो पोस्ट पनि उग्र हुन सक्छ ।

कानुन

कानुनमा लेखेको भरमा विभेद मेटिएको पनि देखिएको छैन । २०२० सालमा पहिलो पल्ट कानुनीरुपमा जातीय विभेदलाई बर्जित गरियो तर त्यसको आधा शताब्दी पनि पनि यो हटेको छैन ।

हो, यी सबै कुराको कारण हुन पर्छ, केहि परिवर्तनहरु भएका छन् । एउटै बाटो हिड्न नपाउँने दलितका लागि छुट्टै बाटो बनेको सुनिएको छैन तर धाराहरु बेग्ला बेग्लै हुने, भोज फरक फरक हुने, दलितले छोएकोमा पिटिने र मारिने चै अझै पनि समाचार बनिरहेका छन् । परिवर्तन भइरहेको छ वा आफै हुन्छ भनेर बस्दैमा यो आफै जादैन । यी अहिलेसम्म भएका सानातिना परिवर्तन पनि माथि भनिएका र ति भन्दा धेरै कारणहरुले यतिसम्म भएको हो । र, जति भएको छ त्यो सुस्त र अपुरो छ ।

यस्तोमा बाबुरामले आफ्नो तर्फबाट सुझाव दिएका होलान् । उनले जातलाई साधनका रुपमा प्रयोग गर्न खोजेका होलान् तर उनको सुझाव एकाङ्की छ । यसले थरले बोकेको वैज्ञानिक पक्षलाई नामेट गर्छ । थरले रक्तवंशलाई चिनाउँन सहयोग गर्छ । यसलाई नै हटाउँने हो भने उहि रक्तवंशका हुन् भनेर चिन्ने अर्को कारण रहदैन । यसले एकै रक्तवंशमा विवाहको सम्भावना बढाउँछ । रक्तवंशमा बिहेबारी वैज्ञानिकरुपमा पनि खराब हो । रक्तवंश थाहा पाउँनका लागि पनि थर लेख्नु व्यवहारिक र वैज्ञानिक हुन्छ ।

सबैले थरमा कामी, दमाइ, सार्की वा कुनै एउटै थर लेखेर मात्रै जातीय विभेद हट्दैन । यो झन्डै सबैलाई धनी भन्दिएमा गरिब हट्छ भन्नु जत्तिकै सुनिन्छ ।

मुख्यत: संसार विविधतापुर्ण भएकाले नै गजब छ । विविधतालाई स्विकार्ने हो । अनि, कुरा जातीय विभेदको हो, छुवाछुतको हो र जन्मिदैमा सानो वा ठुलो मान्ने प्रवृति र परम्पराको हो । यसलाई हटाउँनमा अहिलेसम्म प्रयोगमा आएका साधन शिक्षा, धन, सहभागिता, प्रतिरक्षा र कानुन नै होलान् तर ति पनि त्यति धेरै प्रभावकारी भएनन् । यसैले नयाँ साधन चाहिएको छ र यसबारे छलफल, बहस र आविश्कार भने गर्न छोड्नु हुन्न ।

बहसमा एउटा सुझाब थपिदिएकोमा बाबुरामलाई धन्यवाद भनौँ र उनको सुझाबलाई भने खारेज गरौँ ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)