हल्ला छ, कि त कोरोनाले, कि त भोकले मरिने भइयो, साँच्चै यस्तै हो त ?

“कस्ता कस्ता देशले त सकेका छैनन् । अमेरिकामा त त्यस्तो डरलाग्दो भ’को छ ।” ममीको डर आवाजमा उत्रियो र भन्नु भो, “रोगबाट बाँचे पनि धेरै दिनको लकडाउन पछि त लुटपाट र भोकमरी हुन्छ होला ।”

यो मेरो ममीको मात्रै सन्देह होइन । धेरैले रोगको समय र पछि हुन सक्ने सम्भावनाको अनुमान गरिरहेकै छन् । हामीलाई ठ्याक्कै के हुदैछ र के हुने हो भन्ने थाहा पाउँन हतार छ तर त्यो थाहा दिने स्रोतसम्म हाम्रो पहुँच भएको छैन । बरु हामी गलत र भ्रामक समाचार तथा जानकारीहरुले थप अन्यौलमा परेका छौँ ।

अहिले ठ्याक्कै के हुदैछ भन्ने जानकारी पाउँन सरकारी तथा अन्तराष्ट्रिय संयन्त्रहरुलाई विश्वास नगरी अर्को उपाय छैन । युट्युबमा आउँने षड्यन्यत्रका सिद्धान्तहरु तथा भविष्य यस्तो हुन सक्छ भन्ने जोखानाले यो चासोको सहि सम्बोधन गर्न सक्दैनन् । भोली के हुन्छ भन्ने कसैले पनि निश्चितरुपमा भन्न सक्दैन । आफुले जानेसम्मको सत्यमा आधारित भएर आंकलन गर्न सक्ने मात्रै हो । जो सत्य हुन सक्ने र सत्य नहुन सक्ने दुवै सम्भावनामा उतिकै सफल र असफल हुन सक्छ । त्यो अँध्यारोमा हानेको झटारो मात्रै हो । लाग्ला पनि र आँप झर्ला पनि वा लाग्दै नलाग्ला पनि ।

यसैले यो रोग कसरी सकिन्छ भन्ने अहिले अनुमान गर्नु असम्भव कुरा हो । अहिले लकडाउन र सामाजिक दुरी मात्रै हाम्रो लागि जीवनरक्षक विकल्प हो ।

तर सँगै हामीसँग अर्को सन्देह छ, जसलाई ममीले भन्न भयो, “रोगबाट बाँचे पनि धेरै दिनको लकडाउन पछि त लुटपाट र भोकमरी हुन्छ होला ।”

विवाद गर्ने ठाउँ त रहन्छ तर विकशित भनिएका धेरै देशहरुको तुलनामा हाम्रो जीवनशैली ‘प्राङ्गारिक’ छ वा छोटो समयमा ‘प्राङ्गारिक’ बन्न सक्छ । हाम्रोमा असाध्यै ठुलो जनसंख्या आफु स्वयमको उत्पादनले बाँच्न सक्छ । चार औँला खोसरेर बिउ हाल्दिए हामीलाई बचाउँन सक्ने अन्न उत्पादन गराउँने जमिन छ ।

विकशित भनिएका धेरै देशहरुको धरातल यस्तो प्राङ्गारिक छैन । कति मुलुकहरुसँग न उब्जनी हुने जमिन छ, न त्यो अनुसारको व्यवस्था छ । देशको असाध्यै ठुलो जनसंख्या या त सेवामुलक व्यवसायमा छ, या त निर्माणमा । अर्को अत्याउँने कुरा हो, उनीहरुले बर्षौँ पछिको कमाइ देखाएर हिजो नै ऋण लिइसकेका छन् । यो ठुलो जनसंख्या तत्कालै सेवा र निर्माण छोडेर उत्पादनमा समाहित हुन गाह्रो हुन्छ । तिनीहरुले कमाउँन बन्द गरे अर्थतन्त्र तासको महल जस्तै क्षणभरमा ढल्छ ।

अझ कुनै कुनै देशमा त्यस मध्येको ठुलो अनुपात हतियारबन्द छ । मान्छेको इतिहासले भन्छ, मान्छेले बाँच्नका लागि हतियार बनायो र जब बाँच्ने कुरा मुख्य मुद्दा बनेर आउँछ, मान्छेले अन्य सबै कुरालाई थाती राखेर हतियार उठाउँछ । यसै पनि शक्तिशाली व्यक्ति, समुह वा देश गरिब भएर बस्न सक्दैन । यो विकशित देशहरुको बिडम्बना हो । उनीहरु मान्छेलाई भन्दा व्यवसायलाई बचाउँन चाहन्छन् । मान्छेको साटो जागिर बचाउँनु खोज्नुको भित्री उद्देष्य भनेकै उनीहरुको अर्थतन्त्रको प्रभावले ल्याउँन सक्ने भद्रगोल रोक्न खोज्नु हो पनि भन्न सकिन्छ ।

हामी कहाँ फरक किसिमको दुर्भाग्य छ तर विकशित देशमा जस्तो भने छैन । हाम्रा आफ्नै खालका समस्या हुन्छन् र समाधान पनि आफ्नै खालका । अमेरिकाले त सकेन भनेर अन्त हेरेर आफ्नो खुट्टा कमाउँनुको अर्थ छैन । हामीले महाभुकम्पको समयमा पनि हैटीतिर हेरेर तर्सियौँ तर हैटीमा जस्तो केहि पनि नेपालमा भएन किनभने नेपाल र हैटीको भुगोल मात्र फरक होइन, हाम्रा अन्य धेरै सामाजिक संरचना पनि फरक छन् । हामीसँग खोस्रिएर बिउ हाल्दिदा उब्जनी हुने जमिन छ । हामीलाई मान्छे जोगाउँने कि जागिर जोगाउँने भन्ने कुरामा एउटा छान्न धर्मसंकट महसुस गर्नु पर्ने अवस्था छैन । हामी ढुक्कले भन्न सक्छौँ, पहिले मान्छे जोगाऔँ ।

यसैले कोरोना र त्यसले ल्याउँने नतिजासँग डर मानौँ तर नआत्तिऔँ । मनोबल उच्च राखौँ । मान्छेलाई माया गरौँ । अर्कालाई बचायौँ भने उसले पनि बचाउँछ भन्ने सोचौँ । मान्छेको ज्यान भन्दा ठुलो यो संसारमा अर्थोक केहि पनि छैन । छदै छैन ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)