तारक मेहताको जेठालाल र ओलीका सल्लाहकारहरु

तारक मेहताका उल्टा चस्मा भन्ने एउटा हिन्दी सिरियल छ । असाध्यै मन पराइएको हिन्दी सिरियल मध्येमा पर्छ यो । १२ बर्ष देखि चलिरहेको यो सिरियल हप्तामा ५ दिन प्रसारण हुन्छ । यसको भाग नै झन्डै ३००० पुगिसक्यो । अहिले म अहिले खासमा यो सिरियलको बारेमा लेख्न लागिरहेको होइन । यसमा भएको एउटा प्रसंगको बारेमा लेख्न लागिरहेको छु ।

प्रसंग तब सुरु हुन्छ जब गोकुलधामको एउटा पञ्जाबी परिवार आफ्नो आठ नौ बर्षको छोरोलाई छोडेर कतै जानु पर्ने हुन्छ । त्यो सानो छोरोको नाम गोगी हो । उसको परिक्षा चलिरहेको छ र उ जान पाएको हुदैन । उसलाई राखिन्छ सिरियलको मुख्य पात्र जेठालालको घरमा ।

जेठालाल पात्र आफैमा मदमस्त पात्र हो । उ रमाइलो छ । मनको सफा छ । उसले धेरै पढेको छैन तर उसलाई आफु पढेको छु र जान्ने छु भन्ने चै देखाइराख्नु पर्छ । उसको त्यो स्वभावका बारेमा गोगीलाई थाहा हुदैन । गफैगफमा जेठालाले गोगीलाई भन्छ कि छिमेकी ऐयर जो वैज्ञानिक हो, उसलाई पनि आफुले नै पढाएको हो तर आफ्नो महानताको तारिफ गरेको मन नपरेका कारण यो बारेमा कसैलाई चर्चा गर्न नदिएको हो । गोगी छक्कै पर्छ ।

सामान्य कुराहरुलाई पनि जटिल प्रश्नहरु गर्न सक्नु गोगीको स्वभाव हो । पढ्न बसेको गोगीले आफ्नो प्रश्नको समाधान गर्दिने विद्धान भेटेको सम्झिन्छ र सोध्छ, “विज्ञान किताबमा पनि उहिलै उहिलै पत्ता लगाएका कुराहरु हुन्छन्, इतिहासमा पनि उहिलै उहिलै घटेका घटनाहरु हुन्छन्, त्यसो हुँदा विज्ञानलाई पनि इतिहास भनिनु पर्ने हो तर इतिहास नभनेर विज्ञान किन भनिएको ?”

जेठालालले के जवाफ दियोस् ! तर हार मान्ने कुरा भएन नत्र अघि भर्खर वैज्ञानिकसम्मलाई पढाएको भनेर दिएको गफ धुलिसाँध हुन्छ । यसैले जेठालालले एउटा कथा सुनाउँछ । भन्छ, “यो बिषयहरुको न्वारान गर्दा सबै बिषयहरु लाइनमा थिए । इतिहास लाइनमा अगाडी थियो तर विज्ञान पछाडी थियो । अनि जब विज्ञानको पालो आयो तब न्वारान गर्नेहरुलाई अफ्ठ्यारो पर्यो ।” यति भन्दै गर्दा गोगीले जेठालालको कुरा पत्याउँन थालिसकेको हुन्छ । यसैले थप जोशका साथ जेठालाल भन्छ, “यसैले न्वारान गर्नेहरुले विज्ञानलाई फकाएर भने ‘तँ इतिहास नै होस् तर त्यो नाम अर्कैलाई दिइसकियो । एउटै नामका दुईटा किताब भयो भने झुकिन्छ । त्यसैले तेरो नाम विज्ञान भयो ।'” अनि थप जोड लगाउँदै जेठालालले कुरा सक्छ, “हुन चै यो इतिहास नै हो तर मिलाउँनका लागि विज्ञान भनियो । बुझिस् बाबु ?”

गोगीले भन्छ, “बुझेँ अंकल ।”

यो प्रसंग म हाम्रा राजनीतिक नेताहरुका सल्लाहकार देखे पछि बेला बेला सम्झिरहन्छु ।

यहाँ समय सन्दर्भमा सजिलो र रोचकताको लागि मात्रै प्रधानमन्त्री ओलीलाई भनेको हुँ नत्र निकै पहिलेदेखि नै सल्लाहकारको अवस्था उस्तै छ । भन्नलाई त सल्लाहकार भनिन्छ तर तिनले गर्ने काम चै हरहालतमा बचाउमा उत्रिनु पर्ने प्रवक्ता जस्तो, हो हजुर मात्रै भनेर अघिपछि लाग्ने स्वकिय सचिव जस्तो, प्रधानमन्त्रीको कुर्सीको आसन मिल्यो कि मिलेन वा ल्यापटपमा माउस चलेको छ कि छैन चेक गर्ने कार्यालय सहायक जस्तो देखिन्छ ।

यसैले जेठालालसँग सन्दर्भ मिलाएर भन्न मन लाग्छ, “हुन चै यी कार्यालय सहायक नै हुन् तर ति नामका कर्मचारी पहिलै नै राखिसकियो, यसैले यीनीहरुलाई सल्लाहकार भनिएको हो । हुन चै यी यी कार्यालय सहायकहरु नै हुन् है ।”

वास्तवमा यी कुराहरु मैले भनेको होइन । सल्लाहकार भनिएकाहरु मध्ये धेरैले पटक पटक देखाउँने व्यवहारका कारण मात्रै भनिएको हो । लागे पागे जान्दिन ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)