चुनावमा भोट माग्नेको तर्फबाट स्वास्थ्यमन्त्रीलाई अनुरोध

भानुभक्तजी, तपाई मेरो क्षेत्रको सांसद हो । विदेशमा भएर भोट हाल्न पाइन तर मैले व्यक्तिगतरुपमा तपाईका लागि भोट मागेको हुँ । यसैले तपाईले गरेको कामको प्रस्ट विश्लेषण गर्नु बिरोधीका लागि भोट हाल्ने वा माग्नेहरुको भन्दा धेरै मेरो जिम्मेवारी हो ।

तपाई व्यक्तिगतरुपमा सहि कि गलत भन्ने ल्याकत मसँग छैन । तपाईले भ्रष्टाचार गरेको हो कि होइन भनेर निर्णय सुनाउँने क्षमता पनि मेरो छैन । म यहाँ ति कुनै पनि कुरा गर्न लागेको होइन । मैले भनिसकेँ, म तपाईलाई भोट मागेको मान्छे । तपाई मेरो क्षेत्रबाट जितेको मान्छे । हाम्रो फेरि भेट हुन सक्छ । म भन्न पर्ने कुरा सोझै अगाडी नै भन्न मन पराउँने मान्छे हुँ । म भेट हुँदा नै भनुला वा अख्तियार वा अदालतले भन्ला ।

हेर्नुस्, ज्यान भन्दा ठुलो केहि छैन । अझ आफ्नो ज्यान, परिवारको ज्यान भन्दा ठुलो त झन् केहि छदै छैन । तपाई स्वास्थ्यमन्त्री भइराख्नु भो भने आफ्नो र परिवारकै ज्यान तलमाथि हुने अवस्था भयो । भाइरस बढ्दै गयो भने त्यसको चपेटामा तपाई र तपाईको परिवार पनि पर्न सक्ने भयो । कस्ता कस्ता देशका प्रधानमन्त्रीलाई त भेटेको छ भने तपाईलाई नभेट्ने कुनै कारण नै छैन ।

दिमागको आग्रह पुर्वाग्रह सबै हटाएर एक पल्ट सोच्नुस् त, यस्तो आपतको बेला तपाईले बोल्नसम्म पनि जान्नु भएन । तपाईले कम्पनी चिनेर नभइ नहुने सामान किन्न पनि सक्नु भएन । तपाईलाई यो अवस्थामा के गर्नु पर्छ भन्ने पनि थाहा भएन र त्यो सल्लाह दिनेहरु तपाईको संगतमा भएका पनि देखिएनन् । भन्दा नराम्रो सुनिन्छ तर भन्नै पर्ने भयो कि तपाई यो अवस्थामा स्वास्थ्यमन्त्री भइराख्न योग्य हुनु भएन । तपाईको क्षमताले धानेन ।

तपाईले गर्न सक्ने यो काम होइन रहेछन् । अरु कुनै होलान् । फुर्सदमा बसेर ति काम चिन्नुहोला । अहिलेलाई पद छोडिदिनुहोस् । कोही विज्ञलाई ल्याउँन सके राम्रो । त्यो नसके पनि कम्तिमा त्यस्तोलाई ल्याउँनु भनिदिनुस् कि मिठो बोलेर स्वास्थ्यकर्मीको मनोबल जगाउँन सकोस्, नागरिकलाई भरोसा दिलाउँन सकोस् । खातामा भएको पैसा प्रयोग गरेर चाहिने सामान किन्न सकोस् ।

सकिन भन्नु पनि बहादुरी हो । पाखुरा सुर्किएर युद्धमा होमिदा मात्रै बुद्धिमानी पनि नभइदो रहेछ । कहिलेकाँही चुपचाप घरमा बसेर ७ पल्ट साबुन पानीले हात धुँदा पनि नालापानीको युद्ध झै ठुलो युद्ध लडिने रहेछ । हामी लडिरहेका छौँ त । म झन्डै दुइ हप्तामा एक पल्ट ५ मिनेट भन्दा कम समयको लागि बाहिर निस्किएँ, त्यो पनि फोहोर फाल्न । बाँच्नका लागि इगो, बहादुरी लगायत सबै कुरालाई थाती राख्नु पर्दो रहेछ । समय चिन्नु त ज्ञानी हुनु हो नि, होइन ?

हेर्नुस्, बाँचिराखियो भने अर्को पल्टको चुनाव पनि देखिएला । तपाई भोट माग्न पनि पाउँनुहोला । के थाहा, बुद्धिको भाँडोमा बिर्को लागेर म अर्को पल्ट तपाईलाई नै भोट हाल्छु कि ! अहिले चै समयलाई चिनेर स्वास्थ्यमन्त्रीको पद छोडिदिनु न है । बरु यो कोरोना सकिए पछि फेरि बन्नुहोला । यसै पनि केहि गर्छ भनेर स्वास्थ्यमन्त्री बनाइने देश होइन हाम्रो । के फरक पर्छ र ?

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)