ग्रहणले उघारेको हाम्रो शास्त्रिय भ्रमको पर्दा

आज खन्डग्रास सुर्य ग्रहण लाग्यो । कुनै पनि धर्मका कुनै पनि ग्रन्थले कुनै पनि समयमा केहि पनि नभनेको सोसल मिडियामा ग्रहणका बारेमा ‘शास्त्रिय ज्ञान’हरु सेयर भइराखेका छन् ।

यस मध्येमा मलाई सबै भन्दा आश्चर्य लागेको एउटा समाचार थियो, जसमा लेखिएको छ, ‘सूर्यग्रहणमा फल नमिल्ने भएपछि सर्‍यो कांग्रेस बैठक’ । मैले स्टाटस लेखेँ आफ्नो प्रोफाइलमा र MRR मा । त्यहाँ कमेन्टहरु आए । मैले जवाफ लेखेँ । निकै बेर क्रम चल्यो । मैले यो ब्लग लेखिरहदासम्म पनि चलिरहेछ । सायद उता कमेन्टहरुको थुप्रो लागिसक्यो, जसले मेरो प्रतिक्रिया पर्खिदैछन् ।

यो गतिबिधी हेर्दा भन्न सक्छु, ग्रहणले छोप्दैन मात्रै । दृष्टिकोण फेर्ने हो भने ग्रहणले कति कुरा देखाउँछ पनि । अर्थात् ग्रहणले हाम्रा कतिपय भ्रमहरुबाट पर्दा उठाउँने पनि रहेछ ।

त्यहाँ प्राप्ट कमेन्टहरुको बारेमा यहाँ केहि प्रतिनिधि कमेन्ट लेखेको छु र मैले भन्न खोजेको कुराहरु समेट्दै यो ब्लग लेखेको छु ।

प्रश्न १ : यो पृथ्वी, चराचर जगतमा आउने कुनै त्यस्तो प्रश्न छैन, जस्को उत्तर वेदसँग नहोस् । विज्ञान सुरु हो । वेद पुर्ण छ ।

मेरो जवाफ : वेदमा रुघा कसरी लाग्छ भन्ने लेखेको देखाउँनु । लामखुट्टेका कति वटा खुट्टा हुन्छ भनेर लेखेको देखाउँनु । फेसबुक कुन प्लाटफर्ममा बनेको हो भन्ने लेखेको देखाउँनु । एनसेलले कर कस्तो अवस्थामा तिर्न पर्छ भनेर लेखेको देखाउँनु । हो, वेदमा धेरै ज्ञान छ तर सबै कुरा छ भन्नु भ्रम मात्रै हो ।

प्रश्न २ : सबैको आफ्नो विचार र आस्था हुन्छ । टाउको दुःखाइ गर्नु जरूरत देखिन मैले त । अविष्कार केन्द्रसँग यो केही मेल खान्छ र ?

मेरो जवाफ : आश्था र अन्धविश्वासमा फरक हुन्छ । व्यक्तिको आश्था वा अन्धविश्वासले मलाई फरक नपारुन्जेल केहि भन्नु छैन तर यो त्यस्तो संस्था हो जसले मलाई पनि फरक पार्छ । यसमा मैले टाउको दुखाउँनु स्वभाविक होइन र ? अनि यहि संस्थाका मान्छेहरु कुनै बेला आविश्कार केन्द्रहरुलाई बजेट छुट्याउँने ठाउँमा थिए वा पुग्नेछन् । यो मेल होइन र ?

प्रश्न ३ : विज्ञान प्रविधि प्राथमिकतामा नपर्नुको कारण चै यहि रहेछ । आज आएर थाहा भयो ।

मेरो जवाफ : हो । जब चाहिने जति सबै अनुसन्धान ऋषीहरुले गरिसके, उनीहरुको ज्ञानले नै संसार थाम्छ भन्ने अन्धविश्वास रहन्छ भने नयाँ अनुसन्धान र आविश्कारलाई किन खर्च गर्नु ? तपाईको मोबाइलमा अनलिमिटेड डाटा छ एक महिनाको लागि, भने तपाईले त्यहि महिनाको लागि २ जिबी डाटा फेरि किन्नु हुन्छ ?

भन्न खोजेको कुरा,

हामीले जति देवत्वकरण गरे पनि हाम्रो सभ्यतामा केहि कमजोरी देखिन्छ, त्यो हो हामीले पाएको ज्ञान पुर्ण ज्ञान हो भन्ने भ्रम पर्नु । हाम्रा ‘ऋषी’हरुले गरेको अनुसन्धान वा अभ्यास नै अन्तिम सत्य हो र अब थाहा पाउँनु पर्ने केहि ज्ञान छैन भन्ने भ्रम पाल्नु ।

पुरानाहरुका कुरा छौडौँ, मेरा कयौँ समकालिन साथीहरुलाई पनि त्यहि लाग्छ तर ति सोच्दैनौँ कि कुनै वेद वा शास्त्रमा हैजा लगाउँने किटाणुको नाम किन भएन भनेर खोज्दैनन् वा खोज्नु पर्छ भन्ने सम्म विश्वास गर्दैनन् । अहिले जे कारणहरुले असाध्यै भनिएका रोगहरुबाट मान्छे कसरी तङ्ग्रिन्छन्, कसरी मान्छेले भोकमरीलाई जित्यो जस्ता प्रश्नहरुको जवाफ पढ्दैनन् । तिनलाई लाग्छ, वेद वा शास्त्रहरुमा प्रश्न गर्नु पापी बन्नु हो, मुर्ख बन्नु हो, सभ्यतालाई दुत्कार्नु हो ।

हामीलाई हाम्रो त्यहि वेद वा अन्य शास्त्रहरुमा सबै कुरा भनिसकिएको छ भन्ने अहंकारपुर्ण ज्ञानले थप अभिलेखिकरणमा रोक्यो । हामीले तथ्यांकहरु राखेनौँ । हामीले वेदलाई अगाडी बढाउँन प्रयोगहरु घटायौँ तर ढोकेर रातो कागजले बेरेर राख्ने ढोंग चै बढायौँ । जो यो सिमाबाट बाहिर निस्किन खोज्यो, उसलाई अनेक अपशब्दपुर्ण गालीगलौजले प्रहार गर्यौँ ।

अब यो सिमा भत्काउँनै पर्छ । वेदहरुका ज्ञानलाई थप व्यवहारिक र मानवमुखी बनाउँन सबै भन्दा पहिले मान्नु पर्छ कि वेद अथाह ज्ञानपुर्ण छ तर सम्पुर्ण ज्ञानपुर्ण छैन । यसले सभ्यताका मानकहरु भत्काउलान् तर वेदले अगाडी बढाएको सभ्यताको विकाशलाई भने सघाउँछ नै ।

One Comment

  1. amul says:

    सारै मन पर्यो गणेश जी

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)