प्रकाश चन्दले आफ्ना बाबु विप्लबलाई के सोध्लान् ? विप्लबले के जवाफ देलान् ?

मेडिकल कलेजको निजिकरण नेपालमा मात्र होइन, धेरै देशमा विवादित बिषय हो । चिकित्सा क्षेत्र त्यसमा पनि शिक्षणलाई विशुद्ध नाफामुलक व्यापारिक उद्देष्यमा चल्न दिने कि भन्ने बिषयमा लामो र गम्भिर बहस हुन्छ । यो अहिले सुरु भएर अहिले नै सकिने बिषय होइन । यसैले अहिले त्यसपट्टी नजाम् ।

सरकारले काठमाडौं उपत्यकाभित्र एमबिबिएस अध्ययनका लागि ३८ लाख ५० हजार रुपैयाँ र उपत्यका बाहिर ४२ लाख ५० हजार रुपैयाँ मात्रै शुल्क लिन पाउने गरी सीमा तोकेको छ तर मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा लाखौँ बढि शुल्क लिएका छन् । यसका विरुद्धमा मेडिकल कलेजहरुमा बेला बेला विद्यार्थीहरुको ‘लफडा’ चलिरहन्थ्यो तर कुनै निष्कर्ष निस्किएको थिएन ।

एकाएक यो बिषय राष्ट्रव्यापीरुपमा उठ्यो । कारण थियो, ‘चिकित्सा शिक्षा संघर्ष समिति’ । विद्यार्थीहरुले ‘चिकित्सा शिक्षा संघर्ष समिति’ बनाएर एक एक कलेज होइन, देशभरीका मेडिकल कलेजका विरुद्धमा आन्दोलनको घोषणा गरे । यसको नेतृत्वहरु मध्ये एक थिए, प्रकाश चन्द । भनिराख्न नपर्ला, प्रकाश चन्द विप्लबका छोरा हुन् ।

समिति बन्नु अगाडी र समिति बनिसके पछि मेडिकल कलेजको दादागिरीका विरुद्धमा नेत्रविक्रम चन्दका छोरा खुलेर लागे । लोकतान्त्रिक बिधीबाट अहिंस्रक आन्दोलनको नेतृत्व गरे । उनी कलेज कलेज पुगेर मेडिकल विद्यार्थीहरुलाई आन्दोलनमा समाहित गर्न अग्रसर भए ।

मेडिकल कलेजले खाइपाइ आएको पैसा किन सजिलै छोड्थ्यो ? सबै किसिमले सकेसम्म गर्यो तर राज्य विद्यार्थीको पक्षमा ‘उभियो’ । अन्तत: मेडिकल कलेज पछि सर्यो । बढि लिएको शुल्क फिर्ता गर्ने सम्झौता गर्यो ।

आन्दोलन पुरै सकिएको छैन तर निर्णय कार्यान्वयनको अन्तिम तिर छ । अर्थात्, धेरै हदसम्म मेडिकल विद्यार्थीहरुले जितिसकेका छन् । प्रकाश चन्दले पक्कै पनि शान्तिपुर्ण आन्दोलनको शक्तिको झिल्को देखे नै होलान् ।

अब कुनै दिन छोरा चन्दले बाबु चन्दलाई भेट्नेछन् र भन्नेछन्, “बुबा ! बन्दुक नपड्काइ, बारुद नसल्काइ, भुमिगत नभइ, एकजना पनि नमरी परिवर्तन हुने रहेछ त ।”

बाबु चन्दले त्यसबेला के भन्लान् ? उनले केहि बहाना वा तर्क गरिहाले पनि छोरा चन्दले के सोच्लान् ?

इतिहास फेरिने बेला हो त्यो ।

One Comment

  1. Neeru says:

    Desh lai yestai patrakarita ko khacho xa ani neytrito ko pani.

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)