म सानै थिएँ । नानु दिदी अलिक ठुली हुनुहुन्थ्यो ।
“घर अगाडी रुखहरु साह्रै बाक्ला भए । आँप त्यहि छ । बकाइनो त्यही छ । सुपारी त्यहि छ । सिसौका बोटहरु त्यहि बढ्दैछन् ।” एक बिहान खाना खाँदै गर्दा बुबाले भन्नु भो, “त्यहाँ रुख ढालेर अलिक फराक पार्नु पर्ने भएछ ।”
खाना खाए पछि घरका सबै आफ्ना आफ्ना काममा लागे । घरमा नानु दिदी र म मात्रै । बुबाले भनेको दिदीलाई सम्झना भो । हामी खुकुरी बोकेर घर अगाडी बाक्ला रुख भएका ठाउँमा उभियौँ ।
बुबाले भने जस्तै त्यहाँ दुईतिन वटा बकाइनाका रुख थिए । एउटा सबै भन्दा ठुलो आँपको रुख थियो र सिसौका साना बिरुवाहरु थिए ।
मैले हरदिन बाख्राका लागि बकाइनाको रुखमा चढेर घाँस झार्नु पर्थ्यो । मलाई बकाइनाको रुखको खुब माया लाग्थ्यो । घरमा भैसी र गोरु थिए । दिदीले गोरु र भैसीका लागि भुइँको घाँस काट्नु पर्थ्यो । दिदीलाई पनि भुइँको घाँस उस्तै माया लाग्थ्यो सायद ।
दिदी भाईको कुरा मिल्यो । निकै दुख गरेर ठुलो आँपको रुख ढलायौँ । यसरी हामीले बकाइनोका केहि रुख र भुईको घाँस जोगायौँ ।
लगत्तै बुबा आउँनु भो । आँपको रुख ढलाएको देखेर छक्क पर्नु भो ।
“यो आँप भारतको सिलिगुडीबाट ल्याएको ।” बुबाले दिक्क मान्नु भो, “यहि रुख जोगाउँन चै अरु रुख ढाल्ने भनेको थिएँ । तिमीहरुले यहि चै ढालेर अरु जोगाएछौ ।”
बुबासँगै सिलिगुडीबाट ल्याएको त्यहि जातको अर्को बोट हाम्रै गाउँका छिमेककोमा छ । हरेक बर्ष गजबले फल्छ । अचम्मै मिठो स्वादको छ । हामी हरेक बर्ष बकाइनो जोगाउँन ढलाएको आँपको त्यो रुख सम्झन्छौँ ।
केपी ओलीले सल्लाहकारको टोलीबाट सबैलाई हटाएर बिष्णु रिमाललाई जोगाएछन् । म दिदी र मैले बकाइनोको रुख जोगाएको सम्झिदैछु ।