गैरनेपालीलाई राजनीतिक अधिकार ?

सामान्यतया मान्छेलाई आफु जनवार हो भन्ने पटक्कै लाग्दैन । डार्विनले मान्छे पनि अरु जनवार जस्तै हो नभने सम्म र त्यसको धेरै पछि पनि मान्छेले आफुलाई अरु भन्दा फरक श्रेणीमा राखिरह्यो । मान्छेले आफुलाई बाउआमा नभएको, दाजुभाई वा इष्टमित्र नभएको वा सोझै भगवानले उत्पति गरेको मान्यो । तर, जति नै मन नपरे पनि वा विश्वास नलागे पनि होमो निएन्दरथालेन्सिस्, होमो डेनिसोभान्स्, होमो रोडेन्सिएन्सिस् जस्ता धेरै दाजुभाईहरु थिए । अहिले पनि मान्छे, गुरिल्ला, उराङउटान, चिम्पाञ्जीहरु एउटै परिवार भित्र पर्छन् र यसलाई ‘ठुला वाँदरको परिवार (Great Ape)’ भनिन्छ ।

वास्तवमै सत्य कहिलेकाँही सोचे जस्तो अवतारमा आउँदैनन् । जसरी, हामीलाई जति मन नपरे पनि मान्छे, बाँदर र वनमान्छे (गुरिल्ला) एउटै परिवारमा पर्छन्
त्यस्तै, नागरिकता त्यागेको नेपाली वास्तवमा जति मिठा शब्दमा अर्थ खोजे पनि ति नेपाली भित्र पर्दैनन् । तिनलाई गैरनेपाली नै भनिन्छ । नेपालको कानुन वा संविधान बन्दा नेपाल बाहिरका मानिसहरुका निम्ति साह्रै धेरै शब्द खर्चिरहन आवश्यक पर्दैन थियो पनि ।

झट्ट सुन्दा यो बिषय भावनात्मक जस्तो पनि लाग्ला तर यो आवेगमा बगेर बोल्ने कुरा होइन, मुलुक सम्झेर निर्णय गर्ने हो । दुरभविष्यसम्म गाँठा र धागा केलाएर यसबारे लेख्ने हो । एनआरएन भनेको मुलुक छोडेका पुस्ता मात्रै होइनन्, तिनका सन्तान दरसन्तान पनि हुन्छन्/बनाइन्छन् । तिनलाई आफ्नो बाबु बाजेको देशको माया कति होला ? ति बाबुबाजेको देश प्रति कति इमान्दार होलान् ? प्रश्न यो पनि हो । यो प्रश्न त्यति जटिल पनि छैन । हामी आफैलाई हाम्रा बाबुको बाल्यकाल बिताएको पहाडको घर कति प्यारो छ भन्ने सोचे पुग्छ ।

जो नेपाली थिए वा जे सुकै कारणले नेपाली नागरिकता त्यागेर ति विदेशी भए, तिसँग कुनै किसिमको आग्रह वा पुर्वाग्रह राख्नु पर्छ भन्ने, वा नागरिकता त्याग्दै गर्दाको हरहिसाब खोज्नु पर्छ भन्ने होइन । कति अफ्ठ्यारालाई खुकुलो बनाउँन नागरिकता त्यागियो । कहिले रहरलाई पुरा गर्न अरु कुरामा आँखा चिम्लियो होला । जे भयो, सकियो । ति प्रति भन्नु पर्ने कुरा र देशले पुरा गर्नु पर्ने कर्तव्य एउटै मात्र हुन्छ – तिनले अरु कुनै देशको नागरिकता त्यागेको सेकेन्डभित्र तिनको नेपाली नागरिकता पुनर्स्थापित होस् ।

नेपाली नागरिकता त्यागिनु र पुनर्स्थापित हुनु बिचमा नेपालले पनि तिसँग आशा गर्नु हुन्न र तिनले पनि नेपालसँग धेरै खोज्नु हुन्न । कुनै पनि देशको नागरिकता सानो कुरा होइन । र, गैरनेपालीलाई राजनीतिक अधिकार दिने कुरा खेलाँची वा आवेग होइन, भड्खालो हो । यसमा पर्नु हुन्न । #असहमति

सन्दर्भ : नयाँ शक्ति नेपालका नेता तथा पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो व्यक्तिगत विचार भन्दै गैरआवासिय नेपालीलाई राजनीतिक अधिकार दिने कुरा गरेका छन् ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)