संघियतामा गल्ति भयो, सुधार्ने भन्ने किसिमको केपी ओलीको अन्तर्वार्ता कान्तिपुरको फायर साइडमा हेरेँ । गल्ति सुधार्न खोज्ने केपी ओली पहिला नेता होइनन् । एमालेमा पनि उनी भन्दा अघिका इतिहास पनि छन् । राधाकृष्ण मैनालीले पनि गल्ति सुधारेका रहेछन्, गएर राजाको पाउँमा शिर राखेर । त्यस्तै कांग्रेसका तुलसी गिरिदेखि कृष्ण प्रसाद भट्टराईले पनि त्यसरी नै गल्ति सुधार गरे ।
तिनले अगाडीको संक्रमण देखेर लोकतन्त्र छुने हिम्मत गरेनन् । पछाडी फर्केर भक्कानिदै सामन्तवादमा लम्पसार परे । सुध्रिनु भनेको पछाडी फर्किनु मात्रै पनि होइन, किन बिग्रियो भन्ने खोज्नु हो । अब देश ४७ सालमा फर्किन सक्दैन । न त ६२/६३ मा जान सकिन्छ । लौ फर्कियो रे, त्यसपछि चै कहाँबाट ल्याउँने हो त्यो जादुको झडी, जुन घुमाएर एक फन्को लगाएपछि सबै कुरा शान्त हुन्छ ? सबै मथ्थर हुने निश्चित गर्ने को हो ? के चमत्कार वा बल वा प्रयासले मथ्थर हुन्छ ?
सोच्नुहोस् त, के कारणले संघियता एमालेलाई अपच भयो ? भद्रगोल भयो भनेर ? मान्नुस्, कक्षा उत्तिर्ण भएर नयाँ कक्षामा विद्यार्थी पुग्यो । अब नयाँ किताब ल्याउँनु पर्यो । नयाँ कपि ल्याउँनु पर्यो । गाता हाल्नु पर्यो । ड्रेस किन्नु पर्यो । अझ विद्यार्थीको सोच्नुहोस् त, नयाँ किताब पढ्नु पर्यो । झन् अफ्ठ्यारा अभ्यास गर्नु पर्यो । यी झमेलाहरु भन्दा बरु फेल भएकै भए जाती हुन्थ्यो वा फेरि ५ मै राखे केहि गर्न पर्दैन थियो भनेर धुप बाल्ने ? कि पुरानै कक्षामा पठाउँने ? यो भद्रगोल परिवर्तन पछि सबै मुलुकले भोगेका छन् कि छैनन् ? के वास्तवमै नेपालमा मात्रै यो सबै भएको हो ? मोबाइलमा नम्बर सेभ गर्न सिक्नको गाह्रोले डायरीमा नै मोबाइल नम्बर लेखेर बोक्नेहरु नै वास्तवमा बुद्धिमान हुन् त ?
विकेन्द्रिकरण आवश्यक थियो भन्ने मान्ने तर संघियता नमान्ने भन्ने कुरा लोकतान्त्रिक कसरी हुन्छ भन्ने मैले बुझ्न सकेको छैन । आफ्नो हुँदै नभएको एजेन्डालाई आफ्नो भनेर कच्पच्याउँने र बिगार्नु बिगारिसकेर यो हाम्रो होइन भन्ने एमालेको अहिलेको कुरा होइन, उहिले देखि कै सुनियोजित हो । उ यहि चाहन्थ्यो । माओवादीले जातिय र पहिचान जोडेर संघियताको सिद्धान्त र प्रयोगमा अर्को बलात्कार गर्यो । समस्या नआइ राजनीति र समाज कहिँ कतै विकाश भएको इतिहास छ र नेपालमा हुन्छ ? संघियतामात्र होइन, परिवर्तनले असाध्यै नयाँ कुराहरु ल्यायो । त्यसले मानिसलाई आफ्नो अधिकारको याद दिलायो तर अर्काको पनि अधिकारको मात्रा थाहा पाउँन समय लाग्थ्यो । हाम्रा नेताहरुको अपारदर्शी गतिबिधी, मनमा एउटा एजेन्डा तर घोषणापत्रमा अर्को एजेन्डाको कपटीचालाले यो थप लम्बियो । यद्यपि, भद्रगोल पहिले भन्दा बिस्तारै थिग्रिदैछ ।
संघियताले देश विखन्डन हुन्छ र भारतले लान्छ भन्नेले सिक्किमका बारेमा के भन्छन् ? त्यहाँ गणतन्त्र थियो ? त्यहाँ संघियता थियो ? थिएन तर लग्यो त । सिक्किम गुमेको व्यवस्थाले होइन । नेता र जनताको चरित्रले हो । याद गर्नु होला, जुन व्यवस्था आए पनि नेता यीनै हुन् । लम्पसारको चरित्र यहि हुनेछ । नेपालमा संघियताको दुर्भाग्य के भयो भने जसले यसको वकालत गरे, तिनलाई पनि यसका सकारात्मक भन्दा भोट पाउँने कुरा र भद्रगोल प्यारो भो । यसको विपक्षमा बोल्नेहरुले त चुट्किलामा नै सहि, एउटा प्रदेशबाट अर्को प्रदेशमा भिसा लगाउँन पर्छ भन्न सम्म भ्याए । र, त्यहि चुट्किलालाई पछि सत्य भन्दै फैलाए । यीनले देखाउँने यस्तै कलुषित गतिबिधी हो । सुध्रिनु पर्ने हामीले हो । भोट हालेपछि पार्टी बिर्सेर तटस्थ बनौँ । विश्व इतिहास हेरौँ । संसारमै कहिँ नभएको राजनीतिक अवस्था नेपालमा भएको होइन ।
यसो भन्दैमा संघियता वा गणतन्त्र वा कुनै व्यवस्थामै सँधैका लागि टासिनु पर्छ भन्ने होइन, तर कम्तिमा एक पटक पुर्ण अभ्यास त गरौँ । त्यतिञ्जेलका लागि धेर्य गरौँ र निकृष्ट र प्रतिगामी बिचारहरुलाई नफैलाउँ ।