ओली सरकारको अवसान, राजनीतिक चक्र र मुक्ति

केहि दिन संसद रोचक भयो । फिल्मी उद्योगमा दक्षिण भारतिय कलाकारको कवाली जसरी चल्यो, उसरी नै हाम्रोमा संसद भवनको लाइभ भिडियो चल्यो । भनाभन, पक्ष विपक्ष र तर्कको माहौल बन्यो । कसैले थोरै समय बोल्न पाए, कसैले धेरै समय बोले । कसैले बोल्दा ताली पाए, कसैले गाली पाए । कसैले बोलिमात्रै रहे, कसैले वास्ता गरेन । अन्त्यमा केपी ओलीले राजिनामा दिए । सरकार ढल्यो ।

केपी ओलीको कार्यकाल निकै कुरामा सफल रह्यो । उनको पालामा भएको चीनसँगको पारवहन सन्धीले नेपाललाई कालान्तरसम्म फरक पार्न सक्छ । उनलाई सम्झने मुख्य कुरा पनि यहि हो र हुनेछ । अन्य कुराहरु त्यति चित्त बुझ्दा थिएनन् तर ति उनले अहिले बिगारेका पनि होइनन् । उनले त्यहि भ्रष्ट र स्वेच्छाचार विगतलाई निरन्तरता दिए । उदाहरण : गोपाल खड्काहरुको माल्यार्पण र सम्मान, पुननिर्माण प्राधिकरणमा कार्यकर्ता भर्ति आदिआदि ।

केपी ओलीले अन्तिम दिनको सट्टा माओवादीले समर्थन फिर्ता लिने बित्तिकै नैतिकताका आधारमा राजिनामा गरेका भए, उनको कद उँचो हुन्थ्यो । कम्तिमा नेपालको इतिहासमा नैतिकताका आधारमा राजिनामा दिने प्रचण्डमात्र एक्ला प्रधानमन्त्री हुने थिएनन् । तर, केपी ओली लगायतको समूह अविश्वासको प्रस्तावमा दर्ता भइसक्दा पनि सरकार अजम्मरी छ भन्दै संविधानका बुँदाहरु केलाएर बसे । अनि, जब लगभग सबै सहयात्री दलहरुले छोडे, जब अविश्वासको प्रस्ताव ल्याएर बहुमतले पारित हुने बेला भयो, बाध्यताबश उनले पद छोडे । यो राजिनामाले उनको कद त बढाएन तर खरानी हुनबाट भने बचायो । अन्य दामी बोले भन्ने कुरा एकदमै क्षणिक हुन् । नत्र भन्नुस् त, झलनाथले आफ्नो सरकार ढल्दा के के भनेका थिए ? याद छ ? सरकार ढल्नै लाग्दा प्रधानमन्त्रीले बोल्ने कुराहरु प्राय यस्तै हुन्छन् ।

केपी ओलीले जाँदा जाँदै राष्ट्रवादी सरकारको अवसान छिमेककै कारण भएको संकेत गरे । सामाजिक सञ्जालहरुमा पनि यस्तै विचार भरिए । तर हेर्नु भयो भने कांग्रेस वा भारत वा मधेशी दल पछि आएर जोडिएका मात्रै हुन् । सरकार ढल्नुको मुख्य कुरा, माओवादीहरुको सुरक्षा हो । यसलाई हाम्रो संसदिय व्यवस्था, विगत र नियतले साथ दियो ।

प्रचण्डको अष्ट्रेलिया काण्ड पछि सतहमा देखियो कि ‘ओलीले बगलीको छुरा फ्याल्नको साटो झन् उध्याउँदै’ रहेछन् भन्ने । काँधमा बोकेर भारतको विरुद्धमा प्रचण्डले नै हो, यो ओलीको राष्ट्रवादी सरकार बनाएको र उभ्याएको । प्रचण्डलाई लाग्यो सायद, नेपाली जनताले सशस्त्र संघर्ष गर्ने कांग्रेसलाई माफी दिए, झापा काण्ड गर्ने ओलीलाई शिरमा बोके, गौरकाण्ड गर्ने उपेन्द्र संसदमा अन्तराष्ट्रिय अदालतको कुरा गर्ने बनाइए, हामी चै जेलमा जानु पर्ने ? उनी मर्नु भन्दा बहुलाए । अनि, सरकार ढल्यो ।

ओलीले पुरा गर्न गाह्रो सपनाहरुबाट सुरक्षित अवतरण पाए । प्रचण्डले थप केहि समय सुरक्षाको अनुभुति गर्न पाए । देउवा कुर्सीसँग अलिक नजिक हुन पाए । भारतले आफ्नो चासो सम्बोधन हुने सम्भावना बढेको देख्यो । मधेशी दलका नेताहरुले आफुलाई महत्व दिएको देख्न पाए र आन्दोलनको अवतरण गर्न हस्ताक्षर गर्दा लेख्ने सहमतिका बुँदाहरु भेटे । नियालेर हेर्नु भयो भने तपाईलाई भेउ पाउँनै गाह्रो हुन्छ, कसले कसलाई प्रयोग गर्यो र कसलाई नाफा भयो अनि कसलाई नोक्सान ! या यो ‘विन विन’ अवस्था हो ! उत्तरी छिमेकि चीनलाई यो बिषयमा जोड्नु लगभग बेकार नै हुन्छ । चीन सँधै आफ्नो ‘डिल’ लामो समय चलोस् भन्ने चाहन्छ र हरेक सरकारसँग गर्नु पर्ने सहमतिको दिक्दारीबाट हट्न चाहन्छ । उसको सँधैको नेपाल नीति यहि छ कि जो आओस् सरकारमा, सँधै रहोस् । त्यो चाहे ज्ञानेन्द्र शाह होस् या प्रचण्ड, उसलाई खासै फरक पर्दैन ।

यो खेल निक्कै लामो समयदेखि चलिरहेको छ । चक्रवतरुपमा । हामी परिधिको कुनै बिन्दुमा उभिएका छौँ र त्यहाँबाट जो निकट आउँछ, त्यसलाई बढि देख्छौँ अनि त्यसकै आधारमा आफ्ना दृष्टिकोणहरु तय गर्छौँ । जबसम्म तपाईले यो चक्र देख्नु हुन्न र यो चक्रमा विश्वास गर्नुहुन्न, तबसम्म तपाईले आफु चक्रको परिधिको एउटा विन्दुमा अडिएको थाहै पाउँनु हुन्न । कुनै दिन तपाईले यो चक्र देख्नु भयो भने त्यो दिन नाफा र नोक्सान पनि देख्न सक्नु हुनेछ । आफु चक्रको एउटा विन्दुमा मात्र रहेछु भन्ने हेक्का पाउँनु हुनेछ । त्यहि दिन र त्यहि बेला लाग्ने छ, साँच्चै यो सबै चक्रवत भइरहेको रहेछ र, चक्र घुमाउँने तपाई अर्थात केवल तपाईमात्र हुनुहुँदो रहेछ ।

संसदमा देखिएको राष्ट्रवाद, पहिचान, सहमति र धोका सबै क्षणिक मात्रै हुन् । महाकाली र कर्णाली बेच्दा समर्थन गर्ने ओली राष्ट्रवादी बन्न सक्छन् भने समयले नै प्रचण्डलाई पनि घोर राष्ट्रवादी बनाउला कुनै दिन । स्वभावत: यो चक्रमा पात्रहरु कहिले कुन दिशामा र कहिले कुन दिशामा परिरहन्छन् ।

साँचो भन्ने हो भने यो चक्र बन्द गराउँन लगभग असम्भव छ । यो भुमण्डलीकरण, अहिलेका अर्थ व्यवस्था र तिनीहरुका साधन, नेपालको भुराजनीतिहरुले यो चक्रको अस्तित्व खोजी नै रहन्छन् । र, एक अर्थमा लोकतन्त्र भनेकै यहि चक्रको वैधानिकरण पनि हो । हामी केवल यो चक्रको आकार बदल्न सक्छौँ, जसले गर्दा पात्रहरु फेरिन समय लागोस् । अलिक बढि गाह्रो होस् । त्यसका लागि ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ नै अहिलेको लागि एकमात्र साधन हो ।

राजनीतिक खेलाडीहरु अहिले जे व्यवस्था छ, त्यसमै आनन्द देख्छन् । बदल्न चाहदैनन् । उदाहरणका लागि आफ्नो तर्फ माहौल सृजना गरेका र राष्ट्रवादी भनिएका केपी ओलीलाई हेरौँ । सत्य यो हो कि उनको जीवन राजनीतिक चक्रमै बितिरहेको छ । यो चक्रिय राजनीतिको केपी ओली अब्बल खेलाडी हुन् । उनले प्रधानमन्त्रीबाट राजिनामा दिएर रोष्टम छोड्नै लाग्दा पनि भोलीका लागि खेल्ने बाटो राख्न चाहे । “संसदीय व्यवस्था फोहोरी होइन, बनाइएको हो” भन्दै उनले आफु सदैव यहि चक्रिय राजनीतिको पक्षपाती भइरहने संकेत दिए । ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’को सम्भावनालाई सकेसम्म पर धकेले ।

तर, कसैले पर धकेल्दैमा सँधैका लागि यो पर धकेलिएला र ?

2 Comments

  1. सन्तोष पौड्याल says:

    गणेशजी मैले सम्मान गर्ने सिमित ब्यक्तिमध्य एक हुनुहुन्छ । लेखन सिक्न उहाको यो लेख पढे धेरै कुरा सिकिन्छ । शब्द बिन्यास र वाक्य सँगतिको लागी यो आलेख मैले बढो ध्यानपुर्वक पढे र अरुले समेत पढुन भनेर शेयर गर्दैछु । मैले बुझेसम्म उहा आफुलाई स्वतन्त्र भन्ने रुचाउने लगन्शिल र अध्ययनशिल मेरो पुस्ता हुनुहुन्छ । तर पछील्ला केहि दिनमा आएका उहका प्रचण्ड-भक्ती र ओलिमुक्ती पुर्ण बिचारले के स्वतन्त्रको गरिमालाई जोगाउला त ? आउनुस सर बरु मैले जस्तै सँगठित सदस्यता नै लिएर पार्टीको राजनैतिक निस्ठा र अनुशसन भित्र अनुबन्द होउ ।

    • गणेश कार्की says:

      यो कथा सुन्नु भएकै होला, गुरुकुलमा सफाइ गर्ने मान्छे र गुरुको विवाद भएछ । गुरु सहि कुरा भन्दा रहेछन् तर सफाइ गर्ने मान्छे चै उल्टो कुरा गर्दै विवाद गर्ने रहेछ । विवाद यसरी बढ्यो कि कसैले सम्झाउँदा पनि विवाद सल्टिएन । अन्तत: केहि उपाय नलागे पछि राजा कहाँ कुरा पुगेछ । राजाले कुरा बुझ्ने बित्तिकै गुरुलाई एक महिना र सफाइ गर्ने मान्छेलाई ३ दिन जेलमा हाल्ने फैसला गरेछन् । सबै छक्क परे । गल्ति त सफाइ गर्ने मान्छेको थियो तर बढि सजाय चै किन गुरुलाई ? राजाले भनेछन् – “यो सफाइ गर्ने मान्छे त अबुझ भइहाल्यो । गुरु भएर पनि यस्तो कुरामा विवाद गरेर बस्ने ?” म त्यहि राजाको दृष्टिकोण मेरो जमाना र परिस्थितीमा लागू गर्दैछु ।

      भन्नै पर्दैन, संसदिय व्यवस्थामा ओली पुराना खेलाडी हुन्, प्रचण्ड नयाँ । सबैलाई थाहा छ, ओलीले चाहेको र वकालत गरेको मुलुकको व्यवस्था यहि हो, प्रचण्डले चाहेको यो होइन । ओलीलाई यो व्यवस्थाको बलियोपक्ष थाहा हुनु पर्छ र त्यहि अनुसार कदम चाल्नु पर्छ तर ओलीले त्यसो गरेनन् । उनले चाहेका भए गर्न सक्ने कुरा अत्यन्तै धेरै थियो । जनसमर्थन यो सरकारले जति पहिले कुनै सरकारले सायदै पाएको थियो । उनले यो केहि विचार गरेनन् । उनले देश सोचेनन् । थोरै मात्रै पनि त्याग गर्न सकेनन् । उनले देशका लागि अल्पकालिन, पार्टी र आफ्नो लागि दिर्घकालिन बाटो रोजे । सहयात्रीहरुलाई मिलाउँन सकेनन्, विश्वास जित्न सकेनन् । उनी सम्मानित भए, पार्टी पनि बलियो भयो होला । संसदिय व्यवस्थाका चतुर खेलाडीकारुपमा आफुलाई सावित गराए । तर उपलब्धीको संस्थापन ? सपनाको निरन्तरता ? अनि यो सबै कुरा नयाँ होइन, चक्रवत भइरहेछ भनेर मैले लेख मै पनि लेखेको छु, एक पल्ट फेरि पढ्न सक्नुहुन्छ ।

      ओलीका गल्ति र सम्भाव्यताका बारेमा अमित ढकालले सेतोपाटीमा लेखेका छन्, “एमाले–माओवादी गठबन्धन कायम राखेर उनले (केपी ओलीले) ती सन्धि–सम्झौता कार्यान्वयनको सुनिश्चतता गर्न सक्थे । त्यसका लागि थोरै त्यागको आवश्यकता थियो । बजेट आउनुअघि उनले गठबन्धनको दोस्रो प्रमुख दल माओवादी–केन्द्रलाई नेतृत्व हस्तान्तरण गर्ने ‘भद्र सहमति’ पनि गरेका थिए । राष्ट्रियता प्रवर्द्धनका लागि त्यो सहमतिको पालना ओलीले गर्नुपर्थ्यो ।त्यतिबेला ओली बालुवाटारबाट निस्किए पनि सत्ताको लगाम उनकै हातमा रहने पक्का थियो । दैनिक राज्य सञ्चालनको आलोचनाबाट मुक्त ओली झन् प्रभावशाली हुने थिए । एमाले–एमाओवादी गठबन्धन अर्को १८ महिना कायम रहेको भए चीनसँगका सम्झौता उल्टाउन नमिल्ने गरी कार्यान्वयनमा जान्थे । सत्ता बाहिरको कांग्रेसले आत्मसमीक्षाका लागि थप समय पाउँथ्यो । भारतले थप पाठ सिक्थ्यो। थप : http://setopati.com/bichar/50310/

      धेरै कुराहरुमा ओलीबाट पार्टी सदस्यता लिएका तपाईहरुभन्दा मलाई बढि आशा थियो होला बरु । माहौल मिलेको थियो केहि गर्नलाई, गर्नै खोजेको थियो भने । यसैले, मेरो भन्नु यहि हो कि पद, अनुभव, माहौल र व्यवस्थाको वकालत गर्ने आधारमा दोष केपी ओलीकै बढि छ । यसको अर्को किनारामा प्रचण्ड रहेकाले मेरो तर्कले उनलाई फाइदा पुग्नु यो लेखको माध्यमिक कुरा मात्रै हो, लक्ष्य होइन । तपाई पनि आँप झार्न झटारो हान्दा झरेको आँप छोडेर पात गन्न थाल्नुहोला भन्ने कुरा मलाई विश्वास लाग्दैन । मुख्य कुरा, म बिषयहरुबाट स्वतन्त्र छैन । खासगरि फलानो नेताले यसो गर्दिए देश अलिक उँभो लाग्ने थियो भन्ने आग्रहले मलाई कहिलै स्वतन्त्र हुन दिएनन् तर मलाई अमुक पार्टीको सदस्यता लिएर भक्तिगान गर्नु भने छैन । कम्तिमा यो लेखुञ्जेलसम्म ।

      अन्त्यमा, निष्फिक्री आलोचना गरेर यति थप कुरा लेख्ने अवसर मिलाइदिनु भएकोमा धन्यवाद ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)