म सोफामा जिउ तन्काएर सुतेको बिरालोसँगै टाँसिएर टिभीमा उहि पुरानो फिल्म अठारौँ पटक हेर्दैछु । मैले यस अगाडी नै सय पल्ट जति च्यानलहरु फेरिसकेको छु । अब न च्यानल फेर्ने जाँगर छ, न त हेरिरहेको फिल्म हेर्नलाई उत्साह र उत्सुकता नै छ । यद्यपि, आँखा त्यही टिभीमा टाँसेर स्थिर लमतन्न छु ।
तपाई अर्को सोफामा बस्नु भएको छ । मोबाइलमा के के गर्दै हुनुहुन्छ । तपाई फुर्तिसाथ जुरुक्क उठ्नु भयो ।
“केहि त गर्नै पर्छ । यसरी बेकाम्मे भएर बस्नु हुदैन ।” तपाईले भन्नु भो ।
“के गर्ने त ?” मैले अल्छि गर्दै भनेँ ।
“सबैले अचेल सर्ट मुभि बनाउँन थालेका छन् । हामी पनि पनि ट्राइ गरुम् न” तपाईको उत्साह ।
“के होला र ! राम्रो कथा नै छैन हामीसँग ।” मेरो अल्छि मुड फेरिएको छैन ।
“के नहुनु, जत्ति पनि हुन्छ । आज मिलेर कथा नै लेखुम् न त !” तपाई पछि हट्न मान्नु हुन्न ।
“कथा भएर मात्रै हुन्छ ? खोइ त कलाकार चै ? कोही गतिला कलाकार भेटिदैनन् ।” म अड्को थाप्छु ।
“त्यसो भए । केटाहरुसँग पनि कुरा गरुम् । स्कुल तिर गएर नाटक खेल्ने विद्यार्थीहरुसँग कुरा गर्दा पनि हुन्छ । बरु अहिले नै स्कुल जाम् । ठिक्क टिफिनको टाइम पनि भएछ ।” तपाईको जोश उस्तै छ ।
“जाम्ला न ! बेकारमा कथा लेखेर, कलाकार बटुलेर, मोबाइलले खिच्नु सर्ट मुभी चै ? खिच्ने क्यामेरा खोइ ?” मेरो अल्छि उस्तै छ ।
“भाडामा पाइन्छ रे क्या । बरु कति लिने रहेछ, कस्तो क्यामेरा रहेछ, अहिले गएर बुझौँ न । उसै पनि तँलाई कथामा डिस्कस गर्न अल्छि लागेको छ ।” तपाई मलाई तान्नु हुन्छ ।
“अनि क्यामेराम्यान चै खोइ त ? हामी कसैलाई राम्रो खिच्न आउँदैन ।” म बहाना गर्छु ।
“त्यो त क्यामरावालासँग होला नि त । त्यसैसँग कुरा गर्नु पर्छ ।” तपाईसँग जवाफ छ ।
“अनि फिल्म एडिटिङ चै ? खोइ मान्छे ?” बहानाको कमी छैनन् मसँग ।
“सहि भनिस् यार । अस्तिको सर्ट मुभि त्यो मोहनको भाइले एडिट गरेको रे । दामी एडिट छ । हिड् त्योसँग कुरा गरुम् ।” तपाई अझै मेरो हात तान्दै हुनुहुन्छ ।
“ह्या ! टुंगोको कुरा गर्नु छैन । कहिले कथा लेखुम् भन्छस्, कहिले स्कुल गएर कलाकार छानुम् भन्छस्, कहिले क्यामेरा खोज्न जाम् भन्छस्, कहिले क्यामेराम्यान र एडिटर खोज्न हिडुम् भन्छस् । यस्तो ढुलमुले कुराले पनि सर्ट मुभी बन्छ ? पहिले आफु टुंगो गर् के गर्ने भनेर । एउटा पक्का योजना पो हुनु पर्छ त मान्छेको ।” म थप्छु, “तेरो पारा हेर्दा तैले सर्ट मुभि बनाउलास् जस्तो देख्दिनँ ।”
“हैन क्या, सबैले बनाइरा’छन् । हामी पनि ट्राइ गरुम् न ।” तपाईको उत्साहसँगै स्वर पनि अलिक घटेको छ ।
“खोइ त, हामीसँग कथा नै छैन ।” मेरो चट्टानी अडान फेरि सुरु हुन्छ ।
आँखा बन्द गरेर निदाए झै गरेर हाम्रो कुरा सुन्दै गरेको बिरालोले आँखा खोल्छ । तपाईलाई र मलाई पालैपालो हेर्छ । बिरालो छक्क पर्छ, “कसैलाई यसरी पनि ढुलमुले बनाइदिन सकिने रहेछ ।” उसलाई थाहा छ, ढुलमुले को हो र चट्टानी अडान कसको छ ।
“के नहुनु, जत्ति पनि हुन्छ । आज मिलेर कथा नै लेखुम् न त !” तपाईले यति भन्दै गर्दा बिरालोले फेरि आँखा चिम्लिसकेको छ । मेरा आँखा त्यहि हेरिसकेको फिल्म चलिरहेको टिभीमा नै टाँसिरहेका छन् । तपाई र मेरो वार्तालाप भने जारी छ ।