म मेरो भागमा पर्ने गल्तिहरु स्विकार्छु ।

हामीले संघियतालाई यक्ष मल्लले छोरालाई देश भाग लाएर अंश दिए जस्तै विभिन्न देश बनाउँनु हो भनेर हल्ला पिट्यौँ । आफुसँग अनुहारको नाप नक्सा नमिल्ने बित्तिकै विखन्डकारी वा विस्तारवादी भनेर आफु आफुलाई औँला तेर्सायौँ । विभेद मेट्नु र नयाँ साइनो जोड्नु भन्दा माटोको नक्सा मेट्नु र कोर्नुमा विजय हुने भ्रममा पर्यौँ । हल्ला, शंका, संशय र भ्रमको उचाई यति बढेको छ कि देशका प्रधानमन्त्री नै हदैसम्मको गैरजिम्मेवार बन्दै ‘देश नै नासिन लाग्यो’ सम्म भन्न सक्छन् तर त्यसलाई पुष्टि गर्न वा भएकै हो भने रोक्न एक कदम सार्न जाँगर गर्दैनन् ।

विभेद केहि छैन भन्नु र विभेद मात्रै छ भन्नु दुवै अतिवाद हुन् । नेपाली समाज ‘कालो र सेतो’ मात्रै थिएन र छैन । विभेद थियो, छ र त्यसलाई बदल्नु छ । अधिकारका लागि लड्नेहरुको आन्दोलन र आतकंमा फरक छुट्टिन छोडेको छ । संयमित हुनु छ । धेरै कुरा पहिलेदेखि नै असल र उदाहरणिय थिए, तिनलाई झन् सबल बनाउँनु छ । विविधतालाई स्विकार गरेर समान परिचय फेरि बनाउँनु छ । मन अलिक चौडा बनेर छलफल चलाउँनु छ ।

सबै काम थाल्नु अगाडी आफ्ना भागमा पर्ने गल्तिहरु मनन् गरौँ । आत्मलोचना गरौँ । माफी मागौँ । माफी दिऔँ । सबै विभेदको प्रतिनिधित्व गर्दै बर्षमा एकदिन ‘क्षमा दिवस’ भनेर विभेदका खराबी सम्झौँ । विभेद विरुद्धको आन्दोलन सम्झौँ ।

मैले जानीजानी जातिय वा धार्मिक विभेद गरिनँ । तर, म कार्की । म क्षत्री बाबु र बाहुन आमाको सन्तान । म नाक चुच्चे वर्गमा समेटिएको । मेरो जात आधुनिक नेपाली समाजको उदयदेखि नै राज्यसत्तामा रहेको वा निकट रहेको । जातिय विभेद कायम राखेर सबैभन्दा उपल्लो मध्येको तहमा बसेको । म मान्छु, यो विभेदलाई वडावा दिन मेरा पुर्वजहरुको पनि ठुलो भुमिका छ । म मेरो भागमा पर्ने गल्तिहरु स्विकार्छु । म मेरा पुर्वजहरुको गल्तिमा पिडितहरुसँग माफी माग्छु ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)