थ्रिजी गोपालप्रसाद रिमाल

हतारमा थिएँ
पेटको कारण ।
कुदेर गएँ र चुकुल लगाएँ ।
बेग्लै आनन्द छ त्यहाँ पनि, त्यसमै रमाएँ ।

त्यही बेला एक हुल केटाकेटी आएर
मेरो लेख्दै गरेको निबन्धमा
जथाभावी ‘इन्टर कि’ थिचिदिएछन् ।
केहि अफ्ठ्यारा शब्दहरु जतन गरि राखेको थिएँ,
तिनलाई त्यहीँ मिसाइदिएछन् ।
जन्मिदैको गरेको मेरो बच्चो निबन्ध
निर्धो र काँतर मनको,
हलक्कै बढेका केटाकेटीसँग के सक्थ्यो जोरी खोज्न !
कहाँ पुग्नु पर्छ मैले भनिसकेकै थिइनँ,
न कुरा गरेको थिएँ हिड्ने पथको,
के सक्थ्यो आफ्नै गन्तब्य रोज्न !
भागेछ यताउता ।
कहिले तल, कहिले माथी ।
कहिले दायाँ, कहिले बाँया ।
छड्के पनि कुद्यो कि जस्तो देखिन्छ हेर्दा,
सन्दर्भ छोडेर फाल हान्यो कि भाग्दा,
भावहरु उल्टोपाल्टो बुझिन्छ पढ्दा ।

यताका वाक्य उता परेको देख्छु
उताका शब्द यता टाँसिएको देख्छु ।
वर्ण विन्यास अलिअलि मिलाउँन खोजेँ,
के मिल्थ्यो, धेरैको त आकार इकार नै बरालिएको देख्छु ।।

असरल्ल अक्षरहरु यसरी लडेको पहिले देखेकै थिइन ।
शब्दका बिस्कुनहरु उठाइसक्नु थिएन ।
कतै मसाने भुत झै डरलाग्दा थिए शब्दहरु
कतै तोते बालक झै मायालाग्दा ।
कहिँ भुइचालोले भत्काएको धरहरा झै ठुटोमात्रै
कहिँ खडेरी पछि पानी पर्दा पलाएको रहरलाग्दो बुटो झैँ ।
कहाँबाट सम्हाल्नु
कहाँ गएर खोजेर सबै भेट्नु ।
क्रसर सार्दै तल तल पुगेँ ।
फेदैमा ।
अन्तिम छेउको अन्तिममै ।
मेरो लेख्दै गरेको निबन्धलाई कविताको खोरमा हुल्देछ कसले हो,
भोटे साँचो लगाइदिएर लेख्देछ यो गद्ये कविता हो ।

म के गरुँ निस्सार निस्सार भएँ ।
मेरो जस्तै रुञ्चे अनुहार पार्दै निबन्धले भन्यो,
“अब मलाई निबन्ध नभन्नु,
म कविता भएँ ।
जाँगर हुनेले पढ्लान र अर्थ लगाउलान्,
जाबो एउटै ‘इन्टर कि’ ले म के थिएँ, के भएँ !”

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)