सेतो धरती र मेरो भ्रम

हिजोको श्रमिक दिवश रमाइलै रह्यो । पुरै ११ घण्टा काम गरियो । काम गर्दै अमर न्यौपानेँको ‘सेतो धरती’ दिनभरमा सुनेर सकियो ।

धेरैले सेतो धरती पढ्न सुझाएका थिए । करोडौँ कस्तुरी पनि सुझाएकै हुन् । दुवै पढेको एउटा साथीले भनेथ्यो, “करोडौँ कस्तुरी त चिना हराएको मान्छे र थ्रि इडियट्सलाई मिलाएर लेखे झै लाग्छ । सेतो धरती चै गजबै लेख्या हो ।”

मैले करोडौँ कस्तुरी पढेको वा सुनेको छैन । तर सेतो धरती भने सुनेँ, अच्युत घिमिरेको आवाजमा । उपन्यास बान्की परेकै हो । अमर न्यौपानेले राम्रो लेखेका हुन् । पढ्न लायक किताब छ ।

तर किन किन, उपन्यास सुनिरहदा यही कथानक अरु नै उपन्यासहरुमा पहिलै पढेको थिएँ कि जस्तो लागिरह्यो । बेलाबेला ताराको मनोवादमा पाउलो कोहेलोको इलेभेन मिनेट्सकी मारियाले बोले झैँ लाग्थ्यो । बेलाबेला कृष्ण धराबासीले राधा उपन्यास लेख्दा कार्बन पेपरको प्रयोग गरेका थिए र तल्लो छापिएको भाग हराएको थियो कि भन्ने लाग्यो, राधामा भन्दा मधुरो छ ताराको चरित्र । बेलाबेला हर्मन हेस्सेको सिद्धार्थसँग पनि केहि साइनो छ कि लाग्यो ।

निकै बेर सोचेँ, हेस्सेको सिद्धार्थमा भएका गोविन्दका आँखाबाट हेर्दा सिद्धार्थ ठ्याक्कै न्यौपानेकी पवित्रा जस्ती लाग्दा रहेछन् । जिन्दगी पनि उसरी नै भोग्दा रहेछन् । ज्ञान प्राप्तीका लागि घर छोड्दा रहेछन् । आश्रममा बस्दा रहेछन् । गृहस्थी चलाउँदा रहेछन् । व्यभिचारमा फस्दा रहेछन् । र, अनायासै सर्लक्कै सबै कुराबाट उम्किदा रहेछन् । गोविन्द स्वयम् भने तारा जस्तै देखिए । मुक्तिका लागि एउटै बाटो हिडिरहनेँ, पुरातनवादी र अक्रान्तिकारी । फरक चै केवल, जर्मनीबाट नेपाल पुग्दा बिच ट्रान्जिटमा कतै दुवैले लिंग परिवर्तन गरे जस्तो ।

अझ एउटा पात्रको नाम गोविन्द नै भएपछि हर्मन हेस्सेको उपन्यास सिद्धार्थका पात्र गोविन्दबाट अमर न्यौपाने भाग्न सकेनन् कि भन्ने पनि लाग्यो ।

फेरि बेला बेला दिमागमा आइरह्यो, यो सबै मेरो भ्रम हो । अमर न्यौपानेले इलेभेन मिनेट्स पढेका छैनन् । कृष्ण धाराबासीले राधा लेख्दा कार्बन पेपर प्रयोग गरेकै थिएनन् । अमर न्यौपानेले सिद्धार्थ पढेकै नहुन् । सेतो धरतीमा अरुको प्रभाव देख्ने मेरो संकुचित ज्ञान मात्र हो । ‪#‎किताबका_कुरा‬

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)