लाज पचेपछि ….

yellow journalism
खासमा पत्रकारहरुको यो फोटो विकिलिक्सले सार्वजनिक गर्नु पर्ने हो, गोप्य फाइलहरुको रुपमा । तर स्वतन्त्र र निष्पक्ष पत्रकारहरु नै धमाधम फेसबुकमा अपलोड गर्दैछन् । स्वतन्त्र र निष्पक्ष हुनु पर्ने पत्रकारिता केवल पार्टीको पुच्छरमा सिमित भएपछि नैतिकता, कर्तव्य, दायित्व र लोकलाज सबै हराउँदो रहेछ । लाजै पचेपछि के गर्न हुने, के गर्न नहुने ! बालै फरर ।

भर्खरै एउटा चुनाव सकियो । चुनावमा नेपालका प्रमुख पार्टीहरुका कार्यकर्ता जो पत्रकारको रुपमा छन्, तिनीहरुको थियो (दुर्भाग्य, छोटकरी र बोलीचालीमा तिनीहरुलाई पत्रकार नै भन्ने गरिन्छ ।) । एमालेको पत्रकार संगठन प्रेस चौतारी नेपाल, एमाओवादीको क्रान्तिकारी पत्रकार महासंघ लगायत ड्यास माओवादी र मसालका पत्रकारहरुको संगठन मिलेर कांग्रेसी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनलाई हराए । पदाधिकारीमा नेपाल प्रेस युनियनले समावेशी उपाध्यक्ष एउटा मात्र जित्न सक्यो । एउटा पदबाहेक पदाधिकारीको प्यानल नै जितेको कम्युनिष्ट पत्रकारहरुको समूह चुनाव जिते पछि आफ्ना ख्वामितहरुको सामूहिक आशिर्वाद थाप्न जाँदा लिइएको फोटो हो माथिको । याद रहोस, एमालेका कार्यकर्ता जो कुनै मिडियासँग पनि सम्बन्धित छन्, ले अध्यक्ष पद जितेकाले यो टोली एमाले दरबार बल्खु पुगेको हो । अर्को पार्टीका कार्यकर्ताले चुनाव जितेको भए उनकै पार्टीको दरबारमा पुग्ने थिए ।

महाभारतको युद्ध सुरु हुनु पूर्व श्रीकृष्णले भनेका थिए रे, ‘यो धर्म युद्ध हो । कोही तटस्थ बस्छु भन्न पाउन्न ।’ नेपालमा पनि धर्म युद्ध चलिरा’हो ? नत्र किन कोही पनि तटस्थ भन्ने भएन बाइ ! न्यायधीश भनौदाहरु पदमा पुग्ने बित्तिकै दाम चढाउँन पार्टी कार्यालय पुग्छन् । पत्रकारहरु जितेको पत्तो भइसकेको छैन दोसल्ला ओड्न पार्टी कार्यालय पुग्छन् । अचम्म !

स्वतन्त्र र निष्पक्ष हुनु पर्ने पत्रकारहरु एउटा पार्टी कार्यालय गएर ‘ख्वामित, हामी जितेर आयौँ’ भन्न पुग्नु कतिको सहि कुरा हो ? तपाई आफै विचार गर्नुस् । एउटा अमुक पार्टीको नेताले चुनाव लडेको शैलिमा चुनाव लड्ने र पार्टीको वकालत गर्ने पत्रकारहरुबाट कतिको निष्पक्ष समाचार र विचार पढ्न, हेर्न र सुन्न पाइएला ? सबै भन्दा रमाइलो कुरा त यो छ कि खुल्मखुल्ला पार्टीका पुच्छर बन्नेहरु पनि आफ्नो संगठनलाई फलानो पार्टीको निकटमात्रै भन्छन् । र, विचार र आश्था कसको हुदैन ? के पत्रकारले चै विवेक प्रयोग गर्न नपाउँनु ? भन्ने काइते प्रश्न सोध्छन् उल्टै । अनि, यीनीहरु नै पानाका पाना छाप्छन् र घण्टौँ बहस चलाउँछन्, नेपाल किन बनेन भनेर । कटि हास्नु ! म ट हासेरै मर्ने भयो ।

तपाई नि ?

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)