निकै समय पछि ब्लग लेख्दैछु । पानीफोटोमा हरेक दिन ब्लग अपडेट नगरिकन खा’को पनि नपच्ने भने जस्तो भइसकेको म, झण्डै दुई महिनाको अवधिभर केहि नलेखि बसेँ । सायद ठाउँ फेरिएपछि प्राथमिकता पनि फेरिदा रहेछन् । त्यसकै प्रमाण बन्न पुग्यो पानीफोटोमा मेरो नियमित अपडेटको अभाव । म नेपाल रहदा पानीफोटोमा केहि न केहि पोस्ट गरि नै रहेको हुन्थेँ । निकैजनाले हेर्नुहुन्थ्यो । तर पढाईको सिलसिलामा नर्बे आएदेखि केहि अस्तव्यस्त जस्तो भइयो । नयाँ ठाउँ, सबै कुराहरु नयाँ । अझ नर्बे त दिन र रातको पनि टुँगो नहुने देश । नेपालको रुटिन यहाँ आएपछि १६० डिग्रीमा फेरियो । आफ्नो देशमा रहदासम्म मुख्य प्राथमिकतामा परेको पानीफोटो नर्बे आएपछि प्राथमिकताको सूचिमा केहि तल पर्यो । कारण, गर्नै पर्ने अरु कुराहरु थपिए ।
तर यो मेरोमात्र समस्या पनि होइन । नेपाली ब्लगरहरुको विगत र वर्तमान हेर्ने हो भने कमै मात्र त्यस्ता ब्लगरहरु छन् जसले ५ बर्षभन्दा बढि समय ब्लगिङमा बिताएका होउन् । लहडमा आउँने र तुरुन्तै हराउँने नेपाली ब्लगीङको मुख्य समस्या नै हो । आफु २ महिनासम्म ब्लगिङबाट केहि टाढा रहदा मैले केहि कुरा महसुस गरेँ, जसलाई मैले नेपाली ब्लगरहरु किन नियमित ब्लगिङ गर्न सक्दैनन् भन्ने बिषयसँग जोडिएको मानेको छु ।
२. कमाई : ब्लगिङ सौखका रुपमा सुरु गर्नेको संख्या निकै ठुलो छ नेपालमा । मैले पनि सुरुवातका दिनमा ब्लग लेख्नुलाई नितान्त सौखका रुपमा मात्र हेरेको थिएँ । डायरीमा लेखिने गीत, गजल र कवितालाई इन्टरनेटमा लेख्न पाउँदा निकै फरक काम गरे जस्तो लाग्थ्यो । तर विस्तारै बुझ्दै जाँदा ब्लगलाई सौखका रुपमा मात्र नभइ कमाई गर्नका लागि पनि चलाउँन सकिदो रहेछ भन्ने थाहा पाएँ । यसैले ब्लगिङलाई कमाईसँग पनि जोड्न सकेँ । आफ्नो इच्छापूर्ति गर्न सुरु गरिएको कुरामा जति सुकै समय खर्च गरेपनि त्यसको बदलामा आएको अलिकति रकम पनि सारै ठुलो लाग्छ तबसम्म, जबसम्म आफुलाई त्यो इच्छाले बल प्रदान गरिरहन्छ । तर केहि समय पछाडी त्यो कमाईले आफ्नो निर्वाह नहुने भएपछि कमाउँन कै लागि अरु काम पनि गर्नु पर्ने हुन्छ । अनि, समय अभाव । ब्लग लेखन अनियमित । बिस्तारै बन्द । कमाईकै स्थितीले ब्लगर भइराख्ने कि अरु केहि बन्ने भन्नेमा प्रभाव पार्दो रहेछ ।
३. ब्लगको बिषय : मैले लेख्ने ब्लग खासगरि सामाजिक बिषयवस्तु कै हुने गर्छन् । कहिलेकाँही नयाँ प्रविधिका बारेमा पनि ब्लग लेख्छु । तर सामाजिक बिषयवस्तुभन्दा बाहिरका कुरालाई ब्लगको मुख्य बिषय बनाउँने मलाई कहिलै आँट आएन । जब नेपालमा थिएँ, तब समाजका धेरै घटनाहरुको त प्रत्यक्ष अनुभव नै लिन पाइन्थ्यो । जस्तो कि, क्रिकेट, फुटबल हुन्थ्यो अनि आफैले खिचेका फोटोहरु राखेर एउटा ब्लग लेख्यो । दैनिक जीवनमा हुने अफ्ठ्यारा र परिवर्तनका बारेमा ब्लग लेख्न पाइन्थ्यो । तर आज समाचार साइटमा हेरेका भरमा ति बिषयवस्तुका बारेमा विश्लेषण दिनु कति सम्म परिपक्क होला र ? यसैले अहिले मलाई ब्लगको बिषयका बारेमा पनि अभाव भएको झैँ लाग्छ । हुन त, मैले आफ्नो धेरै समय ब्लगभन्दा अरुकामलाई दनि थालेपछि लेख्नु पर्ने र लेख्न सकिने बिषयलाई नजर अन्दाज पनि गरिन्छ भने कति लेख्छु भन्दाभन्दै समय अभावमा ढिलो र पुरानो हुन्छ । यसैले आफुलाई मन परेको बिषयमा लेख्नमा पनि समय अभावले ठुलो भुमिका खेल्दो रहेछ ।
सायद अरु ब्लगरहरुलाई पनि यस्ता समस्या आउँछन् । र त पलायन हुन्छ ब्लगिङदेखि ।
४. समूह : नेपाल रहुञ्जेल ब्लगर साथीहरुसँग भेटघाट भइरहन्थ्यो । भृकुटी मण्डपमा चिया खाँदै गफ गर्नुको मज्जै बेग्लै अनि सृजनाशिलता पनि बढ्थ्यो । अनि, विरलै हुने ब्लगरहरुको मिटिङले पनि उर्जा भने दिइरहन्थ्यो । अहिले त्यो समूहबाट भौतिकरुपमा केहि टाढा भएपछि सृजनाशिलतामा पनि कमि आएको झैँ लागिरहेको छ । हुन त, प्रविधिमा खेल्ने ब्लगर भएपछि भौतिक भेटघाट नै हुन जरुरी छ भन्नु हास्यास्पद नै होला । तर, कमाई कम, प्राथमिकता कम । अनि समय कम । यसैले अनलाईनमा चुस्स भएका भेटघाटले हाइ हेल्लोमा मात्र समय बित्छ । बिषय प्रवेश वा अपडेट हुन समय नै पाइन्न । अनि, विस्तारै ब्लगरको समूहबाट टाढा र ब्लगिङबाट पलायन ।
१. समय : तपाईले याद गर्नु भयो कि भएन, मैले बुँदाहरु नम्बर २ बाट सुरु गरेको थिएँ । सबैलाई ब्लगिङबाट पलायन हुनुको मुख्य समस्या आम्दानी हो भन्ने लाग्छ र धेरै हदसम्म सही पनि हो । तर केलाउँदै जाने हो भने प्राथमिकताहरु विचार गर्दै जाने हो भने समयले सबैभन्दा बढि असर गरिरहेको हुन्छ ब्लगिङमा । सहि सूचना सहि समयमा दिन सकिएन र सहि ब्लग सहि समयमा लेख्न सकिएन भने त्यो त्यति उत्पादक बन्न सक्दैन । सायद ब्लगरहरु ब्लगिङबाट पलायन हुनुको मुख्य कुरा यही समय दिन नसक्नु नै हुन्छ ।
समस्यामात्रै ? समाधान छैन ?
खासमा मैले यो ब्लग मेरो २ महिनाको समय जुन समयमा म ब्लगबाट केहि टाढा रहे, त्यो अनुभवमा आधारित छ । सबैको कारणहरु यही नहुन सक्छन् । अनि मैले यसमा समस्याको कुरालाई मात्रै किन पनि उठाएको हुँ भने अहिलेको मितिसम्म मैले अनुभव गरेको यही समस्या नै हो । यदि सैद्धान्तिकरुपमा कमाई बढाउँन यसो गर्न सकिन्छ, ब्लगरहरुको समूह यसरी बनाउँनुहोस् भन्न तिर थालियो भने म जे कारण यो ब्लग लेख्दैछु, सो बिषयबाट अलिक टाढा हुन्छु झै लाग्यो ।
पक्कै पनि समस्या छन् भने पछि समाधान पनि हुन्छ नै । व्यवसायिक ब्लगर नभएको कारण मेरो समाधान र अर्को व्यवसायिक ब्लगरको समाधान फरक पर्ला । तर समस्याहरु सामान्यतया यीनै हुन् । तपाई ब्लगिङ गर्न लाग्नु हुदैछ भने समस्याहरुका बारेमा जानकार भएर सुरुमै समाधानका उपायहरुमा पनि ध्यान दिनु होला ।
अब नियमित भेट भइरहला ।
मलाई त यो कुराहरु बाहेक नेपाली ब्लगरहरु छिट्टै ब्लगिङदेखि टाढिनुमा कम शिक्षा भन्ने पनि लाग्छ । कुनै कुराको विस्तृत ज्ञान लिनु छैन एकै पल्ट ब्लगिङ सुरु गर्यो । गुगलको विज्ञापनले त बोरा बोरा पैसो दिन्छ भन्यो ।
सोचे जस्तो हुन्न जीवन …… अनि बाटो लाग्यो ।
धन्यवाद सरोजजी । सहि कुरा गर्नु भयो । ज्ञानका अभावमा धेरै ब्लगरहरु आफुले लेख्न सुरु गरेको बिषयलाई नियमित बनाउँन सक्दैनन् । कमाईका लागि गुगल बाहेकका स्रोतहरु पनि प्रयोग गर्न त सकिन्छ तर नेपाली भाषामा भएको ब्लगमा भने केहि समस्याहरु हुन्छन् । यस बाहेक स्थानिय विज्ञापनहरुका लागि पनि पहल गर्न त सकिएला तर इन्टरनेटमा नै कमै विज्ञापन दिइने नेपालमा सामान्य ब्लगले विज्ञापन पाउँने अवसर नै कम हुन्छ ।
नयाँ नयाँ कुराहरु लिएर ब्लग लेख्ने हो भने त पक्कै पनि चल्छ नेपाली ब्लग । तर हाम्रोमा त कपी पेस्टवाला ब्लगरहरुले हालत बनाएका छन् सबैको ।