रमाइलो गर्न पनि केहि बहाना नै चाहिने । यसैले साथी बिराट पुरीको जन्मदिन मनाउन ४ जनाको समुह समुद्रतिर लाग्यौं । त्यही अर्को साथी निलेशलाई भेटेपछि हाम्रो समुह ५ जनाको भयो । पौडीमात्रै खेल्न गएका हामीले समुद्र पुगेपछि हामीसँगै गएको साथी सरोज कोइरालाले वाटरप्रुफ क्यामेरा ल्याएको थाहा भएपछि पानीभित्रको फोटो खिच्ने मौका पाइयो । पौडी खेल्न नजान्ने साथीहरु गोविन्द खनाल र सरोज कोइराला किनारामै रमाइरहदा हामी भने केहि भित्र अन्डरवाटर फोटो सुटमा रमाइरहेका थियौं । केहि तस्विरहरु यहाँ राखेको छु, हेर्नुहोला
हाम्रोमा गजबको संस्कार छ, केटाकेटीको जोखिम कम गर्न हामी केटाकेटीलाई त्यो जोखिमको छेउमा पर्न समेत बन्देज गर्छौं । उत्सुक बालबच्चाको झन् त्यो जोखिमप्रति आकर्षण बढ्छ । ज्ञानका अभावमा त्यस्तै जोखिममा दुर्घटनामा परेर धेरै केटाकेटीको ज्यान जान्छ हाम्रो समाजमा । हाम्रो आँगनमै पोखरी थियो तर हामीलाई पोखरीमा नुहाउन कहिलै अनुमति थिएन । लुकेर, आँखा छलेर हामीले पौडी खेल्यौं । धन्न कुनै दुर्घटना भएन । हामीले पौडी सिक्यौं । तर यहाँ सानैदेखि जोखिमको बारेमा ज्ञान दिने चलन रहेछ । भर्खर बामे सर्न सक्ने बच्चाहरुलाई पनि हावा भरिएको लुगा लगाइदिएर पानीमा छोडेको समेत देखियो । फोटो खिच्ने अनुमति नभएकाले त्यस्ता फोटोहरु यहाँ राख्न सकिन । तर सानै अवस्थामा निर्धक्क समुद्रको बिचमा ‘सनबाथ’ गर्ने एक बालक भने यसरी डुल्दै थिए ।
समुद्रको किनारको २०-२५ मिटरको दुरीमा स्टेज जस्तो बनाइएको छ । जसबाट समुद्रमा फाल हाल्न भिड लाग्ने गर्छ । समुद्रको छालले गजबले हल्लाउने त्यो ‘स्टेज’मा पालो पर्खिएर गहिरो समुद्रमा फाल हाल्नुको मज्जै बेग्लै ।
सानै देखि लागेको बानी, पानीमा फाल हाल्न लाग्यो कि हातले नाक छोड्दै छोड्दैन । साथीहरुले स्टाइल दिन भए पनि नाक समात् भने पनि बानी के छुट्थ्यो !
मज्जाले बाकटे हान्न त्यति आउँदैन । यसैले घोप्टो परेर भन्दा उत्तानो परेर पौडिनुमा रमाइलो र आनन्द लाग्छ ।
वाटर प्रुफ क्यामेरा भएपछि यसो पानीभित्रको सुट पनि त गर्नु पर्यो नि ।