पास हुनेलाई बधाई, फेल हुनेले हिम्मत नहारौँ

आज एसएलसी परिक्षाको परिक्षाफल प्रकाशित भएको छ । यसपाली नियमित तर्फ ४ लाख ३ हजार ९ सय ३६ मध्ये ४१ दशमलव ५७ प्रतिशत अर्थात १ लाख ६७ हजार ९ सय ३५ जना पास भएका छन् । यसपाली विशिष्ट श्रेणीमा १६ हजार ९ सय २४, प्रथम श्रेणीमा ७६ हजार १ सय ६५, द्वितीय श्रेणीमा ६९ हजार ८ सय ३० र तृतीय श्रेणीमा ५ हजार १६ जना पास भएका छन् (नतिजा हेर्न क्लिक गर्नुहोस्) । यस्तै एक्जाम्पटेडतर्फ १ लाख ७ हजार २ सय २९ मध्ये ८ हजार ३ सय १८ जना पास भएका छन् (नतिजा हेर्न क्लिक गर्नुहोस्)। एक्जाम्पटेडमा बिशिष्ट श्रेणीमा आउन कोही पनि सकेनन् । प्रथम श्रेणीमा एकसय १७, द्वितीय श्रेणीमा ५ हजार ८ सय ४८ र तृतीय श्रेणीमा २ हजार ३ सय ५३ जना पास भएका छन् ।

सफल हुने सबैलाई बधाई छ । असफल हुनेले अर्को पटक अझ राम्रो गर्नुहोला । मिहिनेत गरेर पनि सोचे जस्तो नम्बर नआउदा पनि साहस घट्दैन मिहिनेतीको । गतबर्षको एसएलसीमा सोचेजस्तो नम्बर नआएपछि के भनेका थिए एक परिक्षार्थीले ? पढ्नुहोला

मेरो पढ्ने शैली खराब थियो भनेर मैले मान्ने कसरी ? जब कि मैले दिनरात नभनी पढेको छु । भित्तामा गणितका सुत्रहरु टाँगेर रटेकै भएपनि रटेर नै सबैथोक जान्न सकिन्छ भन्ने मलाई कहिलै लागेन । तर यसो भनिरहदा मैले नरटेको पनि हैन । जहाँ रट्नु पर्ने थियो, मैले रटेँ । जहाँ बुझ्नु पर्ने थियो, मैले बुझेँ । मेरो मौलिकता पनि निकै राम्रो छ, प्रमाण दिइरहनु नपर्ला, मैले वादविवाद र निबन्ध प्रतियोगितामा जितेर ल्याएका मेरा प्रशंसापत्र आफै बोलिरहेछन् । तर पनि भर्खरै सकिएर हिजोमात्रै नतिजा आएको एसएलसीमा मेरो सोचे र मेहनत गरे जस्तो नम्बर आउँन सकेन ।

प्रथम त, म १६ बर्षको स्कुले केटो । गाउँमा बस्छु । सरकारी स्कुल पढ्छु । मैले पढ्दै गरेको स्कुल उच्चमावि भएको धेरै बर्ष भएको छैन । गाउँमा विकाशका पुर्वाधारहरु देखिदैछन् । मानिसहरु शिक्षाका विषयवस्तुसँग सचेत हुदैछन् । यसैले पहिले भ्याउँदा पढ्नेहरु अहिले पढेर भ्याउँने भएका छन् । सके जति काम आफै गरेर आफ्ना छोराछोरीलाई जसरी पनि पढाउँन खोज्ने र समय मिलाइदिने अभिभावकको सख्या बढ्दो छ । मैले पाएको वातावरण पनि ठ्याक्कै यस्तै हो । मैले यही वातावरणमा निष्फिक्री पढ्न पाएँ ।
Please-Climb-The-Tree
शहरसँग तुलना गर्ने हो भने केही अफ्ठ्याराहरु पक्कै होलान् । होमवर्क गर्न इन्टरनेटमा खोज्ने सुविधा हामीसँग छैन । गाइड, गेसपेपर, अतिरिक्त प्रश्न तथा किताबहरु हामीसँग आइपुग्दैनन् । कोही कोही शहरतिर गएको बेला यदाकदा ल्याउँने फरक कुरा हो । मैले अघि भने जस्तै हाम्रो समाजमा सके जति काम आफै गरेर आफ्ना छोराछोरीलाई जसरी पनि पढाउँन खोज्ने र समय मिलाइदिने अभिभावकको सख्या बढ्दो छ । तर शिक्षाका लागि शैक्षिक स्तनोत्तरीका लागि लगानी गर्ने अभिभावकहरु अत्यन्तै कम छन् । स्कुलमा एकदिन नछुटाइ पढेर घरमा ध्यान दिने हो भने जत्ति पढिन्छ, अरु कुरा त नाटक मात्रै हो भन्ने सोच हावी छ । मैले समय पाएँ, मेहनत गरेँ । भाग्यमानी म, शहरबाट आउँनेले पढोस् भनेर ल्याइदिएको धेरै किसिमका अभ्यास किताबहरु पाएँ । मैले सबै पढेँ । म पुर्ण तयार भएँ एसएलसीका लागि ।

मानसिकरुपमा पनि म सबल थिएँ । जानेको लेख्ने हो र मैले नजानेका कुराहरु कुनै छोडेको छैन भन्ने मलाई आत्मविश्वास थियो । मैले जहिलै धक नमानी परिक्षा दिन सक्छु भन्ने सोचिरहेँ । मानसिकरुपमा जस्तो सुकै प्रश्नको समाधान दिन सक्छु भन्ने मलाई हिम्मत थियो जसकालागि मसँग ज्ञान र मिहिनेतको आधार थियो ।

परिक्षामा केही अफ्ठ्याराहरु देखिए । सरहरुले यीनीहरुलाई पनि पास गराएस् भनेर नजान्ने साथीहरुलाई मसँग पारिदिनु भयो । एकधुनले लेख्दा परिक्षामा ति साथीहरुको कचकच सहन निकै गार्हो पर्यो । तै पनि मैले परिक्षा राम्रो दिएँ । निकै राम्रो नम्बरको मलाई विश्वास थियो । तर नतिजामा मेरो राम्रो नम्बर आएन । त्यति खराब पनि होइन । प्रथम श्रेणीको राम्रो नम्बर त छ तर मैले ल्याउँन सक्ने त्यति मात्रै हैन ।

अहिले सुन्छु, सरकारी स्कुलमा परिक्षा खुकुलो हुन्छ, चिट चोर्छन् भनेर कपी निकै कडा जाँचिन्छ रे । त्यति नै कुरा अंग्रेजीमा लेखे वाह क्या इंग्लिस छ भन्दै नम्बर दिनेले नेपालीमा लेखेको त्यही कुरालाई कम महत्वको ठान्छन् रे । बढि विद्यार्थी पास गराउँने नाममा लेखेको नहेरी पन्ना गनेर होलसेल नम्बर दिइन्छ रे, यति पन्ना लेख्नेलाई यति नम्बर । धेरै कपी जाँचेर धेरै कमाउँने भन्दै छिटो कपी जाँच्दा नम्बरमा आकाश पतालको फरक पर्छ रे । यस्ता धेरै कुरा सुनेको छु । वास्तविकता के हो ? हामीसम्म आइपुग्ने कुरा भएन । तर मार हामी सम्मै आइपुग्यो ।

तर पनि म हतोत्साहित भएको छैन । यस्ता सानामसिना अफ्ठ्याराहरुले हार मान्न म तयार छैन । जालझेल वा अन्य कृत्रिम कुराले म भन्दा अघी भएकाहरु पक्कै पनि विस्तारै छाँटिनेछन् भन्न् सोचेको छु । अब आउँने दिनमा म झन् राम्रो गर्न सक्छु, मलाई विश्वास छ । तर दुख लाग्छ, विभिन्न वहानामा हाम्रा विश्वासहरुलाई डगमग बनाइन्छ । सहि तरिकाले सबैको मापन हुने दिन कहिले आउला, सोच्दछु । मेरो नम्बर ठ्याक्कै के कारणले कम आयो ? यसो हुनुमा मेरो दोष कहाँ थियो, मैले थाहा पाउँन सकेको छैन ।

कसैलाई थाहा छ कि !
( नोट : उनले आफ्नो नाम खुलाएका थिएनन् ।)
उनको पुरानो ब्लग पढ्नुहोस् : मिहिनेत अनुसारको नम्बर किन आएन ?

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)