बुद्ध जयन्ति, मेरो वाइफाइ र तिनको सामान्य ज्ञान

आज बुद्ध जयन्ति । सबैलाई शुभकामना । सबैको मन शान्त रहोस् । शान्तिप्रतिको चाहना जागोस् ।

wifisignalबुद्ध जन्मिएको मुलुक र हामी शान्तिप्रिय भनेर इतिहासका धेरै बर्षमा हामीले हाम्रो परिचय दिइरह्यौं । अहिले पनि हाम्रो पहिचान बुद्ध र सगरमाथामै सिमित रहेको छ धेरै हदसम्म । तर मैले धेरै यस्ता विदेशीहरु देखेको छु, जो बुद्धलाई चिन्छन् तर नेपालका बारेमा सुनेका छैनन् । नर्बे आएपछि परिचय गर्ने क्रममा धेरैले नेपाल कहाँ पर्छ भनेर सोधे । हामी भन्थ्यौं, तिमीलाई बुद्ध कहाँ जन्मिएका हुन्, थाहा छैन ? उनीहरु भारतमा भन्ने जवाफ दिन्थे । उनीहरुको सामान्य ज्ञान खराब भएको हैन । उनीहरु बुद्ध भारतमै जन्मिएका हुन् भनेर पढ्छन् । यो कुरा निकै धेरै पटक सुनेको छु । म हरेक पटक सच्याउँछु । हरेकलाई बुद्ध नेपालमा जन्मिएका हुन् भनेर बुझाउदा केहि रमाइलो महसुस हुन्छ, आनन्दको ।

म अहिले जुन होस्टेलमा बस्छु, यहाँ कम्तिमा १५ देशबाट आएका विद्यार्थीहरु बस्छन् । तिनीहरु मध्ये धेरैलाई नेपालका बारेमा या बुद्धको जन्मस्थानका बारेमा सहि जानकारी छैन । मैले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने जानकारी बाड्नका लागि एउटा उपाय अपनाएँ । मैले मेरो राउटरको वाइफाइ सिग्नलको नाम – Lord Buddha was born in Nepal भनेर राखेँ । रमाइलो के भयो भने पहिलो तल्लामा बस्ने एकजना अमेरिकनले भन्दै थियो, मेरोमा एउटा वाइफाइ सिग्नल आउँछ । त्यसमा भगवान बुद्ध नेपालमा जन्मिएका थिए भनेर लेखेको छ । मैले गुगलमा सर्च गरेर हेरेको, हो रै छ । मैले त्यो वाइफाइ मेरो राउटरबाट निस्केको हो भनिनँ । मैले साह्रै ठुलो काम गरेको हैन तर, एकजनासम्म भए पनि त यो जानकारी पुर्याएँ नि भनेर मख्ख पर्न भने काफी छ ।

मेरो छेउको कोठामा बस्ने तान्जानियाको साथीले यही सन्दर्भमा भन्दैथियो, ‘तैले त मेरो सामान्य ज्ञान नै बढाइदिस् ।’ तर वास्तवमा मलाई उसको सामान्य ज्ञानसँग कुनै लेनदेन थिएन, बुद्ध नेपालमा जन्मिनुमा मेरो वर्तमानमा कति फरक पर्छ, मैले हिसाब निकालेको पनि छैन । तर हाम्रो पहिचानसँग जोडिएको कुरा हो यो । पहिचानमाथि गौरव गर्न सकिएन र पहिचानको संरक्षण गर्न सकिएन भने ज्युँदैमा मृत होइन्छ । यसैले मेरो तर्फबाट पहिचानका लागि अहिलेको अवस्थामा गर्न सकिने कुरा यही थियो, मैले गरिरहेको छु ।

कुरा सामान्य हो । तपाई पनि विदेशमा हुनुहुन्छ भने आफ्नो वाइफाइको सिग्नललाई यसरी नै केहि बिशेष नामाकरण गर्न सक्नुहुन्छ । अझ केहि समयका लागि password is – birthplace of Lord Buddha भनेर सिग्नलको नाम र पासवर्ड चै नेपाल राख्नु भो भने त एक पटक प्रयोग गर्नेले पक्कै पनि कहिलै बिर्सिदैन । यस्तै अरु धेरै किसिमका जानकारीहरु वाइफाइको सिग्नल मार्फत बाड्न सक्नुहुनेछ । यसले साह्रै ठुलो फरक पार्छ भन्ने नसोच्नु होला । तर जब तपाईको वाइफाइको सिग्नल हेरेर कोही एकजनाले मात्रै तपाईसँग कुरा गर्छ, त्यसबेला प्राप्त हुने सन्तुष्टि भने निकै ठुलो हुनेछ । कसम !!!

तपाईले यस्तै केहि गरिरहनु भएको छ भने या भर्खरैमात्रै वाइफाइ सिग्नलको यस्तै केहि नाम राख्नु भयो भने कमेन्टमा लेखेर जानकारी दिनुहोला है । तपाईको रचनात्मक सोचाइले अरुलाई पनि त फाइदा पुग्छ नि ।

9 Comments

  1. Madan Mani says:

    यो चाहिँ निक्कै राम्रो काम गर्नुभएछ ल। सबैले यसो गर्नेहो भने पनि सित्तैं राम्रो प्रचार हुन्थ्यो।

  2. MILAN says:

    सबैले फेसबुकमा कभर पिक्चर राखौं न मैले जसरि नै ।

  3. SAPKOTA GOPAL says:

    यो तरिका मलाई पनि एकदमै मन पर्यो । म पनि कतारमा छु । मसंग पनि WIFI छ । मैले पनि मैले पनि यस्तै किसिमको नाम राख्छु आजबाटै ।

  4. narayan says:

    यो तरिका मलाई पनि एकदमै मन पर्यो । म पनि दुबइमा छु । मसंग पनि WIFI छ । मैले पनि मैले पनि यस्तै किसिमको नाम राख्छु ।

  5. रमाइलो लाग्यो र तारिफ योग्य, सरल तर उपयुक्त विधि । राज्यले यीनै सन्देशहरु प्रचार प्रशार गर्नको लागि निक्कै ठूलो धनराशी खर्चिनु पर्छ र शायद यसैकारण हामी भन्दा भारतले बुद्धको प्रचार गर्न सक्षम भयो । तर हामी नेपालीहरु आ आफ्नो व्यक्तिगत स्तरमा यो सन्देश फैलाउन कोशिस गर्यौ भने, पक्कै पनि केही फलदायी हुनेछ । बर्षामा भेल बन्ने पनि त आकाशबाट झरेका थेरै थोपा थोपा पानीले त हो नी।

    म पनि अब छिटै एउटा पोष्ट लेख्‍छु बिभोरीमा । आषा छ मेरा नियमित बिदेशी पाठकहरुले त थाहा पाउनेछन् बुद्ध जन्मेको नेपालमै हो भनेर ।

  6. NPLZ BOY says:

    यो त अति नै राम्रो कुरा छ सर , सबैले यसरी नै सानो सानो उपाय अपनाए पनि धेरै राम्रो हुने थियो

  7. अनिल says:

    हो । राम्रो हो । म नेपालमै छु । म यहीबाट विदेशीका लागि नेपाल र भगवान बुद्धको documentry video लाई Youtude बाट सेयर गर्न सक्छु ।

  8. nabin says:

    world is saying my Buddha ,Buddha was saying my Nepal ;; password hint buddhas birth place

  9. Bhakti Pokhrel says:

    मसँग पनि राउटर छ । तर म नेपालमै छु । अनि हाम्रो गाउँमा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सबैलाई थाहा छ । यसैले म अरु नै माध्यमबाट यो कुरा फैलाउने प्रयास गर्छु ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)