बिचरा, नेपाली क्रिकेट टोली ! के पारा हो क्यानको ?

डिभिजन ४ उपाधि जितेपछि नेपाली टोली (तस्विर: उज्यालोअनलाइन)

डिभिजन ४ उपाधि जितेपछि नेपाली टोली (तस्विर: उज्यालोअनलाइन)

नेपाली राष्ट्रिय क्रिकेट टोली आज आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ३ को खेल खेल्न बर्मुडा तर्फ लागेको छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली मंगलबार राति भारतको राजधानी दिल्लीबाट लन्डन हुँदै बर्मुडाका लागि हिडेको भएपनि टोलीमा सबै खेलाडीहरु भने छैनन् । उपकप्तान ज्ञानेन्द्र मल्ल नेपालमै छन् । उनी अब केहि दिन पछि त्यसतर्फ लाग्नेछन् । किन ? भन्नुहोला । पारसको पासपोर्टका कारण समस्या भएको रे ।

जो आज गए ति पनि ढुक्क थिएनन्
आज बर्मुडा तर्फ उड्ने भनिएको टोली आज उड्ने हो कि होइन भन्नेमा आज बिहानसम्म पनि अन्यौल नै थियो । कारण थियो, क्यानले खेलाडी तथा पदाधिकारीका लागि बेलायतको ट्रान्जिट भिसा नलिनु । नेपालले अप्रिल २५ मा बर्मुडा-११ सँग अभ्यास खेल खेल्ने कार्यक्रम छ । सोमबार साँझसम्म भिसा नआएकाले उक्त अभ्यास खेल्नबाट नेपाली टोली वञ्चित हुने सम्भावना छ (स्रोत: नागरिकन्युज) । तर दिउँसो काठमाडौँस्थित बेलायती राजदुतले दिल्लीमा रहेको हाइकमिसनलाई नेपाली क्रिकेट टोलीको भिसा समस्याबारे मौखिक रुपमै जानकारी गराएपछि मात्रै दिल्लीमा बेलायतको ट्रान्जिट भिसा दिने पक्का भएको थियो ।

किन गएनन् ज्ञानेन्द्र मल्ल ?
क्यानका पदाधिकारीका अनुसार, ज्ञानेन्द्र मल्लको भने पासपोर्टमा समस्या पर्यो रे । उनले लिएको नयाँ पासपोर्टमा क्लियरेन्स समस्याका कारण उनी टोलीसँगै जान नपाएका हुन् रे । अब उनी अभ्यास खेल खेल्न भने पुग्ने छैनन् ।

बिचरा, नेपाली क्रिकेट टोली ! के पारा हो क्यानको ?
समाचार पढिरहदै दिक्क लाग्ने कुरा हो यो । क्रिकेटमा नेपालले आशा गरेका कारणमात्र होइन, खेलाडीले देशको प्रतिनिधित्व गर्ने कारण पनि मुलुकको सम्मानका लागि सबै खेलका खेलाडीहरुको क्रियाकलाप संवेदनशिल हुन्छ र हुनु पर्छ । अझ खेल पुर्व खेलाडी तथा टोलीलाई तनाव रहित बनाउनका लागि पनि तयारीमा विशेष सजगता अपनाउनु पर्ने हो । तर क्यानले पटक्कै त्यसतर्फ ध्यान दिएको देखिएन । बर्मुडामा हुने भनिएको डिभिजन ३ को खेल हिजोको आज एकाएक तय भएको हैन । निकै पहिले नै मिति र स्थान तय भएर सबै मुलुकलाई जानकारी दिइसकिएको हुन्छ । यस्तोमा फलाना कुराले गर्दा यो आपद आइलाग्यो भन्ने कुनै पनि बहानाहरु जायज हुदैनन् ।

आज खेलाडीहरु बर्मुडाका लागि हिड्ने दिन थियो । तर आज दिउँसोसम्ममा पनि को को जाने हो र को को फर्किनु पर्ने हो खेलाडीलाई थाहा छैन । नेपालले खेल्ने सबै खेलहरुमा आज खेल्न गएको खेल सबैभन्दा माथिल्लो हो । यसका लागि खेलाडीहरुमा छुट्टै दबाब त रहन्छ नै । अझ यस्तो किसिमको लापरवाही तयारीले उनीहरुको मनस्थितीमा कस्तो असर पार्ला ? क्यानका जिम्मेवार पदाधिकारीहरुले बुझ्नु पर्ने हो ।

टोलीलाई जितका लागि शुभकामना दिदादिदै हामी आमनागरिक र क्रिकेटप्रेमीहरुले सोध्ने र भन्ने कुरा यीनै हुन् - बर्मुडामा खेल्न जानु पर्छ भन्ने जानकारी कहिले आएको हो ? तयारी कहिलेदेखि सुरु भएको ? अहिले आएर भिसा भएन, फलानो छुट्यो, अनेक अनेक । के पारा यो हो क्यानको ? बिचरा खेलाडीहरुको मनोदशा के होला ? अब देखि यस्ता कुराको ध्यान राखियोस् ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)