सबै तयारी सकियो, मिति पनि तोकियो, अब बेहुलो खोजिदैछ !

महजोडीको ‘१५ गते’ भन्ने सिरियल हेर्नु भएको छ ? जात नमिलेको भनेर गर्लफ्रैन्डले छोडेर अर्कैसँग बिहे गर्ने भनेर निम्तो दिएपछि बैकुण्ठे (हरिवंश आचार्य) जसरी पनि केटी भन्दा छिटो बिहे गर्ने भन्ने धुनमा १५ गतेको मिति तोक्छ । केटी खोज्ने कुरो छोडेर पहिले बैकुन्ठेको परिवार नै बिहेको तयारीमा लाग्छ । तयारी यतिसम्म चल्छ कि केटी भेटिएकै हुन्न तर बिहेको मिति तोकेर बिहेको निम्तो कार्ड पनि छापिन्छ ।

अहिले राजनीतिक दलहरुले गरेको तयारी ठ्याक्कै गर्लफ्रैन्डको इबी लिएर बैकुन्ठेले बिहेको तयारी गरे जस्तो देखियो । फरक यति छ, बैकुण्ठे बिहेका लागि बेहुली नखोजी अरु तयारी थाल्छ, दलहरु कुर्सीमा बस्ने प्रधानन्यायधीशरुप बेहुलोलाई सोध्नै बिर्सन्छन् । सहमतिमा पुग्न भनेर बसेका बैठकहरुको हानाथाप, मिडिया कभरेज तामझाम सबै धुमधाम छ । तर जसलाई पहिले मनाउँनु पर्ने वा जसको पहिले सुझाब वा प्रतिक्रिया बुझ्नु पर्ने हो त्यसलाई त यसबारे जानकारी नै गराइएको छैन । बरु मिडियामा आए अनुसार, दलहरुको पारा देखेर ‘म प्रधानमन्त्री बन्दिनँ पो भन्दै छन् रे’ हुनेवाला प्रधानमन्त्री भनिएका प्रधानन्याधीश त !

रेग्मीले यति हुदासम्म पनि यो प्रकृया र उनको नाममा सहमति खोज्दै गरिएका प्रयासका बारेमा उनले केहि बोलेका छैनन् । उनले यस्तो भनेँ भन्ने सबै कुरा अन्य व्यक्तिबाट सुनिएको कुरा मात्रै हो । वास्तविकता भोली केहि थाहा होला । भोली दलका नेताहरु रेग्मीको घरैमा गएर सहमतिको प्रधानमन्त्री बन्न आग्रह गर्नेछन् । यसैले दृष्य यस्तो देखिएको छ कि सबै तयारी सकियो, मिति पनि तोकियो, अब बेहुलो खोजिदैछ !

यसबारे विस्तृत समाचार यहाँ क्लिक गरेर पढ्नुहोस्

तर विकशित घटनाक्रमले के देखाउँछ ?
विकशित घटनाक्रमले खिलराज रेग्मीको प्रधानमन्त्री बनिहाल्ने स्थिती पनि देखिदैन । एक त राजनीतिक दलहरुले प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउँनु भन्दा अगाडी नै सुल्झाउँनु पर्ने बिषयहरु टन्नै छन् । जस्तो कि माओवादी नेता हरिबोल गजुरेलले सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि सरकारले राष्ट्रपति समक्ष पेश गरेको विधेयक जस्ताको तस्तै पास नगरेसम्म नयाँ सहमति नबन्ने बताएका छन् । त्यस्तै माधव नेपाल भने अझै खिलराज रेग्मीले राजिनामा दिनै पर्ने बताइरहेका छन् । गोरखा पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईले रेग्मीको नेतृत्वमा सरकार नबने आफ्नै नेतृत्वको सरकारले चुनाव गराउँने बताएछन् । दलहरुका नेताहरुको कुरा सुन्दा अझै पनि दलहरु आफुलाई प्रधानमन्त्री बनाउँन इच्छुक छन् भनेर प्रधानन्याधीशले बुझेका हुन सक्छन् । उनी सायद अहिले दलहरुले उपयोग मात्र गर्न खोजिरहेका छन् भन्ने सोचिरहेका हुन सक्छन् ।

अझ अर्को कुरा सहमतिको सरकार भनिएको भएपनि सबै दलहरुको यसमा सहमति भएको पनि होइन । सत्तारुढ दलहरुकै सानादलहरुबाट यो सहमतिको बिरोध भइरहेको छ । त्यस्तै वैद्य समुहको माओवादीले मोर्चाबन्दी गर्दै यो सहमतिको विरुद्धमा एकदिनको नेपाल बन्द गरिसकेको छ भने अरु बिरोधका कार्यक्रम पनि घोषणा गरिसकेको छ । जस्तै भएपनि सर्वोच्चको प्रधानन्यायधीश भएर सम्मानित भएर बसेका रेग्मीलाई दलहरुको खिचातानी र सडक संघर्षको दबाब झेल्न गाह्रो पर्ने र आफु अपमानित हुने अवस्थाको अनुमान गरेका होलान् ।

यी त घटनाक्रमहरु नियाल्दा देखिएका नकारात्मक कुराहरु हुन् । आशा गरौं, मेरो दृष्टिकोण खराब होस् । सहमति बनोस् । देशले निकास पाओस् ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)