दशैं र ‘द कलेक्सन’ को सम्झना

दशैंको रमाइलो भनेको नै सानो उमेरमा बढि हुन्छ । ‘दशैंमा त यस्तो गर्छु’ निकै अगाडीदेखिको प्लान हुन्छ ।

अझ हामी सानो हुँदा त दशैंमा टिका थापेर ल्याएको पैसाले तिर्ने शर्तमा बर्षभरी ‘लगाई’ मै खेल खेलिन्थ्यो । हुन त न मैले कसैलाई तइँले लगा’को भनेर त्यो पैसा कसैलाई तिरेको याद छ, न कसैले मेरो नै तिरेको याद छ । त्यै पनि दशैंको रमाइलो र दशैंमा कमाइ हुने कुराले भने बर्षदिन भरका खेलहरुमा भरथेक गरेकै हुन्थ्यो । अनि, हामी दशैंमा ‘द कलेक्सन’ भन्दै टिका लगाउँन मामाघर पुग्थ्यौं ।

हाम्रो दक्षिणाको एकमात्र स्रोत भनेको मामाघर मात्रै थियो । हामी मात्र हैन अरु पनि थिए हामी जस्तै । सबैलाई आफुले बढि ‘कलेक्सन’ गर्नु पर्थ्यो भने अरुको कति पुग्यो भनेर सुराकी गर्नु अनिवार्य हुन्थ्यो । मामाघर पुग्न पनि नपाई आँगनमा नै हामीभन्दा पहिले आएर टिका र दक्षिणा थापिसकेकाले सोध्थे, ‘ओए ! तेरो कति भइसक्यो ?’

चारैतिर पल्याकपुलुक हेर्दै गफ दिन्थ्यौं हामी दाजुभाइ । ‘हाम्रो त फिफ्टी नाघिसक्यो ।’ (सरकारी स्कुल पढेको भएपनि र फिफ्टीभन्दा पनि पचास नै सजिलो लागे पनि अंग्रेजीमा फिफ्टी नै दिइन्थ्यो । दशैंको बेला शानमा फिफ्टी भन्नुको मजै बेग्लै हुने ।) आफुहरुसँग भन्दा बढि रहेछ भनेर सबै चुप लाग्थे । तर ति बिचरालाई के थाहा ! हाम्रो टिका थाप्दा दक्षिणा आउँने ठाउँ यही मामाघरमात्रै हो, जहाँ हामी भर्खरैमात्र आइपुगेका छौं भनेर ।

मलाई सानो छँदा सबैभन्दा खड्किने कुरा एउटै हुन्थ्यो । म किन केटी भएर नजन्मिएको ! घरमा सानोभन्दा सानो सत्यनारायणको पूजा लगाउँदा पनि दिदीहरुको हातमा पैसा पुग्थ्यो । बुबा र ममी नै दिदीहरुलाई बोलाइ बोलाइ खुट्टामा ढोकेर २ रुपैयाँ/ ५ रुपैयाँ हातमा दिनुहुन्थ्यो । हामी दाजुभाई बुबाममीलाई ढोग्थ्यौं र खाली हातमा प्रसाद थाप्थ्यौं । केटो भएर जन्मिएकै कारण हातमा रुपैयाँ नपरेको भनेर थाहा पाए देखि नै कस्तो केटी भएर नजन्मिएको भनेर थकथकी लागेर आउँथ्यो ।

अझ दशैंमा त के भन्नु ! घरमा त पाइएन पाइएन । काका बढाउकोमा पुगियो भने पनि उही रित्तो हात । दिदीहरुको हातमा १०० रुपैयाँ पुगिसक्दा पनि कहिलेकाँही त आफ्नो बनीसम्म भएको हुदैनथ्यो । कहिले भने पैसामा सारै लोभिएर हेरेको देखेर कसै कसैले ट्यास्स १ रुपैयाँ हातमा राखिदिन्थे । अरु बेला त ठिकै हो, दशैंको बेलामा १ रुपैयाँले बनी बिग्रिदाको नमज्जा त झन् भनिनसक्नुको हुन्थ्यो । लाग्थ्यो, बरु १ रुपैयाँ नदिएकै भए पनि हुन्थ्यो ।

मामाघरमा हामी धेरै भान्जा भान्जी । ममीहरु ५ जना दिदीबहिनी अनि मामाहरु ३ जना । सबैले उमेर अनुसार पालैपालो लगाउँदा मेरो पालो ३०/३२ स्थानमा आउँने । पर्खिदा पर्खिदा हैरान ।

तर किन हो एक पटकको दशैंमा मामाघरमा हजुरबुबाले टिका लगाउँदा नै दक्षिणा दिनु भएन । हामी सबैका बुबाआमा टिका थाप्दै उठ्दै गर्दै थिए । हामी केटाकेटीहरु मुखामुख गर्न थाल्यौं । सबै केटाकेटीको अनुहार कालो हुँदै आयो । सबैभन्दा पर्नु पिर हामी दाजुभाइलाई नै परेको थियो होला । न घरमा पाइयो न मामाघरमा नै पाउँने छाँट छ, हामी आत्तिसकेका थियौं । तर टिका लगाइसक्ने बित्तिकै मामा दक्षिणा बाढ्दै आउँनु भो । केटाकेटीमा सास भरियो । सबै जर्याकजुरुक्क उठ्यौं ।

मामाले सबै केटाकेटीलाई दामासाही १० रुपैयाँका दरले दिनु भो । कोही कोही बाठाहरु एक पटक पाएको पैसा लुकाएर अर्को पटक पनि हात थाप्दै रहेछन् । पैसा बाड्दा मामा भन्दै हुनुहुन्थ्यो, ‘एक जनाले दुइपटक हात थाप्न नपाइ है ।’ घर आउँदा मेरो दाइले गोजीदेखिबडो शानसँग १० का दुइवटा नोट देखाउँदै भन्यो, ‘मामा झुक्किनु भो ।’ मेरो गोजीमा पनि १० का दुइवटा नोट नै थियो । मामा यता पनि झुक्किनु भो भनेर मैले दाईलाई सुनाइनँ । मामा झुक्किनु भो कि झुक्याइनु भो भन्ने त हामी दुवैलाई थाहा थियो ।

फेरि अर्को सालमै होला । मेरो पालो निकै पछाडी हुनेले ठ्याक्कै टिका लगाएको ठाउँमा के हुदैछ देख्न नपाउँने गरि पर थिएँ । ठुलाहरुले छेलेका थिए । तर जब केटाकेटीको पालो आयो, टिका लगाउँने बित्तिकै हरेक केटाकेटी सु आयो भन्दै ट्वाइलेट जान थाले । बल्ल मेरो पालो आयो । टिका लगाएपछि दक्षिणा तुरुन्तै हात लाग्यो । ए मामाले नियम फेर्नु भएछ । तर १/१ का धेरैवटा नोटहरु । उफ् ! अब कति छ भनेर कसरी थाहा पाउँने । दिमाग चल्यो मेरो पनि सु आयो भनेर ट्वाइलेटमा हानिएँ । अगाडी गएकाहरु फर्किदै रहेछन् । कोही कसैसँग बोलेनन् । सबैलाई सु नै गरेको नाटक गर्नु जो थियो । ट्वाइलेटमा छिरे । के को सु हुन्थ्यो । १/१ का १५ वटा नयाँ नयाँ नोट गनेँ । पोहोरको भन्दा ५ रुपैयाँ बढी । कसैले ढोका ढक्ढकायो । बाहिर सानिमाको छोरो मेरो भाइ पर्खिरहेको रहेछ ।

त्यसपछिका बर्षहरुमा मामाले नियम फेर्नु भएन । हामीलाई निकै बर्ष टिका लगाउँने बित्तिकै सु ले च्यापिरह्यो । मामाले भन्नु हुन्थ्यो, सबै भान्जाभान्जीलाई एकै पटक सु लाग्ने । अचम्म छ, हेर्नुस् न ।

तस्विरका लागि दीपा बहिनीलाई धन्यवाद ।

4 Comments

  1. प्रखर उपाध्याय says:

    केटाकेटी बेलाको कुरा यस्तै रमाइलो हुन्छ गणेशजी । राम्रो लेख्नु भयो मलाई पनि झलझली याद आयो । म त झन् सानै देखि एकदम डिमान्डिङ दशैमा यस्तो लुगा चाहियो भने पछि त्यही नभइ नहुने । अरु लुगा त जे ल्याइदिए पनि माटोमा लडिबुडी खेलेर फोहोर पार्थे रे । पैसा भने पछि त सासले तान्ने । मेरो कथा पनि यस्तै हो ठ्याक्कै ।

  2. नवीना गौतम says:

    अमुइ । कसरी थाहा पाउँनु भो मेरो कुरा । म पनि दशैंमा पैसा हात पर्ने बित्तिकै कति रहेछ भनेर ट्वाइलेटमा गएर पैसा गन्थेँ । मलाई लाग्थ्यो म मात्रै यस्तो गर्थेँ तपाई पनि मेरै ड्याङको मुला हुनुहुँदोरहेछ ।

  3. Nabin Nepal says:

    हा हा हा हा ..त्यो ट्वाइलेटमा गएर पैसा हेर्ने म पनि हो…..गणेश सर पनि मेरै पार्टी को हुनुहुदो रयेछ…लोल

  4. manoj says:

    wow गणेश sir साचै राम्रो लाग्यो थांक्स तपाइको ति कलमी भावनाहरुलाई जसमा ति कुराहरुले हामीलाई टाडा vaya पनि नेपालमा रहेर बलाक्पनको याद दियो फरि पनि one मोर धनबायद

Reply to प्रखर उपाध्याय Cancel Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)