हामी नेता के मूर्ख, तिमी जनता पो मूर्ख त !

ए जनता ! कसलाई मूर्ख भनेको ? हामी मूर्ख भएको भए करोडौं पर्ने महलमा राज गरिरहेका हुने थिएनौं । बाउ बाजेले नदेखेको चिल्ला गाडीमा हुँकिरहेका हुने थिएनौं । अनि लाखौंमा खेल्न पाउँने थिएनौं । बुद्धि छ र त मोज गर्दै छौं । पटमूर्ख त बरु तिमीहरु हौ, आफु भोकभोकै भएपनि हामीलाई पालिरहेका छौ । हे मूर्खहरु !!

अझ चोर डाका रे हामीलाई ! के तिम्रो घरमा हामी चोर्न आएका छौं र ? कि हामीले बैंक लुट्या छौ ? बैंक लुट्दै हिड्ने हामी होइनौं, हाम्रा कार्यकर्ताहरु हुन् । ति पनि जनतै हुन् क्यारे । तिमीहरु जस्तै मूर्खहरु ! चोर नि तिमीहरु नै, डाका नि तिमीहरु नै । लु जा त ! मूर्खहरु ।

लौ देशद्रोही रे हामी, भयो अब ! ए बाबा ! संविधान बन्यो भने, देश बन्यो भने हामी बेरोजगार हुँदैनौं र भन्या । अनि किन हतार हामीलाई छिटो संविधान बनाउँन, यसैपाला चारै बर्षमा संविधान लेख्न । त्यति सार्र्हो मूर्ख नठान हामीलाई । जातीयताका सानो कुरा के उठाइदिएका थियौं, आगो फुक्ने त तिमी जनताहरु नै हौ । मेरो जातका राज्य फलानोलाई किन दिने भन्दै बाझाबाझ गर्ने तिमीहरु नै हौ । उल्टै हामीले नै तिमीहरुलाई आपसमा लडायौं रे ! मूर्खहरु ।

हामीले नेपालबन्द भन्दैमा बन्द गराउँदै हिड्ने को ? ल भन्नुस् त, नेपालबन्दमा गाडी फुटाउँदै हिड्ने, हातमा लाठी बोकेर मान्छे ठटाउँदै हिड्ने, पेट्रोल खन्याएर गाडी सल्काउँने प्रचण्डजी हो ? माकुनेजी हो ? शुसिल कोइरालाजी हो ? झलनाथजी हो ? टायर बाल्ने नि तिमीहरु । गाडी बाल्ने नि तिमीहरु । सबै तिमीहरुले गर्ने अनि दोष चै हामीलाई ? मूर्खहरु ।

हाम्रा नेताले यसरी नै बिताए ४ बर्ष । तै पनि हामी मेरा नेता चै राम्रा भन्छौं ।

तिमीहरुको दोचारे कुरा । हामी चोरै भए, डाकै भए, फटाहा नै भए के खानका लागि हामीलाई सलाम मार्दै हिड्छौ ? यसो कतै भेट्यो भने दुई हात रगड्दै लमस्पार परे झै किन गर्छौ ? माननिय किन भन्छौ ? जती पटक चुनाव भए पनि भोट हाल्ने तिमीहरु नै हौ । यसो दुईचारवटा गफ दिदैमा पत्याएर जिताउँने तिमीहरु नै हौ । तिमीहरु दुख गरि गरि बसेरै भएपनि हामीलाई मोजले चारतारेको खाना खान सक्ने बनाउँने पनि तिमीहरु नै हौ । चिल्ला गाडी चढाउँने तिमीहरु नै हौ । लौ ! चोर नै हौं भने किन हामीलाई जिताएको त पटक पटक ? मूर्खहरु ।

जति कराउ न । हामी फेरि चुनाव गर्छौं । भोट हाल्न ताता घाममा घण्टौं लाइन बसेर भोट हाल्ने तिमीहरु नै हुन्छौ क्यारे । तिमीहरुकै भोटले मोज गर्न पाउँने ठाम्मा पुग्ने हामी नै हुन्छौं क्यारे । अनि कसले पापा हेरे जस्तो हेर्ने तिमीहरु नै हुन्छौ क्यारे ।

अझ हामीलाई मूर्ख रे । मूर्खहरु ।
नोट : फेसबुकमा प्राप्त लेखलाई सम्पादन गरि प्रकाशित गरिएको हो । यसमा प्रयोग भएको नेताहरुको कार्टुन कान्तिपुरबाट साभार गरिएको हो ।

2 Comments

  1. कमलकृष्ण बजगाईं says:

    पक्कै पनि लेख वास्तविक लाग्यो/ हामी नै हौ मूर्ख यस्तालाई चुनेर पठाउँने/ हामी त गोबर हौ / जसो गरे पनि हाम्रो बुद्धि नपलाउँने रैछ/ फेरि चुनावमा हामी यस्तैलाई जिताएर पठाउँछौ होला /

  2. मीना says:

    कुरा चै एकदम ठिक लाग्यो । तितो सत्य

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)