सिमसार – जहाँ जमिन लुक्दैन र पानी सुक्दैन

ramsar_wetland_simsar-कर्मठ सुवेदी-
आज फेब्रुअरी महिनाको २ तारिख अर्थात विश्व सिमसार दिवश । केहि क्षण अघि सम्म मैले आज फेब्रुअरी २ तारिख भन्ने नै बिर्सिरहेको थिएँ । सिमसार दिवश त झन् दिमागको कुनै भागमा पनि थिएन । एक मित्रले फोन गरेर सम्झाए पछि मात्रै सम्झेँ, आज फेब्रुअरी २ तारिख अर्थात विश्व सिमसार दिवश । सोच्दैछु, हामी आफैलाई प्रत्यक्ष र तत्कालै फरक नपारिरहेका कुराहरु प्रति कति वेवास्ता गर्छौ हामी ।

वास्तवमा, मैले सिमसार शब्द सुनेको नै धेरै भएको छैन । वातावरण विज्ञानमा स्नातक गर्दा भने सिमसारको बारेमा केहि पढें अनि त्यस पछिका वर्षमा एउटा गैर सरकारी संस्थामा काम गर्दा यो दिनको अवसरमा केहि कार्यक्रम आयोजना पनि गरें । विशेष गरी भोटेकोशी नदी किनारका केहि विद्यालयलाई लक्षित गरेर । अनि आज जिवनमा नै पहिलो पल्ट जाँचको उत्तर पुस्तिका बाहिर केही लेख्दैछु सिमसारको बारेमा ।

सिमसारको परिभाषा नै रोचक छ । सिमसार भन्नाले धाप वा दलदल सिम, धोल, ताल, तलाउ, पोखरी, दह, कुण्ड, नदीनाला, बाढी क्षेत्र, जलाशय, सिञ्चित धान खेत, जलक्षेत्रका घासेँ मैदान वा जंगललाई बुझिन्छ । नेपाल राष्ट्रिय सिमसार नीति २०५९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रुपमा बनेको दलदल क्षेत्र हो । अतः सिमसार यस्तो रसिलो भूमि हो, जहाँ जमिन लुक्दैन र पानी सुक्दैन ।

माथिको परिभाषा केलाउने हो भने सिमसार यस्तो क्षेत्र हो जहाँ जमिन अनि पानीको अनुन्याश्रित सम्बन्ध हुन्छ । अझ भन्नु पर्दा हामीले देखेको हरेक त्यो जमिन सिमसार हो जहाँ पानी हुन्छ । अनि पानी कहाँ पो छैन र ? यूजिन ओडमले भनेका छन्, “हरेक कोष भित्र पानी छ, अतः हरेक प्राणी जलचर हुन् ।” पानी विनाको जीवनको अकल्पनिय सम्बन्धको मनन् मात्रै गर्ने हो भने पनि सिमसारको अतुलनिय विशिष्टता स्पष्ट हुन्छ ।
simsar_in_nepal_5202
हामीले बाँच्नको लागि खाने अन्न फल्ने खेत सिमसार नबनी अन्न फल्दैन । हामीले पिउने पानी सिमसारको उपहार हो । यति मात्रै नभई जैविक विविधता, जल विज्ञान, पर्यटन प्रवर्धन, मनोरञ्जन, आर्थिक, साँस्कृतिक महत्व बोकेको यहि सिमसार नै मानव सभ्यताको द्योतक हो ।

सन् १९७१ फेब्रुअरी २ मा इरानको रामसार शहरमा सिमसारको निकै चर्चा भयो । विश्व सिमसार सम्मेलन नाम दिइएको उक्त सम्मेलनमा विश्वका १५८ मुलुकका प्रतिनिधिले सिमसारको यी नै महत्वलाई मनन् गर्दै यसको संरक्षण र व्यवस्थापनमा जोड दिनु पर्ने महासन्धि पारित गर्‍यो । अनि १९८५ फेब्रुअरी २ देखि मनाउन थालिएको विश्व सिमसार दिवश नेपालले पनि मनाउन सुरु गर्‍यो सन् १९९१ फेब्रुअरी २ बाट ।

फेवातालमा डुङ्गा सयर होस् वा कर्णालीको र्‍याफ्टिङ्ग, रारा तालको अवलोकन होस् वा देवघाटको तिर्थयात्रा सबैको सम्बन्ध एक वा अर्को किसिमले सिमसारसँग जोडिएको हुन्छ । त्यस क्षेत्रको समग्र आर्थिक सामाजिक रुपान्तरणमा पर्यटनले खेलेको भूमिका अतुलनिय छ । देशको अर्थतन्त्रको एउटा राम्रै हिस्सा ओगटेको पर्यटन र जलसम्पदाले धनी मुलुक नेपालको सौन्दर्य दुवैलाई जोडेको सानो तर मजबुत साँघुको नाम हो सिमसार । सिमसारलाई पर्यटनको कारण बनाएको भए अघिल्लो बर्षको नेपाल पर्यटन बर्ष त्यस्तरी असफल हुने थिएन कि । यसैले सिमसारको संरक्षण र प्रवर्धन नेपालको पर्यटन उद्योगको जग हो । अनि हामी कमजोर जग माथि पक्की घर बनाउन खोज्छौं र आफै प्रश्न गर्छौ, “हाम्रो घर सधैं किन भत्किरहन्छ ?”

2 Comments

  1. नम्रता पाण्डे says:

    सिमसार जोगाउँनका लािग राज्यले जति पहल गर्नु पर्ने त्यती भएको छैन । बेलैमा जोगाउँन सके मात्र हो नत्र पछि फेरि ल्याउँन मिल्ने कुरा होइन ।एक पटक हराए पछि । नासिए पछि ।

    तर के गर्ने वातावरण भनेको डलरको खेती मात्र हो ।

  2. नम्रता पाण्डे says:

    सिमसार जोगाउँनका लािग राज्यले जति पहल गर्नु पर्ने त्यती भएको छैन । बेलैमा जोगाउँन सके मात्र हो नत्र पछि फेरि ल्याउँन मिल्ने कुरा होइन ।एक पटक हराए पछि । नासिए पछि ।

    तर के गर्ने वातावरण भनेको डलरको खेती मात्र हो ।

Reply to नम्रता पाण्डे Cancel Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)