‘न्याय खोज्न गोर्खा नजानू !’

विद्वान, मितव्ययी, मुस्ताङप्रेमी भ्रष्टाचारप्रति शूण्य सहनशील प्रधानमन्त्री बाबुरामले श्रम तथा यातायातमन्त्री सरिता गिरीलाई भ्रष्टाचारको आरोपमा पदच्यूत गरे । सार्वजनिक पद धारण गरेको व्यक्तिले अभियोग लाग्दा मात्र पनि पद त्याग्नुपर्ने हुन्छ । यो कानुनीभन्दा नैतिकताको प्रश्न हो । त्यस आधारमा श्रममन्त्री गिरी पदबाट विस्थापित हुनु न्यायोचित छ । तर बाबुरामले किन गिरीलाई मात्र पदच्यूत गरे ? कुहिएका अरुलाई छुँदै नछोई श्रममन्त्रीलाई हटाएर बाबुरामले कस्तो सन्देश दिन खोजेका हुन? यस्ता नैतिक र राजनीतिक प्रश्नहरु असाध्यै कठोरतापूर्वक उभिएका छन् ।

अहिले बाबुराम सरकारमाथिको सबै समर्थन फिर्ता भइसकेको अवस्था छ । जनताले उनीप्रति कुनै आशा छैन । यो जनसमर्थनविहीनताको प्रमाण हुँदै हो । उनकै पार्टीको एक हिस्साले उनीविरुद्ध कथित ‘जनआन्दोलन’ घोषणा गरिसकेको छ । काङ्ग्रेस र एमालले यो सरकारलाई प्रतिपक्षी धर्मका आधारमा समर्थन गर्ने कुरै भएन । बाबुरामलाई कसैको समर्थन छ भने उनका केही मुट्ठीभर पछुवाको छ । पछुवाको यस्तो अन्ध समर्थन अन्तत्वगत्वा नेतृत्वकै लागि प्रत्यूत्पादक हुन्छ । बाबुरामले बुझेकै हुनुपर्छ । प्रचण्डको समर्थन त विवशताको उपज हो । जुन कुनैबेला (हिजोजस्तै) बाष्पिकरण हुनसक्छ ।

सरकारलाई अहिलेसम्म टिकाइराखेको मधेसी मोर्चाको समर्थन बाबुरामका लागि फलिफाप नभएर अभिषाप सिद्ध भएको छ । बाबुरामले सरकार टिकाउन जसरी आफ्नै पार्टीका र खासगरी मधेसी मोर्चाका मन्त्रीहरुको कर्तुतलाई नजरअन्दाज गरिरहे, त्यसले उनको साख नराम्ररी गिरेको छ । भ्रष्टाचार अभियोगमा बर्षौदेखि न्यायालयमा मुद्दा खेपिरहेका व्यक्तिलाई मन्त्रीपदमा बसाइराख्न उनलाई कुनै नैतिकताले रोकेन । विकासे मन्त्रालयमा अग्रिम घुसको संस्कृति बसाउने मन्त्रीलाई चौतर्फी दबाबका बाबजुद कारवाही गर्न त परै जाओस्, उनले छुनसम्म सकेनन् ।

गुण्डागर्दीको फिल्मी शैलीमा मन्त्रालय हाकिरहेका मन्त्रीको कर्तुतविरुद्ध बरु कर्मचारीहरु एकजुट भई लागिपरे । बाबुरामले गलत काम गर्ने मन्त्री र उनका चम्चाविरुद्ध सिन्को पनि उठाएनन् । बरु एक औपचारिक निर्देशन दिएर घटनालाई ‘हुँदै नभएको’ बनाए । जबकि घटना उच्चपदस्थ राष्ट्रसेवक कर्मचारीको मनोबल मात्र होईन्, स्वाभीमान नै गिर्ने खालको भएको थियो । महिला कर्मचारीलाई केही आलाकाचा ठिटाहरुले मन्त्रीको पृष्ठआडमा गालीगलौज गर्नु सह्य विषय थिएन । तर बाबुरामले त्यसलाई पनि सहे, शिवले कण्ठमा विष सहेजस्तो । अनुकरणीय सहनशीलता !

बाबुरामले सुरुमै आफू ठूलो जोखिम मोलेर प्रधानमन्त्री भएको बताएका थिए, कुरा सही थियो । तर उनको जोखिम मोलाइ यतिविघ्न लाचार र घृणित होला भन्ने कमैले सोचेका थिए । जेठ १४ को घण्टी बज्न लागिसकेको छ । शान्ति र संविधानको नाममा ठूलो स्वरले बोल्न पनि नदिने बाबुराम जेठ १४ को सीमाभित्र खरो उत्रने सम्भावना परालको त्यान्द्रोझैँ झिनो छ । शान्ति र संविधानको काममा उनको मात्रै निर्णायक भूमिका नभएको सबैले बुझेका छन् । यस्तो अवस्थामा सुशासन र राहतमा उनी गम्भीर हुनसक्थे । तर उनको गम्भीरता सत्ताभन्दा बाहिर देखिएन ।

सन्यासी बन्न कसैले राजनीति नगर्ने अभिव्यक्ति दिने बाबुराम सत्तामै बसीबसी सन्यासी बन्ने क्रममा छन् । अवसर लुट्नका लागि अघिपछि मडारिरहने आसेपासेबाट टाढा हुँदा, कम्तीमा राती सुत्ने बेलामा बाबुरामले आफैलाई मूल्याङ्कन गरी हेरुन् । उनले आफूलाई साहै्र कमजोर पाउनेछन् । जनताले आफूसँग राखेका अपेक्षा र बदलामा आफूले दिएको ‘धोका’ हेरुन्, उनलाई छटपटी हुनेछ । तर त्यो उनी बाहिर देखाउन सक्नेछैनन् । किनभने उनी क्रान्तिकारी पार्टीका ‘कार्यकर्ता’ न परे ! नेता बनिन मरिहत्ते गर्नेहरु कार्यकर्ता भनिन रुचाउँछन् । गजबको छ क्रान्तिकारी रुचि !

स्पष्ट छ, सरिता गिरीमाथिको कारवाही पनि बाबुरामको पानीमाथिको ओभानो बन्ने प्रयास मात्र हो । उनले यस्तो अधुरो र लाजमर्दो काम किन गरे, यहाँ देख्नेलाई लाज भइसक्यो । गलत काममा आरोपित एकजना मन्त्रीले सजाय पाउँछ र त्यस्तै अपराध गर्र्ने अरु बलिया मन्त्री जोगिन्छन् र वितण्डा मच्चाइरहन्छन् भने यो कहाँको न्याय हो ? ‘न्याय नपाए गोर्खा जानू’ भन्ने उक्तिलाई बाबुरामले विद्वताको प्रयोगमार्फत फेरिदिएका छन्, ‘न्याय खोज्न गोर्खा नजानू !’

2 Comments

  1. exactly……..‘न्याय खोज्न गोर्खा नजानू बरु बालुवाटार छिर्नु र लुकेर बस्नु ।

Reply to नेपालमा कसैलाई अन्याय नहोस् Cancel Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)