राजनिती ! राजनिती !! राजनिती !!!

मेरो ब्लग खाली राजनीतिक मात्र बन्दै गईरहेको छ । राजनीतिक बिषयबस्तु भन्दा पर केहि चियाउँन खोज्छु तर जब कुरोको चुरो तिर बढ्न थाल्छु, राजनीतिको भयानक छायाँले सबै बिषय र अन्धकारहरु ढाकिदिन्छ । अनि म राजनीती नलेखेर के लेखौं ?

म अहिले राजनीतिको परिभाषालाई कुन विद्धानले के भनेका थिए भनेर खोज्न चाहान्न, न त शब्दकोष पल्टाएर अर्थ नै भेट्नु छ । खाली यो राजनीतिको फैलावटलाई नाप्ने कोशिश गर्दैछु ।

मेरो लागि वास्तवमा राजनिती सँधै चासोको बिषय रह्यो । अहिले म सम्झदैछु मेरो राजनिती कुन नेताले के भन्यो बाट सुरु हुन्छ र, देश विग्रीएर भताभुङ्ग भयो भन्दै अघि बढ्छ अनि भोली केहि होला कि भन्ने आशामा गएर टुङ्गिन्छ । यो मेरो राजनितीक सुझबुझको घेरा हो । यो भन्दा अगाडि गएर मैले आजसम्म सोचेको छैन ।

तर राजनितीको घेरा मेरो जिन्दगी वरिपरि रहेछ । मैले आफ्नै खेतमा आफ्नै मिहिनेतले फलाएको धानको दाना–दानामा राजनिती रहेछ, मैले धानको बोटमा छरेको मलमा राजनिती उर्वर हुदो रहेछ । जब मेरो खेतमा लहलाउदो धान फल्छ अनि म साईकलको बिचमा चेपेर एक बोरा धान बेच्न धान बेच्ने गोदाममा पुग्छु तब राजनिती भयानक भएर हुर्किसकेको हुदोरहेछ । म चिच्याउँछु, “मेरो धानको भाउ मेरो मिहिनेल भन्दा सस्तो भयो । मेरो धानको भाउ बजार पुगे पछि मैले थाहा पाउने होईन, मैले नै राख्न पाउनु पर्छ ।” मेरा छेउछाउकाले भन्छन्, “धानमा राजनिती गर्न थाल्यो ।”

बर्षदिन भरि मिहिनेत गरेर पढ्न थाल्छु । यसरी पढ्छु कि प्रयोगशालाको अभावमा बिज्ञानका प्रयोगहरुको कार्यबिधि पनि मुखाग्र पार्छु । सामानहरु केहि छैन तर प्रयोगात्मक परिक्षा हुन्छ अनि म किताबमा लेखिएको प्रयोगको नतिजा रटिदिन्छु । यसैले त परिक्षामा जुनसुकै आकारको गोला दिएर आयातन निकाल भन्नुहोस्, मेरो उत्तर सँधै उहि हुन्छ जुन मेरो किताबमा लेखिएको छ ।

मलाई भर्नियल क्यालिबरको नाम मात्र थाहा छ, आकार देख्न पाएको छैन । म सहन सक्दिन, साथीहरु भेला गरेर हेडमास्टरसँग कराउँछु, “मलाई प्रयोग गर्ने सामानहरु चाहिन्छ ।” उनी बोल्छन्, “शिक्षामा राजनिती गर्न थाल्यो ।”

ठाउ–ठाउमा औषधि नपाएर मान्छे मरेको सुन्छु । गजल लेख्छु, कविता कोर्छु । जाजरकोटमा त्यती विघ्न मरे, मैले दुई वटा कविता, चार वटा गजल र केहि लेख लेखे । रोग कलमले निको पार्दैन । सरकार बिचार गर्दैन । म हुल लिएर मन्त्रालय पुगे । पुलिसले लाठी चार्ज गर्दै चिच्यायो, “साले, स्वास्थ्यमा राजनिती गर्छस् ।”

यसै गरि मैले बाटोमा राजनिती गरे । देशको सिमानामा राजनिती गरे । सुचनामा राजनिती गरे । सञ्चारमा राजनिती गरे । आफ्नो अधिकारको कुरा उठाएर राजनिती गरे । मसँग क्षमता छ यसलाई उपयोग गर्न देउ, म विदेशमा भासिन चाहान्न भन्दै रोजगारीमा राजनिती गरे ।

मेरो राजनितीले मलाई केहि पनि दिएन । मात्र यत्ति थाहा पाएँ, म राजनितीबाट घेरिएको रहेछु । म माथि राजनिती रहेछ, मेरो दाँया–बाँया राजनिती रहेछ । म राजनिती टेकेर हिड्दो रहेछु । म राजनितीले औषधि नपाएर मर्दारहेछु । मलाई राजनितीले अक्षर चिन्न दिदैन । मलाई राजनितीले चामल, ग्यास र तरकारी किन्न नसक्ने बनाउँछ ।

म आम नेपाली, मेरो राजनिती चुनावको पन्ध्र दिन अगाडिबाट सुरु हुन्छ र, चुनावको साँझ सकिन्छ । म कसैलाई जिताउँ या हराउँ, के फरक पर्छ ? त्यै पनि मलाई चुनावको पन्ध्र दिन अगाडि देखि सुरु हुन्छ ।

तरपनि मेरो राजनिती कुन नेताले के भन्यो बाट सुरु हुन्छ र, देश विग्रीएर भताभुङ्ग भयो भन्दै अघि बढ्छ अनि भोली केहि होला कि भन्ने आशामा गएर टुङ्गिन्छ ।

3 Comments

  1. नजर says:

    हाम्रो वास्तविकता ।

  2. मीना घोर्साने says:

    हाम्रो राजनीति भनेकै यस्तै हुन्छ । खाली हामी चुनावको केही दिन अगाडी नेताले बोलेका कुराेले नेता छान्छौ र तिनका कुरा पत्याउँछौ अनि त हामी दुख पाउँछौ

  3. indra oli says:

    जसले जितेनि हामिलाई पासपोर्ट बनाउनु पर्ने नै होला

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)