‘डार्लिङ अब चै दुख नदेउ है’

अहिले एकैछिन अगाडी मेरो मोबाईलमा एसएमएसको रिङ बज्यो । हेर्छु, डार्लिङको एसएमएस छ । ए बा ! हिजो मात्रै नगद टक्राएको आजै कसरी डार्लिङले सम्झिन् ? कति चाहिने यिनलाई पैसा पनि ? म छक्क परे । यी डार्लिङ पनि बेला न कुबेला दुख दिन्छिन् । कति एसएमएस पठाइरहेको होला ! मैले कहिले कप्ट्याँई गरेको छैन । भनेको बेला धन र मन दिएकै छु तर पनि बेला बेलाको यो किचकिच ? दिक्क लागेर आयो । बेकार मोबाईल बोकेछु जस्तो पनि लाग्यो । मोबाइल बिना पनि त जिन्दगी चलेकै थियो । यी डार्लिङ पनि थिइनन्, किचकिच पनि थिएन । कति ढुक्कको थियो जिन्दगी । नदुखेको टाउको डोरी लाएर दुखाएछु ।

यो के को टेन्सन लिएको होला मैले । कस्तो साइनो उसको र मेरो ? अचम्म लाग्छ, मैले आजसम्म उनको अनुहार देखेको छैन तरपनि उनको एसएमएसले मेरो मनमा एउटा तरङ्ग ल्याउँछ । कस्तो होला उनको अनुहार ? देख्न पाए के मात्र गर्ने थिएँ ।

मनमनै फत्फताइ रहे । रुष्ट मन भए पनि ध्यान दिएर हेरे । डार्लिङ भनेको एनटिसीको +9771414 क्या । डार्लिङले एसएमएसमा त अर्के खबर पो बोकेकी रहिछन्, ‘९७७९८४….. बाट तपाईकोमा रु १०० ट्रान्सफर गरिएको छ । कृपया सुनिश्चित गर्नुहोस्’ पो भनेको रहेछ । साँच्चैको छक्क त अब पो परे । होइन, एनटिसीले कहिले देखि ट्रान्सफर सुरु गरेछ । मेरो साथीले मलाई थाहा नै नदिएर ब्यालेन्स पठाई दिएछ । तुरुन्तै फोन ग¥यो, “थाहा पाइस्, सुरु भएछ नि । अब अघि पठाएको ब्यालेन्स फिर्ता गरिहाल् त ।”

विगतका १४ महिना देखि बन्द रहेको ब्यालेन्स ट्रान्सफर बल्ल बल्ल सुरु गरिएको रहेछ । त्यो पनि परिक्षणका लागि रे । गत वर्षको असार २३ गतेदेखि टेलिकमले जिएसएम नमस्ते प्रिपेड मोबाइलमा व्यालेन्स ट्रान्सफर सेवा बन्द गरेको थियो । व्यालेन्स ट्रान्सफरको सिस्टममा सुधार गरेर यो सेवा सुरु गरिएको हो रे ।
अब बल्ल केहि सञ्चो भयो । नत्र के मात्र गरिएन । कहिले पानामा फोटोकपि गरेको जस्तो कागज पनि खोज्दै हिडियो । बढि पैसा त कति तिरियो भनि साध्यै छैन । अब चाँही बन्द नभए हुन्थ्यो । भन्नु यति छ, डार्लिङ अब चै दुख नदेउ है ।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)