नारीवादी चिन्तन र यसले उब्जाएका प्रश्नहरू

-अनिल पोख्रेल-
परापूर्वकालदेखि नै नारीवर्ग सधैँ पुरुषवादी हैकम अनि दास मनोवृत्तिको शिकार बन्दै आएका छन् । नारी जातिले सृष्टिको सुरुवाती कालखण्डदेखि नै आफ्ना हक अधिकार कुण्ठित बनाईदिने पित्तृसत्तात्मक समाजसँग पौँठेजोरी खेल्दै अघि बढ्नु परेको छ । वास्तवमा नारीवर्गलाई पुरुष सरह समान राजनीति, आर्थिक एवं सामाजिक अधिकारहरू र समान अवसरहरू जुटाउन नारीवादी सोच एवम् चिन्तनको प्रादुर्भाव भएको हो । नारीवादी सिद्धान्त विशेषतः नारी अधिकार र नारी जातिको स्वतन्त्रतासँग सम्बन्धित विषयवस्तु हो ।

हाम्रा सामाजिक साँस्कृतिक मानकहरू र विभिन्न धार्मिक मूल्य एवम् मान्यताहरूले नै नारीजाति माथि विभेद गरेको पाइन्छ । धर्मशास्त्रहरुले समेत नारीजातिलाई कमजोर एवम् निरीह जीवका रूपमा देखाउन खोजेका छन् । यस किसिमका नकारात्मक चित्रणकै कारण निश्चय नै नारी जातिले एउटा बेग्लै पहिचान खोज्नुपर्ने भयो त्यस अनुरूप नारी जातिलाई एक छुट्टै शक्ति एक सबल रूपमा प्रस्तुत गर्नाका लागि नारीवादको उदय भएको हो ।विश्वमा नारीवादको इतिहास त्यति पुरानो नभएता पनि अठारौं शताब्दीको अन्त्यतिर बेलायतकी मेरी उलस्टोनक्राफ्टलाई पहिलो नारीवादी लेखिका एवम् विचारकका रूपमा लिइन्छ । उनले आफ्ना ऊर्जाशील नारीवादी लेखहरू मार्फत् तात्कालीन पित्तृसत्तात्मक युरोपेली समाजको धज्जी उडाएकी थिइन् । त्यसपछि भने युरोपमा नारीलाई हेर्ने पुरूषवादी दृष्टिकोण केही हदसम्म लचिलो रह्यो । नारीवादी चिन्तनको मूलभूत उद्देश्य नारीको पहिचान मात्र रहेन । नारी जातिका नैसर्गिक अधिकार, प्रजनन अधिकार, सामाजिक एवम् राजनीतिक अधिकारको प्रत्याभूति पनि एकदम जरुरी थियो । यसैअनुरूप महिलालाई मतदानको अधिकार प्रदान गरियो एवम् नीति निर्माणका विभिन्न तह एवम् तप्कामा सामेल गराइयो जसका कारण नारीजातिलाई स्वाबलम्बी एवम् सशक्तीकृत बन्न थप टेवा पुग्यो ।

सन् १९६० को दशकमा विश्वमै विभिन्न बहस एवं विचारका क्षेत्रमा नारीवादी सिद्धान्तले प्रवेश पाउन थाल्यो । विशेषगरी प्रसिद्ध फ्रान्सेली अस्तित्ववादी नारी साहित्यकार सिमोन दी बोउवारले सन् १९४९ मा विश्वप्रसिद्ध पुस्तक “द सेकेण्ड सेक्स” लेखेपछि विश्वब्यापी नारीवादी बहसका क्षेत्रमा नै सनसनी मच्चियो । यस पुस्तकमा उनले नारीवर्गलाई इतिहासका प्राचीन कालखण्डदेखि नै ‘अन्यत्र लिङ्ग’ अथवा ‘दोश्रो लिङ्ग’ का रूपमा हेरिएको कुरालाई विरोध गर्नुका साथै सम्पूर्ण नारीजातिलाई पुरातनवादी पितृसत्तात्मक समाजका विरुद्ध उभिन अपील गरिन् । कालान्तरमा यस पुस्तकले विश्वब्यापी नारी आन्दोलनमा अहम् भूमिका खेलेको पाइन्छ । सिमोन दी बोउवारले विभिन्न धर्म, सँस्कृति र प्राचीन मिथकहरूको उदाहरण दिँदै नारी जातिमाथि गरिएका नकारात्मक चित्रणको खुलेर विरोध गरेकी छन् ।नारीवर्ग सशक्त नबनेसम्म समतामूलक समाजको निर्माण एउटा दिवास्वप्न मात्र रहन्छ । नारी जाति त्यतिबेला सशक्त बन्दछन् जतिबेला हरेक किसिमका शोषण, दमन अनि थिचोमिचोबाट उनीहरु मुक्त रहन सक्दछन् । नारीवर्गलाई स्वतन्त्रता प्रदान गर्न एवम् तिनका अधिकारहरुको पहिचानका साथै सुनिश्चत गराउन नारीवादी सोच एवम् चिन्तनको आवश्यकता पर्दछ । इतिहास साक्षी छ, नारीवर्गको सर्वोपरि हित हुन नसक्नुमा पुरातनवादी ढर्रा एवम् पितृसत्तात्मक सोचले ग्रसित हाम्रो समाज शतप्रतिशत जिम्मेवार छ ।

एकातर्फ हाम्रा धर्म एवम् दर्शनहरू पनि नारीप्रति पूर्वाग्रही ढंगले उभिएका छन् । एकाध धर्म बाहेक सम्पूर्ण धर्महरूले महिलालाई सदैव कमजोर एवम् निरीह प्राणीका रूपमा चित्रित गरेका छन् । क्रिश्चियन एवम् हिन्दूधर्ममा समेत नारी वर्गलाई पुरुषभन्दा कैंयौ गुणा कमजोर एवम् निरीह जीवका रुपमा चित्रण गरिएको छ । पुरुषवर्गकै सानो अङ्गबाट नारीको उत्पत्ति भएको भन्ने ढाँचाका प्राचीन एवम् पौराणिक कथाहरुले नारीवर्ग कमजोर एवम् निरीह हुन भन्ने सोचलाई अझै बढावा दिएको छ । यस किसिमका मान्यताहरु नारी जातिलाई निरीह बनाउन हरदम जिम्मेवार छन् ।हाम्रो समाज यस्तै संकीर्ण मानसिकताबाट उम्कन सकेको छैन जहाँ नारी जातिलाई एकजोर एवम् तल्लो दर्जा र तप्कामा राखेर हेरिन्छ ।

समान अवसर र योग्यता पाए नारीले पुरुषभन्दा बढी उपलब्धि हासिल गर्न सक्छन् भन्ने यथार्थमा हामी आँखा चिम्लिरहेका छौं । हामी यो सत्यलाई स्वीकार्न सकिरहेका छैनौं किनकी हाम्रो स्नायुमा उही पुरातनवादी पितृसत्तात्मक सोचाइको सञ्चार भइरहेको छ । के हाम्रा दिदीबहिनीहरू फ्लोरेन्स नाइटिङ्गेल बन्न सक्दैनन् ? के उनीहरुमा हेलेन केलरको जस्तो आँट छैन ? के उनीहरु मदर टेरेसाझँै सेवाभाव बोकी हिँड्न सक्दैनन् र ? के मार्गरेट थ्याचरझैँ राजनैतिक चेतनाले युक्त छैनन् उनीहरु ? अवश्य, उनीहरू यी सम्पूर्ण सोच र गुणले युक्त छन् । मात्र कमी छ समान व्यवहार, अवसर, सोच एवम् सहभागिताको । पित्तृसत्तात्मक समाज समातारूपी सोचले अघि नबढेसम्म नारीवादी चिन्तन र सोच पुस्तकका ठेलीहरुमा सीमित रहनेछन् । अन्ततः नारीको सर्वोपरि हितमा उब्जिएका प्रश्नहरू अनुत्तरित भइरहनेछन् ।

3 Comments

  1. Bimal says:

    right

  2. जीवन says:

    एकातर्फ हाम्रा धर्म एवम् दर्शनहरू पनि नारीप्रति पूर्वाग्रही ढंगले उभिएका छन् । एकाध धर्म बाहेक सम्पूर्ण धर्महरूले महिलालाई सदैव कमजोर एवम् निरीह प्राणीका रूपमा चित्रित गरेका छन् । क्रिश्चियन एवम् हिन्दूधर्ममा समेत नारी वर्गलाई पुरुषभन्दा कैंयौ गुणा कमजोर एवम् निरीह जीवका रुपमा चित्रण गरिएको छ । यस्ता कुरा हटाउँन सक्नु पर्छ

  3. bikalpa says:

    अनिल जि नारी परापुर्वक काल देखि नै सोसीत पिडित भए भन्नु गलत हो ।महिलालार्इ कहिले दुर्गा, कहिले काली र पुरै पश्चिम एसियामा उसलाई भिन्न नामहरुद्धारा पुजा गरीयो । त्यस्तो पुजा जस्तो पवित्र कार्य साच्चै दैविक सम्मान हो । आदिम कालमा मातृसत्ता प्राप्त थियो भनिएको थियो, जसरी ऋचा–गीताहरुमा स्त्रीलाइ जुन वन्दना छ, त्यसलाइ व्राह्मण युगमा आएर मात्र ह्रास गरीएको हो । वेदकालीन महिलाहरुमा जुन सत्ता प्राप्त थियो तेस्तो सक्ति आज पुरुषलाइ पनि छैन । पुराणमा उसको अस्तित्वलाइ हीन वनाइएको हो तर जव मातृसत्ताबाट पितृसत्तात्म्क समाजको अवतरण भयो वास्तवमा महिला जातिको सवभन्दा ठूलो ऐतिहासीक भूल थियो । महिलाको धर्म कृषि जीवनको अघिपत्यसँग सम्वन्धित वनेको पछी मात्र हो त्यो केहि सताव्दि मात्र अगाडिबाट सुरुभएको हो । अमेरीकी एक अध्यायनले विश्वमा पुरुषहरु झण्डै एक तिहाइले महिलाबाट पिडित भएको देखाएको छ । वास्तवमा नारी सदियौ देखि दमनमा परे भन्नु एैतिहासीक नजरबाट ठिक होइन की ।

Reply to जीवन Cancel Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)