म को हुँ ?(Who am I?)

यो चै म हुँ ।

मेरो नागरिकतामा भएको नाम गणेश कार्की हो । तर म ब्लग लेख्दा पानीफोटो वा दिपध्वनीका नामबाट ब्लगहरु लेख्ने गर्छु । आफ्नो नाम मन नपरेर अर्को नाम राखेको पनि हैन । (हुन त नेपालमा १० जनामा एउटाको नाम गणेश छ भन्दा फरक नपर्ने गरी छन् गणेशहरु, मलाई नामप्रति कुनै गुनासो छैन ।) ब्लग लेख्दा मैले जटिल कुरा उठाउँला र मलाई समस्या पर्ला भनेर समस्याहरुबाट बँच्न छद्मनाम प्रयोग गरेको पनि हैन । साँच्चै भनुँ भने मैले मेरो धरातलबाट लेख्ने ब्लगहरुले त्यस्ता कुनै समस्या ल्याउलान् भनेर सोचेको पनि छैन । र, कथम् कदाचित मेरो लेखाइका कारण कुनै समस्या आइहाले पनि त्योबाट भाग्न सजिलो हुने बाटो पक्कै पनि म रोज्ने छैन ।

सानोमा यसो कविता, गीत लेखेर पत्रिकामा छाप्दा सबैले आफ्नो आफ्नो उपनाम लेख्ने गरेको देख्थेँ । कोही दुखी, कोही यात्री, कोही साथी, कोही निर्दोष यस्तै धेरै धेरै उपनामहरुका कविता र गीतहरु पत्रिकामा देख्दा साहित्यमा उपनाम त अनिवार्य भए झै लाग्यो । यसैले सबैले देख्न सक्ने उज्यालो – दिप अनि सबैले सुन्न सक्ने आवाज – ध्वनी एकै ठाउँमा जोडिदिएँ, सबैले देख्न र सुन्न सक्ने हुन्छु भनेर । यसरी म दिपध्वनी भएँ । नयाँ नाम राखेपछि केहि समय त खाली पाना भएजतिमा दिपध्वनी भनेर पनि लेखियो । आफैले राखेको नामबाट पुकारिनु मज्जा लाग्थ्यो । तर पछि म गणेश हुँ भने किन गणेश नै भइ नराख्ने भनेर दिपध्वनी मिल्काइदिएँ । पछि ब्लग लेख्न थाल्दा फेरि उही इतिहास दोहोरियो । तर यो नाम ब्लगमै पनि स्थायी हुन्छ भन्न सक्दिन । परिचय लेख्दा नाम कै बारेमा पहिले लेखौं भनेर केहि लेखेको हुँ । तपाईले जे नामले बोलाए पनि मलाई नमज्जा भने लाग्ने छैन तर यति हो तपाईले बोलाएको नामले मलाई बोलाएको हो भनेर मैले चै बुझ्न सकुँ ।

मेरो परिवार तेह्रथुमबाट २०४१ सालमा मोरङको शनिश्चरे (उतिबेलाको बयरवन गाविस) झरेको हो रे । म परिवार सरेको १ बर्षपछि तराईमै जन्मिएको हुँ (मलाई देख्नेले त रङ्गैले यो कुरा पत्ता लगाउलान्) । केहि मिटर तलमाथि र दायाँबायाँ घर सार्नु भन्दा अरु तिर सरेको छैन मेरो परिवार । मलाई संसारकै सबैभन्दा राम्रो र मन बहलाउँन उपयुक्त ठाउँ शनिश्चरे नै लाग्छ ।

मैले गाउँकै सरकारी स्कुलबाट एसएलसी सक्काएँ । प्लस टु दमक बहुमुखी क्याम्पसमा सकेँ । त्यसपछि अमृत साइन्स क्याम्पस (अस्कल)मा बि एस्सी सकेँ । मैले स्किम्स (पोखरा विश्वविद्यालय) बाट वातावरण व्यवस्थापन विज्ञानमा स्नातकोत्तर गरेको छु । थप अध्ययनका लागि सन् २०१२ देखि २०१९ को सुरुवातसम्म नर्वेमा रहेर अहिले नेपालमा बसिरहेको छु ।

मलाई सानैदेखि पाठ्यपुस्तकभन्दा बाहिरका कुराहरु पढ्न खुब रमाइलो लाग्थ्यो । यस्तै होमवर्कभन्दा बढी कविता लेख्नमा समय दिन्थेँ । पहिलो पटक रेडियो नेपालको बाल कार्यक्रम को भन्दा को कम मा वासुदेव मुनालले मेरो मेरी सानी बहिनी शिर्षकको कविता पढिरहदा घरभरिका सबै खुसी भएको देखेँ । मलाई त त्यतिखेर यति ठुलो मान्छे भएको झै लागेको थियो कि अब यो उच्चस्थान बचाइराख्न मैले सँधै लेख्नै पर्छ भन्ने लागेकोथ्यो । पछि त्यो भ्रम भने च्यातियो तर लेख्न भने छोडिएन । कलेज पढ्दा पनि आफ्नो सर्कललाई मिल्ने कविता, गीत र गजलहरु खुब लेखियो । साथीहरुले मन पराउँथे । मलाई कहिलै याद नहुने मेरा गजलहरु धेरै साथीहरुलाई मुखाग्रै छन् ।

मैले प्लस टु सकिरहदा गाउँमा हवाइ पत्रिका निकाल्ने लहड नै थियो । प्राय: हवाइ पत्रिका दुइमहिनामा निस्कने वा तिन महिनामा निस्कने हुन्थेँ । हामीले हरेक महिना निकाल्न थाल्यौं । पत्रिकाको नाम हाम्रो सारथि थियो, म त्यसको कार्यकारी सम्पादक । हुलाकबाट नै पत्रिकाहरु पठाइन्थ्यो । हुलाकबाट नै रचनाहरु आउँथे । केही महिना मज्जाले चल्यो पनि तर म पढाईका लागि काठमाण्डौं आएँ, अरु अन्तै लागे । हाम्रो सारथि निस्कन छोड्यो । तर त्यो समय मेरो नाम दिपध्वनीका लागि भने गोल्डेन एरा थियो ।

अस्कलमा पढ्दा पनि स्ववियू र क्याम्पसबाट अनि अलिकति जबरजस्ती गरिएको विज्ञापनबाट पैसा उठाएर अस्कल साहित्य समाजमार्फत नवराग भन्ने पत्रिका निकालियो । त्यो दुई महिनामा निस्कन्थ्यो । म त्यसको अध्यक्ष र प्रधान सम्पादक थिएँ । अस्कलको पढाइ सकिए पछि त्यो पत्रिकाको पनि प्रकाशन बन्द भयो ।

अब हवाइ पत्रिकाको युग समाप्त प्राय भइसकेको थियो । मानिसहरु हवाइ पत्रिकाबाट ब्लगतिर लाग्दै थिए । म काठमाण्डौंमा त थिए तर मलाई कम्प्युटरको अति सामान्य भन्दा बढि केही ज्ञान थिएन । पत्रिकाहरुमा ब्लगका बारेमा आएका जानकारीहरु संगाल्दै गएँ । सिमित पैसामा साइबर गएर सँधै सिक्न सकिदैन थियो । स्नातकोत्तर गर्दै गर्दा कम्प्युटर किनियो । घरबेटीले आधा पैसा तिर्दा हुने शर्तमा एडिएसएल दिए । कोठामा इन्टरनेट र मनमा इन्टरनेटमा संसारभरबाट पढ्न सकिने डायरी जस्तै लेख्ने प्लेटफर्मको रहर । धेरै दुख पश्चात आफ्नै ज्ञानले नेपाली मुटु बनाएँ । त्यसपछि प्राबिधिककारणवस् नेपालीहर्टको ठाउँमा २०६७ सालदेखि पानीफोटो सुरु गरेँ र चलाइरहेको छु । खासै केहि जान्दिनँ, तर सिक्ने असाध्यै चाहना छ । सिक्दै छु आफु नै ।

मैले ब्लग लेख्ने कुराहरु दैनिक जीवनमा देखेका भोगेका र सुनेका कुराहरु नै हुन्छन् । इन्टरनेटमा ठ्याक्कै यही काम लाग्ने बिषयमा लेख्छु भन्नलाई त्यस्ता कुरा जान्दिन । यसैले जे कुराले आफुलाई छुन्छ, ढुक्कले लेखिदिन्छु । तर सुरु गर्दा भने आफ्नै कविता, गीत र गजल अनि निवन्ध लेख्छु भनेर मात्रै सुरु गरेको थिएँ । मेरो ब्लग ठेगाना यो हो है भनेर कसैलाई सुनाउँदा सबैभन्दा फरक भएको अनुभुति निकै पछिसम्म रहिरहन्थ्यो । यसमा लेखिएका कुरा आधिकारिक हुदैनन् । त्यसो भन्दैमा हावादारी कुरा लेख्छु भन्न खोजेको पनि हैन । तर कुनै घटनाक्रमका बारेमा मैले गरेको विश्लेषण सहि नहुन पनि सक्छ । म बिषयसँग तटस्थ वा निष्पक्ष भएर ब्लग लेख्न सक्दिन । ब्लग लेख्दा निजी विचार नलेखेँ के लेख्ने भन्ने सोचेको पनि छैन । मलाई लाग्छ, मेरो विचार, मेरो स्वाभिमान हो । म मेरा विचार राख्न स्वतन्त्र छु । अनि मेरो विचारमा सहमत असहमत हुन तपाई स्वतन्त्र हुनुहुन्छ ।

म ब्लग लेख्दा राजनीतिक बिषयवस्तुसँग सम्बन्धित ब्लग पनि लेख्छु । राजनीति मेरो चासोको बिषय हो । कुनै पार्टीले गरेका सबै काम राम्रा र कुनैले गरेका सबै काम नराम्रा भन्ने मलाई लाग्दैन । नेपाली राजनीतिमा म खुसी पनि छैन र सबै सकियो भनेर निराश पनि छैन । नेतालाई गाली गरेकै भरमा जिम्मेवार नागरिक होइन्छ भन्ने चै म मान्दिनँ । बरु राजनीतिलाई डर्टी गेम भन्दै त्यसको कुरै गर्न नचाहनेले नेतालाई गाली गर्ने अधिकार पनि राख्दैनन् भन्ने लाग्छ ।

राजनीति बाहेक मानवशास्त्र, समाजशास्त्र र साहित्यमा पनि म रुचि राख्छु । मलाई इतिहास संसारकै रोचक मध्येको बिषय लाग्छ । इतिहासलाई ठिक वा बेठिक भनेर हेर्नु भन्दा इतिहास कसरी बढिरहेको थियो भन्ने तटस्थ दृष्टिकोण राख्न मन पराउँछु । वैचारिकरुपमा मलाई विविधता मन पर्छ । मैले भनेका सबै कुरा कसैले सहि छ भन्दियोस् भन्ने जिद्दी छुइन । बरु, विचारहरुमा टक्कर होस् भन्ने चाहन्छु । फरक विचार राख्नु शत्रु हुनु होइन भन्ने विचार आफ्नो जीवनशैलीमा आत्मसाथ गरेको छु ।

विचार र दृष्टिकोण समय र सत्यको ज्ञानबाट निर्देशित हुन्छन् । यसैले समय अनुसार आफ्नो विचारमा परिमार्जन हुनु प्राकृतिक हो भन्ने सोच्छु । आज मैले पक्षमा वकालत गरिरहेको बिषय, व्यक्ति वा सन्दर्भलाई जुनसुकै परिस्थितिमा बचाउँनै पर्छ भन्ने सोच्दिन । अरुको गल्तिलाई माफी दिन्छु र आफ्नो गल्तिमा माफी माग्दछु । लचक छु र लोकतन्त्र मान्छु ।

मेरो सूचना प्रबिधीसँग सम्बन्धित ब्लग पढ्नुहोला ।
जीवनको उज्यालो पाटोसँग सम्बन्धित मेरो ब्लग पढ्नुहोला ।

मलाई भेट्न
मलाई ब्लगको कुनै पनि कमेन्ट बक्समा कमेन्ट लेखेर सम्पर्क गर्न सक्नुहुन्छ । अथवा,
इमेलमा सम्पर्क गर्नका लागि ganess86@gmail.com
फेसबुकमा http://www.facebook.com/ganess.karki
ट्विटरमा http://twitter.com/ganeshkarki86