कथा – ऊनी (भाग-१)

लेखक:- सन्तोष आचार्य

भर्खरै एसएलसी पास गरि प्लस टू जोइन गरेको संसार जितेको जस्तो अनुभव थियो, नहुनु पनि किन फलामको चिउरा जो चपाएको त्यो पनि एकैपटकमा 11 join गरि क्लास रेगुलर जाँदैगर्दा चुज पाईट्मा चटक्क धार बस्ने गरि ईस्त्री लगाएर कपाल बिचबाट सिउँदो पारेर अनुहारमा छुसछुस पलाएको दारीलाई फ्रेन्चकट काटेर ऐना अनुहार हेर्दा भित्र भित्रै चलचित्र को नायक झैँ फिलिङ्ग्स आउँथ्यो।

कलेजमा चल्तीकै ग्रुप थियो हाम्रो! पढाई, झगडा अनि हल्ला सबैमा अग्रसर हुन्थ्यौँ। पढाईमा पनि राम्रै भएकोले होला सिक्षकहरुबाट पनि राम्रै रेस्पोन्स आउँथ्यो। कलेजको जीवन यसैगरी रमाईलोमै बित्दैथियो। लगभग दसैँअघिको कुरा हो हाम्रो कलेजमा प्रत्यक साल जस्तै यो साल पनि १२ लाई बिदाई अनि ११ लाई स्वागत गर्ने कार्यक्रम हुने कुरा चल्यो। यसपालीको कार्यक्रम ११-१२ ले मिलेर संयुक्त रुपमा कार्यक्रम गर्ने निस्कर्षमा पुग्यौँ। कार्यक्रमको लागि दिनहुँ जस्तो मिटिङ्ग हुन्थ्यो। तर हामिलाई काम के कसो गर्ने भनेर सल्लाह भन्दा हाँसो, मजाक अनि क्लास बंक गर्ने सजिलो बहाना भएको थियो। कार्यक्रम कसरी गर्नेभन्दा पनि कलेजले दिएको बजेट बाट फाईदा कसरी निकाल्ने र सोलमारीमा जम्ने कुरामै बढी ध्यान हुन्थ्यो। हामी मध्य सबैभन्दा सोझो र सिक्षकहरुको पनि अत्यन्तै प्यारो भएकोले बिकासलाई आर्थिक संयोजकको जिम्मेवारी दिईयो। आफू सोलमारी नसड्काउने भएपनी हाम्रो कुरालाई काट्न सक्दैनथ्यो।

कार्यक्रमको दिन नजिकिदै जाँदा सम्पुर्ण जिम्मेवारी को पनि बाँडफाँड हुँदै गयो। कक्षा-कक्षामा गएर कार्यक्रमको बारे जानकारी गराउन पर्ने अनि सिक्षकहरुसँग पनि सल्लाह लिनुपर्ने अनि स्टेज समेत सम्हाल्नुपर्ने भएकाले कार्यक्रम संयोजक र संचालको जिम्मा लिने हिम्मत हाम्रो कक्षाबाट कोहि पनि भएनन। १२ बाट भने आकाशले जिम्मा लिएको रहेछ। पर्दा पछाडी बसेर रमाईलो गर्ने सोचमा म सम्पुर्ण जिम्मेवारीबाट पन्छिएँ।

कसरी सोलमारी ल्याउने?

के सितन खाने?

कतिबेला खाने?

कता बसेर खाने?

त्यो सबै तारतम्य मिलाउने मास्टर माईन्ड मेरै थियो। हप्तादिन देखीको योजनाले त्यतीखेर पानी खायो। जतिबेला प्रधानाध्यापक ११ बाट पनि कार्यक्रम संयोजन र संचालनको जिम्मा लिने एकजना चाहिन्छ भन्नुभयो। कक्षामा आएर एकजना त जस्ले भए पनि जिम्मेवारी त लिनै पर्छ भने। प्रधानाध्यापक को बोली भुईँमा खस्न नपाउँदै पुरै कक्षाले मुन्टो म तिर फर्काए। म हत्तपत्त भुईँतिर आँखा लगाउँदै त्यो बिपत बाट आफुलाई जोगाउने अनवरत प्रयासमा थिएँ। यत्तीकैमा आकाशलेको आवाज सुनियो। मानौँ उ पनि प्रधानाध्यापक सँग मलाई नै फसाउने योजना बोकेर आएको रहेछ। प्रधानाध्यापक ले पनि मेरो नाम पुनः दोहोर्याउँदै, मेरो टाउकोमा त्यो जिम्मेवारी जबर्जस्ती थोपरिदिए। हप्तादिनदेखीको सोलमारीको योजना चौपट बनाईदिए। म आकाशदेखी मनमनै मुर्मुरिएँ। मुला लाई कक्षाबाट बाहिर निस्केर गाली पनि गरेँ। तर के गरौँ प्रधानाध्यापक को अगाडि भिजेको मुसा भएको थिएँ।
अनि अर्कोदिनदेखी कार्यक्रको तैयारी जोडतोडको साथमा सुरु गरियो। अनि कार्यक्रमको मिति घटस्थापनाको दिन तय गरियो। कार्यक्रम सकिएको दिनदेखी १५ दिन दसैं बिदा थियो। कार्यक्रमको लागि हप्तादिन मात्रै भएकाले

प्रस्तुती कस्ले कस्ले गर्ने?

कति कति समयको प्रस्तुती राख्ने?

कार्यक्रमको पुर्ब तैयारी कता कता बसेर गर्ने?

कस्ले कस्ले के के काम गर्ने?

सबै कामकुराको ब्यबस्थापन गर्ने जिम्मा मेरो थियो। अहो! कस्तो नमज्जाले फसियो भनेर सोच्दै कार्यक्रमको पुर्वतयारी गर्दै थिएँ। ब्रेकमा आकाशले भन्यो ” ओइ अब त दुई दिन मात्रै बाँकी छ।” भोलि नै फण्ड कलेक्सन गर्नुपर्छ। उ पट्टि नफर्की मैले सोधेँ। “कताबाट गर्ने नि फण्ड कलेक्सन?” फेरि उस्ले जवाफ फर्कायो ” प्रत्यक क्लासमा गएर उठाउने नि मुला” मलाई झर्को लाग्यो लेघ्रो तानेर ह्या !!! मात्रै भनेँ । आकाश अलिक च्याँठिएर भन्यो ” के ह्या नि मुला?” कलेजले दिएको रकले त कार्यक्रम लाई नै पुगनपुग हुन्छ। यत्रो कार्यक्रमको जिम्मेवारी लिएपछी “फोकटमा त उहि गरेमात्र हो।” हल्का घाँटी भिजाउने ब्यबस्था त गर्नुपर्यो नि ! मैले पनि नकार्न सकिँन ” घाँटी भिजाउने सबाल जो थियो।” तुरुन्तै समर्थन स्वरुप टाउको हल्लाईदिए।

भोलीपल्ट कक्षा कक्षामा जाँदै कार्यक्रमको लागि आर्थिक सहयोग माग्नु थियो। चाउचाउ को कार्टुन हातमा लिई हामी कक्षा तर्फ लाग्यौँ। सुरुवात ब्यबस्थापन फ्याकल्टीस आफ्नै कक्षाबाट गरियो। सबै चिनेजानेका साथीहरु भएता पनि कक्षामा गएर बोल्दा बोली लर्बरिएको थियो। खुट्टा थर्थर काम्दै थिए। निधारमा चिटचिट पसिना आएको बोल्दा बोल्दै थुक सुकेको महसुस गर्दैथिएँ। कक्षाबाट बाहिर निस्किने बित्तिकै आकाशलाई भनेँ। “अब अरु कक्षामा म बाट यो काम हुँदैन।” बरु कार्टुन मै समाउँला बोल्न चैँ तैँ बोल। ११ को सम्पुर्ण फ्याकल्टी तेरै जिम्मा हो भाइ १२ जत्ती म हेरम्ला भन्दै मलाईनै टाँसो लगायो। त्यसपछी शिक्षा संकाय अनि मानबिकी संकायको कक्षाहरुमा जानू थियो। सिक्षा संकायमा त के के बोलेँ याद नै रहेन। जब मानबिकी संकायको ढोकाबाट कक्षाकोठा भित्र पाईला राखेँ। मेरो आँखाहरु सिधै उनको मुहारमा ठोकिन पुगेँ। सायद उनी कपिमा केही कोर्दै थिईन। अब मेरो गला पुर्ण रुपमा अबरुद्द भयो । म नित्तान्त रुपमा निशब्द भएँ। उनको मुहार यति शान्त र सुन्दर थियो कि मेरो मानसपटलमा उनको मुहारको तस्बिर बाहेक अर्थोक केही बाँकी नै रहेन। जिनदगीको १७ औँ वसन्त पार गरिसक्दा पनि कसैको मुहारमा त्यती सालिनता र सुन्दरता महसुस गरेको थिईन। म पंख हालेर सपनाको संसारमा उड्दै थिएँ

आकाशले पछाडीबाट चुटुक्क ढाडमा चिमोटेपछी म उनको मुहारबाट आँखा हटाउन बाध्य भएँ। त्यो कक्षाकोठामा बोलिएको कुराहरु आफैँलाई थाह भएन।
कार्यक्रमको दिन कार्यक्रम आकाशले उद्घोषण गर्दै थियो। म कार्यक्रमको तालीका अनुसार प्रस्तोताहरुलाई जानकारी गराउँदै तयार हुन अनुरोध गर्दैथिएँ। यत्तीकैमा आकाशले पुनः मलाई अफ्ठ्यारोमा पार्यो । अब मेरो काम उसले अनि उसको काम मैले गर्नुपर्ने भयो। म कार्यक्रम तालीका पल्टाउँदै स्टेजको एक छेउमा उक्लिएँ। स्टेजमा नाटक मन्चन भैरहेको थियो। नाटकका सर्जक सन्तोष चौलागाईँ अनि निर्देशन पनि उनैको रहेछ। कार्यतालीकामा सरर आँखा दौडाएँ। सायद आत्महत्याको बिषयमा थियो त्यो नाटक! र लगभग उत्तरार्धमा पुगिसकेको थियो। अर्को प्रस्तुती कबिता रहेछ। बाचकको नाम भने “मनिता सिल्वाल” रहेछ। म माईक हातमा लिई आफुलाई तयार गर्दै थिएँ।

नाटक समापनका लागि सन्तोष चौलागाईँ कलाकर टिमलाई धन्यबाद दिँदै स्टेज बाट बाहिरिए। मैले अर्को प्रस्तुतीको लागि उद्धघोष गर्दै गर्दा उनी हातमा कपि कलम लिई स्टेक तिर नै आउँदै गरेको देखेँ। स्टेज तिर आउँदै गरेको उनी अरु कोहि नभएर हिजो मलाई आफ्नो सुन्दरताको मोहित पार्ने उनी नै रहिछिन। उनलाई देखेर म एकाग्र भएँ । अनि अझै उनको नाम थाह पाएर भित्र भित्रै अत्यन्तै खुसी भएँ। सायद हिजो म टोलाएको थाह पाएर नै होला आकाशले उनको प्रस्तुती भन्दा पैले मलाई माईक थमाएको, मलाई आकाशले जिन्दगीमा पहिलोपल्ट राम्रो काम गरेको जस्तो आभास भयो। मनमनै दङ्ग पर्दै उनको प्रस्तुतीका लागि माईक उनको हातमा दिँदै गर्दा अन्जानमै उनको हातको स्पर्श मेरो पैतालादेखी मुटु हुँदै दिमाग सम्मै सरर एउटा झन्झनाहट दौडियो। उनको हातमा माईक थमाईसकेर पुनः स्टेजको कुनामा गएर ढाड अड्याउँदै एकाग्र भएर उनलाई नै हेर्न थालेँ।

उनी आफ्नो प्रस्तुतीमा मग्न थिइन । मेरो आँखा त्यो कबिता बाचन गरिरहेको ओठमा नै केन्द्रीत थिए। क्याटबरी जस्ता उनका ती ओठ एक आपसमा आलिंगन हुँदै छुटिँदै गर्दै गर्दा उनको तल्लो ओठलाई उनी र मथिल्लो ओठलाई आफू भएझैँ कल्पना गर्दैथिएँ। उनी प्रस्तुती कबिता बाचन थियो मेरो मनले भने उनको नामको कबिता जप्दै थियो। उनको सुरीलो आवाज फेरि फेरि सुन्नको लागि मैले आफ्नो मोबाईल झिकेर उनको कबिता खुसुक्क रेकर्ड गरेँ। उनको कबिता अझै सम्म पनि मलाई जस्ताको त्यस्तै याद छ । जुन यसप्रकारको थियो।

खोजेर कस्लाई यहाँ मान्छे पुज्नु छ र ?
खाली छ, सुख छ, भरी ठाउँ यहाँ कस्लाई दुख्नु छ र?
एकान्त छ, खाली छ, सुनसान छ त कोईली गाउँछ!
भिडभाडमा राक्षस रुवाई, कागको गीत कस्लाई सुन्नु छ र?
खोजेर कस्लाई यहाँ मान्छे पुज्नु छ र ?
खाली छ, सुख छ, भरी ठाउँ यहाँ कस्लाई दुख्नु छ र?

शान्त छ, विशाल छ, चुपचाप तैरीरहेछ यसै!
ढुङ्गा खसाली, खाली यसै त्याहाँ तरङ्ग उठाउनु कहाँ छ र?
आफ्नै माया आफैँलाई के गरे नगरे खोट कता कस्ले लाउँछ र?
साटी मुटु यहाँ, आफ्नै हलाल आफैं कस्लाई गर्नुछ र ?
खोजेर कस्लाई यहाँ मान्छे पुज्नु छ र ?
खाली छ, सुख छ, भरी ठाउँ यहाँ कस्लाई दुख्नु छ र?

क्रमश:

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)