किन अरब गएका नेपालीहरु सुतेकै ठाउँमा मृत भेटिन्छन्? (सेयर गर्नुहोला)

राति खाना खाएर सुतेको तर बिहान मृत फेला। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार पछिल्ला ५ वर्षमा २ हजार ६ सय ९६ जना भन्दा बढी नेपालीले विदेशमा ज्यान गुमाइसकेका छन्। ती मध्ये ५ सय १९ जना सुतेको सुत्यै अर्थात् राति सद्धे सुत्दा बिहान मृत फेला परेका हुन्।

यस्तो मृत्यु विदेशमा धेरै देखिए पनि नेपालमा पनि कमी छैन्। एकिन तथ्यांक भन्न नसके पनि सकुशल मानिस मरेको घटना बढेको बताउँछन् नर्भिक इन्टरनेशनल अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर यादवदेव भट्ट।

त्यसैले अहिले धेरैको चासोको विषय बनेको छ, ‘अचानक मानिस किन मर्छ? राति सकुशल रहेको मानिस बिहान मृत किन फेला पर्छ?

अचानक मर्नुलाई मेडिकल भाषामा ‘सडन कार्डियल डेथ’ भनिन्छ। तर, राति सकुशल सुतेको मानिस बिहान मृत फेला पर्नुलाई सडन कार्डियल डेथ भन्न मिल्दैन। राति सुतेको मानिस बिहान बिहान मृत फेला हुनु ‘अब्सट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम’ भएको नर्भिक इन्टरनेशनल अस्पतालका चेस्ट फिजिसियन डाक्टर मिलेशजंग सिजापति बताउँछन्।

डा. सिजापति

के हो त ‘सडन कार्डियल डेथ’?

मुटुरोग विशेषज्ञ डाक्टर भट्ट भन्छन्, ‘मुटुको चाल बिग्रिएर वा मुटुले काम गर्न छोडेर श्वासप्रस्वास बन्द भएको एक घण्टाभित्र मानिस मर्छ भने त्यो सडन कार्डियल डेथ हो।’

भट्टका अनुसार मुटको चाल बिग्रिएमा मानिसको ९० प्रतिशत बढी मर्ने सम्भावना हुन्छ। मुटुको चाल बिग्रिएको एक घण्टाभित्र इलेक्ट्रिक सक लगाउन सक्यो भने ५० प्रतिशतभन्दा बढी बाँच्ने सम्भावना हुन्छ।

कतिपय मानिसको ब्रेन ड्यामेज हुन्छ। अचानक मष्तिकको आकार बढ्छ। फोक्सोमा रगत जम्छ। यस्तो हुँदा मष्तिकमा रगत र अक्सिजन पुग्दैन। श्वासप्रस्वास बन्द भएर मनिस अचानक मर्छ।

डाक्टर भट्ट भन्छन्, ‘मुटुको पावर ३० प्रतिशत वा सो भन्दा कम हुने, पहिला हर्ट अट्याटक भइरहने, सुगरका रोगी, डायवेटिजका बिरामीहरु र धुम्रपान गर्नेहरु सडन कार्डियल डेथका उच्च जोखिममा हुन्छन्।’

राति सुत्दा मानिसहरु घुर्छन्। घुर्ने समस्यालाई सामान्य रुपमा लिए पनि यसको जोखिम डरलाग्दो छ। किनकि, मानिसको मृत्यु गराउने देखि दीर्घकालीन रुपमा यसले असर गर्छ।

मानिसहरु सुत्दा श्वासनली अवरोध भएर कोल्याप्स हुने समस्या अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम हो।

‘अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमका कारण शरीरका अन्य भागमा अक्सिजन जाने प्रक्रियामा अवरोध आउँछ। हृदयघात र पक्षघात हुन सक्छ,’ डाक्टर सिजापति भन्छन्, ‘यो समस्याले गर्दा मोटोपन भएकाहरुमा सुगर नियन्त्रण नहुने, उच्च रक्तचाप भएकाहरुको रक्तचाप नियन्त्रणमा नआउने जस्ता समस्या देखिन्छ। यो रोगले बिरामीमा ‘डिप्रेसन’ हुने, आत्तिनेजस्ता गम्भीर समस्या पनि निम्त्याउँछ।’

किन हुन्छ ?

अव्यवस्थित जीवन शैलीका कारण मानिसहरुलाई विभिन्न किसिमका रोग लाग्छ। मृगौलाका बिरामी, मुटु रोगी र मोटोपन भएकालाई सबैभन्दा बढी यसको खतरा हुन्छ।

‘घाँटीमा रहेको नलीको मुख साँघुरो हुने र श्वासप्रश्वासमा अवरोध आउने भएकाले मोटोपन भएकाहरु जोखिममा छन्। त्यसैगरि मध्यपान र धुम्रपान गर्नेहरु पनि जुनसुकै अवस्थामा मर्न सक्छन्।’ डाक्टर सिजापति भन्छन्, ‘चिउँडो सानो भएकाहरु सुत्दा मुख खुल्दैन र सास फेर्न गाह्रो हुन्छ। त्यसैगरि घाटी छोटो भएकाहरुको सुत्दा जिब्रो बन्द हुन्छ र श्वासप्रश्वाशमा अवरोध आएर स्लिप एप्निया हुन्छ र मानिसहरु सुतेकै ठाउँमा मर्छन्।’

कसरी पत्ता लगाउने?

डाक्टर सिजापतिका अनुसार पटक पटक शौचालय जानुपर्ने सुत्दा छटपटी हुने सास रोकिएको महसुस हुने तथा सास फेर्न जोड गर्नु पर्यो भने स्लिप एप्निया भएको बुझुनुपर्छ। ठूलो अवाजसहित लगातार घुर्नेहरु समयमै उपचार गराउनुपर्छ।

‘टाउको दुख्ने, दिउँसो निद्रा लाग्ने, र झर्को लाग्ने धेरै हुन थाल्यो भने स्लिप एप्निया हुन्छ,’ उनी भन्छन्, ‘मोटोपन भएका ३० देखि ४० प्रतिशतहरु सुगर र अन्य रोग भएकाहरु ४० प्रतिशत मानिसहरुलाई स्लिप एप्नियाको जोखिममा रहन्छन्।’

डाक्टर भट्का अनुसार यस्ता रोगहरुको बैलेमा उपचार भएन भने हृदयघात, मष्तिक पक्षघात र मुटु फेल हुनसक्छ।

डाक्टर भट्ट

उनी भन्छन्, ‘विदेशमा नेपाली कामदारहरु सुतेकै ठाउँमा मृत्यू हुनु यस्तै कारणाहरु हुन्छन् । धेरै तापक्रममा दिनभरी काम गर्ने। एउटै कोठामा धेरै जना बस्ने । केमिकल प्रयोग गरेको रक्सी सेवन गर्ने। आराम नगर्ने हुनाले विदेशमा नेपालीहरु सुतेको सुत्यै भएका हुन्। उनीहरुको काम गर्ने ठाउँको हावापानी र सुत्ने ठाउँको हावापानी नमिल्दा पनि त्यस्तो हुन्छ।’

यसरी बच्न सकिन्छ

यसबाट बच्नको लागि पहिले रोग पहिचान जरुरी छ। एप्निया स्लिप भए नभएको पत्ता लगाउन एप्निया हाइपोनिया इन्डेक्स (एएचआई) चेक गर्नुपर्छ। रोग पहिचान भएपछि ‘सिप्याप’ प्रविधिको प्रयोग गरेर उपचार गर्नुपर्ने डाक्टर सिजापति बताउँछन्। नियमित सिप्यापको प्रयोगले स्लिप एप्निया सिन्ड्रोम घटाउन सहयोग पुग्छ। निद्राको समयमा मास्कको प्रयोग गरी मानिसको नाक मुखबाट नियमित हावा प्रवाह गर्दै माथिल्लो वायुमार्गमा हुने रोकावटलाई सिप्याप प्रविधिले हटाउने डाक्टर सिजापति बताउँछन्।

तौल सन्तुलन राख्ने, व्यायाम गर्ने, योगा गर्ने र धुमपान मध्यपान नगर्नाले यस्तो प्रकृतिको रोगबाट बच्न सक्ने डाक्टर भट्ट बताउँछन्। सुत्नुभन्दा ३ घण्टा पहिले खाना खाने,कोल्टो परेर सुत्ने, सुत्ने कोठमा टिभी नराख्ने र धुमपान नगर्नाले यस्तो रोगको जोखिमबाट बच्न सकिन्छ। उनी भन्छन्, ‘मुटुको पावर कम भएकाहरुले मुटुमा पेस मेकर राख्न मिल्छ। त्यो अत्यन्तै महँगो भएकाले नेपाल धेरै प्रयोग भएको छैन।’

जानकारीको लागि अत्याधिक सेयर गर्नुहोला!

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)