कथा- ऊ बेश्या होइन!

त्यो पटक दुइ महिना पछि त्यो दिन आमाको बोलि सुन्दै थिएँ म। त्यो दुइ महिना मेरा लागी बर्षौ झैँ लामो थियो। यतिका समयपछी फोनमा नै भएपनी उहाँको आवाज सुन्न पाएको थिएँ मैले। तर फोन नउठाउँदै मेरो शरिर थरर कापेको थियो।

“हेलो।” आमाले सुस्तरी बोल्नु भएको थियो।

“हजुर।” मेरो मुस्किलले आवाज निस्किएको थियो।

“के छ तेरो खबर?” आमाले सोध्नु भएको थियो।

“ठिकै छ। तपाइँहरुको?” मैले आँफुलाइ सम्हाल्दै बोलेको थिएँ।

“हाम्रो नि ठिकै छ।” आमाले भारी स्वरमा बोल्नु भएको थियो।

“बा’लाई सन्चै छ?” यति बोल्दा मेरो आवाज हिक्क भएको थियो।

“अँ! अहिले ठिकै छ। अस्ति अप्रेसन गरेको, थाहा त पाइस् होला।”

“अँहँ थाहा छैन! केको अप्रेसन? कहाँ बाट थाहा पाउनु र मैले?” यति बोल्दा मेरा आँखाबाट तरर आँशु झरेका थिए।

“त्यही ढाडको त हो।….नरो! अहिले ठिक हुँदैछ।” आमाले मलिन स्वरमा बोल्नु भएको थियो।

“आमा! हामिलाइ घर नबोलाउने कहिल्यै?” केहिबेर रोकिएर मैले रुँदै बोलेको थिएँ।

“म के भन्नु? तेरा बा’ले मैले भनेको सुन्छन् र?” आमा पनी रुनु भएको थियो।

“बा’ले कहिल्यै मेरो कुरा पनी गर्नु हुन्न आमा?” मैले आँशु पुछ्दै सोधेको थिएँ।

“तेरा बा’को रिस तँलाइ थाहा नै छ नि। मैले फोन गरेको थाहा पाए भने, मलाइ पनी खेदाउँछन् घरबाट।” आमाले कठोर स्वरमा बोल्नुभएको थियो।

मलाइ केहि बोल्न आएको थिएन। मुटु फुट्ला झैँ भएको थियो। आँखाबाट बरर आँशु झरी रहेका थिए। म सुँकसुकाँउँदै फोन समाएर बस्न मात्र सकेको थिएँ।

“भयो नरो! आफ्नो ख्याल गर। राम्रो संग गरि खानु।” आमाले सुँक्क गर्दै बोल्नु भएको थियो।

“आमा!” मैले झट्टै बोलेको थिएँ।

“हँ?”

“तपाइँहरु हजुरबुबा-हजुरआमा बन्दै हुनुहुन्छ।” मैले गालामा पुगेका आँशु उल्टा हातले पुछ्दै बोलेको थिएँ।

“हँ! कहिले?” आमाले केहि चखिलो बोलिमा सोध्नु भएको थियो।

“पुसमा।”

“ए! अलिक ख्याल गर्नु। एक्लै छौ….।” आमाले लामो सास फेरेर बोल्नु भएको थियो।

“हुन्छ।” मैले सानो स्वरमा बोलेको थिएँ।

“ल त राखिदिन्छु। तेरा बा’ले थाहा पाए भने मार्छन्।”

“आफ्नो ख्याल गर्नु आमा।” मैले यती नबोल्दै आमाले फोन काटी सक्नु भएको थियो।

एक बर्ष पहिले….

पल्लो गाउँमा बिमला दिदिको होटल थियो। अझ भनौँ भट्टि। केहि बर्ष पहिले श्रीमानलाइ छोडेपछी उनि त्यही होटल चलाएर बसेकी थिइन्। बिर्तामोड बजार देखी लिएर चारैतिरका गाउँबाट मान्छेहरु जान्थे त्यहाँ रक्सी पिउन। केहि अर्धबैंशे तथा बुढाहरु बिमला संग सल्किएका छन्, भनेर पनी हल्ला सुनिन्थ्यो। तर मैले देखेको भने थिएन।

म पनी कहीलेकाहिँ साथिहरु संग त्यहाँ पुग्ने गर्थेँ। साह्रै मिठो सुकुटी अनि सेकुवा पाउँथ्यो बिमला दिदिकोमा।
“बाहुनको छोरा भएर राँगाको सुकुटी र रक्सी खाने हो त?” बिमला दिदि हाम्रो टेबलमा सुकुटी राख्दै जिस्किन्थिन् कहिलेकाहिँ।

“म त बाहुन हैन दिदि छेत्री पो त।” म खिस्स हाँसिदिन्थेँ।

“एउटै त हो नि जे भएनी।” उनि मुस्कुराउँदै बाहिर निस्किन्थिन्।

दुइ महिना देखी म बिमला दिदिको होटल गएको थिइन। एकदिन साथी सागर बेलुका पख घरमा आयो अनि बिमलाकोमा जान पर्छ भनेर कर गर्न थाल्यो। मलाइ त्यता जाने मन थिएन।

“अरु तिरै जाउँन बरु। सबै बुढाहरु हुन्छन् त्यहाँ।” मैले उसलाइ भनेको थिएँ।

“चुप लागेर हिँड्न खुरुक्क। के छ बिमला दिदिकोमा भरे थाहा पाउँछ्स्!” उसले मलाइ हेरेर मुस्कुराउँदै बोलेको थियो।

“के छ र आज विशेष त्यस्तो?” म उत्सुक भएको थिएँ।

“एउटी पटका आएकी छे के त्याँ। भरे देखेपछी तँ सँधै त्यता जान थाल्छस्।” उसले मलाइ आँखा झिम्क्याउँदै बोलेको थियो।

“कस्तो पटका?” मैले हाँस्दै सोधेको थिएँ।

“नबुझे जस्तो नगर्न। दामी केटि आएकी छे के बिमला दिदिकोमा काम गर्न। पहाड तिरबाट आएकी होली। तर क्या माल छे भने..!” उसले मुख मिठ्याउँदै बोलेको थियो।

उसको बखान सुनेर म पनि लोभिएको थिएँ। अनि, चुपचाप उसको मोटरसाइकलको पछाडी बसेर गएको थिएँ बिमला दिदिको होटल।

“हजुरहरुलाइ केके ल्याउन पर्ने हो?” होटल पुगेर कुनाको क्याभिनमा बस्ने बित्तिकै एउटी केटि आएकी थिइ अर्डर लिन।

‘टिमिक्क शरीरमा मिलेको कुर्ता सुरुवाल, स्ट्रेट गरेको कालो लामो अनि खुल्ला कपाल, गहुँगोरो बर्णको बाटुलो अनि मिलेको अनुहार, कुर्था बाहिरबाटै लोभलाग्दो देखिने फक्रीएको पुस्ट छाती अनि नजर हट्नै नमान्ने आकर्षक कम्मर’ पलभरमा नै मैले उसलाइ नियाली सकेको थिएँ। उसको रुपमा म यसरी लोभिएको थिएँ कि मेरा नजर ऊ बाट हट्नै मानेका थिएनन् केहिबेर सम्म।

“एक प्लेट सुकुटी, एक हाफ खुकुरी रम अनि चारवटा चुरोट।” सागरले बोलेको थियो। उसले बोले लगत्तै मैले पनी ऊ बाट नजर हटाएको थिएँ।

अर्डर पाएपछी ऊ ‘हस्’ भनेर बाहिर निस्किएकी थिइ।

“साँच्चै राम्री यार केटि त।” मैले सागरलाइ हेर्दै बोलेको थिएँ।

“मैले भनेकै त हो नि तँलाइ। मिलाउने हो त?” ऊ सुरिँदै बोलेको थियो।

“त्यस्तो खालको केटि हैन होला मुला।” मैले बोलेको थिएँ।

“यत्रा हुँदैन। यस्तो ठाउँमा कुन राम्रो केटि आएर काम गर्छ?” उसले मुख तिखार्दै बोलेको थियो।

“अनुहार हेर्दा त एकदमै सोझि देखिन्छे यार।” म अझै ऊ संग सहमत भएको थिइन।

“अनुहार हेरेर थाहा हुन्छ त मुला?” ऊ मलाइ कर्के नजरले हेर्दै हाँसेको थियो। ऊ संगै म पनी हाँसी दिएको थीएँ।

केहिबेरमा उसले हाम्रो अर्डर सबै लिएर आएकी थिइ। सागरले जिस्काउँदै उसलाइ छेउमा बस्न भनेको थियो। उसले नसुने झैँ गर्दै टेबलमा सबैथोक राखिदिएर फुत्त बाहिर निस्किएकी थिइ।

उसकै रुपको कुरा गर्दै हामिले सुकुटी अनि रक्सि सकाएका थियौँ। हलुका अँध्यारो हुन थालेपछी काउन्टरमा बसेकी बिमला दिदिलाइ बिल तिरेर हामी निस्किएका थियौँ त्यहाँबाट। बाटोमा पनी सागरले उसकै मात्र कुरा गरिरह्यो। म चुपचाप उसको रुपलाइ सम्झँदै सागरका कुरा सुनि मात्र रहेको थिएँ।

पर्सिपल्ट बिहानको साढे दस बजे म बजारबाट घर फर्कदैँ गर्दा बाटोमा ऊ देखिइ। कन्काई क्याम्पसको ड्रेस लागाएकी ऊ एक्लै बाटोमा सरासर हिँडी रहेकी थिइ। भट्टिमा काम गर्ने केटि कलेज ड्रेसमा देखिँदा एकपटक त म “हैन कि” भनेर अलमलिएँ पनी। तर उसको रुप मेरो मस्तिष्कमा यसरी कैद भएको थियो कि, म उसलाइ जहाँसुकै देखेपनी चिन्न सक्दथेँ।

मैले उसकै छेउमा पुगेर मोटरसाइकल ब्रेक लगाएँ। उसले झसङ्ग झस्किएर मलाइ हेरि।

“कन्काई पढ्छौ तिमि?” मैले सोधिहालेँ।

“हजुर! हो त।” उसले सानो स्वरमा बोलि।

“कुन लेभल?”

“बिएड थर्ड यियर।”

“बिमला दिदि तिम्रो आफन्त हो?” मैले फेरी सोधेँ।

“हैन।” उसले शिर झुकाएर बोलि।

“अनि?”

“म त्यहाँ काम गर्छु।”

“कहीले देखी?”

“दुइ महिना भयो।”

“तिम्रो घर चाहिँ कहाँ होनी?” केहिबेरपछी मैले सोधेँ।

“छैन मेरो घर।” उसले मलाइ पुलुक्क हेरेर बोलि।

“कस्तो छैन त अनि? कहिँ त होला नि? बा-आमा, आफन्तहरु हुनुहुन्छ होला!” मैले केहि हडबडाउँदै बोलेँ।

“कोहि हुनुहुन्न।” उसले रुन्चे बोलि पारी। मलाइ अफ्ठेरो महसुस भयो।

“सरि है?” मैले माफी मागेँ।

“केहि छैन।” ऊ नसुहाउँदो मुस्कुराए झैँ गरि।

“बस म पुर्याइदिन्छु।” मैले मोटरसाइकलमा बस्न आग्रह गरेँ।

“पर्दैन। म हिँड्दै जान्छु।” उसले अगाडी बढ्दै बोलि।

“बसन अनि के हुन्छ त?” मैले अलिकती मोटरसाइकल बढाउँंदै बोलेँ।

“पर्दैन के! जानुस् तपाइँ। म पुगिहाल्छु एकैछिनमा।” ऊ अलिकती मुस्कुराइ।

“अनि तिम्रो नाम के हो नी?” मैले उसलाइ पुलुक्क हेरेर सोधेँ।

“अस्मिता।” उसले मिठो स्वरमा बोलि।

“ल त, तिमि नजाने भए म चाहीँ गएँ।” मैले मोटरसाइकल अगाडि बढाएर रफ्तार लिएँ।

मैले उसको बारेमा अलिकती जानेर नै म ऊ संग प्रभावित भएको थिएँ। हिजो सम्म म उसको रुपमा आकर्षित मात्र थिएँ तर त्यो छोटो कुराकानी पछि ऊ मलाइ मन पनी पर्न थालेकी थिइ।

“एउटि केटि मान्छे जसको घर परिवार केहि छैन। ऊ आँफै दुख गरेर आफ्नो भबिष्य बनाउँदैछे।” ऊ सोचेर उसका लागी सम्मान जागेको थियो मेरो मनमा।

त्यसपछी म एक्लै पनी बिमला दिदिको होटल गइ राख्न थालेको थिएँ। त्यो छोटो कुराकानीले नै उसको म प्रतिको ब्यबहार पनी बदलिएको थियो। ऊ म संग कुरा गर्न अफ्ठेरो मान्दैन थिइ। मैले पनी उसलाइ अरुले झैँ कहिले जिस्काइन। म उसको पढाइको बारेमा सोध्थेँ कहिलेकाहिँ। ऊ खुशी हुँदै “राम्रो चल्दैछ” भनेर जवाफ दिन्थी।

“मासु साह्रै राम्रो बनाउँछौ तिमि। पछि तिम्रो श्रीमान खुशि हुने भए।” म जिस्किँदा पनी यस्तै कुरामा जिस्किन्थेँ।

“खै मिठो हुन्छ कि हुँदैन नी। मैले त आज सम्म चाखेकी छैन।” ऊ हाँस्थी।

“के अरे? कस्तो चाखेकै छैन त अनि?” म पनी हाँस्दै प्रतीप्रश्न गर्थेँ।

“यहाँ राँगा र बङुर मात्र बनाउन पर्छ। म खाँदिन।” ऊ खिस्स दाँत देखाउँदै बोल्थी।

“खाँदा के हुन्छ त? आँफैले बनाएको ‘कस्तो भयो’ भनेर चाख्न पर्यो नि कहिलेकाहिँ।” म उसलाइ हेर्दै जिस्किन्थेँ।

“तपाइँलाइ मिठो लाग्यो भनेपछी मिठै भयो होला नि। के चाख्नु?” ऊ मुस्कुराउँदै बाहिर निस्किन्थी।

समय बित्दै गयो। म बिमला दिदिको होटल जाने क्रम अझै बाक्लिदैँ गयो। ऊ र म पनी अझै बढी नजिक हुँदै गयौँ। म कहिलेकाहिँ उसको कलेज छुट्ने बेलामा अगाडी बाटोमा पनी पुग्थेँ। ऊ बिस्तारै मेरो मोटरसाइकलमा बस्न पनी अफ्ठेरो मान्न छोडेकी थिइ।

“तपाइँलाइ अफ्ठेरो लाग्दैन?” उसले एकपटक सोधेकी थिइ।

“किन अफ्ठेरो नि?” मैले उत्सुक हुँदै सोधेको थिएँं।

“म जस्तो भट्टिमा काम गर्ने केटिलाइ मोटरसाइकलमा राखेर हिँड्न?” उसले हाँसे झैँ गरेकी थिइ।

“त्यस्ता कुरा नगरन। केको अफ्ठेरो नि? तिमि आफ्नो काम गर्छौ, आँफै कमाउँछौ, पढ्छौ। तिमि जस्तो असल मान्छेलाइ मोटरसाइकलमा लिएर हिँड्न नि लाज हुन्छ कतै?”

“त्यही पनी त। सबैको सोच तपाइँको जस्तो हुँदैन नि।” उसले मेरो कान नजिकै टाउको ल्याएर बोलेकी थिइ।

“अरु संग के मतलब भयो र? मलाइ तिमि मैले देखेका केटिहरु मध्ये सबैभन्दा असल अनि राम्री लाग्छ क्यारे।” मोटरसाइकलको रफ्तार घटाउँदै मैले बोलेको थिएँ।

“पक्का?” ऊ अलीअति हाँंसेकी थिइ।

“पक्का त अनि।” मैले बोलेको थिएँ।

“थ्याँक्क यु।” ऊ थोरै मेरो नजिक सरेर बोलेकी थिइ।

“एउटा कुरा भन्छु है?” मैले मोटरसाइकल बाटो छेउमा रोक्दै बोलेको थिएँ।

“के कुरा हो?” उसले अचम्मित हुँदै सोधेकी थिइ।

“तिमि म संग बिहे गर्छौ?” मैले सोझै बोलेको थिएँ।

“मजाक नगर्नु न तपाइँ।” उसले अँध्यारो अनुहार बनाएकी थिइ।

“मजाक हैन, साँच्चै भनेको। गर्छौ बिहे म संग?” मैले अडिक हुँदै बोलेको थिएँ। ऊ केहि नबोली मोटरसाइकल बाट उत्रीएर घोसे मुन्टो लगाएकी थिइ।

“जवाफ देउन।” मैले कर गरेको थिएँ।

“तपाइँलाइ मेरो बारेमा केहि थाहा छैन।” उसले घोसे मुन्टो लगाएर नै बोलेकी थिइ।

“मलाइ जति थाहा छ त्यती नै काफी छ मेरो लागी।” मैले अडिक हुँदै बोलेको थिएँ।
“अँहँ तपाइँले अहिले सोच्नु नै भएको छैन। तपाइँलाइ सबै कुरा थाहा पनी छैन। अनी तपाइँको परिवारले कहिले मलाइ स्विकार्दैन पनी।” उसले एक झलक मलाइ हेरेर बोलेकी थिइ।

“मेरो परिवारको चिन्ता नगर। म जसरी पनी मिलाउँछु। मैले रोजेपछी नमानेर हुन्न घरमा।” मैले मेरो परिवार प्रतिको बिश्वास पोखेको थिएँ।

“तपाइँ आँफैलाइ पनी स्विकार्न गाह्रो हुन्छ मेरो अतित।” उसले रुन्चे स्वरमा बोलेकी थिइ।

“मैले स्विकारी सकेकोछु तिम्रो अतित। मलाइ केहि फरक पर्दैन।” मैले उसलाइ हेरेर बोलेको थिएँ।

“तपाइँलाइ मेरो बारेमा अझै पनी केहि थाहा छैन।” यति बोल्दा उसका आँखाबाट आँशु झरेका थिए।

“के थाहा छैन मलाइ? जति थाहा छ त्यती नै काफी छ नि। अरु थाहा पाएर नै के हुन्छ र?” मैले जिद्दी भएर बोलेको थिएँ।

“थाहा पाउन जरुरी छ। र थाहा पाएपछी तपाइँको सोच बदलिने पनी छ।” उसले आँशु पुछ्दै बोलेकी थिइ।

“कहिले बदलिने छैन मेरो सोच। मैले तिमिलाइ चिनि सकेको छु।” मैले उस्तै अडिक भएर बोलेको थिएँं।

“पहिले सुन्नुस मेरो कुरा।” उसले पुलुक्क मलाइ हेरेर बोलेकी थिइ।

“भन।” मैले बिस्तारै बोलेको थिएँ।

“मेरो नाम मात्र अस्मिता हो। तर मैले पहिल्यै मेरो ‘अस्मिता’ बेची सकेकी छु। मान्छेहरु बेशिया भन्छन् नि? हो! म त्यस्तै बेशिया पनी थिएँ।” उसले आँशु चुहाउँदै एकहोरो बोलि। मेरो मुटुको गति तेज भएर आयो। अनुहार अँध्यारिएर कालो भयो।

“जे पायो त्यही नबोलन। सोझै हुन्न भनेत भैहाल्यो नी।” मैले मुख बिगारेर बोलेको थिएँ।

“मैले झुट बोलेकी हैन। पाँच बर्ष अगाडी मेरा बा बित्नु भयो क्यान्सर भएर। हाम्रो एउटा भएको घडेरी पनी उहाँको उपचारमा नै सकियो। हामी कोठा भाडामा लिएर बस्थ्यौँ। आमाले तरकारी बेचेर भएनी मलाइ पढाउनु हुन्थ्यो। म कक्षा एघारमा पढ्न थालेकी थिएँ। आमा बिरामी हुनुभयो। उपचारको लागी पैसा थिएन। हाम्रा केहि आफन्त त थिए तर नाम मात्रका। अनी उनुहरु पनी खासै हुनेखाने थिएनन्। हामिले कतैबाट सहयोग पाएनौँ। मैले आमालाइ त्यती सजिलै मर्न दिन पनी सकिन। धेरैतिर हार गुहार गरेँ तर केहि सिप लागेन।

कहिँबाट केहि नभएपछी मैले कक्षा दस सम्म पढेको बिधालयका हेडमास्टर संग सहयोग मागेँ। उनि मलाइ आमाको उपचारमा सहयोग गर्न तयार पनी भए। आमालाइ पनी क्यान्सर भएको आशंका गरेका थिए दमकका डाक्टरले तर प्रमाणीत भने गरेका थिएनन्। म आमालाइ क्यान्सर अस्पताल लान चाहान्थेँ तर पैसा थिएन।
हेडसरले फेरी एकपटक दमक कै अस्पताल लिएर जाउँ भने। मैले नाइँ भन्न सकिन।
दमकको अस्पतालले फेरी केहि औसधी लेखिदियो अनि चाँडै भरतपुर लैजान सल्लाह दियो।

हेडसरले ‘पैसा जम्मा गरेर अर्को महिना लग्न पर्छ’ भने। मैले यो कुरा पनी मान्नै पर्यो। औसधी देखी एम्बुलेन्स सबैको खर्च उनले नै तिरे। हामिले आमालाइ घर लिएर आयौँ।

त्यही दिन बेलुका किचनमा म हेडसरलाइ चिया बनाउँदै गर्दा उनले मलाइ पछाडीबाट च्याप्प पकडे। म तर्सिएँ। उनका हातबाट उम्कन खोजेँ तर उनले छोडेनन्।

“सर के गर्नु भएको यस्तो?” म दह्रो कराएँ।

“आमाको उपचार गर्न पर्दैन? पैसा बन्दवस्त गर्न पर्दैन?” उनले मलाइ मानसिक दबाब दिए।

मलाइ जसरी पनी आमालाइ ठिक बनाउन थियो। मैले फेरी चिच्याउन सकिन। आँखाभरी आँशु भरिए। उनले जोडले मलाइ तानेर छातिमा टाँसे। मैले केहिपटक फुत्कन बल त गरेँ तर उनले आमाको उपचार सम्झाइ रहे।

यो क्रम हरेक दिन झैँ चलिरह्यो। उनि हरेकदिन जसो कहिले औसधी लिएर त कहिले फलफुल अनि लिएर हाम्रो कोठामा आउथेँ। अनि हरेक दिन मेरो अस्मिता लुटेर जान्थे।

केहि समयपछि उनिसंग उनका अरु साथी पनी आउन थाले। कलिलो मस्तिष्क भएकी मैले प्रतिकार गर्न सकिन। उनिहरु आउथेँ मलाइ लुट्थे अनि मेरा हातमा केहि पैसा थमाएर जान्थे।

अर्को महिना अर्को महिना गर्दागर्दै चार महिना सम्म पनी उनिहरुले मेरि आमालाइ भरतपुर लाने सुरसार गरेनन्। मैले धेरैपटक आग्रह गरेँ तर ‘धेरै पैसा लाग्छ, बन्दोबस्त हुँदैछ’ बाहेक अरु जवाफ पाइन मैले।

पाँचौ महिनामा आमा कोठामै बित्नुभयो। म धेरै रोएँ। कसै गरेर पनी आमालाइ बचाउन नसकेकोमा आँफैलाइ थुकेँ पनी।

आमा बितेपछी मैले दमक छोडेँ। बिर्तामोड आएर एउटा होटलमा काम गर्न थालेँ। फेरी कक्षा एघारमा नै भर्ना भएर पढ्न पनि थालेँ। पढाइ खर्च अनि कोठाभाडा तिर्न नसकेर केहिपटक फेरी पनी मैले आफ्नो शरिर बेचेँ। पहिल्यै लुटिइ सकेको मेरो अश्मिता बेच्न मलाइ कति गाह्रो भएन।

छ महिना पहिले बिमला दिदि संग भेट भयो। उहाँले ‘बस्ने अनि पढ्ने बाताबरण दिन्छु’ भनेपछी यहाँ आएर काम गर्न थालेँ।”

उसले रुँदै सुनाइ सकि। उसका गाला हुँंदै चिउँडा सम्म आँशु पुगेका थिए। मेरा पनी आँखामा आँशु भारिएर गालामा खस्न थालेका थिए। मैले मेरा अगाडिका दृश्यहरु मधुरो देखी रहेको थिएँ। मेरो मुटु फुलेर छाती नै फुट्ला झैँ भएको थियो।

“यहि हो मेरो कहानी। के अझै पनी म संग बिहे गर्न चाहानुहुन्छ तपाइँ?” उसले गालामा आएका आँशु उल्टा हातले पुछ्दै बोलि।

“अँ गर्छु।” मैले ठाडै उत्तर दिएँ। उसले टिलपिल भएका आँखाले एकहोरो मलाइ हेरि तर केहि बोल्न सकिन।

“जे भयो सकियो। म कहिले ति कुरा निकाल्ने छैन र तिमि पनी ननिकाल्नु।” मैले आँशु पुछ्दै बोलेँ।

“तपाइँको परिवार नी?” उसले भक्कानिँदै बोलि।

“सबै कुरा परिवारलाइ भन्न पर्छ र लाटी? त्यहिपनी मेरा बा-आमा बुझ्ने हुनुहुन्छ। तिमि चिन्ता नगर।” मैले उसलाइ सम्झाएँ। उसले फेरी केहि बोलिन। झनै धेरै आँशु झार्दै घोसे मुन्टो लगाइ।

“नरोउ! किन रोएकी?” मैले उसलाइ हेरेर बोलेँ।

“तपाइँ जस्तो मान्छे हुन्छन् भनेर मैले सोचेकि पनि थिइन।” उसले रुँदै बोलि।
मैले केहि बोलिन मात्र उसलाइ एकहोरो हेरिरहेँ।

“घर जानुस् अहिले। अनी सोच्नुहोला। के थाहा तपाइँको बिचार बदलिने हो कि?” उसले आँखा मिच्दै बोलि।

“जति सोचेपनी मेरो अडान बदलिने छैन।” मैले अलिकती मुस्कुराए झैँ गरेर बोलेँ।

—————-
घरमा मेरो बिबाहको कुरा चल्न थालेको निकै समय भएको थियो। त्यहाँ भन्दा अगाडी मैले नै मानेको थिइन बिहे गर्न।
तर त्यो दिन बा’ले फेरी मेरो बिहेको कुरा निकाल्दा मैले ‘गर्छु’ भनेको थिएँ।

“त्यसो भए केटी खोजौँ त?” बा’ले सोध्नु भएको थियो।

“पर्दैन। मैले हेरेकोछु।” मैले निर्धक्क बोलेको थिएँ।

“हैन के भन्छ? को हेरिस्? काँ कि?” बा’ले अचम्मित हुँदै सोध्नु भएको थियो। आमा पनी उत्सुक हुँदै नजिकै आउनु भएको थियो।
“बिर्तामोडमा नै बसेर पढ्छे। बिएड थर्ड यियर पढ्दैछे।” मैले जवाफ दिएको थिएँ।

“कसकी छोरी? बा-आमा के गर्छन्?” उहाँले फेरी सोध्नु भएको थियो।

“कोहि छैनन् उसका। आँफै काम गर्छे अनि पढ्छे।” मैले बिस्तारै बोलेको थिएँ।

“हैन के भन्छ? कस्तो कोहि छैनन् त अनि?” आमा बोल्नु भएको थियो।

“हो आमा। कोहि छैनन्। बा-आमा दुबैजना बिति सकेका रे। साह्रै दुखले पढेकी केटि हो। एकदमै इमान्दार छे।” मैले आमालाइ हेरेर बोलेको थिएँ।

“फोटो छैन तँ संग? हेरौँ त छ भने।” आमाले हतारिएर बोल्नु भएको थियो।

मैले मोबाइल झिकेर आमालाइ फोटो देखाइदिएको थिएँ। बा’ले पनि तन्क्किएर फोटोमा नजर लगाउनु भएको थियो।

“एकदमै असल अनि मेहनती छे। मलाइ मन पर्छ धेरै।” मैले बोलेको थिएँ।

“तँलाइ मन परेर हुन्छ र? शसुरालिको पनी टुंगो नभएको केटी ब्या गरेर हुन्छ?” बा कड्किनु भएको थियो।

बा बाट अनपेक्षित जवाफ पाएर म अताल्लिएको थिएँ।

“केटि संग हो बिहे गर्ने। शसुराली संग हो र अनि?” मैले केहि ठुलो स्वरमा बोलेँ।

“तैँले भनेर हुन्छ? हुँदैन भनेपछी हुँदैन। सकियो।” बा झन्किँंदै बटारिनु भएको थियो। आमा र म दुबैको अनुहार अँध्यारो भएको थियो।

“कहाँ के काम गर्छे त?” आमाले निरास स्वरमा नै सोध्नु भएको थियो।

“पारी बिमला दिदिको होटलमा गर्छे।” मैले अफ्ठेरो मान्दै बोलेँ।

“भट्टिमा काम गर्ने बेशिया पो बिहे गर्छु भन्दो रैछ है!” बा झनै चिच्याएर कराउनु भएको थियो।

“ऊ बेशिया हैन बा।” मैले पनी ठुलो स्वरमा कराएको थिएँ।

“तँ जान्ने हुन्छस्? यो घरमा ल्याउने हो भने मैले भनेको हुन पर्छ नत्र हुंदैन।” बा’ले मलाइ आँखा तर्दै कराउनु भएको थियो।

अरु बेला त्यती धेरै कुरा बुझ्ने मेरा बा’को त्यस्तो स्वभाव देखेर म अचम्मित भएको थिएँ। मेरा आँखाबाट आँशु खस्न थाली सकेका थिए।

“हुन्न भन्ने म लिएर हिँडिदिन्छु।” म फन्किँदै उठेको थिएँ।

“मैले भनेको नमानी त्यो बेश्या संग लागेर हिँड्छस् भने मेरो घरमा कहिले पाइला नटेके हुन्छ।” बा’ले चेतावनी दिनु भएको थियो।

——————-
मैले अस्मिता संग भागेर बिहे गर्ने निर्णय गरेको थिएँ। मैले सोचेको थिएँ “मैले बिहे नै गरिसकेपछि मेरा बा’ले मलाइ बोलाइ हाल्नु हुनेछ। एकैछिनको रिस न हो, सान्त भइ हाल्नेछ नी।”

पर्सिपल्ट हामी भागेर हिँडेका थियौं बिर्तामोडबाट काठमान्डौँ। सुरुमा त ऊ अनकनाएकी थिइ तर मैले कर गरेपछी राजी भएकी थिइ ऊ म संग भाग्न। मैले जम्मा गरेको पचास हजार पैसा अनि एउटा सिक्री थियो म संग खर्चको लागी।

बेलुकापख काठमान्डौँ पुगेर होटलको कोठामा पस्ने बित्तिकै मैले घरमा फोन गरेको थिएँ।

“हेल्लो आमा।”

“कहाँ छस् तँ? किन घर नआको?” आमाले आत्तिदैँ सोध्नु भएको थियो।

“मैले त अस्मितालाइ लिएर हिँडे आमा।” मैले बोलेको थिएँ।

“हैन के भन्छ यो? कहाँ गइस लिएर?” आमा रुन खोजे झैँ चिच्याउनु भएको थियो।

“काठमान्डौँ छौँ अहिले।”

“के भयो अरे? लिएर हिँड्यो अरे?” बा’को आवाज आएको थियो।

“लु तपाइँ नै बोल्नु।” आमाको रोएको आवाज आएको थियो।

“काँ मरेको छस् रे?” बा’ले रुखो बोल्नु भयो।

“मैले बिहे गरेँ बा।” मैले नम्र भएर बोलेँ।

“त्यही बेशिया संग?” बा चिच्याउनु भयो। कान थापेर सुनिरहेकी अस्मिता पर सरेर रुन थाली।

“ऊ बेशिया हैन बा। तपाइँकी बुहारी हो।” मैले केहि ठुलो बोलेँ।

“तेरि स्व्वास्नी होलि तर मेरि बुहारी कहिल्यै हुन्न त्यो। त्यसलाइ लिएर मेरो घरमा पाइला टेकौँला भनेर नसोच्नु।” बा झनै कड्किनु भयो।

“म कहाँ जाउँ त बा घर नआएर?” मैले रुञ्चे बोलिमा बोलेँ।

“जहाँ सुकै जा। मरेपनी मर् तर मेरो घरमा आउन पाउँदैनस्। अब आइन्दा यहाँ फोन पनी गर्ने हैन। तँ मेरा लागी मरि सकिस्।” बा’ले फोन काट्नु भयो। मैले फेरी फोन गर्न खोजेँ तर फोन लागेन।

बाको बोलि लगभग सबै सुनेकी अस्मिता घोसे मुन्टो लगाएर रोइरही।

“नरोउन प्लिज। अहिले बा रिसमा हुनुहुन्छ। भरेभोली ठिक भैहाल्छ नि।” मैले उसलाइ सम्झाउन खोजेँ।

“मलाइ छोडिदिनुस् तपाइँ। घर जानुस्।” ऊ भक्कानिएर रुँदै बोलि।

“यस्ता कुरा नगरन यार। म तिमिलाइ कहिल्यै छोड्न सक्दिन।” मैले उसलाइ अंगालोमा तानेँ। ऊ मेरो छातिमा कसिएर रोइरही धेरैबेर सम्म।

—————-
बा’को कहिल्यै फोन आएन। केहिदिनपछी आमाले गर्नुभयो अनि रुँदै भन्नु भयो “तेरा बा धेरै रिसाका छन्। केहि गरिखान सक्छस् होला। त्यतै बस अलिकजेल। पछि बोलाउलान् आँफै। मैले फोन गरेको थाहा पाए भने मार्छन्।” यति भन्ने बित्तिकै आमाले फोन काट्नुभयो।
अर्को दिन त्यो नम्बरमा फोन गर्न खोज्दा त्यसमा पनी लागेन।

समय बित्यो। हामी काठमान्डौँमा नै कोठा लिएर काम गर्दै बस्न थाल्यौँ। म बा’को फोन कुरिरहेँ तर आएन कहिल्यै। आमा कहिलेकाहिँ लुकिचोरी रुँदै फोन गर्नुहुन्थ्यो। अलिकती बोल्ने बित्तिकै डराएर काटि हाल्नुहुन्थ्यो फेरि।

अस्मिता गर्भवती थिइ। ऊ मलाइ बा, अनि मेरा बा-आमालाइ हजुरबुबा हजुरआमा बनाइ दिँदै थिइ। तर बिडम्बना बिचरिले मेरा बा-आमाको तस्बिर सम्म देखेकी थिइन। गल्ती मेरो नै थियो, मैले मोबाइलमा बा-आमाको तस्बिर पनी राखेको थिएन।

कहिलेकाहिँ म बा-आमाको अनुहार हेर्न कति धेरै तड्पन्थेँ तर म संग आँखा बन्द गरेर उहाँहरुलाइ सम्झनुको बिकल्प थिएन।

—————–
सायद आमाले अस्मिता गर्भवती भएको कुरा बा’लाइ सुनाउनु भएको थियो। त्यसैले त त्यही दिनको भोलिपल्ट मैले सोच्दै नसोचेको कुरा भएको थियो।

बा’को फोन आएको थियो त्यो दिन। मलाइ खुशिले नाचौँ झैँ भएको थियो।

“तिमारु घर आओ।” बा’ले खुइय गर्दै बोल्नु भएको थियो।

“हुन्छ बा!” मैले रुँदै बोलेको थिएँ।

“कहिले आउँछौ?” बा’ले मसिनो स्वरमा बोल्नु भएको थियो।

“पर्सी।” मैले हतारिएर बोलेको थिएँ। बा’ले लगत्तै फोन काट्नु भएको थियो।

म घर फर्कने खुसिले फुर्किएको थिएँ। अस्मिता पनी धेरै खुशी भएकी थिइ। मैले काम गर्ने ठाउँमा बिदा मागिसकेको थिएँ। त्यो रात खुशिले आधारात सम्म निदाएनौँ हामी। मध्यरातमा निदाएको केहिबेर मात्र भए झैँ लागेको थियो फेरी फोनको घन्टी बज्यो। मैले मोबाइल तानेर हेरेँ। बिहानको छ बजेको थियो।

मैले ढिला नगरी फोन उठाएँ। गाउँका छिमेकी काका थिए फोनमा।

“हेलो।” मैले बोलेँ।

“अँ हेलो! सन्तोष हैन?” काकाले हडबडाएर बोले।

“हजुर हो त।” मैले आँखा मिच्दै बोलेँ।

“म पल्लाघरे काका बोलेको। तँ जति सक्दो चाँडो घर आइज त।” काकाको अतालिएको आवाज आयो।

“किन काका? के भयो?” मैले झट्टै सोधेँ।

“तेरा बा रहेनन्। आज राती नै कोठाको फ्यानमा…….।” काकाले अकमकाउँदै बोले।

म सिरुङ्ग भएँ। के बोल्ने कसो गर्ने केहि पत्तो भएन। आँखाबाट बरर आँशु झर्न थाले। मुटु बाहिर निस्किन्छ कि जस्तो भयो। बोल्न खोज्दा बोलि आएन। मैले फोन काटिदिएँ।

“के भयो?” अस्मिताले सोधी।

“बा! बा बित्नु भयो। पासो लगाएर रे।” मैले रुँदै यत्ती बोल्न सकेँ।

———–
हामी केहि घन्टामा नै काठमान्डौँ बाट प्लेनमा भद्रपुर आएका थियौँ। भद्रपुरबाट भ्यान रिजर्भ गरेर हामी हतारमा घर हिँडेका थियौँ।

बिहानको एघार बजे नै भ्यान घर अगाडी पुगेको थियो। घर वरिपरी सारा गाउँले भेला भएका थिए। एकोहोरिएको म भ्यानबाट उत्रेर सरासर घर भित्र हिँडेको थिएँ। अस्मिता मेरो पछिपछी आएकि थिइ। गाउँलेहरुले हामिलाइ एकहोरो हेरेपनी कसैले बोलाएको थिएन।

बा’को लास प्रहिरिले बिहानै पोस्टमार्टमको लागी लगेको थियो। आमा कोठामा एकहोरो रोइ रहनु भएको थियो। केहि गाउँले आइमाइहरु आमालाइ सम्झाउँदै थिए।

म कोठामा पुगेँ। ठिँग उभिएर एकहोरो आमालाइ हेरिरहेँ। धेरैबेर देखी रोकेर राखेका मेरा आँंशुहरु बरर निस्किए। अस्मिता पनी आँसु बगाउँदै मेरो छेउमा उभिएकी थिइ। भित्तामा बा-आमाको ठुलो तस्बिर झुन्डिएको थियो। मैले रुँदै बा’को तस्बिर नियालेँ। अस्मिताले पनी म संगै भित्तामा हेरि। बा’को तस्बिर देखेर म झनै भावुक भएको थिएँ। त्यति नै बेला अस्मिताले रुँदै मलाइ कोट्याएर बोली “हेडसर पो हो तपाइँको बुबा?”

म झस्किएँ। उसको बोलि मेरा मुटुमा तिर झैँ गाडियो। मैले फर्किएर उसको अँंध्यारो अनि आँशुले भरिएको अनुहारमा हेरेँ तर मलाइ केहि बोल्न आएन।
दिमागमा एउटै मात्र कुरा आयो “मेरा बा पनी त पाँच बर्ष पहिले सम्म दमककै बिधालयमा हेडमास्टर हुनुहुन्थ्यो।”

-समाप्त-
लेखक- सन्तोष बस्नेत

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)