कथा :- कुनैदिन म हजुरलाइ छोडिदिन्छु!

उसलाइ रिसाउन ठुलो कुरै चाहिन्न थियो। कहिले एकपटकमा फोन नउठाउँदा ऊ रिसाइदिन्थी। कहिलेकाहीँ उसको म्यासेज एकैछिन रिप्लाइ गर्न ढिला हुँदा ऊ अघी मुख फुलाइ सक्थी। उसलाइ भेट्न जाँदा उसले भनेको कपडा लगाएर गएन भने त ऊ घन्टौँ सम्म बोल्दै नबोली बस्थी।

मलाइ ऊ रिसाएको पनी मन पर्थ्यो। जब ऊ मलाइ आँखा तर्दै नाकका पोरा फुलाउँथी, म उसलाइ झनै राम्री देख्थेँ। उसले म संग घुर्की लगाउँदै ठुँस्किँदा मलाइ झनै सामिप्यताको आभास हुने गर्थ्यो।

“हजुर त मलाइ माया नै गर्नु हुन्न के।” उसको सबै भन्दा प्यारो डायलग थियो यो।

“छाती चिरेर देखाइदिउँ त?” म उसलाइ जिस्काइ दिन्थेँ।

“हजुर हनुमान होर?” ऊ मुख फुलाउँदै बोल्थी।

“अँ! अनुहार चाहिँ लगभग मिल्छ।” म हाँस्थेँ।

“खुब होला।” ऊ मुख बटार्थी।

“अनि के मिल्दैन त मेरो अनुहार हनुमान संग?” म उसको झनै नजिक जान्थेँ।

“मिल्दैन त अनि।” ऊ मलाइ पर ठेलीदिन्थी।

“अनि आज चाहिँ हजुरका देउता किन रिसका नी?” म उसलाइ हेरेर मुस्कुराउँदै रिसाउनुको कारण सोध्थेँ।

“रिसाउँछन् त अनी।” ऊ मलाइ आँखा तर्दै बोल्थी।

“किन चाहिँ रिसाए त? कारण जान्न सकिन्छ हजुर?” म उसलाइ जिस्काउँथेँ।

“मैले हिजो के भनेको थेँ हजुरलाइ?” ऊ स्वर बिगार्दै बोल्थी।

“के भनेकी थियौ र प्यारी?” म उसको अगाडी सर्दै बोल्थेँ।

“मलाई चकलेट खै?” ऊ बच्चाको जस्तो स्वरमा बोल्दै घोसे मुन्टो लगाउँथी।

“ओहो! यहि पो हो कारण? बिर्सेछु नि त सानु। भरे किन्दिन्छु है?” म उसको चिउँडोमा हात लगेर उसको टाउको माथी उठाउन खोज्थें।

“परेको छैन। तपाइँलाइ त मैले भनेको केहि याद हुन्न।” मेरो हातलाइ पर ठेल्दै ऊ फेरी घोसे मुन्टो लाउँथी।

“यती सानो कुरामा रिसाउन पर्छ त डल्ली?”

“हजुरका लागी त सबै कुरा साना हुन्छन्। कुनदिन छोडेर गइदिन्छु अनि थाहा हुन्छ।” ऊ घुर्की लगाउँथी।

“कहाँ जान्छौ नी छोडेर?” म हाँस्दै सोध्थेँ।

“अर्कै संग बिहे गरेर गइ दिन्छु नि।”

“म त तिमिलाइ जज्ञ बाट नै उठाएर ल्याउँछु पो।”

“खुब होला! बरु रुँदै बस्छु, भन्नुन।” ऊ अलिकती हाँस्दै बोल्छे।

“रुन्न है रुनत।” म मुस्कुराउँदै बोल्छु।

“हजुरलाइ मेरो माया लागे पो रुनु हुन्छ त।” ऊ फेरी मुख बिगार्छे।

“माया गरेकोले छोडेर जाँदा रुनै पर्छ र डल्ली?”

“अनि छोडेर जाँदा रुन पनी मन नलागे के माया गरेको भन्नु?” ऊ मेरो अनुहारमा हेरेर बोल्छे।

“छोडेर जाने खुशी छन् भने उसैको खुशीमा आँफु पनी खुशी भइदीने नि।” म अलिकती मुस्कुराइ दिन्छु।

“खुब सकिन्छ होला त्यस्तो गर्न!” ऊ ओठ लेपारी दिन्छे।

“सकिन्छ नि कीन नसक्नु?”

“पछी म हजुरलाइ छोडेर गइदीन्छु अनि कतिको खुशी हुन सकीँदो रहेछ, बिचार गर्नु है त?” ऊ खितिती हाँस्दै बोल्छे।

“के अरे? साँच्चै छोडेर जाने हो मलाइ?” म अनुहार बिगारेर बोल्छु।

“जान्छु त अनि। किन मलाइ माया नै नगर्नु त।” ऊ मलाइ टेडा आँखाले हेर्दै बोल्छे।

“मेरो चाहिँ माया लाग्दैन तिमिलाइ।” म झनै अँध्यारो अनुहार बनाएर बोल्छु।

“बिचरा मेरो बुढा! रुनै पो लाग्नु भएछ।” ऊ हाँस्दै मलाइ अंगालो लगाउँछे।

“हजुरलाइ सताएको पो त। कतै छोड्छु होला त यति प्यारो बुढालाइ?” ऊ मलाइ अंगालोमा कस्दै बोल्छे।
म अझै रिसाए झैँ घुर्की लगाउँदै केहि नबोली बस्छु। ऊ उसका ओठहरु मेरा ओठमा ल्याएर जोड्छे। म चुपचाप ओठ बन्द गरिरहन्छु।

“मेरो बुढो रिसाउँदा झन् सेक्सी देखिनु हुन्छ।” ऊ मेरा ओठ बाट ओठ हटाउँदै जिस्किन्छे। मलाइ हाँसो लाग्छ। म अलिकती मुस्कुराउन खोज्छु। ऊ हतारिएर मेरा खुलेका ओठमा झम्टी हाल्छे। म सबथोक बिर्सिएर उसैको भैदिन्छु।


यसरी नै हाम्रो सम्बन्ध लामो समय सम्म चल्यो। ऊ रिसाइ रहन्थी। अनि म फकाइ रहन्थेँ। ऊ कहिले अभिभावकले झैँ गाली गर्थी। कहिले श्रीमतिले झैँं हक पनी जमाउँथी। र कहिलेकाहिँ साथिको झैँ साथ पनी दिन्थी। हामी एकअर्काका पुरक थियौँ। ऊ बिनाको जिन्दगी कल्पना सम्म पनी गरेको थिइन मैले।

“तपाइँले मलाइ छोडेर जानु भयो भनेत मर्दिन्छु म त।” ऊ कहिलेकाहिँ अँगालोमा टाँसिदै भन्थी।

“तिमिलाइ छोडेर कहाँ जानु र डल्ली? बरु तिमि नै छोड्छौ होला मलाइ। घरीघरी ‘छोडेर गइदिन्छु’ भन्छौ।” म हाँस्दै जिस्काउँथे।

“तपाइँले माया नगरेको बेला त हो नी।” ऊ छातिमा टाँसिएर बच्चा झैँ बोल्थी।

“तिमिलाइ मैले माया नगरेको कुनै पल नै छैन डल्ली। अनि हुँदैन पनी कहिल्यै।” म उसलाइ कस्दै बोल्थेँ। ऊ केहि नबोली चुपचाप छातिमा टाँसिइ रहन्थी।

प्रेमको अर्को पाटो…..
समय सधैँ एकैनास रहेन। ‘छोडेर गइदिन्छु’ भन्दै घुर्कि लगाउने अनी केहीबेरमा नै मेरो अंगालोमा टाँसिने उसले केहि भन्दै नभनी मलाइ छोडेर गइदिइ। भगवानले मलाइ प्रेमको अर्को पाटो पनी देखाइ दिए। जुन पाटो भयानक अनि पिडादायक निस्कियो।

मेरो जन्मदिनको दिन उसले भेट्न बोलाइ। सधैँ झैँ त्यो दिन पनी चकलेट लगीदिनै पर्ने माग थियो उसको। मैले जन्मदिन बिशेश भनेर सधैँ भन्दा बढी नै चकलेट लगिदिएको थिएँ उसलाइ। भेट भएर उसका हातमा मैले चकलेट राखिदिएपछी मात्रै उसले फुर्किँदै मलाइ जन्मदिनको शुभकामना दिएकी थिइ। मैले मुस्कुराउँदै उसलाइ अंगालोमा लगाउन खोजेको थिएँ। ऊ मेरो अंगालोमा नआइकन हतारिएर आफ्नो ब्याग खोल्न तम्सिएकी थिइ।

उसले ब्यागबाट एउटा खैरो स्वेटर निकालेर मेरो हातमा राख्दै बोलेकि थिइ “यो चाहिँ हजुरलाइ गिफ्ट। लगाइहाल्नु त छिटो।”

“अहिले किन लगाउन पर्यो त? भरेभोली लगाउँछु नि।”

“लगाउनु भन्दैछु है? धेरै बाठो हुने हैन।” उसले थर्काए पछि मैले खुरुक्क त्यो स्वेटर लगाएको थिएँ। उसले मलाइ हेरेर मुस्कुराउँदै बोलेकी थिइ “हिरो देखिनु भयो।”

मैले झट्टै उसलाइ छातिमा तानेर निधारमा चुम्बन गरेको थिएँ।

“घरमा लगेर थन्काउने हैन नी। लगाउन पर्छ सधैँ।” उसले अंगालो बाटै बोलेकी थिइ।

“अँहँ नलगाउने! जतन गरेर दराजमा राख्ने हो।” म हाँस्दै बोलेको थिएँ।

“मैले भनेको नमान्दा त छोडेर पो गइदिन्छु म त।” उसले उहि पुरानो शैलिमा घुर्की लगाएकी थिइ। मैले केहि नबोली झनै जोडले उसलाइ छातिमा टाँसेको थिएँ।


छुट्टिएर घर फर्कने बेलामा सधैँ झैँ उसको अनुहार अँध्यारो भएको थियो। हाम्रो बाटो छुट्टिने ठाउँ सम्म ऊ मेरा हातमा पकडेर म संग जोडिँदै हिडेकी थिइ। जब उसले छुटेर बाटो पारी जानु थियो, उसले हात छोड्दै मलाइ हेरेर रुञ्चे स्वरमा बोलेकी थिइ “सधैँ हजुर संगै कहिले बस्न पाउनु?”

“अब अर्को साल देखी है? जाउ अहिले चाहिँ ढिला भयो।” मैले उसलाइ हेरेर भनेको थिएँ।

ऊ केहि नबोली बाटो काट्न अघि बढेकी थिइ। बाटो बिचमा पुगेपछी, उसलाइ खै के याद आएर हो पछाडी फर्किएर हेर्दै कराएकी थिइ “अर्को साल चाहीँ पक्का है?”

त्यति नै बेला उताबाट हुइँकिएर एउटा कार आयो। मलाइ फर्केर हेरीरहेकी ऊ आत्तिएर त्यही कार आएतिर उफ्रीइ। त्यो कार जोडले ऊ संग ठोक्कियो। ऊ बङ्लङ्ग सडकमा बजारिइ। म आत्तिएर ऊ भएतिर दौडन खोजेँ तर मेरा खुट्टामा हाड नै नभए झैँ लुला भएर आए। मैले चिच्याएर कराउन खोजेँ तर आवाज आएन।

अनि यसरी एकै झट्कामा मेरो प्रेमिल संसार भताभुङ्ग भयो। देखेका सारा सपनाहरु छरपस्ट छरीए, फेरी सम्हाल्नै नसक्ने गरि।
मलाइ याद छैन म कति समय उसलाइ सम्झेर रोएँ भनेर। अचेल रुन भने कम भएको छ, तर हाँस्न बिर्सिएको छु।
उसले दिएको अन्तिम उपहार त्यो ‘खैरो स्वेटर’ मैले अझै जतन गरेर राखेको छु।

हरेक बर्ष जन्मदिन आउँछ। म त्यही स्वेटर निकालेर लगाउँछु अनी ऐना हेरर अलिकती मुस्कुराउन खोज्छु, तर मेरा ओठमा मुस्कानको साटो आँखामा आँशु आइदिन्छन्। अनि म उसले भनेको सम्झन्छु “पछि म तपाइँलाइ छोडेर गइदिन्छु अनि कतिको खुशी हुन सकिन्छ, बिचार गर्नुस् है?”

समाप्त!
(यो कथा सत्य घटनालाई आधार बनाएर लेखिएको कथा हो!)
लेखक: सन्तोष बस्नेत

2 Comments

  1. prabin shrestha says:

    कडा दाजु | दामी |

  2. MADAN says:

    दै पोस्ट हरु तपाइको प्रो मा नि हाल्नु है त

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)