आमालाई कहिल्यै नरुवाउनु!!

बा’ले आमाका लागी नयाँ सारी किनेर ल्याउनु भएको थियो। रातो बुट्टेदार सारी बा’ले झोलाबाट निकालेर आमालाइ दिने बित्तिकै आमा आस्चर्यचकित हुँदै बोल्नु भएको थियो “हैन किन ल्याउनु भएको यो फेरि?”

“लाउँछेस् भनेर नि।” बा’ले ठुलो स्वरमा बोल्नु भएको थियो।

“महंगो जस्तो छ त। कति पर्यो?” आमाले सारी सुमसुम्याउँदै बा’का मुखमा हेरेर सोध्नु भएको थियो।

“जति परेनी लगान। कि पैसा तिर्छेस्?” बा गमक्क परेर ओछ्यानमा ढल्कदैँ बोल्नु भएको थियो।

“सोध्न नि हुँदैन यो मान्छेलाइ त। बिना बित्थाको खर्च गारेर।” आमा गनगनाउनु भएको थियो। ओछ्यानमा ढल्कनु भएको बा केहि नबोली मुसुमुसु मुस्कुराउन थाल्नु भएको थियो।

आज बा खुशी हुनुहुन्थ्यो। अनि आमा पनि कोठाबाट बाहिर निस्किएपछि गमक्क पर्नु भएको थियो। आमा घरीघरी एक्लै मुस्स्कुराउनु हुन्थ्यो। जब म आमाको अगाडी पुग्थेँ आमा मुस्कुराउन बन्द गर्नु हुन्थ्यो।

बा आमा दुबै जना खुशी भएको दिन म भने खुशी थिइन। बा’ले बजारबाट आमालाइ सारी ल्याउनु भएको थियो, तर मेरा लागी केहि ल्याउनु भएको थिएन। मेरो अनुहार अँध्यारो भएको थियो। बालाइ किनि माग्ने आँट पनि आएको थिएन।

बेलुका खाना खाँदै गर्दा बा’ले मेरो अनुहारमा हेरेर सोध्नु भएको थियो “हैन किन अँध्यारिएको छस् तँ? के भो?”

“केहि न केहि।” बा’को प्रश्नले अताल्लिएको म हडबडाउँदै बोलेको थिएँ।

“अनि किन पिलपिल आँखा पारेको छस्?” बा नम्र हुँदै बोल्नु भएको थियो। बा’को कमै सुनिने मायालु बोलिले म पग्लिएको थिएँ। मेरा आँंखाबाट आंशुको थोपो पिर्लिक्क तल झरेको थियो।

“हैन! रुन पो थाल्यो त यो त। के भो हँ?” चुला छेउमा बस्नु भएकी आमाले कराउनु भएको थियो।

“के चाहिएको थियो तँलाइ?” म दुखी हुनुको कारण पत्ता लगाइ सक्नु भएको बाले मुस्कुराउँदै सोध्नुभयो।

“जिनिसको ज्याकेट र प्यान्ट।” सुँकसुँकाउँदै घोसे मुन्टो अक्गाएर बोलेको थिएँ मैले। आमा मुखमा हालेको गाँस निल्दै हास्नु भएको थियो मलाइ हेरेर। म झनै सुँकसुँकाउँदै घोसिएको थिएँ। मेरा आँखाबाट खसेका आँशु थालमा चुहिन थालेका थिए।

“रुन पर्छ त तिग्रे? ल्याइदिउँला नि त अनि।” बा’ले ठुलो स्वरमा बोल्नु भएको थियो।

“यो आरीशेलाइ आरिश लागेको नि। मलाइ सारी ल्याएको देख्यो अनी उसलाइ पनि चाही हाल्यो।” आमा हाँस्दै बोल्नुभयो।

“हैन के।” मैले आमालाइ रुँदै गरेका आँखा तर्दै बोलेँ।

“के हैन?” बा’ले सोधिहाल्नु भयो।

“आरिश लागेको हैन।” मैले रुन्चे स्वरमा बोलेँ।

आमा बा मलाइ हेरेर गलल हाँस्नुभयो। मलाइ लाज लाग्यो। मैले फेरि टाउको निहुराएर घुँडामा लुकाएँ। अनि घुँडामा नै आँशु पुछेँ।

“आफ्नी आमाको आरिश गर्छ त अनि कतै?” बा’ले हाँस्दै आमालाइ हेरेर बोल्नुभयो।

“अँ यो कम्ता आरिशे छ होला। अरु कसैले उसको भन्दा अलिक राम्रो लगाको अनि मिठो खाको देखो कि अँध्यारो भैहाल्छ।” आमाले आँखा पल्टाउँदै मलाइ हेरेर बोल्नुभयो।

“गर्दैन आरिश! पछि तँलाइ त्यस्ता सारी त कति किनेर ल्याइदिन्छ ल्याइदिन्छ।” बा’ले मुसुमुसु हाँस्दै मलाइ फुर्क्याउनु भयो। मेरो अनुहार केहि उज्यालो भयो। मेरो टाउको घुँडाबाट बाहिर निस्कियो।

“कि किन्दिदैनस् आमालाइ सारी?” बा’ले मलाइ सोध्नुभयो।

“किन्दिन्छु।” मैले छिनेको स्वरमा बोलेँ।

“अनि मलाइ?”

“तपाइँलाइ पनि किन्दिन्छु।”

“मलाइ नि सारी नै किन्दिन्छस्?” बा दाँत देखाउँदै हाँस्नुभयो।

“हैन के!” मैले केहि ठुलो स्वरमा बोलेँ।

“अनि?”

“कोट पेन्ट किन्दिन्छु।” मैले गमक्क पर्दै बोलेँ। आमा बा दुबैजना मलाइ हेरेर मुस्कुराउनु भयो।

“देखिस्! पछि हाम्रो छोराले तँलाइ सारी अनि मलाइ कोटपेन्ट किन्दिन्छ।” बा हाँस्दै आमालाइ हेरेर बोल्नुभयो। आमा पनि हाँस्नु भयो तर केहि बोल्नु भएन।

“ल ल छिटो खा भात। तँलाइ म मधेशबाट ल्याइदिन्छु जिनिसको ज्याकेट र पेन्ट।” बा’ले खाना निल्दै बोल्नुभयो।

“कहिले जाने?” मैले सोधिहालेँ।

“अर्को हप्ता।”

“किन?” फेरि सोधेँ मैले।

“घडेरी किन्न।” बा मुस्कुराउँदै बोल्नुभयो।

बा’को कुरा सुनेर फुर्किएँ। मलाइ खान छोडेर उठेर छमछम् नाच्न मन लाग्यो। मलाइ बाले जिनिसको ज्याकेट र पेन्ट किनिदिने भन्दा पनि बढी खुशी घडेरी किन्ने कुराले दिएको थियो। पल्लाघरे रमेशहरु पनी त पोहोर नै मधेश झरेका थिए। मधेशमा त हिँड्न पनि पर्दैन रे, साइकलमा कुद्ने रे। मैले सुनेको थिएँ। मेरो हर्षको सिमा रहेन। खाना खाँदाखाँदै म कल्पनमा मधेश पुगेँ। साइकल कुदाएँ। बजार घुमेँ। चिटिक्क परेको घरमा बसेँ। नयाँ जिनिसको ज्याकेट र प्यान्ट लगाएँ।

बा मधेश गएर घडेरी किनेर फर्कनु भयो। मेरो जिनिसको प्यान्ट र ज्याकेट पनि ल्याइदिनु भयो। म नयाँ लुगा लगाएर चिटिक्क पर्दै गाउँभरी डुलेँ। गाउँका सबै केटाकेटी मलाइ देखेर लोभिए।

मैले हामी मधेश जाने कुरा पनि सबैलाइ सुनाएँ। मधेशमा ठुलो घर बनाउने अनि म साइकलमा स्कुल जाने भन्दै सबैसंग फुर्ती लगाएँ। तल्ला घरे रामे त मेरा कुरा सुनेर एकोहोरिएको नै थियो।

“तँ कहिले यता आउँदैनस् मधेस गएसी?” डाँडाबाट तलतिर पिसाब फेर्दै गर्दा रामेले सोधेको थियो।

“पछि आउँछु। अनि तँ पनि जान पर्छ है?” मैले मुतको धारो रामेको भन्दा पर पुर्याउँदै बोलेको थिएँ।

“बा’ले दिन्नन् होला।” उसले टकटक्याउँदै बोलेको थियो।

“म भन्छु नि काकालाइ। अनि मधेश गएर साइकलमा घुमाउँछु तँलाइ।” मैले लोभ्याएको थिएँ उसलाइ।

“आइया मरेनी!” रामे चिच्यायो। उसको तुरि चेपेछ चेनले। ऊ मेरो कुरामा यति एकोहोरो भएछ कि ध्यान नै नदिइ पेन्टको चेन तानेछ। म उसको चेपिएको तुरि देखेर गलल हाँसिदिएँ। उसले रिसाउँदै निकाल्यो अनी गुरुरु कुद्यो। म पनि उसको पछिपछि कुदेँ।

हाम्रो मधेशमा घर तयार भयो। बा’ले पहाडको घर जग्गा बेचेर मधेशमै अलिकती भित्र पटि थोरै खेती पनि किन्नु भएको थियो। घरको अगाडिको सटरमा आमाका लागी सानो किराना पसल पनि खोल्दिनु भएको थियो बाले। मैले साइकल पनि पाएँ। खुट्टामा चोट लगाएरै भएपनी हप्ता दिनमै म साइकल कुदाउने भएको थिएँ। मेरो खुशिको सिमा थिएन। आमा पनि खुशी हुनुहुन्थ्यो। हाम्रै खुशिका लागी त बाले यो सब गर्नु भएको थियो।
तर बा अचेल अलिक निराश देखिनिहुन्थ्यो। उहाँको कपाल फुल्न थालेको थियो। दुब्लाएर गालाका हड्डी प्रस्टै देखिन्थे। बा कमै मात्र हाँस्नुहुन्थ्यो अचेल।

एकदिन खाना खाइ सकेर तिनैजना बसेको बेला बा’ले मलाइ हेर्दै लामो सास फेरेर बोल्नु भयो “यो पनि भर्खर आठ किलास पुग्दैछ। कहिले ठुलो होला!”

“अब ठुलो भैहाल्यो नी। दुइ बर्षमा एस एल सि दिनेहुन्छ।” आमाले मलाइ छुँदै बोल्नुभयो।

“बिहे गर्ने बित्तिकै जन्मेको भए अहिले अठार बर्षको हुन्थ्यो।” बा’ले आमालाइ हेर्दै झिनो स्वरमा बोल्नुभयो।

“के गर्नु त? यहि भएनी भयो भन्नु न।” आमा बोल्नुभयो।

“त्यही पनि त चाँडै जन्मेको भए चाँडै तँलाइ पाल्ने हुन्थ्यो। म मरेपनी दुख पाउँदैन थिस्।” यति बोल्दै गर्दा बा भावुक हुनुभएको थियो।

“केके बोल्नुहुन्छ तपाइँ नि केटाकेटि भए ठाउँमा।” आमा झ्वाँक्किनु भयो। बा केहि बोल्नु भएन। खुइय सास फेरेर अर्कापटी हेर्नुभयो।

“ओए केटा।” केहिबेर पछि बा’ले बोलाउनु भयो।

“हजुर।” मैले पुलुक्क उहाँलाइ हेरेँ।

“याँ आइज।” बाले हातले इसार गर्नुभयो। म बाको नजिकै गएर बसेँ।

“तँ तेरि आमालाइ पाल्छस् नि हैन?” बाले मेरो ढाडमा सुमसुम्याउँदै बोल्नुभयो।

“अँं पाल्छु।” मैले लजाउँदै बोलेँ।

“कहिले दुख नदिनु आमालाइ। कमाएर राम्रा सारी किन्दिनु। म मरेपछि पनि कहिल्यै रुन नदिनु है?” बा’ले भावुक स्वरमा बोल्नुभयो। बा’ले यस्तो स्वरले बोलेको मैले कहिले सुनेको थिएन। मेरा आँखा भरिएर आए। मुटु ढक्क फुलेर आयो। पल्लो खाट कि आमा आँखा मिच्दै आफ्नो कोठा तिर छिर्नुभयो। मलाइ केहि बोल्न आएन।

“पाल्छस् कि पाल्दैनस् आमालाइ?” बा’ले केहि ठुलो स्वरमा बोल्नुभयो।

“पाल्छु।” मैले रुन लागेको स्वरमा बोलेँ। बा अलिकती मुस्कुराउनु भयो। बा’को सुकेको अनुहार पनि खुलेको देखियो।

आमाले बालाइ लिएर अस्पताल जानुभयो। धेरैदिन सम्म आउनुभएन। हप्तादिन पछि आमा आउनुभयो एक्लै। मैले हतारमा सोधिहालेँ “बा खोइ?
“बा’लाइ भरतपुर लिएर जाने। ठुलो अस्पताल।” आमाले मलाइ हेरेर झिनो स्वरमा बोल्नुभयो। मैले धेरै बुझिन र सोध्न पनि सकिन।
आमाले गाउँमा केहि पैसा खोज्नुभयो। अनि फुपुलाइ मलाइ र घर सम्हाल्न अर्हाउनुभयो अनि हतार निस्केर हिँडोहाल्नुभयो। म पिलपिल भएको थिएँ। केहि बोल्न सकिन। एकहोरो आमा गएको हेरिरहेँ।

महिना दिनपछी घरको आँगनमा एम्बुलेन्स आयो। म दगुरेर बाहिर निस्किएँ। फुँङ्ग रंग उडेकी मेरि आमा एम्बुलेन्सबाट बाहिर निस्कनु भयो। एकहुल गाउँलेहरु दगुरेर आँगनमा। उनिहरुले मिलेर एम्बुलेन्सबाट स्ट्रेचर निकाले। स्ट्रेचरमा बा हुनुहुन्थ्यो। बा सुकेर हाड र छाला मात्र हुनुभएको थियो। जाँदा हिँड्दै जानुभएको बाको यस्तो हालत देखेर मलाइ खरो भएर आयो। मेरो मुख सुक्यो। तिर्खा लागेर आयो। आँखा भरिएर आँशु चुहिए। म केहि बोल्न सकिन, एकहोरो बालाइ हेरिरहेँ।

गाउँलेले बालाइ भित्र खाटमा लगेर राखे अनि केहिबेरमा फर्किए। धेरैबेर सम्म आमा केहि बोल्नुभएन। बा त बोल्ने कुरै भएन।
आमाले मलाइ खाना दिनुभयो। आँफुले पनि केहि गाँस मुखमा हाल्नुभयो। खाना खाँदा पनि आमा बोल्नु भएन। अँध्यारो अनुहार लगाएर एकहोरो टोलाइ राख्नुभयो। बाले चम्चाबाट अलिअली पानी निल्नुभयो।
केहिबेरमा यताउता आँखा डुलाउनुभयो। सायद मलाइ चिन्नुभयो बाले। हातका औँला हल्लाएर इसारा गर्नुभयो। म छेउमा गएँ। आमाले मेरो हात बाको हातमा राख्दिनुभयो। बा’का आँखाबाट पिर्लिक्क आँशु चुहियो। आमाले पनि आफ्ना आँखा पुछ्नु भयो।

“आमालाइ….पा…ल्नु।” बा’ले घ्याँरघ्याँर भएको स्वरमा बिस्तारै बोल्नुभयो। मेरा आँखाबाट पनि आँशु चुहिए। मैले बोल्न सकिन। अलिअली मुन्टो हल्लाएर हुन्छ भन्ने इसारा गरेँ। बा थोरै मुस्कुराए झैँ गर्नुभयो तर खुल्न सक्नुभएन। मैले बालाइ हेर्न सकिन। आँखा पुछ्दै कोठातिर कुदेँ। कोठा पसेर धेरबेर रोएँ। कतिखेर निदाएछु पत्तो भएन।

पर्सिपल्ट बा बित्नुभयो। आमा खुब रुनुभयो। मलाइ रुन पनि आएन। मात्र आँशु बगे तर आवाज निकालिन। गाउँले आइमाइले आमालाइ सम्हाले। आमा घरिघरी बेहोस् हुनुहुन्थ्यो। म पनि अर्धबेहोसि भएको थिएँ। मैले बाको शरिरलाइ हेर्न सकिन। आँशुका धारा बगाउँदै थरथर काम्दै एकहोरो भइरहेँ। मलाइ घरिघरी एउटै कुरा याद आइरहेथ्यो कि ‘म मेरा बालाइ एकदिन कोट प्यान्ट किनिदिनेछु।’

समय बित्दै गयो। आमा जसोतसो सम्हाल्नुभयो। त्यो पसल अनि खेती एक्लै गरेर आमाले मलाइ पढाउनु भयो। मेरो उमेर बढ्दैगयो। म आमालाइ सघाउने भएँ। आमालाई केहि राहत हुन थाल्यो। मैले बार कक्षा सकाउने बित्तिकै एउटा सानो जागिर पाएँ। बिहान ब्याचलर पढ्न जाने अनि दिउउँसो जागिर खान थालेँ। म देखी मेरि आमा आशावादी अनि सन्तुष्ट हुनुहुन्थ्यो। कहिलेकाहिँ भन्नुहुन्थ्यो “पाथिभरा गएर आएपछी तँ जन्मेको थिस्। भगवानले दिए जस्तै छस् तँ। तँ नभएको भए म तेरा बा संगै मर्ने थिएँ होला।”

मेरो पहिलो तलब आयो। जिन्दगिको पहिलो कमाइ थियो त्यो मेरो। पैसा हात लाग्ने बित्तिकै मलाइ मैले बा संग गरेको बाचा याद आयो। म बजार हानिएँ। धेरैबेर लगाएर आमाका लागी एउटा रातो सारी छानेँ। पहिले बा’ले किन्दिए जस्तै। फेरि झट्टै याद आयो। ‘आमा त अचेल रातो सारी नै लगाउनु हुन्न।’ मन खिन्न भयो। मुटु ढक्क फुल्यो। मैले सारी साटेर अर्को हरियो रंगको सारी लिएँ अनि घर आएँ।

घर आउँदा आमा सब्जी केलाउँदै हुनुहुन्थ्यो। मैले झोलाबाट सारी निकालेँ अनि आमालाइ दिएँ। आमाले चकित भएर मलाइ हेर्नुभयो। म आलिकती मुस्कुराएँ।

“किन फेरि यो?” आमाले हडबडाएर बोल्नुभयो।

“मेरो तलब आयो। पहिलो कमाइले तपाइँलाइ सारी ल्याइदिएको।” मैले भावुक स्वरमा बोलेँ।
आमाले सारी सुमसुम्याउँदै मलाइ एकहोरो हेर्नुभयो। अलिकती मुस्कुराउन खोज्नुभयो तर आँखाबाट आँशु पो निस्कीए।

“आज तेरा बा भएका भए कति खुशी हुन्थे होलान्। कमाउने भएर कोट प्यान्ट किदिन्छु भन्थिस्…।” आमा बोल्दै गर्दा भक्कानिनु भयो। मेरा आँखाबाट पनि आँशु झर्न थाले। म आमालाइ छुँदै छेउमा बसेँ।

“नरुन न आमा! बा’ले तपाइँलाइ…. कहिल्यै रुन नदिनु भन्नु भएको छ।” यति बोल्दै गर्दा मेरो पनि भक्कानो छुटेको थियो। आमाले उस्तै रुँदै मेरा हातमा हात राखेर जोडले पकड्नुभयो।

समाप्त।।

Santosh Basnet

One Comment

  1. Manoj says:

    Heart touching story. Great thanks for the story.

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)