कथा: तँ केही बुझ्दैनस्!

“ओए च्याँसे।”

“के?”

“तेरो भोली बे।” ऊ गलल हाँस्थी।

“फेरी निउ खोज्न आइस् हैन? अहिले खान्छेस् है तैँले।” म उसलाइ आँखा तर्दै गाली गर्थेँ।

“लु त!” ऊ मलाइ प्याट्ट हिर्काउँदै सुरिन्थी।

म उसलाइ हात उज्याएर डर देखाउन खोज्थेँ।

मैले छुँदा पनी नछोइकन ऊ चिच्याएर कराउँथी “आन्टी हेर्नु न! यो च्याँसे मलाइ कुट्न खोज्छ।”

“फेरी झगडा गर्न थाल्यौ तिमारु? कुकुर र बिराला नै रैछौ।” आमा भित्र भान्साबाट कराउनु हुन्थ्यो।

“तपाइँकै छोरो त हो नि। जहिले कुट्न खोज्छ।” ऊ मुख फुलाउँदै बोल्थी।

“तँ च्याखुरी पनि कम्तिकी त छैनस्।” आमा कराउनु हुन्थ्यो।

“मलाइ च्याखुरी नभन्नु भन्दैछु है आन्टी। खुब सिकाएछ यो च्याँसेले।” ऊ मलाइ आँखा तर्दै च्याँठिन्थी।

“च्याखुरी नै भन्नु आमा। यहि नाम सुहाउँछ यसलाइ।” म फुर्किदैँ आमालाइ उकास्थेँ।

रिसले रन्थनिएकी ऊ मलाइ दारा किट्दै तिग्रामा चिमोट्थि। चसक्क दुखेपछी म पनि ऊ माथी झम्टन्थेँ।

ऊ रुन खोज्दै फेरि चिच्याउँथी “आन्टी हेर्नुन! यो फेरी चल्दैछ।”

“कति चलेर मर्दा रैछन् यि छौँडाहरु!” आमा रन्किएर कराउनु हुन्थ्यो। आमाको गाली खाएपछी म उसलाइ आँखा तर्दै हेर्थेँ। ऊ मलाइ निच्च दाँत देखाउँदै हाँस्थी।

“ब्या गर्ने उमेर भै सक्यो। अझै केटाकेटी जस्तो चलेर बस्छन्।” आमा भित्र गनगनाउन थाल्नु हुन्थ्यो।

“एउटा राम्रो केटा खोज्दिनु न त आन्टी, ब्या गरि हाल्छु नि।” ऊ हिल्लरिँदै जिस्किन्थी।

“तैँले त तेरो पोइलाइ पनी कुटेर खेदाउँछेस होला।” आमा हाँस्नु हुन्थ्यो।

“अँ होला खुब!” ऊ मुख तिखार्दै बोल्थी।

“आमा! यसलाइ केटा खोज्नै पर्दैन। यो पोइल जान्छे।” म हाँस्दै ठुलो स्वरमा बोल्थेँ।

“इस् जान्छु च्याँसे! ब्या त झ्याइँझ्याइँ बाजा बजाएर गर्ने हो।” ऊ बटारिँदै मस्किन्थी।

“तँलाइ कुन चाहिँले मन पराउँछ र गर्छेस् ब्या बाजा बजाएर?”

“सबै तँ जस्तै अन्धा हुन्नन् नि! पछी हेर्न कस्तो आउँदो रैछ मलाइ लिन।” ऊ अनुहारमा हातले सुमसुम्याउँदै फुइँ लगाउँथी।

“म भए त सय किलो सुन दिए नि गर्दैन थेँ यस्ती संग बिहे।”

“तँ च्याँसेले गर्न नी परेको छैन नि।” ऊ गम्किन्थी।

“बरु झुन्डेर मर्नु ठिक! यस्तालाइ बिहे गर्नु भन्दा त।” म निच्च हाँसिदिन्थेँ।

“मर तँ च्याँसे।” ऊ मलाइ ड्याम्म हानेर, जुरुक्क उठेर टकटकिँदै घरतिर कुद्थी।


यसरी हरेक दिन जसो हाम्रो झगडा हुने गर्थ्यो। ऊ आउँथी, बाझ्न सुरु गर्थी। जब जित्न सक्दैन थिइ तब टकटकिएर रिसाउँदै घर जान्थी। हामी दुश्मन थियौँ या साथी, त्यो मलाइ थाहा थिएन। हामी एकछिन नभेटी बस्न सक्दैन थियौँं, अनि भेटेपछी झगडा नगर्न पनी। ऊ एकदिन मेरो घरमा आइन भने मेरी आमा उसको खोजी गर्न थाल्नु हुन्थ्यो। म पनी उसको बाटो हेरीरहन्थेँ। सायद आमालाइ संगीताको चकचक मन पर्थ्यो, अनि मलाइ ऊ संग झगडा गर्न।

हाम्रो एसएलसी परिक्षा सकियो। हामी दुबैजना पास भयौँ। अनि एउटै कलेजमा नै पढ्न थाल्यौँ। अझै पनी हाम्रो सम्बन्ध उस्तै थियो। उसैगरी हरेकदिन हाम्रो झगडा हुने गर्थ्यो।

“अब त कलेज पढ्ने भैसक्यौ। तिमारुको केटाकेटीपना कहिले सक्किन्छ हँ?” आमा कराउनु हुन्थ्यो। हामी संग कुनै जवाफ हुँदैन थियो।

कक्षा एघारको सुरुवातमा नै एउटी राम्री केटि आइ हामी संग पढ्न।
उसको नाम ‘अनु’ थियो। उसलाइ देखेर कक्षाका सबै केटा लोभिए। उसको गोरो मिलेको बाटुलो अनुहार, भर्खरै फक्रँदै गरेको उसको शरिर अनि स्ट्रेट गरेको सिल्की कपालमा मेरो पनी मन अल्झियो।

कक्षाका सबै केटा ऊ संग नजिक हुन अनि बोल्न चाहान्थे। त्यही सुचीमा मेरो पनी नाम आउँथ्यो।

“एक्स्ट्रा पेन छ तिमि संग?” एकदिन अकास्मात उसले मलाइ बोलाइ।

“अँ छ त!” मैले हडबडाउँदै बोलेँ।

“मलाइ एकछिन देउन है? मेरो छुटेछ।” उसले मोहक बोलिमा बोलि।

मैले हतारहतार म संग भएको एउटै मात्र कलम उसको हातमा थमाइदिएँ।

म संग अर्को कलम थिएन। एउटा भएको कलम मैले सोच्दै नसोची उसलाइ दिएको थिएँ। केहिबेरमा सरले लेखाउन थालेपछी अरु सबैजना लेख्न थालेका थिए। म भने निहुरिएर लेखेको झैँ गर्दै सरलाइ झुक्याइ मात्र रहेको थिएँ।

मैले नलेखी बसेको संगिताल देखी। अनौठो नजरले मलाइ हेरी अनि आँखा तरि। मैले पनी उसलाइ हेरेर अलिकती हाँसे झैँ गरेँ।

अनुले लगेको कलम फिर्ता गर्दै गर्दा उसले बोलि “तिमि संग अर्को पेन थिएन हो?”

“छ जस्तो लागेको थियो। रहेनछ पो।” मैले घिस्स मुस्कुराउँदै जवाफ दिएँ। ऊ मिलेका दाँत देखाउँदै मिठो हाँसी।

“अब यत्रो छुटेको नोट के गर्छौ?” उसले सोधी।

“चाहिन्न! मलाइ आउँछ सबै।” मैले झुट बोलिदिएँ।

यसरी केहिबेर सम्म हाम्रो कुराकानी भयो। अरु केटाहरुले हामिलाइ इर्स्यालु नजरले हेरे। संगिताले पनी पुलुक्क हेरेर मुख फुलाउँदै हिँडी। म ऊ संग अलिकती भएपनी नजिक हुन पाएकोमा दंग परेको थिएँ।


घर फर्किँदा संगिता बाटोमा भेटिइ। मैले उसलाइ देख्ने बित्तिकै कराइ हालेँ “ओए च्याखुरी! अघी किन आँखा तरेकी?”

“लेख्दा पनी नलेखी बस्। पछि आलु खालास्!” उसले मुख फुलाउँदै बोली।

“तँलाइ के भो त अनी?” मैले नापिएर बोलेँ।

“तेरो टाउको।” ऊ झनै रिसाइ।

“खुब! तेरो छैन नी टाउको, च्याखुरी!”

“भरे आन्टिलाइ भन्दिन्छु।” उसले मुख तिखारेर बोलि।

“के भन्छेस्?”

“एउटी नक्कली संग लागेर पढ्न नि छोड्यो, भन्दिन्छु।” उसले उसै गरी बोलि।

“जा भन्! आँफुलाइ कसैले हेर्दैन भनेर तँलाइ पिर पर्यो होला हैन?” मैले छाती तन्काउँदै बोलेँ।

“कसैले हेर्नु नी परेको छैन मलाइ।” ऊ गम्किँदै बोलि।

“हेर्दैन पनी तँ जस्ती च्याखुरीलाइ।” मैले ओठ लेपारेँ।

“पछि हेर्लास्! कस्तोले लान्छ मलाइ।” उसले फुइँ लगाइ।

“हेरौँला।” मैले गिज्याएँ उसलाइ।

दिनहरु यसरी नै बित्दै गए। संगिता र मेरो झगडा कहिल्यै रोकिएन। अनु भने म संग दिनानुदिन नजिक हुँदै गइ। कलेजमा ‘हामी प्रेममा छौँ’ भनेर अलिअली हल्ला पनी चल्न थाल्यो। तर त्यो सत्य थिएन। मैले चाहेर पनी कहिल्यै उसलाइ प्रस्ताब राख्ने आँट गर्न सकेको थिइन। उसका धेरै साथी थिएनन्। त्यसैले म संग नै धेरै बोल्थी अनि बस्थी। हल्ला गर्नेहरुलाइ त्यहाँ भन्दा बढी के नै चाहियो र! हल्ला फैलिन थाल्यो गाइँगुइँ गरेर।

“त्यो नक्कलीले तेरी आमालाइ खाना पकाएर दिन्न।” संगिताले एकदिन मुख फुलाउँदै बोलि।

“को नक्कलीले?” मैले बोलिहालेँ।

“त्यही नक्कली नि। तेरि नक्कली। कलेजमा त खुब गाँसिन्छौ त।” उसले मुख लेपार्दै बोली।

“गाँसिन्छु त अनि। तँलाइ के भो? कि जलन भयो?”

“के खान मलाइ जलन हुनु? तँ च्याँसे जो सुकै संग जे सुकै गर् नी।” उसले केहि सानो स्वरमा बोलि।

“अनि के खान बाठि हुनु त?”

“आन्टीको माया लागेर नी। त्यस्ति नक्कलीले पाल्दिन आन्टिलाइ।” उसले भारी स्वरमा बोली।

“तँ पाल्नु नी त उसो भए।” मैले प्याच्च बोलेँ।

“म को हो र पाल्नु? तेरी बुढीले पाल्छे नि।” उसको स्वर केहि भावुक सुनियो।

“कोही नभएनी पाल्देन। खुब चिन्ता लाग्दैछ क्यारे तँलाइ मेरी आमाको।” मैले जिस्काउँदै बोलेँ।

“बिहे गर्न त मलाइ। म पाल्दिउँला।” उसले प्याच्च बोलि। बोल्ने बित्तिकै उसको अनुहार रातो भयो। म पनि झस्किएँ।

“छी! तँ च्याखुरी संग कसले बिहे गर्छ?” मैले उसलाइ हेर्दापनी नहेरी बोलेँ।

“त्यही नक्कली संग गरेर मर्न त अनी।” उसले पुलुक्क मलाइ हेरेर बोलि।

“गर्छु त अनि। तँ भन्दा सय गुणा राम्री छे त्यो।” म उसलाइ झनै चिड्याउन थालेँ।

“जे सुकै गर्। मरे पनि मर्। च्याँसे!” ऊ रन्थनिँदै फतफताइ।

“म मरे त खुशी हुन्थिस् होला हैन च्याखुरी?” मैले उसलाइ आँखा तर्दै सोधेँ।

“हुन्छु त अनि।” उसले मुख फुलाउँदै बोली।

“म मरेँ भने को संग बाझ्छेस् फेरी? म संग झगडा नगरी त तँलाइ खान नि रुच्दैन होला।” म फिस्स हाँसे।

“रहर छैन मलाइ तँ संग बाझ्ने।”

“अनी किन सँधै बाझ्न आउँछेस् त?”
“तैँ च्याँसे त होस् नी सधैँ सुरु गर्ने। अब देखी आउँदिन पनी।” उसले उस्तै फुलेको मुख बनाएर बोलि।

“नआइज पनी। ढुक्क हुन्छ मलाइ नी।” मैले उसलाइ हेर्दै बोलेँ।

“आउन पनी छैन।” ऊ फन्किएर बोल्दै उठि अनि घरतिर लागी। उसले फर्किएर पछाडी पनी हेरिन।

भोली पल्ट घरमा मामा आउनु भयो। मेरो ध्यान मामामा भन्दा बढी उहाँको नयाँ मोटरसाइकलमा थियो। मेरो मनमा, त्यो मोटर साइकल लिएर अनुलाइ भेट्न जाने रहर पलायो। म मामाको नजिक गएँ अनी टाउको कन्याउँदै बोलेँ “मामा! एकछिन मोटरसाइकल कुदाउन दिनुस् न।”

“कुदाउन त आउँछ?” मामाले पुलुक्क मलाइ हेरेर सोध्नुभो।

“अँ आउँछ। साथीको कुदाएको छु धेरै।” मैले अलिकती झुट मिसाएर बोलेँ।

“लड्लाउ। होस् गर।” मलाइ चाबी दिँदै मामाले बोल्नुभयो।

म फुर्किँदै गएर मोटरसाइकल स्टार्ट गरेँ। तेश्रो पटकको कोशिसमा मात्र मोटरसाइकल अगाडी बढ्यो। मैले रफ्तार बढाएँ। मलाइ मैले मोटरसाइकल कुदाएको अनुलाइ देखाउनु थियो। मैले अनुलाइ सम्झँदा मात्र पनी मलाइ काउकुती लागेर आयो। म मुस्कुराउँदै मोटरसाइकल हुँइकाइ रहेँं।

चौबाटोमा अर्को बाटो बाट एउटा ट्रक आयो। सिकारु म ट्रक देखेर तर्सिएँ। मैले झ्याम्म ब्रेक दबाएँ। मोटरसाइकल चिप्लियो। म ढुँगे बाटोमा बजारीएँ। मोटरसाइकल सोरिएर पर पुग्यो। म चोटले रन्थनिएँ। उठ्न खोजेँ तर एउटा खुट्टा टेक्नै सकिन। हात अनी निधारबाट पनी रगत बग्न थाल्यो। म आतिएँ। दुखाइ अनि मामा र आमाको डरले मेरो मुटु काप्यो।

एक हुल मान्छे म भए तिर कुदेर आए। मलाइ अनि लडेर कुच्चिएको मोटरसाइकल पनी उठाए। मलाइ केहि बोल्न आएन। दुखाइले रन्थनिएको म थरथर कापी मात्र रहेँ।

ढिला नगरी उनिहरुले मलाइ अस्पताल पुर्याए। म संग घरको नम्बर मागेर आमालाइ फोन पनी गरिदिए।

धन्न! धेरै ठुलो चोट लागेको रहेनछ। खुट्टा पनी भाँचिएनछ। थाहा पाएर मेरो सास आयो।

“नजान्ने मान्छेले किन मोटरसाइकल लिएर हिँड्नु? धन्न बाँचिस्!” आमाले गाली गर्नु भयो।

मैले केहि बोलीन। रुञ्चे अनुहार लगाएर पुलुक्क आमालाइ हेरेँ मात्र। मेरो हालत देखेर आमाले पनी धेरै गाली गर्नु भएन। मामा अँध्यारो अनुहार बनाएर टुलुटुलु मलाइ हेरी मात्र रहनुभयो।

केहिबेरमा नै हस्याङ फस्याङ गर्दै संगिता आइपुगी। म उसलाइ देखेर हाँस्न खोजेँ तर सुन्निएका ओठ दुखेर राम्ररी हाँस्न पनी सकिन। ऊ मेरो बेड नजिकै आएर उभिइ अनी एकोहोरो मलाइ हेरी। उसका आँखामा आज म प्रती कुनै रिस थिएन। उसको अनुहार डरले आत्तिएको झैँ देखिन्थ्यो। म उसको यस्तो रुप देखेर चकित भएको थिएँ।

“केके भएछ आन्टी?” उसले आमालाइ सोधिहाली।

“केहि भाको छैन धेरै। अलिअली चोट मात्र हो।” आमाले जवाफ दिनुभो। उसको अनुहार अलिकती उज्यालो भयो। उसले थप केहि बोलिन। एकहोरो मलाइ हेरिरही। मैले ऊ संग आँखा जुधाउन सकिन। नजर अन्तै मोडिदिएँ।

मामा र आमा बाहिर निस्कनु भए लगत्तै संगिता मेरो छेउमा आइ।

“च्याँसे! धन्न केहि भएनछ।” ऊ बेड छेउको टुलमा बस्दै बोलि।

“तेरो श्राप लागेको।” मैले बिस्तारै बोलेँ।

“जे पायो त्यही नबोल्।” उसले मुख फुलाइ।

“हिजो मर भनेकी हैनस?” मैले उसलाइ हेरेर बोलेँ।

उसको अनुहार झन् कालो भयो। आँखा रसिला देखीए। उसले केहि बोलिन। घोसे मुन्टो लगाइ।

“मरेको भए त आनन्द हुन्थ्यो होला है?” मैले फेरि बोलेँ।

“नकरा भन्दैछु झन्!” ऊ रुन थाली।

“हिजो तैँले नै भनेकी हैनस्?”

“तँ च्याँसे केहि बुझ्दैनस्।” ऊ आँखा पुछ्दै बोलि।

“के बुझीन मैले?” मैले उसलाइ हेरेर बोलेँ।

“केही पनी बुझ्दैनस्। मुखले बोलेको मात्र सुन्छस्, मनमा के होला कहिले महसुस गर्दैनस्।” ऊ सुँकसुँकाउँदै बोली।

“के थियो त तेरो मनमा त्यसोभए?” मैले सोधेँ।

“माया।” उसले घोसे मुन्टो लगाएर बिस्तारै बोलि।

“कस्तो माया हौ, कसका लागी?” मैले जिस्काए झैँ मुस्कुराउँदै सोधेँ।

“तँ च्याँसेका लागी!” उसले कामेको स्वरमा बोलि।

म अलमलिएँ। केहि बोल्न आएन। उसको अनुहारमा हेर्न पनी सकीन।

“तर तँ कहिले बुझ्दैनस्। तँ मैले गरेको झगडा मात्र देख्छस्, त्यसै भित्र लुकेको माया देख्दैनस् कहिल्यै।” ऊ बरबराइ। उसका आँखाबाट फेरी आँशु चुहिए।

म उसका आँशु संगै पग्लिएँ। मलाइ उसलाइ अंगालोमा कसेर माफी माग्न मन लागेर आयो। तर देखाउन भने सकिन। म केहि नाबोली चुपचाप उसलाइ हेरि मात्र रहें।

“अनी तेरी नक्कलिलाइ सुनाउँदैनस्?” केहीबेरमा उसले आँशु पुछेर बोली।

“किन सुनाउनु परो?” मैले लगत्तै जवाफ फर्काएँ।

“भेट्न आउँछे होला नी त माया गर्ने मान्छेलाइ।” ऊ अलिकती मुस्कुराइ।

“नकरा है च्याखुरी!” मैले उसलाइ आँखा तरेँ।

“कि म सुनाइदिम्?” उसले मुख तिखारेर बोलि।

“पर्दैन सुनाउन।”

“किन हौ, त्यती माया गर्ने मान्छेलाइ नि सुनाउँदैनस्?” ऊ मलाइ जिस्काउन थाली।

“तँलाइ सौता हाल्न मन छ हो?” मैले प्याच्च बोलेँ।

“के अरे?” उसले हाँस्दै सोधी।

“केहि हैन। तँं आँफै बुझ्! तँ त मनको कुरा बुझ्छेस् क्यारे।” म हाँसिदिएँ।

उसको अनुहार उज्यालो भयो। ऊ मुसुक्क मुस्कुराइ। भर्खरै रोएका आँखाहरु फेरी चम्किला देखिए। मैले एकहोरो उसको अनुहारमा हेरिरहेँ। हो त्यहि पल मेरो नजरले उसलाइ पहिलो पल्ट त्यति सुन्दर देखेको थियो।

अरु भाग क्रमश आउँदै जानेछन्।

लेखक :- सन्तोष बस्नेत

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)