कथा: क्याफे प्रेम

पढाइलाइ बिचमा नै छोडेर म काठमान्डौंमा नै एउटा सानो जागिर गर्दै बसेको थिएँ। उनी पनि आफ्नी दिदी संग काठमान्डौँमा नै बसेर अध्यन गर्थिन्। उनको कलेज मेरो कोठा देखि मात्र दस मिनेट टाढा थियो। कलेज नजिकै कोठा भएको ले उनी कलेज आउँदा हरेक दिन जस्तो हाम्रो भेट हुन्थ्यो। उनी बिहानै फोन गर्थिन् अनि भन्थिन “म हिड्न लागेको, क्याफेमा आउनु न चिया पिउनु पर्छ।”

उनको कलेज र मेरो कोठाको बिचमा एउटा क्याफे थियो। जहाँ हामी हरेक दिन भेट्ने अनि चिया पिउँदै गफ गर्दै बस्ने गर्थ्यौं। उनको कलेज बिहान साढे छ बजे बाट सुरु हुने भए पनि कहिलेकाहीँ त हामी गफ गर्दा गर्दै सात बजेको पत्तो हुदैन थ्यो। यसरी कति पटक उनको क्लास हरु पनि छुट्ने गर्थे। हरेक दिन त्यो क्याफेमा जाने अनि चिया पिउंदै बस्ने भएकोले हाम्रो सम्बन्ध त्यो क्याफेका दाजु भाउजू संग एकदमै घनिष्ठ भएको थियो। त्यसैले म दिनमा एक्लै हुँदा पनि त्यहि क्याफेमा गएर चिया पिउदै त्यहाका दाजु संग गफ गरेर समय बिताउने गर्थें।

लामो समय सम्म यहि क्रम चली रह्यो। हामी दुइको प्रेम यति गहिरो भएको थियो कि, अब एक अर्का बिना जीवनको अर्थ नै छैन जस्तो लाग्थ्यो।
एकदिन बेलुका पख उनले फोन गरिन् अनि रुन्चे बोलिमा भनिन् “घर बाट ड्याडिले फोन गर्नु भएको थियो, मेरो बिहे गरि दिने रे यहि माघमा।”
उनको कुरा सुनेर मेरो मुटुमा झिर रोपिएको जस्तो महसुस भयो। आत्तिदै सोधें “अनि के भन्यौ त? को संग गर्दिने भन्नू भाको ?”

उनले मधुरो स्वरमा सुनाइन् “मैले केही बोल्न नै सकिन…. अमेरिका बाट आउने रे, सबै कुरा भैसकेको रैछ, मेरो फोटो पनि हेरेर मन पराको रे, अब दस दिन पछि आउने अरे केटा अनि केही दिनमा नै बिहे गर्ने कुरा रहेछ।”
मलाइ रिंगटा चल्छ झै भयो, मुटु नै बाहिर निस्किन्छ कि जस्तो गरेर ढकढक गर्न थाल्यो। आँखामा आँसु टिलपिल भरिए, रिसले कान तातेका थिए। मैले उनी संगै रिस पोखें “अमेरिकाको केटा भएर होला हैन केही बोल्न नसकेको ड्याडि संग ?”

यो सुनेपछि उनले झनै रुन्चे स्वरमा भनिन् “अरे….? के भन्नू भएको बुढा त्यस्तो? आइ लभ यु ….. ।”
मेरो रिसको पारो अझै घटेको थिएन। फन्किदै भने ” जे सुन्यौ त्यही भनेको, जाउन बिहे गर अनि उसैलाइ भन लभ यु, सभ यु।”
मेरो यस्तो रुखो बोली पहिलो पल्ट सुनेर होला उनी रुन थालिन् अनि भनिन् “यसरी नरिसाउनु न प्लिज, भोलि क्याफेमा भेट्नु अनि बुझाउछु सबै….. ।”
मैले रिसाउदै “आउदिन क्याफे स्याफे” भन्दै फोन राखी दिएँ।
फोन राखे पछि ओछ्यानमा पल्टेर सोच्न थालेँ। उनको केही गल्ती नभइ उनि संग त्यस्तो रुखो बोलेर रुवाएकोमा पछुतो लाग्यो। फोन गरेर माफ मागौं कि जस्तो लाग्यो तर फेरि सोचेँ “भोलि क्याफेमा नै भेटेर सम्झाउछु” भनेर।

भोलिपल्ट बिहान क्याफेमा पुगेँ। उनी पहिले नै त्यहा पर्खेर बसेकी थिइन्। म गएर उनको छेउको कुर्सिमा बसें। उनको अनुहार निरसाले भरिएको अनि अध्यारो देखिन्थ्यो। मैले उनको हात समाएर सोधें ” के भयो सानु ? किन यस्तो निरास? म संग अझै रिसाइ राखेको?”
उनले सानो स्वरमा भनिन् “रिसाएको छैन हजुर संग। खै मैले केही बुझ्न नै सकेको छैन। अब के गर्ने के नगर्ने भनेर।”
मैले बुझिन उनको कुरा अनि सोधे “कस्तो के गर्ने के नगर्ने ?”
उनले प्रस्ट्याउदै भनिन् “ड्याडी भन्नू हुन्छ अर्को हप्ता घर जानू रे, अनि केही दिनमा नै केटा आएपछि बिहे गर्नु पर्ने रे। सबै कुरा भइ सकेको रहेछ। मैले अब के भन्नू के नभन्नु सोच्न सकेको छैन।”

मैले केही कडा स्वरमा भनेँ “ड्याडिले भनेर मात्र हुन्छ त ? तिम्रो पनि त कुरा सुन्न परो नि।”
उनले निन्याउरो अनुहार पारेर म पटि हेर्दै भनिन् “ड्याडिलाइ म नाइ भन्न नै सक्दिन। बिचरा कति दुख गरेर मलाइ यहा पढाउदै हुनु हुन्छ। कसरी ड्याड्का कुरा काट्नु?”
मलाइ उनको कुरा चित्त बुझेन। उनले मात्र आफ्नो पिता प्रती सहानुभूति देखाउदै थिइन्। अनि मैले केही रिसाउदै बोलेँ “के त्यसो भए त्यही केटा संग नै बिहे गर्ने निर्णय गरेको?”
उनले फेरि अँध्यारो अनुहार पारिन् अनि भनिन् ” मैले बिहे गर्ने निर्णय गरें भनेर भनेको छु र?”

मैले केही सान्त स्वरमा भनेँ “त्यसो भए हामि भागेर बिहे गरौं न त अनि बाकी कुरा हुँदै गर्छ। भोलि नै भागी दिउँ।”
उनि केही बेर चुप बसिन् अनि भनिन् “भागेर बिहे गरेर मात्र हुन्छ त? हजुरको कमाइले अहिले हजुरलाइ त बाँच्न गाह्रो पर्छ अनि मलाइ कसरी पाल्नु हुन्छ?”
मलाइ उनको जवाफ मन परेन। भएको जम्मा त्यहि एउटा उपाय थियो त्यसमा पनि उनले खोट देखाउंदा रिस उठेर आयो। मैले झर्किदै भने “मैले पाल्न सक्दिन भने जाउ नत त्यही पाल्न सक्ने संग बिहे गर। म संग किन नाटक गरि रहनु। सोझै भनन त्यसै संग बिहे गर्ने मन छ भनेर।”
मेरो रुखो जवाफ सुने पछि अनुहार कालो पारेर ठूलो स्वरमा भनिन् “हो हो त्यसै संग बिहे गर्ने मन छ। अब भयो ? मैले के भन्दै छु बुझ्न खोज्नु छैन…… ।”
म जुरुक्क उठेँ अनि भनेँ “भयो पुग्यो… भागेर बिहे गरौं भन्दा नि नमाने जाउ त्यसै संग गर बिहे।”
उनी केही बोल्न खोज्दै थिइन्। म केही नसुनी फन्किदै त्यहां बाट निस्किएं। क्याफेकी भाउजू टुलुटुलु म तिर हेरि रहिन्।
केही पर पुग्ने बित्तिकै मोबाइलमा म्यासेज आयो। लेखेको थियो “भरे बेलुका क्याफे आउनु, कुरा बांकी छ।”
मलाइ रिस उठ्यो। सोचें “म संग भागेर बिहे नगर्ने भए पछि अब के बिहेको कार्ड लिन जानू भरे ?”
मोबाइल अफ गरि दिएं अनि सरासर कोठा गएर साथीलाई भनेँ “म घर जान्छु यार आज नै, कसैले मेरो बारेमा सोध्यो भने पोखरा गएको छ भन्दिनु।”
साथिले बुझे झैं टाउको हल्लायो।
मैले काम गर्ने अफिसको बोसलाई पनि फोन गरें अनि भने “सर, आमा बिरामी हुनु हुन्छ रे, घर जानू पर्ने भयो। बीस दिन पछि आउंछु।”
जति सक्दो चांडै फर्कनु भन्दै मन्जुरी दियो बोसले पनि।
मोबाइल बाट सिम निकालें अनि टोकेर फाली दिएं। झोलामा केही कपडा हालेर लागें घर तिर।

गाडिमा रातभर उनको सम्झना आइ रह्यो। ती पुराना पलहरु आंखामा झलझल्ती घुमी रहे। कति खेर आँखा बाट आँसु बग्यो पत्तै भएन । बिहान घर पुगें। खबरै नगरी घर आएकोमा सबै अचम्मित थिए।
केही बेर पछि उनलाइ फोन गर्न मन लाग्यो। घरको ल्यान्ड्लाइन फोन छेउमा गएं। फेरि सोचेँ “अब फोन गरेर नै के अर्थ छ र ? त्यही केटा संग बिहे गर्दा नै उनी धेरै खुशी हुनेछिन। फेरि उनैले भनेकी हुन कि, म उनलाइ पाल्न सक्षम पनि छैन भनेर।” यस्तै सोचेर गरिन फोन । घर बाट बाहिर निस्किएँ। अनि एउटा साथी लाई लिएर भट्टी तिर गएं। घन्टौं सम्म रक्सी पिएर मातेर घर फर्किए। आमा बुबाले मलाइ कहिले यस्तो हालमा देख्नु भएको थिएन। आमा रुन थाल्नु भयो अनि बुबा गाली गर्न। म चुपचाप कोठामा पसेर सुति दिएं। रक्सिले बेहोस भएको भएर उनको याद आएन। यसरी नै केही दिन सम्म यहि क्रम चली रह्यो। आमा बुबा मेरो यो हालत देखेर आजित हुनु भएको थियो।
लगभग पांच दिन पछि रक्सी पिएको नै बेला उनलाइ फोन लगाउन खोजें। तर उनको फोन अफ थियो। त्यस पछि अर्को पटक कोसिस पनि गरिन।

यसरी हरेक दिन रक्सिको नसामा लठ्ठ भएर नै बीस दिन कटि सकेछ। आमा बुबा संग बिदा मागेर फर्किए काठमान्डौं।काठमान्डौं पुगे पछी कोठामा नगइकन पहिले क्याफे पस्न मन लाग्यो। सरासर क्याफे तिर गएं अनि एउटा टुल तानेर बसें झोला भुइंमा फ्यालेर। क्याफेकी भाउजुको नजर म मा परि हाल्यो। उनी हतारिदै मेरो नजिक आइन् अनि भनिन् “अरे बाबू! कता हराउनु भएको थियो हजुर?”मैले सानो स्वरमा भने “घर गएको थिएं भाउजू, आमा बिरामी भएर।”

उनले अचम्मित हुँदै भनिन “घर रे ? रमेशले त पोखरा भन्थ्यो त?”
मैले भने “हैन भाउजू, घर नै गाको थिए।”
उनले अँध्यारो अनुहार बनाएर मलाइ केही बेर हेरि रहिन् अनि मधुरो स्वरमा भनिन् ” सानू को त बिहे भएछ, थाहा पाउनु भयो नि ?”
मलाइ झट्का लाग्यो। उनको बिहे भै सक्यो होला भनेर मैले त सोचेको पनि रहेनछु। त्यही मुर्छा पर्छु कि जस्तो भयो। आँखा भरिए आंशुले। ओरिपरी सबै मधुरो देख्न थालेँ। टेबल को जग तानेर मुखै गाडेर पानी पिएं अनि आफुलाइ जबर्जस्ति सम्हाल्दै भने ” ठिकै छ नि भाउजू, उनी नै त्यही चाहन्थिन् त । मैले त भागेर बिहे गरौं पनि भनेको तर पाल्न सक्दैनस् भनिन् ।”
भाउजुले केही रिसाए जस्तो अनि केही चिन्तित जस्तो अनुहार पार्दै भनिन् “उनी त्यही चाहान्थिन् रे? हजुरलाइ थाहा छ ? ..त्यो दिन बेलुका उनी सबै कपडा हरु लिएर आएकी थिइन् हजुर संग भागेर बिहे गर्न। “हजुरलाइ म्यासेज गरेको छ, आउनु हुन्छ” भन्दै कुरि रहिन रात परुन्जेल। त्यो दिन तपाईं आउनु भएन अनि झोला यहिँ छोडेर कोठा फर्किइन्। अर्को दिन आएर हजुरको कोठामा गएर रमेशलाइ पनि सोधिन्। उस्ले पोखरा जानू भएको भनेछ। कति फोन गर्दा लागेन। पांच दिन सम्म म संग आउदै रुदैं गरिन् दिनभर। अनि पांचौ दिन दाजु लिन आएका रहेछन र लिएर गएछन्। अस्तिको दिन उनकी एउटि साथिले भन्दै थिन्, बिहे भयो रे यहि बीस गते……।”

भाउजुका कुरा सुन्दै गर्दा मेरा आँखा बाट आंशुका धाराहरु बगि रहेका थिए l

हरेक दिन जस्तै त्यो दिन पनि म क्याफे पुगें अनि चिया र चुरोट मगाएं। एउटा चुरोट सकिने बित्तिकै अर्को चुरोट सल्काएं। क्याफेकी भाउजुले रिसाउंदै भनिन् “कति चुरोट पिउनु भएको बाबू? तपाइंको त फोक्सो जलि सक्यो होला!”

मैले चुरोटको धुंवालाई फुक्दै भने “फोक्सो मात्र हैन भाउजू मेरो मुटु जलि रहेछ। हरेक पल म आफैं जल्दै छु पस्चतापको आगोमा।”

भाउजुले अँध्यारो अनुहार बनाइन् अनि सम्झाउदै भनिन् “भयो बाबू भुली दिनुस अब। जे नहुनु भै सक्यो….. बिहे भै सकेकी उनी अब कहिले फर्केर आउदिनन्। तपाई आफुलाइ सताउन छोडी दिनुस्।”

मेरा आँखाभरी आँसु भरिए। हातले आँखा पुछ्दै लामो सास तानेर भनेँ “कसरी भुलौं भाउजू ? हरेक कुराले उनकै याद दिलाउंछ। यहा आएर चिया पिउंदै गर्दा पनि घरि-घरी त लाग्छ उनी पनि मेरै छेउमा बसेकी छिन्। फर्केर हेर्दा उनलाइ देख्दिन अनि रुन मन लाग्छ।”

मैले बोल्दै गर्दा भाउजुका आंखामा पनि आँसु टिलपिल भइ सकेका थिए। उनले सानो स्वरमा भनिन् “अब सम्झेर के नै हुन्छ र …. ?”
म केही बेर सम्म मौन बसेर चुरोटको धुंवा उडाइ रहें। दोश्रो चुरोट पनि सकियो अनि तेस्रो सल्काउदै भने “सब मेरै कारणले भयो भाउजू। कुरै नबुझी म आबेगमा आएर यस्तो भयो। उनको आंशुको मलाइ पाप लाग्ने छ भाउजू।”
यति बोली नसक्दै मलाइ भक्कानो छुटेर आयो। बर्खे झरी झैं आँखाबाट आँसु बग्न थाले। भाउजू केही नबोली मलाई टुलुटुलु हेरि रहिन्। म जुरुक्क उठेर भाउजुलाइ “जान्छु है” भन्दै बाहिर निस्किए आँसु पुछ्दै।

कोठा जाँदै गर्दा एउटा रक्सिको बोतल अनि दुई बट्टा चुरोट लिएर गएं। पुग्ने बित्तिकै बोतल खोलेर पिउन थालें। नसा चड्दै जांदा उनको झनै याद बढ्न थाल्यो। मोबाइल निकालेर ग्यालरी खोलें। त्यहा उनको एउटा तस्बिर थियो मलाइ अस्याध्यै मन पर्ने। उनले रातो सारी लगाएकी थिइन् त्यसमा। त्यो तस्बिर मलाइ फेसबुकमा पठाएकी थिइन् उनले। उनले तस्बिर पठाउने बित्तिकै मैले म्यासेजमा भनेको थिएं “आहा सानू, कति सुहाएको तिमिलाइ सारिले। बेहुली जस्तै देखियौ।”
उनले हांसेको स्माइली संगै लेखेकी थिइन् “बेहुली त हुं नि म हजुरकी।”

मैले चुम्बन वाला स्टिकर पठाएर फेरि लेखेको थिएं “मलाइ सांच्चिकै तिमिलाइ बेहुली बनाइ हाल्न मन लाग्यो सानू।”

उनले हांसेको स्टिकर पठाउदै लेखेकी थिइन् “अब केही बर्ष पछि है बुढा? अनि थाहा छ यो सारी त दिदिको पो त।”
मैले जवाफमा लेखेको थिएं “पछि म यस्तै सारी किन्दिन्छु है मेरि सानुलाइ?”

उनले खुशी भएको स्माइली संगै लेखेकी थिइन् “हवस बुढा।”
त्यो फोटो हेर्दै ती पललाइ सम्झिदा मलाइ भक्कानो छुटेर आयो । बौलाहा झैं रुदै बोलेँ “माफ गर सानू, तिमिलाइ रातो सारिमा सजाएर बेहुली बनाउने मेरो बाचा पूरा गरिन मैले।”
पानी पनि नमिसाएको रक्सिको घुट्काले छाती जलाउंदै र चुरोटको धुंवा उडाउदै दिनभर उनैलाइ सम्झेर रोइ रहें पागल झैं। राती पनि पटक्कै निन्द्रा लागेन। झलझली आंखामा उनको तस्बिर आइ रह्यो । कति खेर उज्यालो हुन्छ अनि क्याफेमा पुगौं भनेर बेचैन भै रह्यो मन।

बिहान उज्यालो नभै म क्याफेमा पुगें। त्यहा काम गर्ने भाइले चिया ल्याएर दियो। मैले गोजिबाट चुरोट निकालेर सल्काएं। भाउजुको नजर म मा पर्ने बित्तिकै मेरो नजिकै आएर एउटा टुल तानेर बसिन् अनि सानो स्वरमा भनिन् “सानुले मलाइ फोन गरेकी थिइन्।”

सानुको फोन आएको भनेर सुन्ने बित्तिकै मेरो मन उकुसमुकुस भएर आयो। प्रश्न नै प्रश्न उब्जिए मनमा तर केही सोध्नै सकिन। आंशुले भरिएका नजरले मैले भाउजुको अनुहारमा हेरें। भाउजुले सायद मेरो आंखाले सोधी रहेका प्रस्न हरु बुझिन्। अनि बोलिन् “तपाइको नै बारेमा सोध्दै थिइन् उनी। उनले त हजुरलाइ नसुनाउनु भनेकी थिइन्….।”
मैले हतारिदै सोधे “के सोध्दै थिइन् भाउजू?”
भाउजुले थपिन “हजुरलाई कस्तो छ? क्याफे आउनु हुन्छ कि हुदैन…. अनि खुशी हुनुहुन्छ कि हुइन्?….. यस्तै त हो नि।”
भाउजुले सुनाउदै गर्दा मेरो मुटु फुट्ला झै चर्की रहेको थियो। आशुले केही देख्न छोडी सकेको थिएं। मैले रुंदै सोधे “हजुरले के भन्नू भयो त?”

भाउजू लामो सास फेर्दै बोलिन् “मैले जे देख्या छु त्यही भने नि बाबू। उनले रुंदै फोन काटिन् त्यसपछी।”
भाउजुका कुरा सुनेर मेरो दिमाग पुरै शून्य भै सकेको थियो। अकमकिदै सोधें “अमेरिका लगेनछ उनको श्रीमानले?”
भाउजुले जवाफ दिइन् “श्रीमान त फर्की सके रे अमेरिका, केही महिना पछि उस्लाइ नि बोलाउंछन् रे उतै।”
लामो सास फेरें अनि आँसु पुछ्दै भने “भाउजू मलाइ उनको नम्बर दिनु न प्लिज।”
भाउजू अन्कनाउदै बोलिन् “नदिनु भनेको छ।”
मैले जिद्दी गर्दै भने “प्लिज भाउजू दिनुन। एक पटक बोल्न छ उनी संग। अनि माफ माग्नु छ।”
मेरो जिद्दिको अगाडि भाउजू हार खाइन अनि नम्बर सुनाइन्। मैले नम्बर सेभ गरें मोबाइलमा अनि भाउजू संग बिदा मागेर कोठा फर्किए।

कोठामा पुग्ने बित्तिकै उनलाइ फोन गर्न मन लाग्यो तर उनी संग बोल्ने हिम्मत आएन। पलङ मुनि बाट रक्सिको बोत्तल निकाले अनि पिउन थालें। केही नसा चडेपछि उनलाइ फोन लगाएं। मेरो फोन नम्बर परिवर्तन भएको कारण उनले म हुं भनेर थाहा पाइनन् त्यसैले फोन उठाइन्। उता बाट आवाज आयो “हेलो…..”

उनको बोली सुन्ने बित्तिकै रुन मन लाग्यो डाको छोडेर। तर सम्हालें आफुलाइ जबर्जस्ति अनि सानो स्वरमा भने “के छ खबर… ?”
उनले मेरो आवाज चिनिहालिन्। उनी केही बोलिनन्। मैले फेरि रुन्चे स्वरमा भने “बोलन सानु! बोल्न त हुन्छ नि……।”
उनले निराश स्वरमा भनिन् “किन फोन गर्नु भएको?”
मलाइ केही बोल्न आएन। आँखा भरी आँसु भरिए। मैले भक्कानिएर रुदैं भने “तिम्रो याद आयो…….. सान्!”
उनले रुन्चे स्वरमा भनिन् “अरे किन रुनु भएको? नरुनन प्लिज।”
मैले बोल्नै सकिन । मात्र रोइ रहें डाको छोडेर। केही छिनमा नै उनी पनि रोएको आवाज आयो। उनी रोएको सुनेर मुटु नै बन्द हुन्छ कि झैं भयो। झनै रोइ दिएं म अनि उनी पनि डाको छोडेर नै रुन थालिन्। हामी दुबैले केही बोल्न सकेनौ। मैले फोन काटी दिएं अनि रोइ रहें पागल झैं……..।
रक्सिको बोतल रित्तो भैसकेको थियो अनि सायद आंखामा आँसु पनि रित्ती सकेका थिए। मन रोइ रहेको थियो, म बरबराइ राखेको थिएं। तर आंखाबाट आँसु भने बगेका थिएनन्। अचनाक मलाइ उल्टि हुन खोज्यो, सायद रक्सी बढी भएर होला। म उठेर लर्बराउदै बाथरुम पुगें। थुचुक्क भुइमा नै बसेर उल्टि गर्न खोजें तर आएन। म हात टेकेर मुस्किलले माथी उठेँ अनि भित्ताको ऐनामा आफुलाइ हेरें। मेरा आँखा लाल गेडि जस्तै राता भएका थिए। कपाल अनि दाह्री बढेर म पागल झैं देखिएको थिएँ। ऐनामा आफुलाइ नियाल्दै पुराना दिन सम्झिन थालें।

उनलाइ मेरो दारी लामो भएको पटक्कै मन पर्दैन थियो। एकपटक सनिबारको दिन उनी बिहानै मेरो कोठामा आइपुगेकि थिइन। ढोका ढक-ढक गरेको सुने पछि सायद साथी रमेश गांउबाट फर्कियो होला भन्ने सोच्दै म ढोका खोल्न उठेको थिएं। ढोका खोले पछि मात्र थाहा भयो उनी आएकी रहेछिन् भनेर। खबरै नगरी बिहानै आइ पुगेकिले म अचम्मित भएं। मैले केही बोल्न नपाइकन उनी मेरो अंगालोमा टांसिइन्। मैले पनि उनको कम्मरमा हात पुर्याएं अनि उनका ओठहरु तिर मेरा ओठ लम्क्याए। उनको ओठमा मैले स्पर्श गर्ने बित्तिकै उनले आफ्नो टाउको पछाडी ढल्काइन। मैले उनको कम्मर बाट हात हटाएर उनको गर्धन पकड्दै आफू तिर तान्न खोजें। तर उनले रिसाए झैं गर्दै बोलिन् “परेको छैन मलाइ माया गर्न, यति लामा दाह्री पाल्ने मान्छेले।”

उनको कुरा सुनेर मैले फिस्स हांसी दिएं । म हांसे पछि उनी झनै रिसाए झैँ मलाइ आँखा तर्दै मेरो अंगालो बाट छुटेर पलङको कुनामा गएर बसिन्।

म पनि गएर उनको छेउमा टांसिएर हांस्दै भने “भ्याएको छैन नि त सानू काट्न, यति कुरामा मुख फुलाउनु पर्छ त?”
उनले मुख लेपार्दै भनिन “खुबै ब्यस्त मान्छे हजुर अनि कहाँ भ्याउनु हुन्छ त, मलाइ मन पर्दैन भन्ने थाहा छ त हजुरलाइ।”
मैले उनलाइ च्याप्प पकडेर आफू तिर तान्दै उनका ओठहरुमा चुमीदिएं। उनी म संग फुत्किन खोज्दै थिइन् तर सकिनन्। मैले नै छोडी दिएँ अनि हांस्दै भने “दारी त हुन्छ त छोरा मान्छेको।”
उनले उसै गरि मुख फुलाउदै भनिन् “ती दारी नकाटे सम्म मलाइ छुन नि पर्दैन, घोच्यो मात्रै सबै…।”

मैले उनलाइ जिस्काउदै भने “नरिसाउन सानू, बरु चिया बनाइ देउन प्लिज।”
उनले मेरो हात पकडेर मेरो अनुहारमा हेर्दै भनिन् “म चिया बनाउछु। तर त्यति बेला सम्म हजुरले दारी काटेको हुनु पर्छ।”
मैले उनी संग हार खांदै भने “हवस मेरि मालिक्नी, हजुरको जो आज्ञा।”
उनी हांस्दै उठेर किचन तिर लागिन।
मैले बाथरुम बाट दारी काटेर फर्किए लगत्तै उनी हातमा दुई कप चिया बोकेर आइ पुगिन। मलाइ हेरेर मुस्कुराउंदै चिया पलङ छेउको टेबलमा राखिन अनि मेरो अंगालोमा आएर टांसिइन्। मैले पनि उनको अनुहार हेर्दै मुस्कुराइ दिएं। उनले खुशी हुँदै भनिन “अहिले त हिरो हुनु भै हाल्यो नि मेरो बूढो।”
मैले केही नबोली उनको कम्मरमा पकडेर उनका ओठहरु चुम्न खोजे। त्यो पटक उनले प्रतिकार गरिनन्। बरु आँखा बन्द गरिदिइन्। मैले उनका ओठहरु चुम्दै उनलाइ पलङ तिर लडाएं….।

आहा कति सुन्दर थिए ती पलहरु। ती यादहरुले फेरि मलाइ रुवाए। म बाथरुम भित्र चिच्याउदै कराएं ” हेरन सानू…. अहिले त तिम्रो बुढाका दारी झनै लामा भएका छन…तर तिमी छैनौ आज घुर्क्याउदै काट्न लगाउने…..।”
रुंदै गर्दा आँखा नै बाहिर निस्किन्छन कि जस्तो हुँदै थियो। रिंगटा चल्न खोज्यो। जसो तसो बाथरुम बाट निस्केर कोठामा पुगें। कोठामा पुग्दा मेरो फोन बजि राखेको थियो। भुइंमा थचक्क बसेर फोनमा हेरें। लेखिएको थियो “सानू!”
फोन उठाएर बोल्न सक्ने हालत नै थिएन मेरो। रोएर घाँटी सुकि सकेको थियो। छेउमा भएको बोतल को पानी पिएं। अनि आधा बोतल पानी आफ्नै टाउकोमा खन्याइदिएं। चिसो पानीले गर्दा मलाइ केही सितल महसुस भयो। केही बेर चुपचाप बसें आफुलाइ सम्हाल्न खोज्दै। केही बेर पछि फेरि फोन बज्यो। फोन उठाएं अनि भने “हेलो….।”
उनले उताबाट मधुरो स्वरमा भनिन “किन यत्रो बेर सम्म फोन नउठाउनु भएको?”
मैले पनि उस्तै सानो स्वरमा भने “थाहा पाइन।”
गला बसि सकेको स्वरले उनले फेरि सोधिन् “के गर्दै हुनुहुन्छ?”
मैले भने “रक्सी पिउंदै।”

उनी निकै बेर सम्म केही बोलिनन्। केहि बेर पछि रुन्चे स्वरमा भनिन् “किन यस्तो गर्नु भएको हजुरले?”
उनको प्रस्नको जवाफ थिएन म संग। मलाइ फेरि रोइ दिन मन लाग्यो। तर सम्हाले आफुलाइ। मैले लामो सास फेरेर भने “थाहा छैन सानू! म के गर्दै छु भनेर…….।”
उनी बोलिनन् केहीबेर। रुन थालेको आवाज सुनियो। मैले नरोउ भनेर पनि भन्न सकिन। उनले नै रुंदै भनिन् “यस्तो नगर्नु न प्लिज! म हजुरको यो हालत देख्न सक्दिन….।”
म केही बोलिन चुपचाप सुनी रहें मात्र। उनले फेरि भनिन् “क्याफेकी भाउजूले भन्नू भाको, हजुर जति खेर पनि चुरोट नै मात्र पिउनु हुन्छ रे…।”
म अझै मौन रहें, बोलिन केही। उनले फेरि थपिन् “त्यसरी धेरै चुरोट नपिउनु न प्लिज! राम्रो गर्दैन त।”
मैले आफुलाइ रोक्न सकिन। रुन थालें, अनि रुंदै भने “म त अब बीष नै पिउनु पर्ला सानू.. ।”
मेरो कुरा सुनेर उनी झनै सारो रुन थालिन्। म पनि रोइ रहें केही नबोली। उनले रुंदै भनिन् “हजुर चाहि हैन तर हजुरले यस्तै गरि राख्नु भयो भने म चाहि मरि दिन्छु। सक्दिन म हजुरको यस्तो हालत सुन्न अनि हेर्न।”
मलाइ केही भन्न आएन। चुपचाप सुनी रहें। उनले रुंदै बाइ पनि नभनी फोन काटी दिइन्।

उनले फोन काटे पछि। मैले आंखाका आँसु पुछे अनि मनलाई कठोर बनाउन खोजें। जबरजस्ती रुन बन्द गरें अनि सोचें “सायद म गल्ति गर्दै छु, यसरी उनी संग अब म सम्पर्कमा रहि रहन हुंदैन। उनको अरु संगै बिहे भै सकेको छ। अब उनलाइ मैले सबै कुरा बिर्सिन दिनु पर्छ। यसरी म उनी संग बोली रहें भने उनलाइ झनै धेरै पीडा हुनेछ।”
मनमा यस्तो कुरा आए पछि फोन बन्द गरि दिएं अनि जबर्जस्ती एकपटक पागल हांशो हांसिदिए। कोठामा मेरो नमिठो हांसो गुन्जियो। थकित शरीर, रक्सिको नसा अनि धेरै दिनको अनिधोपना लिएर म ओछ्यानमा पल्टिए। कति खेर निदाएछु पत्तो भएन। बिहान होस खुल्यो। मुख धोएर म फेरि क्याफे तिर निस्किएं सधैं झैं।

क्याफेमा पुगेर त्यही सधै बस्ने टुल तानेर बसें। भाउजुले एकपटक म तिर हेरिन् तर केही बोलिनन्। मैले बोलाएं “भाउजू चिया दिनुस दुई कप।”
भाउजुले अचम्मित हुँदै म तिर हेरिन् अनि सोधिन् “दुई कप रे? किन चाहियो एकै पटक दुई कप?”
मैले नसुहांउदो हांसो हांस्दै भने “सानूको लागि पनि एक कप… ।”
भाउजुले अँध्यारो अनुहार पारिन अनि केही बेर पछि भनिन् “बाबू, हजुर पागल हुनु भयो कि के हो…..?”
मैले भावुक हुँदै भने “छैन भाउजू भइ सकेको तर हुन चाहान्छु….।”
भाउजू केही बोलिनन्। केही बेर मलाइ हेरिरहिन अनि अर्का पटि लागिन। क्याफेको काम गर्ने केटाले चिया ल्यायो एक कप। मैले झर्किदै भने ” जा अर्को कप नि ले….।”
केटोले पुलुक्क म तिर हेर्यो अनि खुरुक्क गएर अर्को कप चिया लिएर आयो।

मैले दुबै कप चिया पालो गर्दै पिएं। उनको याद बढ्यो झनै। पहिले सानू र म संगै हुंदा हामी यहि टेबलमा बसेर एक अर्काको कपबाट पालो गर्दै साट्दै चिया पिएको याद आयो। आंखामा आँसु भरिए। भाउजू मेरो छेउमा आएर टुल तानेर बसिन् तर केही बोलिनन्। मैले आफै भने “भाउजू, मान्छेको अर्को जन्म हुन्छ कि हुंदैन होला ?”
भाउजुले चकित हुँदै मलाइ हेरिन अनि भनिन् ”
किन यस्तो सोध्नु भएको बाबू?”
मैले आंखाका आँसु पुछ्दै भने “यो जन्ममा यस्तै भयो भाउजू तर अर्को जन्म भयो भने म कुनै हालतमा सानुलाइ गुमाउने छैन।”

भाउजुका आँखा पनि आंशुले भरिए। उनले केही बोल्न सकिनन्। फेरि मैले रुंदै भने “भाउजू म अब म मरि दिन्छु।”
भाउजुले रुन्चे स्वरमा जवाफ दिइन् “अरे बाबू, के बोल्नु भएको त्यस्तो…?”
म केही बेर सम्म रोइ रहें अनि फेरि बोलें “भाउजू…. हजुर अनि यो क्याफे संग जोडिएका हरेक चिज मेरा लागि धेरै प्रीय छन…..।”

भाउजू केही नबोली रुन थालिन। म पनि रोइ दिएं। क्याफेमा अरु मान्छे आइ पुगे। भाउजुले आँसु पुछिन्। म जुरुक्क उठे अनि बिदा पनि नमागी आँसु पुछ्दै बाहिर निस्किएं।
क्याफेबाट बाहिर निस्केपछि म कोठा जानू भन्दा पहिले केही पर रहेको एउटा भेटेनरी पसलमा पुगें। त्यहां पुगेर म केही नबोलि चुपचाप पसलमा हेरिरहें। पसलेले मलाइ सोधी हाल्यो “हजुरलाइ के चाहिएको हो?”
मैले झसङ्ग हुँदै भने “बीष दिनुस न….।”
पसलेले मेरो अनुहारमा हेर्दै भन्यो “कस्तो बीष..?”
मैले केही अक्मकाउदै भनेँ “किरा मार्ने बीष…।”
उस्ले फेरि सोध्यो “के को किरा मार्ने हो…?”
म उस्का प्रश्नहरुले दिक्क भएको थिएं अनि चर्को स्वरमा भने “दिनुस न जे को भएनी अलिक कडा खाल्को…..।”
उसले मेरो अनुहारमा संकालु नजरले हेर्यो अनि फर्केर एउटा सानो सिसिको बीष निकालेर मेरो अगाडि राख्दै भन्यो “यहि हो सबै भन्दा कडा… धेरै पानीमा मिसाएर हाल्न पर्छ……।”
मैले फेरि भने “अर्को पनि एउटा दिनुस।”
उस्ले केही नबोली अर्को सिसि पनि निकालेर दियो। मैले गोजिबाट पैसा निकालेर दिएं अनि फर्किएं त्यहा बाट।
बाटोको अर्को होलसेल पसलमा छिरेर एक बोतल रक्सी अनि चुरोट पनि लिएर कोठा पुगें। कोठा पुगेपछि एउटा बिषको सिसि बाहिर निकालेर त्यसैलाइ टुलुटुलु निहाली रहें केही बेर। खोलेर पिउन भने आंट आएन अनि टेबलको कुनामा राखेर भुइंको कार्पेटमा थचक्क बसें। फेरि उनैलाइ सम्झिन थालें। हाम्रो पहिलो भेट देखि लिएर बिछोड सम्मका सारा पल सम्झिएं। ती दिनहरुलाइ सम्झिदा सम्झिदै डाको छोडेर रुन थालें। जति कोसिस गरे पनि आफुलाइ सम्हाल्न नसकेपछि रक्सिको बोतल खोलेर पिउन थालें रुंदै। रक्सिको बोतल नरितिदै म नसाले बेहोस भएर त्यहि कार्पेटमा ढलेछु….।

ढोकाको ढक-ढक आवाजले मेरा आँखा खुले। उठ्न खोजें तर नसके पछि घस्रदै गएर भित्ताको साहारा लिएर उभिए जसो तसो! अनि खोलें ढोका। ढोका खोलेर बाहिर हेर्ने बित्तिकै मलाइ ठूलो झट्का लाग्यो। मेरो अगाडि ठिगं उभिएकी थिइन् क्याफेकी भाउजु। अनि उनको पछाडि मेरि सानू…..।
मैले सोच्दै नसोचेकी सानू मेरै अगाडि देख्था मलाइ भनन रिंगटा चल्यो। म लड्न खोजें। भाउजुले मेरो हात पकडेर पलङ सम्म डोर्याइन् अनि बसाइन्। सानू पनि भित्र आइन् अनि अलिक परको कुर्सिमा बसिन् केही नबोली अँध्यारो अनुहार पारेर। मैले केही बोल्न सकिन, मेरो दिमाग शून्य थियो। सारा कुरा सपना जस्तो लाग्दै थियो। भाउजुले सानू पटि हेरेर बोलिन् “सानु….हजुर गफ गर्दै गर्नु। म एकछिन पछि आउंछु है ?”

सानू केही नबोली चुपचाप बसि रहिन्। भाउजू मलाइ एकपटक हेरेर बाहिर निस्केर गइन्। धेरैबेर सम्म मैले केही बोल्न सकिन, सानुले पनि बोलाइनन्। आँखा भरी आँसु पारेर मेरो अनि मेरो कोठाको हालत नियाली रहिन्। मैले जबर्जस्ती आवाज निकालेर सोधें “किन आएकी…?”
यति सोध्ने बित्तिकै मलाइ भक्कानो छुटेर आयो। म रुन थालें अनि उनी पनि। उनी रुंदै कुर्सीबाट उठेर मेरो छेउमा आएर बसिन् अनि मलाइ हेर्दै भनिन् “मर्छु भन्दै हुनुहुन्थ्यो रे त भाउजू संग।”
मैले आँसु पुछ्दै भने “बांच्ने रहर नै छैन सानू!” उनी मेरो अंगालोमा टांसिइन्। अनि रुंदै भनिन् “किन यस्तो भन्नू हुन्छ? मलाइ बिर्सी दिनुस अब। म भन्दा बढी माया गर्ने पाई हाल्नु हुन्छ नि एकदिन।”

यसो भन्दै गर्दा उनी झन सारो रुन थालिन्। म पनि केही बोल्न सकिन। धेरै बेर सम्म रोएपछी जसो तसो मैले आफुलाइ सम्हाले। उनलाइ मेरो अंगालो बाट निकाले अनि आँसु पुछे। उनले पनि आफ्नो सलले आँसु पुछिन्। मैले आफ्नो मुटुलाइ दह्रो बनाएर सोधे “अनि सांच्चै! किन आयौ सानू?”
उनले रुन्चे स्वरमा भनिन् “हजुरलाइ हेर्न मन लाग्यो। भाउजुले बिहान फोन गरेर के-के सुनाउदै हुनुहुन्थ्यो।”
मैले लामो सास फेरेर फेरि भने “अनि घरमा नसोधी आयौ?”
उनले उस्तै स्वरमा भनिन् “कलेजमा सानो काम छ भनेर आएकी।”

मैले केही बोलिन। चुपचाप उनलाइ हेरेर बसिरहें। उनले मेरो अनुहार तिर हेरिन् अनि भनिन् “किन हजुरले आँफुलाइ यति धेरै सताउदै हुनुहुन्छ? ऐना हेर्नू त एक पटक के हालत भएको छ।”
यो पटक पनि म केही बोलिन मात्र उनिलाइ हेरिरहें। उनले भावुक स्वरमा भनिन् “आफ्नो ख्याल गर्नुस। यसरी रक्सी नपिउनुस। जे नहुनु त भइ नै सक्यो।”
मैले उनको हात तानेर पकड्न खोजें। तर उनले पर सारिन् आफ्नो हात। केही बेर चुपचाप बसिन् अनि घडी हेर्दै निरास स्वरमा बोलिन् “भाउजू पनि आउनु भएन। रात परि सक्यो। दिदिकोमा गएर बस्नु पर्ने।”

उनी जाने कुरा सुनेर म अतालिएँ। फेरि आंखाबाट आँसु बगि हाल्यो। रुंदै उनलाइ पकडेँ अनि भनेँ “नजाउन सानू!”
सानो बच्चा झैं रोइ दिएं म। उनले आफ्ना आंखाका आँसु पुछ्दै सानो स्वरमा भनिन् ” जानु त छदैछ नि। त्यो दिन हजुरले छोडेर नजानु भएको भए……. सायद…।”
मेरो मुटु चर्किएर आयो। सास नै बन्द हुन्छ कि जस्तो भयो। जबर्जस्ती आवाज निकालेँ “म मरि दिन्छु सानू अब …!”
उनले मलाइ आफुबाट छुटाउदै रुञ्चे स्वरमा भनिन् “यस्ता कुरा नगर्नु। आफ्नो ख्याल गर्नु। सबै ठिक हुन्छ बिस्तारै। म जान्छु अब।”
यति बोलेर उनी उठेर आँसु पुछ्दै ढोका तिर लागिन्। उनी गएको देखेर मलाइ सहि नसक्नु भयो। मुटुमा नै कसैले तिर रोपिदिए झैँ भयो। मैले पलङबाट जुरुक्क उठेर टेबलको बिषको सिसि ताने अनि खोलेर मुखमा हालें। बिषले घाँटी जल्यो। आधा सिसि भन्दा पिउन सकिन। फेरि अर्को पटक मुखमा लग्दै गर्दा ढोका छेउमा पुगेकि उनले मलाइ देखिन्। उनी आत्तिएर कराउँदै आएर मलाई जोडले धक्का दिइन्। हातको सिसि एकापटी झर्यो अनि भित्तामा मेरो टाउको बजारीयो, त्यसपछी म बेहोस भएँ……।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुँकसुँकाउदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सानूलाई कतै देखिन। भाउजुले मेरा आँखा खुलेको देखेपछी झनै रुन थालीन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ “सानू……?”
उनले मेरो हात पकडेर भक्कानिएर रुँदै भनिन् “सानू रहिनन् अब! म कोठामा पुग्दा दुबै जना बेहोस् हुनुहुन्थ्यो। तपाइँ त बाँच्नु भयो तर……….!”
म माथी कुनै बज्र खसे झैं भयो। चिच्याएर रुन खोजें तर आवाज निस्किएन। मात्र आंखाबाट आंशुको धारा बगि रहे।

समाप्त।।

लेखक: सन्तोष बस्नेत

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)