यादका टुक्राहरू!

भाग एक: तिमीलाई जति माया…….

उनी कहिलेकाहिं अचम्म अचम्मका प्रश्न गर्थीन्। एकदिन उनले सोधीन् “मलाई कति माया गर्नु हुन्छ हजुर?”

उनले त्यसरी सानो बच्चाले झैँ प्रश्न गर्दा मलाई रमाइलो लाग्यो। मैले उनलाइ आफू नजिकै तानेर भनेँ “तिमिलाइ थाहा छ नि म कति माया गर्छु तिमिलाइ भनेर। सोध्न पर्छ र डल्ली?”

उनले जिद्दी गर्दै भनीन् “भन्नू न के, कति माया गर्नु हुन्छ ?”

उनको जिद्दीपना देखि हार खाँदै मैले भनें “धेरै गर्छु हजुर धेरै।”

उनले मुस्कुराउंदै मेरो अनुहार तिर हेरेर भनीन् “कति धेरै ?”

मैले जिस्कदै दुबै हात फारेर देखाउँदै भनें “यति धेरै…..।”

उनी आएर लपक्क छातिमा टाँसिएर सानो स्वरमा बोलिन् “किन यति धेरै माया गर्नु हुन्छ मलाइ?”

मैले उनलाइ आफ्ना हातले छातिमा कस्दै भनें “खै किन हो, थाहा छैन।”

उनले फेरि जिद्दी गरिन् “भन्नू न के।”

मैले उनको निधारमा चुम्दै उत्तर दिएं “तिमी प्यारी छौ, त्यसैले माया लाग्छ नि।”

उनी केहिबेर सम्म चुपचाप अंगालोमा टाँसिइन्, अनि केहिबेर पछि बोलीन् “यदि मैले हजुरलाइ छोडेर गएँ भने?”

उनको यस्तो प्रश्नले सोझै मेरो मुटुमा घोच्यो। मैले उनलाइ अंगालोबाट हटाउंदै उनको अनुहारमा हेरेर बोलें “के कुरा गरेको यस्तो? के छोड्ने बिचार छ मलाइ?”

उनी फेरि मेरो छातीमा टाँसिइन् अनि मायालु श्वरमा भनिन् “त्यतिकै सोधेको पो त। सोचेर भन्नू न, यदि मैले हजुरलाइ छोडेर गएँ भने के गर्नुहुन्छ?”

उनको कुराको उत्तर दिन मलाइ पटक्कै मन भएन। उनले यस्ता कुरा सोधेकोमा उनी देखि रिस पनि उठ्यो। मैले अँध्यारो अनुहार बनाएं अनि रिसाएको स्वरमा जवाफ दिएं “अर्कि गर्लफ्रेन्ड बनाउथेँ नि।”

उनले मेरो अनुहारमा पुलुक्क हेरेर नसुहाउँदो हाँसो हाँस्दै भनीन् “अनि मलाइ जति नै माया गर्नु हुन्छ?”

मैले उस्तै स्वरमा जवाफ फर्काएँ “गर्छु नि!, आफ्नी गर्लफ्रेन्डलाइ माया नगरेर भयो?”

उनले मेरो छातिमा नै अनुहार लुकाएर सानो स्वरमा सोधीन् “उसलाइ घुमाउन पनि लैजानु हुन्छ होला है ?”

मैले अझै भारी स्वरमा भनें “लान्छु नि! तिमि जस्तै त होनि उ पनि गर्लफ्रेन्ड भएपछी।”

उनले झनै मलिन स्वरमा बोलिन् “यसरी नै छातिमा टाँसेर सुताउनु हुन्छ होला है?”

मेरो रिस शान्त भैसकेको थियो तरपनि घुर्किपुर्ण आवाजमा नै भनेँ “सुताउछु त अनि।”

त्यसपछी उनले कुनै प्रश्न गरिनन्। मैले पनि उनलाइ बोलाउन जरुरी ठानिन।

केहिबेर पछि छातिमा तातो महसुस भयो। मैले उनलाई उठाएर हेरेँ। उनका आँखाबाट आँशुका थोपा चुहीरहेका थिए। ताता आँशुका केही थोपाहरुले मेरो छाती ओसिलो पारेको थियो। उनी रोएको देखेर मलाइ बल्ल आँफुले गल्ती गरेको महसुस भयो। मैले उनलाइ तानेर आँशु पुछिदिदै भनेँ “यसरी रुन पर्छ त डल्ली? जिस्किएको भनेर थाहा छैन?”

उनी छातिमा टाँसिएर रुंदै बोलीन् “नराम्रो लाग्यो…..।”

मैले उनलाइ दुबै हातले कसेर छातिमा टाँस्दै भनेँ “ढुक्क हौ डल्ली, तिमिलाइ बाहेक अरु कसैलाइ माया गर्ने छैन यसरी……..।”

भाग दुइ : दशैँ अनि तास
दसैंमा तास खेलेर बसेको बेला उनको फोन आयो। मैले अफ्ठेरो मान्दै उठाएर सानो स्वरमा भनेँ “एकछिन पछि गर्छु है? अहिले तास खेल्दैछु म।”

उनले जिद्दी गर्दै भनिन् “नाइ के अहिले बोल्ने।”

मैले थोरै कडा स्वरमा भनें “झन् भन्दैछु त, तास खेल्दैछु भनेर।कस्तो नबुझेको।”

उनले केही नबोली फोन काटिदिइन्। म पनि वास्तै नगरी तास खेलीरहेँ। आधा घन्टा पछि फेरि फोन बज्यो। केहिबेर पछि गर्छु, सोचेर मैले फोन काटीदिएँ।

उनले त्यसपछी फोन गरिनन्। मैले पनि उनलाइ फोन गर्नै बिर्सिएँ। बेलुका सम्म तास खेलेर उठेपछी मोबाइल हेरेँ। मोबाइलमा एउटा म्यासेज थियो। लेखिएको थियो “तास अनि साथिभाइ भएपछी त म नचाहिने रहेछ हजुरलाइ। ठिकै छ म हजुरलाइ डिस्टर्ब गर्दिन।”

म्यासेज हेर्ने बित्तिकै मैले उनलाइ फोन लगाएं। फोनको घन्टी गइ रह्यो तर उनले फोन उठाइनन्। मैले फेरि अर्को पटक कोसिस गरेँ। उनले फोन काटिदिइन्। मैले म्यासेज लेखेँ “नरिसाउन सानू। यति साना कुरामा रिसाउन पर्छ त? कल गर है?”

लगत्तै उताबाट म्यासेज आयो “गर्दिन म कल, हजुर पनी नगर्नु अब।”

उनको यस्तो म्यासेज देखेपछि मन खल्लो भयो। यति साना कुरालाई लिएर यति धेरै रिसाएको पटक्कै मन परेन। मैले फेरि उनलाइ फोन गरिन। बेलुका अबेर सम्म पनि उसको म्यासेज अनि फोन केही आएन। म पनि उनले नगरे सम्म गर्दिन भनी अड्डि कसेर बसिरहेँ।

रातको नौ बजेपछि उसको फोन आयो। मैले फोन उठाउने बित्तिकै उनले रुञ्चे स्वरमा भनीन् “हजुरलाइ मेरो माया नै लाग्दैन है?”

मैले पनि घुर्की लगाउँदै भने “तिमिलाइ त लाग्छ नि खुब मेरो माया।”

उनले झनै रुञ्चे स्वरमा भनीन् “यतिका बेर सम्म फोन पनि गर्न मन लागेन है?”

मैले रुखो स्वरमा भनेँ “फोन नगर्नु भनेको हैन त तिमिले?”

उनले रुँदै भनीन् “मैले मलाइ माया नगर्नु भनेँ भने के माया गर्नै छोड्नु हुन्छ?”

मैले केही जवाफ दिइन। म संग कुनै जवाफ थिएन पनि। उनी सुंक्कसुँक्क रोइरहिन् केही नबोली। उनले त्यसरी रोएको मैले सहन सकिन।

मैले मलिन स्वरमा भनें “सरि सानू।गल्ती भयो। नरोउन प्लिज।”

मैले यति भनेपछी उनी झनै जोडले रुन थालीन्।

मैले फेरि भनेँ “सरि भनेँ त सानू। यस्तो नगरन प्लिज। भोलि देखि यस्तो हुंदैन पक्का। म तास खेल्न नै नजाने भोलि देखि।”

उनले सुँकसुँकाउदै भनीन् “मैले हजुरलाइ तास नै नखेल्नु भनेको होर?”

मैले उनलाइ जिस्काए झैँ गर्दै भनेँ “अनि के भनेकी त सानू? नरोउनत अनि अब। जे भनेनी मान्छु के।”

उनले रुन बन्द गरिन् अनि केही सामन्य स्वरमा भनीन् “हजुरलाइ साथिभाइ भएपछी मेरो याद नै आउदैन। एक कल पनि गर्नु हुन्न दिनभर….।”

मैले हाँस्दै भनेँ “साथिहरु संग बसेको बेला तिमीलाई फोन गर्न अफ्ठेरो हुन्छ नि त लाटी।”

उनले फेरि घुर्क्याउदै भनीन् “तास पनि कति खेल्न सक्या त? पछिपनी यसरी नै तास खेल्नु भयो भनेत हान्छु पो कुच्चाले।”

मैले उस्तै हाँस्दै भनें “सधैँ कहाँ खेल्छु त, दशैँ मनाएको पो त रुन्ची।”

उनले बच्चा झैँ पुलपुलिदै सोधीन् “अनि कति हार्नु भयो नि?”

मैले भनेँ “हारिन, जितेँ पो दुई हजार।”

उनले हक जमाउंदै भनीन् “त्यो पैसाको मलाइ गिफ्ट चाहिन्छ। नत्र बोल्दिन म।”
मैले मायालु स्वरमा जवाफ फर्काएँ “हवस् मेरि मालिक्नी, हजुरलाइ नै गिफ्ट दिउँला।”
उनले थोरै हाँस्दै भनीन् “दिनु त पर्छ त यसरी रुवाएपछि…।”
मैले घडी हेर्दै भनेँ “ल ल सानू, अब सुत्न पर्छ।”
उनले मायालु स्वरमा भनीन् “हवस् म पनि सुत्ने अब। लभ यु। बाइ।”
उनले फोन राखेपछी म मुस्कुराउंदै ओछ्यानमा पल्टिएँ! अनि आँखा बन्द गरेँ उ संगको रंगिन भबिष्य कल्पना गर्दै।


भाग तिन: उपहार फिर्ता
उनको अन्तै बिहेको टुंगो भए संगै हाम्रो प्रेम सम्बन्धको समाप्ती भइ सकेको थियो। हरेक सांझ झैँ त्यो साँझ पनि म हातमा चुरोट सल्काएर धुँवालाइ नियाल्दै
उनकै यादहरुमा हराउँदै थिए । अचानक मोबाइलमा उनको फोन आयो। धेरैबेर सम्म सोंचे फोन उठाउदिन भनेर तर मन मानेन। आफुलाइ केही सम्हालेर मुटु दह्रो पार्ने कोसिस गर्दै फोन उठाएं अनि केहि रुखो स्वरमा भने “अं भन, किन गरेको?”

उताबाट रुन्चे स्वरमा जवाफ आयो “भोलि भेट्नुस न है एक पटक ?”

मैले भने “किन अब के बांकी छ र भेट्नको लागि?”

उनले उस्तै मलिन स्वरमा जवाफ फर्काइन “केही सामान हरु छन हजुरले दिएका ती फिर्ता गर्नु छ हजुरलाइ।”

यो सुनेर दुखेको मुटु अझै फुट्ला झै भएर आयो तर पनि आफुलाइ सम्हाल्दै भने “ती सबै कुराहरु त मैले तिमिलाइ उपहार दिएको थिए , उपहार पनि कतै फिर्ता लिन्छन र ?”

उनले अझै रुञ्चे स्वर बनाउदै भनिन “बुझ्नुन के, यी सब सामानहरु यदि मैले राखे भने, हरेक पल मलाइ हजुरको याद दिलाउने छन।”

मैले जबर्जस्ति आफुलाइ कठोर बनांउदै भने “त्यसो भए जलाइ देउन त सबै।”

उताबाट उनले रुंदै एकहोरो बोलिन “यस्तो नभन्नु न please, जलाउन सक्ने भए हजुरलाइ लग्नु भन्थे र ? मलाइ किन बुझ्नु हुन्न हजुर? तपाइले दिएका सबै
कुरा फिर्ता गर्न चाहन्छु म। भोलि एक पटक भेटेर त्यति लिदिनुस न please.”

उनी रोएको सुनेर मेरा आँखा भरिएर आए। मुटु पोलेर आयो। हातले आसु पुछ्दै सानो स्वरमा भने ” ठिकै छ तिमिलाइ पीडा हुन्छ भने, भोलि भेटौला अनि लिउला सबै।”

यति भनेर चुपचाप फोन राखी दिए मैले ।

भोलिपल्ट त्यही पुरानो ठाउँमा पर्खिएर बसे। उनी केही नजर झुकाउदै अँध्यारो अनुहार पारेर आइ पुगिन। बोलिको सुरुवात गर्ने म संग कुनै शब्द थिएनन। केही बेरको मौनता पछि उनले आँखा भरी आशु पार्दै झोलाबाट एउटा प्लास्टिकको पोको निकालिन अनि मेरो हातमा राख्दै भनिन “हजुरले दिएका सबै कुरा हरु छन यसमा।”

म केहीबेर चुपचाप रहे अनि जबर्जस्ति केही रुखो बोली बनाउदै भने ” केही छुट्न त छुटेन ? फेरि पीडा होला है तिमिलाइ।”

उनले मलाइ नहेरिकन मधुरो स्वरमा भनिन “अंह छैन छुटेको केही, सबैकुरा त्यहीँ हाली दिएकी छु।”

यति भन्ना साथ उनी एउटा हातले आँसु पुछ्दै “जान्छु है” भनेर सरासर त्यहा बाट निस्किइन पछाडी नफर्की।

अनि म भने चुपचाप त्यही बसेर मनमनै सोचें “भन्न त भन्यौ सानू सबथोक फिर्ता गरिदिए भनेर, तर मेरो मन, मुटु अनि माया त तिमी संगै रहे। तिनले तिमिलाइ पीडा नदिउन कहिल्यै।”

भाग चार : डेरी मिल्क
हरेक पटक हामी भेट्नु भन्दा पहिले उनी मलाइ फोन गर्थिन् अनि भन्थिन् “मलाइ के ल्याइ दिनु हुन्छ?”

म हाँस्दै जवाफ दिन्थे “सिंगै म आउदै छु त, अरु के चाहियो तिमिलाइ?”

उनी जिद्दी गर्दै भन्थिन् “चाहिन्छ के, हजुरले मात्र हुदैन। अरु कुरा पनि चाहिन्छ मलाइ।”

म सानो बच्चालाइ सोधे झै स्वर बनाएर उनलाइ सोध्थे “के चाहिन्छ त मेलो सानूलाई ? के ल्याइ दिनु ?”

उनी फुर्किदै भन्थिन् “चक्लेट ल्याइ दिनु है?”

म जिस्काउदै भन्थे “दुई रुपैयाको ले हुन्छ नि?”

उनी उस्तै जिद्दी स्वरमा भन्थिन् “नाइ के, मलाइ त डेरि मिल्क चाहिन्छ।”

म हांस्दै भन्थे “हवस हजुर, ल्याइ दिन्छु।”

केही समय पछि हाम्रो भेट हुन्थ्यो। उनी आफै मेरो गोजिमा हात हालेर “डेरी मिल्क” निकाल्थिन् अनि अकिकती मलाइ खुवाइ दिदै फेरि आफू खादै मायालु स्वरमा भन्थिन् “हरेक पटक मलाइ भेट्दा हजुरको गोजिमा डेरि मिल्क हुन पर्छ है?”

म मुस्कुराउदै भन्थे “हवस प्यारी, सधै लिएर आउंछु।”

यसरी नि हरेक पटक उनको लागि डेरि मिल्क किनेर लग्दालग्दै म आफैलाइ पनि त्यसको नसा झै भइ सकेको थियो। उनी संग भेट नहुने दिन पनि म डेरि मिल्क किनेर खाने गर्थे। धेरै जसो मेरो गोजिमा एउटा न एउटा डेरि मिल्क हुन्थ्यो नै ।

समयले भनौं या त भाग्यले उनको र मेरो सम्बन्ध छुटाएर छोड्यो। हाम्रो सम्बन्ध छुटे पनि मेरो डेरि मिल्क खाने बानी भने छुटेन कहिले ।

केही बर्ष पछि, एक दिन उनको र मेरो अनपेक्षित भेट भयो अस्पतालमा। उनको साथमा एउटा सानो बच्चा पनि थियो। सोचें बोलाउदिन भनेर तर सकिन आफुलाइ रोक्न। आफुलाइ सम्हालेर खुशी भएको अभिनय गर्दै नजिकै गएर सोधे “अरे, तिमी कसरि यहा ?”

उनि मलाइ देखेर चकित भइन्, अनुहार रातो बनाएर केहीबेर चुपचाप मेरो अनुहारमा हेरि रहेन्। केहिबेर पछि सानो स्वरमा भनिन् “माइत आएको थिए, छोरालाई ज्वरो आएर अस्पताल लिएर आएको।”

मैले उनको छोरालाइ हेर्दै भने “ओहो! तिम्रो त छोरा पनि ठूलो भै सकेछन्। लगभग तिमि संग अनुहार मिल्दो रहेछ।”

उनी केही नबोली चुपचाप उभिइ रहिन् अँध्यारो अनुहार बनाएर।

मैले उनको छोरालाइ हेर्दै सोधे “बाबू चक्लेट खान्छौ?”
छोराले टाउको हल्लाउँदै खान्छु भने इसारा गर्यो।
सधै झैं, त्यो दिन पनि मेरो गोजिमा एउटा डेरि मिल्क थियो। मैले गोजिमा हात हालेर “डेरि मिल्क” निकाले अनि उनको छोराको हातमा थमाइ दिए।

त्यो दिएपछी उनका छोराको अनुहारमा त खुशी झल्कियो तर उनका आँखाबाट भने आंशुका थोपाहरु बाहिर निस्कन थाले।।


भाग पाँच (बोनस) : याद
उनलाइ हरेक कुरा याद हुन्थ्यो। पहिलो भेट्को मिति देखि लिएर मेरो जन्मदिन, प्रेम प्रस्ताव राखेको मिति, घुम्न गएको दिन, हामी अन्तिम पटक भेटेको दिन, यी सारा कुरा याद हुन्थ्यो उनलाइ। म भने यस्ता कुरा हरु याद गर्ने कोसिस गर्दा गर्दै पनि बिर्सी हाल्थें जहिल्यै। एकदिन उनी र म संगै भएको बेला

उनले लाडे स्वरमा सोधिन् “हाम्रो पहिलो भेट कहिले भएको थियो भन्नू त ?”

मैले उनी संग भेट भएको मिति बिर्सी सकेको थिएं। मैले जिस्किदै जवाफ दिएं “पोहोर साल भेटेको त हो नि।”

उनले मलाइ हेरेर आँखा तर्दै भनिन् “पोहोर त पोहोर नि कुन बेला भेटेको मिति भन्नू न त….।”

मैले हांस्दै भने “मिति त बिर्सें मैले….. तिमी भनत।”

उनले रिसाए झैं मुख फुलाउंदै भनिन् “तपाइंलाइ त कहाँ याद हुन्छ त….. महत्वपूर्ण नै नभए पछि के याद हुनु……।”

मैले उनको कुममा पकडेर आफू तिर तान्दै भने “महत्वपूर्ण त तिमी पो हौ त सानू मेरो लागि, त्यो समय त के नै हो र?”

उनले उस्तै घुर्की लगाउंदै बोलिन् “कुन दिन हजुरले मलाइ नि बिर्सिनु हुन्छ…..।”

मैले उनको निधारमा चुम्दै भने “आफ्नै मुटु पनि कसैले बिर्सन सक्छ र लाटी..?”

उनले मेरो अनुहारमा हेरिन् अनि थोरै हांस्दै भनिन् “मिठा मिठा कुरा गरेर कति मजाले गल्ती लुकाउनु हुन्छ है ?”

जवाफमा मैले उनलाइ हेरेर मुस्कुराइ दिए मात्र। उनी पनि मुस्कुराउंदै मेरो अंगालोमा टांसिइन।

धेरै समय पछि आज म अचम्ममा पर्छु। जति सम्झन खोज्दा पनि ती पलहरु भुलीहाल्ने मैले भुल्न खोज्दा पनि उनलाइ भने कहिल्यै भुल्न सकिन। अनि ती सारा कुरा सम्झने उनले भने मलाइ नै बिर्सी दिइन।

क्रमश:

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)