कथा :- दिप्ती

Santosh Basnet

के पहिलो भेटमा नै प्रेम हुन सम्भव छ ? कहिलेकाही हुँदो रहेछ। मलाइ भएको थियो। मैले उनलाइ पहिलो पटक देख्ने बित्तिकै मेरो मनमा अनौठो तरंग उत्पन्न भएको थियो। मलाइ कस्तो महसुस भएको थियो भनेर म सब्दमा वर्णन गर्न सक्दिन। मलाइ यति मात्र थाहा छ उनलाइ देखेपछी उनको अनुहार बाट नजर हटाउन मन लागेको थिएन। मुटु तेज संग धड्किएको थियो।

भर्खरै कक्षा बारको परीक्षा सकिएको थियो। म फुर्सदिलो भएको थिएं। तर मेरा बुबालाइ म बरालिएर हिडेको मन परेन अनि मलाइ बुबाको कपडा पसलमा बस्ने आदेस भयो उहा बाट। मलाइ पसलको जिम्मा दिए पछि बुबा आफू भने बजारका अरु पसले हरु संग गफ गर्न जानु हुन्थ्यो दिनभर जसो। पसल रुगेंर बसि राखेको थिएं, ग्राहकहरु खासै आएका थिएनन त्यो दिन। दिनको बार बजे तिर पसलको अगाडि एउटा स्कुटर रोकियो। स्कुटरको स्टेन्ड लगाएपछि, टाउकोको हेलमेट खुल्यो। लामो स्ट्रेट गरेको कपाल हावाले थोरै छरियो। एउटा हातले कपाललाई सम्हाल्दै उनले कान पछाडी लगेर अड्याइन अनि पसल पटि फर्किन। आहा..! क्या सुन्दर अनुहार। यति सुन्दर अनुहार त दमक बजारमा होलान भनेर मैले कल्पना पनि गरेको थिइन। अरुका नजरमा उनको भन्दा सुन्दर अनुहार थिए होलान तर मेरो नजरमा भने उनको अनुहार नै मैले देखे जतिमा सबै भन्दा सुन्दर थियो। मेरा नजरहरु उनी बाट हट्न मानेनन। म पसलमा नै बसेर उनलाइ एकहोरो हेरि रहें। उनी सरासर मेरो पसल भित्र पसिन अनि बोलिन ” एउटा टिसर्ट हेर्नू थियो।”
उनको बोली सुनेपछि म झसङ्ग भए अनि नजर तल झुकाउदै भने “कस्तो टिसर्ट..?”
उनले कोहिलोको जस्तो मीठो स्वरमा भनिन “हजुर संग कस्ता कस्ता छन देखाउनु न।”

मलाइ अरु बेला धेरै कपडा एकै पटक निकालेर छर्न झिंझो लाग्थ्यो। भरे पट्याउनको दिक्दारि सम्झेर म पहिले नै कस्तो चाहिने हो बुझेर मात्र निकाल्थे केही पिस मात्र। तर त्यो पटक मलाइ त्यस्तो भएन। मैले भए भरका सबै डिजाइनका टीसर्ट निकालेर उनको अगाडि राख्दिन थालें। उनले नै भनिन “भयो… मैले खोजे जस्तो यहि हो…।”
म मुस्कुराउदै उनको नजिकै आए। उनले एउटा टीसर्ट उठाइन अनि आफ्नो सरिरको बाहिर टांसेर नाप लिन थालिन। मैले हडबडाउदै बोलें “भित्र गएर लगाएर हेर्नुस न।”
उनले म पटि फर्केर थोरै मुस्कुराइन अनि बोलिन “पर्दैन लगाउन… यो साइजको ठिक हुन्छ।”
उनको बोली अनि त्यो मुस्कानमा के जादु थियो कोनि म त्यसै लठ्ठै भएको थिएं। मलाइ उनी दिन भर पसलमा नै बसे हुन्थ्यो नि जस्तो लागेको थियो। म फेरि एकहोरो उनले कपडा सुमसुम्याइ रहेको हेरि रहेको थिएं। उनले बोलिन “कति हो यसको…. ?”
मलाइ त त्यो टिसर्ट उनलाइ सित्तैमा दिन मन थियो तर बुबाको लात्तीको पनि डर थियो अनि सायद मैले सित्तैमा दिएर उनले लाने पनि त थिइनन । मैले सानो स्वरमा बोलें “७५० हो।”

मैले मात्र २० रुपयां नाफा राखेर बोलेको थिएं। सायद उनले सोचे भन्दा धेरै सस्तो पाएर होला उनको अनुहारमा अझै बढी चमक छाएको थियो। उनले केही नबोली आफ्नो पर्सबाट ७५० रुपैया निकालेर मेरो हातमा राखी दिइन। उनले पैसा मलाइ दिदै गर्दा उनको हातले मेरो औलामा स्पर्श गरेको थियो। थाहा छैन त्यो स्पर्समा के थियो, मेरो मुटु सम्म एउटा अनौठो तरंग पुग्यो। हुन त पसलमा अरु धेरैका हात संग स्पर्श हुने गर्थे तर त्यस्तो कहिले महसुस भएको थिएन जुन उनलाइ छुंदा भएको थियो। उनले मलाई पैसा दिई सकेपछि एकपटक मलाइ हेरिन अनि बिदा मागेको भावमा थोरै मुस्कुराइन। र, बाहिर निस्किएर स्कुटरमा बसिन अनि ह्यान्डलमा झुन्ड्याइको हेलमेट लगाइन। उनले स्कुटर स्टार्ट गर्न खोजिन तर स्कुटर बाट अलिकती च्यां च्यां आवाज मात्र आयो, स्टार्ट भएन। उनले निकै बेर सम्म कोसिस गर्दा पनि नभए पछि अँध्यारो अनुहार लगाउदै स्कुटर बाहिर निस्किन अनि म तिर फर्केर हेरिन। म पसलबाट निस्केर उनको नजिकै गएं अनि सोधें “के भयो…. ?”

उनले माया लाग्दो स्वरमा भनिन ” हेर्नू न… स्टार्ट नै हुंदैन… अगि सम्म ठिकै थियो।”
मैले उनको स्कुटरको ह्यान्डल पकडेर स्टार्ट गर्न खोजें तर भएन। पछाडिको स्टेन्ड लगाएर किक मारेर पनि हेरें, त्यसो गर्दा पनि भएन। उनले झन झन अँध्यारो अनुहार लगाएर म पटि हेरि राखेकी थिइन। म उनलाइ खुशी बनाउन चाह्न्थे। तर मलाइ पनि स्कुटरको बारेमा धेरै थाहा थिएन। मैले सोधें “पेट्रोल त छ?”
उनले उस्तै माया लाग्दो स्वरमा बोलिन “हिजो त हालेको फुल ट्याकं….।”
केहीबेर सोचेर मैले उनलाइ हेर्दै भने “उ त्यहां.. एउटा दाइको मोटरसाइकल बनाउने पसल छ, त्यहां लग्न पर्छ।”
उनले झनै कालो अनि डराएको अनुहार बनाएर मेरो अनुहारमा हेरिन तर केही बोलिनन। मैले उनको अनुहारमा निरासा देखेर उनलाइ सम्झाउदै भने “त्यहां लगेपछी केहिबेर मा नै बनी हाल्छ… धेरै बिग्रेको हैन होला।”
उनले थोरै आसावादी भएर मलाइ हेरिन अनि स्कुटरको ह्यान्डल पकडेर अगाडि ठेल्न खोजिन। उनलाइ त्यो स्कुटर ठेल्न हम्मे हम्मे भै रहेको देखेर मैले बोलें “खै ल्याउनुस म पुर्याइ दिन्छु।”
उनले थोरै रुन्चे हांसो हांस्दै भनिन “हैन… आफै लगि हाल्छु नि।”
मैले नजिकै गएर ह्यान्डल पकड्दै भने “छोड्नु न मेरो नि काम छैन, पुर्याइ दि हाल्छु नि।”
उनले चुपचाप मलाइ स्कुटर छोडी दिइन। मैले स्कुटरको ह्यान्डल पकडेर मेरो छेउको पसलेलाई कराएं ” ए शंकर दाइ….. मेरो पसल तिर नजर लगाउदै गर्नुस है…?”

उसले मलाइ अर्काको स्कुटर डोर्याउदै गरेको देखेर होला अनौठो हांसो हांस्दै बोल्यो “ल ल…।”
स्कुटर लगेर बनाउने पसलमा पुराए पछि त्यहांको दाइले पारखि नजरले नियाल्यो अनि भन्यो “इन्जिन नै खोल्न पर्छ, निकै समय लाग्छ।”
उसको कुराले उनको अनुहार रातो भयो तरकेही बोलिनन। मैले नै त्यो दाइलाइ भने “दाइ, चांडै गर्दिनु न जति सक्तो।”
उसले मलाइ हेरेर हांस्दै भन्यो “दुई घन्टा त लाग्छ।”

बनाउन दुई घन्टा लाग्ने भएपछि मलाइ मौका परेको थियो। उनी संग नजिक हुन मन थियो मलाइ। अझ भनौं मलाइ त उनी संग छुटिन नै मन थिएन। मैले मौकाको फाइदा उठाउदै भनी हालें “त्यां गएर चिया पिउं न त, समय नि कट्छ।”
उनले मेरो कुरा काट्न सकिनन। टाउको हल्लाएर मन्जुरी जनाइन। म छेउको चिया पसल तिर बढें। चिया पसलमा पुगेर बाटो बाट देखिने बाहिर नै पटिको टेबलमा गएर बसें। उनी पनि आएर मेरो अगाडि को कुर्सिमा बसिन। चिया मगाए पछि मैले सोधें “अनि घर कहाँ हजुरको…. ?”
उनले मधुरो स्वरमा बोलिन “सुरुङ्गा…।”
मैले छक्क पर्दै भने “सुरुङ्गा देखि यहाँ टिसर्ट लिन मात्र त हैन होला…।”
उनले थोरै हांस्दै बोलिन “त्यतिको लागि नै आएकि… सुरुङ्गामा भने जस्तो केही नपाइने रैछ, म त काठमान्डु बाट अस्ति भरखर मात्र आएकी…. अब चाहि यतै बस्छु।”
मैले सोधे भन्दा बढी उनले जवाफ दिइन। मलाइ उनको बारेमा अझै धेरै जान्न मन लागेको थियो। तर के सोध्ने भन्ने कुरा नै भेट्दैन थे। झट्ट याद आयो “अरे मैले त नाम नै पो सोध्या छैन।” मैले हतारिदै सोधी हालें “अनि हजुरको नाम चाहिँ …।”
उनले मलाइ हेर्दै भनिन “दिप्ती….. अनि हजुरको ?”
मैले पनि भने “मेरो सन्तोष हो।”

यसरी सुरु भएका कुरा निकै बेर सम्म लम्बिए। मैले उनको बारेमा निकै थाहा पाई सकेको थिएं। उनी पहिले काठमान्डू बसेर पढ्दी रैछिन फुपुको मा। प्लस टु सके पछि उनलाइ उता बस्न मन नलागेर सुरुङ्गा नै फर्केकी रैछिन। उनको पिताको किराना पसल रहेछ सुरुङ्गा बजारमा। उनको एउटा भाइ पनि रहेछ एघारमा पढ्ने। मैले पनि उनलाइ केही कुरा सुनाइ सकेको थिए। मैले पनि भरखर प्लस टु सकेको, घर अलिक पर गाउंमा रहेको अनि पसलमा बुबालाई सघाउन बसेको आदि इत्यादी। उनले पनि मेरा कुरा ध्यान दिएर सुन्दैथिन। लाग्थ्यो “उनी पनि मेरो बारेमा धेरै जान्न चाहन्छिन।
त्यति नै बेला बुबाले चिया पसलको बाहिर पटि बाट पसल तिर फर्किदै गर्दा मलाइ देख्नु भयो। एक पटक आँखा तरेर रिसाए झैं मलाइ हेर्दै सरासर पसल तिर बढ्नु भयो केही नबोली। मलाइ भने अफ्ठेरो महसुस भयो, केटि संग बसेको बेला बुबाले देखेको ले। बुबा पसल तिर गएकाले मलाइ झनै ढुक्क भएको थियो। अनि फेरि उनी संग केही बेर कुराकानी चली रह्यो। म संग कुरा गर्दा गर्दै उनले आफ्नो स्कुटर बिग्रीएको पीडा पनि भुली सकेकि जस्ती देखिन्थिन। मलाइ त झन याद हुने कुरै भएन। केही बेर पछि उनले घडी हेर्दै बोलिन “अब त बन्यो होला, जाउं ।”
मलाइ जान नै मन थिएन। उनको अगाडि बसेर उनलाइ हेर्दै उनको मिठो आवाज सुनी राख्न मन थियो। तर उनि उठे पछि उठ्न नै कर लाग्यो। उनले आफ्नो पर्स झिकेर पैसा निकाल्न खोज्दै थिइन। तर मैले उनलाइ रोक्दै भने “हैन म तिर्छु…।”
मैले आफ्नो पर्स झिके पछि उनी रोकिइन। पर्सबाट पैसा झिकेर साहुलाइ दिदै गर्दा याद आयो “उनलाइ बेचेको टिसर्टको नाफा पनि बरबार भयो।”
म थोरै हांसी दिएं। उनी पनि मलाइ हेरेर अलिकती हांसे जस्तो गरिन।
स्कुटर बनाउने पसलमा पुग्दा भर्खरै उनको स्कुटर तयार भएको रहेछ। पसलको दाइले उनका हातमा एउटा बिल थमायो। बिल हातमा परेपछि उनको अनुहार फेरि अध्यारो भयो। मैले नजिकै गएर बिल तिर हेरे। दुई हजार लाग्ने भएछ। निकै सामान फेर्नु परेछ। मैले उनको अनुहार त्यस्तो देखे पछि सोधी हालें “के भयो र… ?”

उनले माया लाग्दो नजरले मलाइ हेरिन अनि फेरि नजर झुकाएर सानो स्वरमा बोलिन “म संग अहिले यत्रो पैसा छैन….. बार सय मात्र होला जम्मा।”
उनको कुरा सुनेर म केही बेर चुप भएं। केही बेर पछि फेरि बोले “खै त्यति दिनुस त…..अरु म थपेर दि राख्छु।”
उनले उस्तै आंखाले मेरो अनुहारमा हेरिन अनि केही नबोली अफ्ठ्यारो मान्दै बारसय रुपयां निकालेर मेरो हातमा राखी दिइन। मैले आफ्नो पर्स खोलेर हेरें। पर्समा नौ सय रुपयां थियो। मैले आठ सय थपेर पसलको दाइको हातमा राखी दिएं। उनी लजाए झै अध्यारी भएकी थिइन। मैले उनको अनुहारमा हेर्दै हांसी दिएं। उनले मधुरो स्वरमा बोलिन “भोलि दस बजे आएर दिन्छु है हजुरलाइ…….।”
मैले हुन्छ भनेर टाउको हल्लाएं । उनी स्कुटरमा बसिन अनि म पटि फर्किएर अफ्ठ्यारो मान्दै भनिन “हजुरको फोन नम्बर दिनुस न ……।” उनले मेरो नम्बर मागेपछि नदिने कुरै भएन। मैले नम्बर भने उनले आफ्नो मोबाइलमा टिपिन। अनि “जान्छु है” भन्दै मुस्कुराउदै अगाडि बढिन। उनी गएको पर सम्म हेरि रहें। झट्ट दिमागमा आयो “थुक्क… उसको नम्बर चाहि माग्न नै बिर्सेछु।”
उनी संग त्यति गफ गरेर फुरुंङ्ग भएको मन लिएर म पसल पुगें। बुबाले रिसाउदै भन्नू भयो “पसल छोडेर को संग बसेको?”
मैले डराउदै भने “साथी हो।”
बुबा केही बोल्नु भएन। बेलुका पसल बन्द गरेर घर गयौं। खाना खाए पछि म आफ्नो कोठामा पसें अनि ओछ्यानमा पल्टेर उनलाइ सम्झन थालें। कता कता दिमागमा यस्तो कुरा पनि आयो “भोलि उनी आइनन भने त मेरो त्यत्रो पैसा गयो खोलै खोला ।” तर मेरो मनले उनलाइ बिस्वास गरेको थियो। सायद माया नै गर्न थालेको थियो। म आँखा बन्द गरेर अनेक कल्पना गर्न थालें। “मैले उनलाइ प्रेम प्रस्ताव राखेको, उनले स्विकार गरेको, उनको स्कुटरमा बसेर हामी घुम्न गएको, उनको हात पकडेको, चुम्बन गरेको, हाम्रो बिहे भएको, हाम्रो छोरा छोरी भएको। यसरी कल्पनामा हराएर फेरि यथार्थको संसारमा फर्कदा मलाइ लाज लागेर आयो अनि मुस्कुराउदै सिरानी पकडेर अर्को पटि कोल्टे फेरेर सुति दिएं…..।”
निदाउनै लाग्दा मोबाइलमा म्यासेजको घन्टी बज्यो। नयां नम्बरबाट म्यासेज आएको थियो। खोलेर हेरें। लेखेको थियो “Thank you so much….. हजुरको यो हेल्प कहिले भुल्दिन… भोलि दस बजे आउंछु। सी यु…. गुड नाइट।”
उनको म्यासेजले मन फुरुंग भयो। निन्द्रा सबै हरायो। म आफुलाइ साच्चिकै प्रेममा परेको महसुस गर्न थालें। उनलाइ म्यासेज रिप्ले गर्न मन लाग्यो। म्यासेज बक्समा गएर म्यासेज लेख्न खोजें तर कुनै शब्द नै आएन। धेरै पटक लेख्दै मेट्दै गरें तर कुनै पठाउन सकिन। अनि, मोबाइल सिरानिमा राखेर उनलाइ सम्झिदै आँखा बन्द गरि दिएं।

भोलिपल्ट बिहानको दस बज्नु भन्दा पहिले, मैले सय पटक घडि हेरेको थिएं होला। अरु दिन भन्दा त्यो दिन घडिका कांटा ढिलो कुदेको झैं लाग्दै थियो मलाइ। बिहान घर बाट आउंदा नै म अरु दिन भन्दा चिटिक्क परेर निस्केको थिएं त्यो दिन। पसलमा आएर पनि बेलाबेला ऐना हेर्दै आफ्नो केश मिलाउदै गर्थें म। अरु दिन जस्तै त्यो दिन पनि दस नबजी बुबा बजार डुल्न निस्किनु भएको थियो। म भने घरीघरी बाटो तिर हेर्दै उनलाइ पर्खदै थिएं। दस बजेको मात्रै के थियो उनी मेरो पसल अगाडि आइ पुगिन। उनी पनि अघिल्लो दिन भन्दा झनै राम्री भएकि थिइन। टिमिक्क सरिरमा मिलेका कुर्ता सलवार ले उनलाइ परि झैं देखिएको थियो। उडेको कपाललाइ मिलाउदै उनी मुस्कुराउदा त मेरो मुटुमा ढ्यांग्रो बजे झै भएको थियो। उनी मीठो मुस्कान छर्दै मेरो पसल भित्र पसिन। म पनि मुस्कुराउदै छेउको कुर्सी तानेर उनलाइ बस्न आग्रह गरें। म उनि संग हजार कुरा गर्न चाहान्थे तर म संग बोलिको सुरुवात गर्ने सम्म शब्द थिएनन। केही बेर पछि उनले आफैं बोलिन “हिजो त हजुरलाइ थ्यांक यु सम्म नभनी हिडेछु…. के सोच्नु भयो होला हजुरले?”
उनको कुरा सुनेर म अक्मकाउदै बोले “के सोच्नु र…… हिजो तपाईं टेन्सनमा हुनुहुन्थ्यो नि त।”
उनी मलाइ हेरेर अलिकती मुस्कुराइन मात्र बोलिनन केही। केही बेरपछी उनले आफ्नो पर्स खोलेर हजारको नोट मलाइ दिदै भनिन “यो राख्नुस…. हजुरको पैसा।”
मैले चुपाचाप पैसा पकडे अनि २०० रुपैया गल्ला बाट निकालेर उनलाई दिएं। उनले पैसा पकडेर पर्समा राखिन। फेरि केही बेर सुन्यता छायो। उनी कुर्सिमा बसेर पसलको चारै तिर नियाल्न थालिन। म भने भित्रै बाट उनलाइ हेरि रहें उनले थाहा नपाउने गरि।
उनी संग बोल्नका लागि केही कुरा नै नभएर मन खल्लो भएको थियो। त्यति नै बेला मनमा के आयो कोनि प्याच्च बोली हालें “तपाइंको बोइ फ्रेन्ड छ कि छैन ?”
उनले चकित हुँदै मलाइ हेरिन। त्यस्तो कुरा मुख बाट खुस्केकोमा मलाइ लज्जा बोध भयो। मैले नजर झुकाएं। उनको पनि अनुहार थोरै अँध्यारो भयो। मलाइ डर लाग्यो। मैले सानो स्वरमा भने ” सरि…..।”
उनले मलाइ हेर्दै थोरै हांसे झै गरिन अनि फेरि नजर झुकाएर बोलिन “छैन मेरो त कोहि……. हजुरको?”
उनले त्यति बोलेपछि मलाइ केही राहत महसुस भयो अनि हांस्दै भने “यस्तो अनुहार भए पछि कहाँबाट गर्ल्फ्रेन्ड हुनु..?”
उनी मलाइ हेरेर हांस्दै बोलिन “झुट बोल्नु भयो…. यति राम्रो त हुनुहुन्छ।”
उनले राम्रो भन्दा मन फुरुङग भयो। मैले फेरि जिस्किदै भने “खै अरुलाइ राम्रो लाग्दैन……।”
मैले बोल्ने बित्तिकै उनले बोली हालिन “मलाइ त राम्रो लाग्छ त….।”
यति बोली सक्दा उनको अनुहार रातो भयो। सायद उनले नचांहादा नचाहादै फुस्किएको थियो त्यो कुरा उनको मुख बाट। मलाइ नि थोरै अफ्ठ्यारो महसुस हुँदै थ्यो तर पनि हांस्दै भने “तपाईं त झन यति राम्री हुनु हुन्छ काठमान्डुमा कति केटा लठ्ठै हुन्थे होला….।”
उनले मुस्कुराउदै बोलिन “म भन्दा राम्रा कति छन छन नि..।”
मैले झट्टै उत्तर फर्काएं “मैले त तपाईं भन्दा राम्री आज सम्म देख्या छैन।”
उनको अनुहार रातो भयो, सायद लाजले होला। मलाइ पनि केही अफ्ठ्यारो महसुस भयो। निकै बेर सम्म म केही बोलिन। उनले फेरि बोलिन “हजुर मलाइ तिमी भनेर बोलाउनु न, तपाईं भन्दा अफ्ठेरो लाग्छ के…..।”
मैले हांस्दै भने “तपाईं पनि मलाइ तिमी भन्नू न त…..।”
उनि लजाए झैं मुस्कुराउदै बोलिन “नाइ के…. हजुर चाहिँ तिमी भन्नू म चाहिँ तपाईं नै भन्छु…. म उमेरले पनि अलिकती सानी होला सायद…।”
मैले सोधी हालें “तपाईं कति सालको हो र ?”
उनले हांस्दै भनिन “उमेर सोध्न हुंदैन त छोरि मान्छेको……. हजुरको भन्नू न बरु….।”
मैले हांस्दै भनी दिएं “म ४७ सालको…..।”
उनले उत्साहित हुँदै बोलिन “म भन्दा त ठूलो हुनु हुंदो रैछ…. अब तिमी भन्नू पर्छ मलाइ।”
मैले हांस्दै बोलें “हवस हजुर तिमी नै भनौला….।”
उनले घडी हेर्दै बोलिन “अब त म जान पर्छ, पुग्न पनि निकै समय लाग्छ।”
मलाइ उनलाइ रोक्न मन थियो। दिनभर उनै संग ख्याल ठट्टा गरेर बस्न मन थ्यो। उनको अनुहार हेरि राख्न मन थियो। तर म उनलाइ रोक्न सक्दैन थिएं।
उनले हातमा रहेको पर्स खोलिन अनि एउटा पट्याएको कागज निकालिन। उनले त्यो कागज म तिर बढाउदै लजालु स्वरमा बोलिन “म गए पछि मात्र हेर्नू…….।”

मलाइ लाज लाग्यो। मैले केही बोल्न नै सकिन। त्यो समयमा खासै कसैले प्रेम पत्र लेख्दैन थिए, सबै कुरा फोनमा नै हुन थालेको थियो। उनले के दिईन मलाइ यसमा? म अचम्मीत भएको थिएं। मैले केही नबोली कागजको टुक्रा समाए। उनि म पटि पनि नहेरी सरासर स्कुटर तिर लागिन। स्कुटर स्टार्ट गरेर उनी त्यहां बाट निस्के पछि मैले पट्याएको कागज खोलें। त्यहां निकै सुन्दर अक्षरमा लेखिएको थियो “हजुर अनुहारको मात्र हैन मनको पनि सुन्दर हुनुहुन्छ।”
उनको ती सब्दले मेरो मन फुरुक्क भएको थियो। म आकासमा उडे झैं महसुस गर्दै थिएं। मैले गोजिबाट मोबाइल निकालें अनि म्यासेज लेखे “थ्यांक यु सो मच…. तिमी झन सुन्दर छौ अनि तिम्रो मन पनि।”

मैले म्यासेज पठाएको केही घन्टा पछि उताबाट म्यासेज आयो “तपाईका सुन्दर नजरले सबथोक सुन्दर देख्छन…।”
मलाइ त्यो म्यासेजको केही रिप्ले लेख्न आएन। दिन बित्यो अनि रात आयो। बेलुका ओछयानमा पल्टेर अघिल्लो दिन जस्तै बिबिध कल्पना गर्न थालें म। फेरि उनलाई म्यासेज गर्न मन लाग्यो। मैले धेरै सोचें तर केही लेख्न आएन। अनि मात्र “गुड नाइट राम्री मान्छे” लेखेर सेन्ड गरि दिएं। सेन्ड भए पछि लाज पनि लाग्दै थियो तर केही बेरमा नै उताबाट म्यासेज आयो। लेखेको थियो “गुड नाइट झन धेरै राम्रो मान्छे…..हाहा।”
यसरि अब हामि बिच लगातार म्यासेज आदन प्रदान हुन थाले। हरेक बिहान म उठ्दा उनले “गुड मर्निङ राम्रो मान्छे” लेखेको म्यासेज हुन्थ्यो। म पनि उठेर उनलाइ म्यासेज पठाउथे। रातमा सधैं गुड नाइट म्यासेज हुन्थ्यो। दिनमा पनि बेला बेला म्यासेज आउथे। कहिले हिन्दी सायारी त कहिले हालखबर लेखेका म्यासेजले मोबाइलको घन्टी ठ्याङ ठ्याङ बजि राख्थ्यो। म्यासेज हुँदै हामी बिस्तारै फोन पनि गर्न थाल्यौं। फेसबुक पनि भर्खरै सुरु भएको थियो तर फेसबुकबाट भने हामी खासै कुरा गर्दैन थ्यौ। पहिलो भेटको पन्ध्र दिन नबित्तै हामी एकदमै घनिष्ठ भएका थियौं। हामिलाइ एक अर्का संग बोल्न लाज लाग्न छोडेको थियो अब। हामी फोनमा घन्टौं कुरा गर्थ्यौं। दिनमा कम्तिमा दस म्यासेज आदनप्रदान हुन्थे। म उनलाइ माया गर्थे। मलाइ लाग्थ्यो उनी पनि मलाइ माया गर्छिन भनेर। तर कसैले भनेको थिएन “माया गर्छु” भनेर।
सोह्रौं दिनको बेलुका कोठा पसेपछी मैले उनलाइ फोन लगाएं। केहिबेरको सामन्य कुराकानी पछि मैले उनलाइ भनें “एउटा कुरा भनौं?”
उनले हतारिदै भनिन “के कुरा हो?.. भन्नू न।”
मैले अक्मकाउदै बोलें “रिसायौ भने… ?”
उनले सानो स्वरमा भनिन “रिसाउदिन भन्नु न…।”
मेरो मुटु जोडले कापी रहेको थियो। उनलाइ भनौं कि नभनौं भनेर म दोधारमा थिएं। जसोतसो हिम्मत गरेर झट्ट बोली हालें “आइ लभ यु……।”
केहिबेर सम्म उनको आवाज आएन। मेरो मुटु झनै जोडले काप्न थाल्यो। उनले अस्विकार गर्ने हुन कि भन्ने डरले मेरा कान राता अनि ताता भएका थिए। केही बेरपछि उनको मधुरो आवाज आयो “लभ यु टु…….।”
उनले मेरो प्रस्ताव स्विकार गर्दा मलाइ एउटा युद्ध जितेको झैं महसुस भएको थियो। मुटुको गति अझै धेरै बढेको थियो। मलाइ अब के बोल्ने भन्ने कुराको पत्तो थिएन। मैले हड्बडाउदै बोली हालें “थ्यांक यु…।”
उताबाट केही आवाज आएन। आफैले बोलेका सब्दले मलाई लाज लागेर आयो। त्यहां देखि बढी बोल्ने अरु कुनै शब्द नै पाइन मैले। अनि मधुरो स्वरमा भने “एकछिन पछि फोन गर्छु है?”
उनले “हुन्छ” भनेपछि मैले फोन राखी दिएं। केही बेर सम्म ओछ्यानमा पल्टेर आफ्नो मुटुको गतिलाइ नियन्त्रणमा लिएं।
केही समय पछि बल्ल म सामन्य अवस्थामा फर्किएको थिएं। मैले फेरि उनलाइ फोन लगाएं अनि भने “भोलि भेटौं है..?”
उनले केहिबेर पछी सानो स्वरमा बोलिन “कहाँ..?”
मैले झट्टै भनी हालें “दमक आउन…।”
उनले थोरै हांस्दै भनिन “पसलमा भेट्ने…?”
मैले नि हांस्दै भने “पसलमा हैन…. फ्लिम हेर्न जानू पर्छ।”
उनले झनै हांस्दै सोधिन “कुन फ्लिम….?”
मैले भने “जुन चलेको छ त्यही हेरंला नि…के फरक पर्छ र।”
मेरो कुरा सुनेर उनले मीठो हांसो हांसी दिइन। मैले पनि हांस्दै भने “कि नआउने……?”
उनले जिस्किए झैं गर्दै भनिन “अब जे भने नि मान्नु परि हाल्यो नि…।”
मैले हांस्दै उनी संग बिदा मागेर फोन काटी दिएं अनि भोलिको कल्पना गर्दै ओछ्यानमा पल्टिएं।
भोलिपल्ट फ्लिम सुरु हुनु भन्दा पहिले नै मैले हलमा पुगेर दुईओटा टिकट लिइ सकेको थिएं। उनी आउन केही समय लाग्ने भएकोले म बाहिर पटि चिया पसलमा कुरेर बसें। फ्लिम सुरु हुने समय भन्दा मात्र दस मिनेट अगाडि उनी आइ पुगिन। स्कुटर पार्क गरेर उनी मेरो नजिक आउंदै गर्दा मैले भने “यति ढिला गर्न पर्छ त ?”
उनले हांस्दै बोलिन “ठिक्क समयमा आइ पुग्या छु त अनि…..।”
मैले केही गुनासो गरे झैं बोलें “म आएको दुई घण्टा भै सक्यो….।”
उनले मलाइ जिस्काउदै भनिन “उठ्ने बित्तिकै कुदि हाल्नु भयो के हो ..?”

मलाइ भन्न मन थियो कि “तिमिलाइ भेट्न कति धेरै हतार भएको थियो” भनेर, तर भन्न सकिन। मैले घडी हेर्दै बोलें “बेला भयो….. जाम भित्र…..।”
हल भित्र पसेर कुनाका सिटमा बसे लगत्तै हलका बत्तिहरु निभे। हलमा त अन्धकार छाएको थियो तर मेरो मन भने झनै उज्यालो भएको थियो। फिल्म सुरु भइ सकेको थियो तर मेरो ध्यान फिल्ममा थिएन। सायद उनको पनि थिएन होला। फिल्म चल्दै गर्दा फैलिएको उज्यालोमा टल्कने उनको अनुहारबाट मेरा नजर हटेका थिएनन। उनी पनि घरी घरी म पटि फर्केर हेर्थिन अनि नजर जुधे पछि फेरि फिल्ममा नै ध्यान दिए झैं गर्थिन। मलाइ उनी संग धेरै नजिक हुनु थियो। सामन्य कुराहरु भन्दा अघि बढेर उनी संग धेरै सामिप्यता बढाउनु थियो। तर म अलमल्लमा परेको थिएं अब उनी संग कस्ता कुरा गरौं भनेर। फिल्मको चर्को आवाजले खासै गफ गर्ने बाताबरण पनि थिएन। अचानक मेरो हातमाथी उनले आफ्नो हात राखी दिइन। उनको त्यो कोमल हातको स्पर्सले मेरो मुटु तरंगित भएको थियो। केहीबेर सम्म त म अलमल्ल नै परेको थिएं। उनले मेरा हातमाथी आफ्नो हात छोडि दिएर पनि नथापाए झै फिल्मको पर्दा तिर नै हेरि रहेकी थिइन। मैले पनि पर्दा तिर नै नजर लगाउंदै बिस्तारै उनका हातहरु चलाइ राखें। उनले केही महसुस नै नभए झैं त्यो हातलाइ त्यहिं छोडी रहिन। मैले बिस्तारै मेरा औंलाहरुलाइ उनका औंलाका बिच तिर पसाएं अनि मुठ्ठी कसेर उनको हात पकडें। उनले पनि आफ्ना भिंजिएका औंला हरु बन्द गरिन। हामी दुबैका हातहरु एकै ठाउंमा कसिए। हाम्रा हातहरु एक आपसमा कसिंदा मलाइ हाम्रा मुटु नै एक आपसमा जोडिएको झैं महसुस भएको थियो। त्यो कोमल हातलाइ जीवन भरको लागि पकडी राख्ने रहर जागेको थियो। हाम्रा हातहरु झन धेरै कसिंदै थिएं अनि मुटुको गति अझै धेरै बढ्दै थियो। त्यतिनै बेला उनले आफ्नो टाउको मेरो कुममा ढल्काइ दिइन। उनको केसको त्यो बासनाले मेरो मनमा अनौठो जादु गरे झैं भयो। म त्यसै लठ्ठीएको थिए। म उनलाइ आफ्नो छातिमा तानेर टांस्न चाहान्थे तर सकिन। उनले मेरो कुममा सिर राखेर आँखा बन्द गरेकी थिइन अनि मेरो हातलाइ झनै जोडले कसेकी थिइन। मैले थोरै टाउको घुमाएर उनको निधारमा मेरा ओठहरु पुर्याएं। मेरा ओठले उनको निधारमा स्पर्श गर्दा पनि उनले कुनै प्रतिकार नगरे पछि मैले हिम्म्मत गरेर उनका ओठहरुमा चुम्न खोजें। ओठमा ओठले छुन पनि नपाइ उनले मेरो कुमबाट टाउको उठाइन। मलाइ आफुले गल्ती गरेको महसुस भयो। उनी रिसाइन होला भनेर भनेर मन खल्लो भयो। मैले पनि मेरा नजर सिधा गरेर पर्दा तिर हेर्न थालें। हाम्रा कसिएका हात भने अझै छुटेका थिएनन। हामी दुबैका नजर फिल्मको पर्दामा थिए तर ध्यान भने थिएन। निकैबेर सम्म मौन रहेपछी अचानक मैले उनको हातबाट मेरो हात छुटाएं। उनले अनौठो तरिकाले म पटि फर्केर हेरिन। त्यति नै बेला मैले उनको शिरमा पकडेर आफुतिर तानी ओठहरुमा चुम्बन गरि दिए। यो पटक उनले कुनै प्रतिकार गरिनन। आँखा बन्द गरेर आफुलाइ मेरो जिम्मामा छोडी दिइन।

अब हामी बिच कुनै दुरि रहेन। एकअर्का संग नजर जुध्दा हामिलाइ अफ्ठ्यारो महसुस हुन छोड्यो। हातहरु मात्र हातमा बाधिएर सिमित रहेनन अंगालो हाल्न पनि पुगे। हामी बिच धेरै कुरा भएनन तर मुटुले सबथोक महसुस गर्यो। यसरी नै फिल्म पनि सकियो अनि हामी एक अर्काको हात पकडेर नै हलबाट बाहिर निस्कियौं।

यसरी सुरु भएको हाम्रो सम्बन्ध समय संगै झन धेरै गाढा हुँदै गयो। मौका मिल्ने बित्तिकै हामि एक अर्कालाइ भेट्न कुदि हाल्थ्यौं। कहिले उनी दमक आउथिन त कहिले म सुरुंगा पुग्थे। कहिले हामी दोमुखा पुग्थ्यौं भने कहिले कन्यामको मन्दिरमा गएर कहिले नछुट्ने कसम खाएर फर्कन्थ्यौं। उनी भन्ने गर्थिन “म हजुर बिना बांच्न सक्दिन, मलाइ कहिले नछोड्नु है..?”
म उनलाइ मायाले अंगालोमा लगाउथें अनि भन्थें “आफ्नै मुटुलाइ छोड्न सकिन्छ र?”
दशैं आउन लागेको थियो। अब दशैंको बेलामा भेट्न समय मिल्दैन भनेर हामि दुबैलाइ थाहा थियो। उनले फोन गरेर भनिन “आज भेटौं अनि दशैं सकिए पछि मात्र भेटौंला है?”
उनले भने पछि मैले नमान्ने कुरै भएन। हामिले बेलुका चार बजे भेट्ने निधो गर्यौं।
हाम्रो पसलमा दशैंका लागि भनेर नयां नयां कपडाहरु आएका थिए। मैले तिनै कपडाहरु मध्ये एकजोर सुन्दर कुर्ता सलवार अनि निलो सल छानेर लुकाएं। दिनको तीन बजे पछि बुबालाइ फकाएर उहांको मोटरसाइकल मागें अनि झोलामा कुर्ता सरवाल हालेर म लागें उनलाइ भेट्न।

माइ खोला कटेर सुरुंगा पुग्नै लाग्दा बाटो छेउमा एउटा काठको विश्राम स्थलमा गएर बसें अनि उनलाइ बोलाएं। केही बेर पछि उनी मुस्कुराउदै त्यहां आइ पुगिन। केही बेरको कुराकानी पछि मैले झोला बाट कपडा निकालेर उनलाइ दिदैं भने “मेरि बुढिलाइ दशैंको कपडा…..।”
उनले हांस्दै भनिन “पसलको चोरेर ल्याउनु भयो….?”
मैले उनलाइ आफू तिर तान्दै भने “आफ्नै पसलको नि चोर्न पर्छ त लाटी….?”
उनी मुस्कुराउदै मेरो अंगालोमा टांसिइन।
त्यति नै बेला हाम्रो अगाडिबाट एउटा पन्ध्र सोह्र बर्षको केटाले हामी पटि फर्किएर हेर्यो। उसले घुरेर हामी तिर हेरेपछी मलाई अफ्ठ्यारो महसुस भयो अनि उनलाइ मैले मेरो अंगालो बाट छुटाएं। उनका नजर पनि त्यो केटामा परे। त्यो केटो केही नबोली सरासर अगाडी बढ्यो तर उनको अनुहार भने अँध्यारो भयो। मैले सोधी हालें “को हो त्यो…?”
उनले डराएको स्वरमा भनिन “भाइ हो….. चिन्नु भएन ?”
उनले मलाइ भाइको फोटो त देखाएकी थिन तर मैले खासै ध्यान नदिएको भएर ठम्याउन सकिनछु। मलाइ डर लाग्यो। अनुहार रातो भयो। मुटु जोडले काप्न थाल्यो। मैले सानो स्वरमा बोलें “अब गाह्रो पर्ने भयो तिमिलाइ….. ।”
उनले मेरो अनुहारमा डर देखेर होला मलाइ सम्झाउदै भनिन “नडराउनु केही हुदैन….. ड्याडिलाइ भन्दैन त्यसले…।”
उनले त्यति भन्दा पनि मलाइ उस्तै डर लागि रहेको थियो। अलिक गोप्य ठाउंमा नभेटेकोले पछुतो लागि रहेको थियो। केही बेर पछि उनले मलाइ फेरि अंगालो हाल्दै हांस्दै भनिन “यति सानो कुरामा नडराउनु न…. केही हुदैन भन्दै छु त।”
उनले यति भने पछि बल्ल मेरो मन केही सान्त भयो।

घर फर्की सकेपछि बेलुका उनको फोन आयो। उनको आवाज निकै दुखी सुनिन्थ्यो। मैले सोधी हालें “के भयो राम्री मान्छेलाइ .?”
उनले रुन्चे स्वरमा जवाफ फर्काइन “भाइले ड्याडिलाई सुनायो…..अनि गाली गर्नु भयो।”
मैले उनलाइ सम्झाउन खोज्दै भने “त्यस्तै हो… छोड… दुखी नहोउ…. भोलि देखि बिर्सी हाल्नु हुन्छ।”
उनले केही बेर पछि लामो सास तानेर बोलिन “यहि मंसिरमा बिहे गर्दिन्छु जसरी नि भनेर उफ्रदै हुनुहुन्छ।”
उनले गाली खाएको कुरालाइ सामन्य लिएको मैले उनको बिहे गर्दिने कुरालाइ भने सामन्य मान्न सकिन। मुटु चिसो भएर आयो। सांच्चिकै बिहे गर्दिने हुन कि भनेर डर लागि हाल्यो। फेरि दिमागले भन्यो “यस्तो भन्नू त सामन्य हो नि छोरी संग रिस उठेको बेला… यहि उमेरमा के बिहे गर्देलान र…।” यस्तो सोचे पछि मेरो मन केही हलुका भएको थियो। मैले उनलाइ मायालु स्वरमा सम्झाउदै भने “रिसको बेला भन्नू भएको हो…. अहिले बिहे गर्दिनु हुन्न… दुखी नहोउन।”
मैले यति सम्झाए पछि बल्ल उनी केही हद सम्म सामन्य भएकी थिइन।
भोलिपल्ट सबै कुरा सामन्य भइ सकेको थियो। उनी ड्याडिले थाहा नपाउने गरि मलाइ फोन गर्थिन, अनि बेला बेलामा म्यासेज पनि। अघिल्लो दिनको कुरा हामी दुबैको मन बाट हटि सकेको थियो।

त्यही दिन मेरो बच्चा देखिको साथी प्रकाश काठमान्डौं बाट घर आएको थियो दशैं मनाउन। उसले फोन गरेर बेलुका पख भेट्न बोलायो। म पुग्दा प्रकाश अनि अरु दुई जना साथिहरु पहिले नै बसेर रक्सी पिउदै थिएं। म पुग्ने बित्तिकै प्रकाशले भनी हाल्यो ” के पिउछस हं? बियर कि रक्सी नै ?”
म खासै रक्सी पिउदिन थिएं। कहिले काहीँ एउटा सम्म बियर भने पिउने गर्थें। मैले हांस्दै भने “बियर मगा एउटा…।”
प्रकाशले बियर मगायो। उनिहरु तिनै जनाले रक्सी अनि मैले बियर पिउदैं केही बेर सम्म सामन्य कुराकानी भए। उनिहरुलाई रक्सिको नसा चढी सकेको थियो। प्रकाशले मलाइ हेरेर जिस्किदै भन्यो “अनि गर्लफ्रेण्ड बनाइस कि छैनस त केटा…?”
मैले केही बोल्न नै नपाइ अर्को साथिले भनी हाल्यो “यसले के बनाउंछ गर्लफ्रेन्ड….. बोल्न त लजाउंछ।”
मैले उनिहरुलाइ मेरो गर्लफ्रेन्ड छ भनेर सुनाउन खासै आवस्यक ठानिन। मैले हांस्दै भनिदिएं “किन चाहियो गर्ल्फ्रेन्ड… बेला भए पछि बाउले खोजी हाल्छन नि।”

उनिहरु तिनै जना मलाइ हेरेर गलल हांसी दिए। एउटा साथिले हांस्दै भन्यो “गर्लफ्रेन्ड किन चाहिन्छ नि थाहा छैन ?”
उसले के कुरालाइ इंगित गर्दै छ भनेर मैले बुझी सकेको थिए। मैले केही नबोली हासिं दिए मात्र। केहिबेर पछि साथी प्रकासले बोल्यो “मेरो त अस्ति सम्म त मोज थ्यो यार… दामी केटि थि…।”
अर्को साथिले हतारिदै बोलि हाल्यो ” काठमान्डु कि केटि दामी भै हाल्छन नि।”
प्रकाशले फेरि बोल्यो “त्यसको घर नि झापा नै हो यार…. तर अब त्यो काठमान्डु जान्न रे।”
अर्को साथिले सोध्यो “काम त भै हाल्यो होला ? अब अर्कि पट्याउनु नि।”
प्रकाशले फेरि बोल्यो “काम नगरी त कस्ले छोड्छ…… फोन नम्बर नै चेन्ज गरिछे नत्र यता नि भेट्न हुन्थ्यो।”
उनिहरु तिनै जना गलल हासें होटल नै थर्कने गरि। म भने यस्ता कुराहरु गर्न मन नपराउने भएकोले चुपचाप सुनी मात्र रहें। प्रकाशले फेरि बोल्यो “साच्चै बुलेट थि यार…. फोटो नि होला मोबाइलमा… हेर्छस ?”
अर्को साथिले भनी हाल्यो “देखा न हेरुम…. कस्ति रैछे।”
उसले मोबाइलमा फोटो देखाउंदै बोल्यो “लु हेर… कलेजमा खिचेको है।”

त्यो साथिले फोटो हेरि सकेपछी मोबाइल म तिर बढाउदै बोल्यो “लु हेर… प्रकासले यस्तो यस्तो केटि भ्याइ सक्यो।”
मैले मन नलागी नलागी मोबाइलमा नजर लगाएं। तस्बिर देख्ने बित्तिकै म माथी एउटा बज्र खस्यो। म त्यहिं रिंगटा लागेर ढल्छु कि जस्तो भयो। तस्बिरमा अरु कोहि नभएर मेरि दिप्ती थिइन। मेरो सास नै रोकिन्छ कि झैं हुँदै थियो। मुटु तेज संग दोडिएको झैं लाग्दै थियो। मलाइ के बोल्ने के गर्ने भनेर छटपटी हुन थाल्यो। मैले टेबलमा रहेको रक्सिको बोतल तानेर गिलासमा हालें अनि थोरै पानी मिसाएर एकै पटक पिइ दिएं। साथिहरु अचम्मीत भएर मलाइ हेर्न थाले। मैले अर्को गिलास पनि पिइ दिएं। प्रकासले सोधी हाल्यो “के भयो तलाइं हं….?”
मैले मन नलागी नलागी बोलें “केहि भएको छैन… तिमी हरु खांदै गर म आइ हाल्छु।”
यति बोलेर म जुरुक्क उठेर होटल बाहिर निस्किएं। साथिहरुले अचम्मित भएर मलाइ हेरि राखे।
होटल बाहिर निस्के पछि म अलिक पर कुनामा रहेको पेटिमा बसें। मनमा अनेक कुरा खेल्न थाले। संयोग पनि कस्तो। प्रकाशको गर्लफ्रेन्ड अरु कोहि नभएर मेरै दिप्ती हुनु पर्ने। सायद अरु संग उनको सम्बन्ध थियो भने मैले कहिले थाहा पाउने थिइन। तर उनको सम्बन्ध त मेरै साथी संग रहेछ। मात्र प्रेम सम्बध भएको भए पनि मलाइ खासै फरक पर्ने थिएन होला तर उनहरुले त सारिरिक सम्बन्ध पनि जोडि सकेका रहेछन।” म जति जति सोच्दै गएं मनमा उति धेरै पीडा बढ्दै गयो। आंखाबाट कति खेर आँसु झर्यो पत्तो भएन। जलन अनि रिसले मेरो दिमाग शून्य झैं भएको थियो। मैले गोजिबाट फोन निकालेर उनलाइ फोन लगाएं। उताबाट आवाज आयो “हेल्लो….।”
मलाइ केही बेर सम्म केही बोल्न आएन। उनले फेरि बोलिन “किन नबोल्नु भएको…..?”
मैले ठूलो स्वरमा रिसाउदै भने “सब थाहा भयो मलाइ…. तिम्रो बारेमा।”
मैले यति बोलेपछी उनले सानो स्वरमा सोधिन “के थाहा भयो ? के थाहा थिएन र हजुरलाइ?”
मैले उस्तै स्वरमा भने “केही थाहा थिएन मलाइ… अब सब थाहा भयो ।”
उनको बोली रुञ्चे भै सकेको थियो। उनले फेरि सोधिन “के हो प्रस्ट भन्नू न कुरा नघुमाइ….।”
मैले झनै मुर्मुरिदै भने “तं को संग सुतेको थिस भनेर… सबै थाहा पाएं मैले।”
मैले पहिलो पटक उनलाइ तं भनेको थिएं । मेरो रुखो बोली सुनेर उनी रुन थालिन। मैले अझै थपें “भयो नाटक नगर्…. गर्ने बेलामा गरि हालिस।”
उनले रुंदै बोलिन ” किन यस्तो भन्नू भएको हजुरले…. मेरो बिस्वास लाग्दैन ?”
मैले झर्कदै भने “त्यहि बिस्वास गरेर त आज धोका भयो त।”
उनले फेरि रुंदै बोलिन “हजुरलाइ मैले केही ढांटेको छैन… कस्ले के भन्यो हजुरलाइ?”
मैले उसै गरि रिसाउंदै बोलें “भयो सकियो अब…. तलाइ मैले चिनी सकें…. सुत्ने बेलामा सुति हालिस अब नाटक गर्छेस .।”
मैले यति बोलि सकेपछि उताबाट केही जवाफ आएन। केही बेर रोएको सुनियो अनि फोन काटियो। मैले दोश्रो पटक फोन गर्ने कोसिस पनि गरिन। मलाइ साथी हरु भएतिर जान मन लागेन। मैले प्रकाशलाइ म्यासेज लेखे “म घर फर्की सकें तिमिहरु बिस्तारै आउनु।”
कोठामा पुगेर ओछ्यानमा पल्टिए अनि सोच्न थालें “के मैले उनलाइ यति धेरै गाली गर्न हुन्थ्यो? उनले हिजोको दिनमा जे सुकै गरेको भए पनि अचेल त उनी मलाइ सांच्चिकै माया गर्थिन। गल्ती मान्छे बाट हुन्छ, उनी बाट पनि भयो होला। प्रकाश नै मान्छे खराब छ, सायद उसले उनलाइ प्रेममा फसाएर त्यस्तो गर्यो होला। उनको यसमा के गल्ति? म यति धेरै बुझ्ने मान्छेले किन यस्तो कुरालाइ लिएर उनलाइ भन्नू नभन्नु गाली गरें।” यस्तो कुरा सोचे पछि मलाइ आफुले गल्ति गरेको महसुस भयो। उनी प्रती सहानुभुती जागेर आयो। मनमा जलन नभएको भने हैन तर पनि केही हद सम्म मैले आफ्नो मनलाइ बहलाउन सफल भएको थिएं। मैले फेरि फोन निकाकलेर उनलाइ फोन गर्न खोजें। तर उनको फोन स्विच अफ गरिएको थियो। मैले बारबार फोन लगाए तर उनको फोन अन भएन।

अर्को पीडा परेपछि मान्छेले पहिलो पीडा बिर्सदो रहेछ। मलाइ अब प्रकाशले सुनाएको कुराले भन्दा पनि उनको फोन नलागेकोले बढी पीडा हुन थाल्यो। भोलिपल्ट पनि दिन भर उनलाइ फोन गर्ने कोसिस गरें तर अंह कुनै बेला पनि उनको फोन अन भएन। दिनको ३ बज्न लाग्दा मैले बुबालाइ भनेर उहाको मोटरसाइकल मागें। साथिकोमा पुगेर आउंछु भनेर म सुरुंगा तिर उनलाइ भेट्नको लागि हानिए। मनमा अनेक कुरा खेली रहेका थिए। मेरो ध्यान बाटोमा भन्दा पनि उनलाइ भेटेर के बोल्ने भन्ने कुरामा थियो। अचानक अगाडिबाट एउटा ट्रक बत्तिएर आयो। म आत्तिएर त्यो ट्रकबाट तर्किन खोजें। मेरो मोटरसाइकल बाटो छोडेर छेउमा रहेको बिजिलिको पोलमा ठोक्कियो….।
घोपा हस्पिटलको बेडमा मेरो होश आयो। मेरो खुट्टामा भारी प्लस्टर बाधिएको थियो। अनि टाउकोमा पनि टेपहरु टांसिएका थिए। मेरो नजिकै आमा बुबा हुनुहुन्थ्यो अँध्यारो अनुहार लगाएर बस्नु भएको। मैले आँखा खोले पछि आमा मेरो नजिकै आउनु भयो आँखा भरी आँसु पारेर। मलाइ दुखाइको महसुस भएको थिएन तर आमाका आंखामा आँसु देखेपछी मेरा पनि आँखा भरिए। आमाले भन्नू भयो “साथिकोमा भनेर किन अर्का तिर गएको…. ध्यान कहाँ थ्यो तेरो…?”
मैले केही जवाफ दिइन। आमाले आँसु पुछ्दै भन्नू भयो “धन्न यति मात्र भयो…..।”
मैले सानो स्वरमा सोधें “के के भाको छ रे ?”
आमाले भन्नू भयो “देब्रे खुट्टा भाचिएछ। अरु खासै केही छैन।”
खुट्टा भाचिएको थाहा पाएर मेरो मुटुमा चस्का पस्यो। अनुहार झनै अँध्यारो भयो मेरो। आमाले मलाइ हेरेर भन्नू भयो “एक दुई महिनमा ठिक हुन्छ रे….. त्यस्तो धेरै डराउनु पर्दैन रे।”
मलाइ आफ्नो खुट्टाको भन्दा पनि धेरै चिन्ता अर्कै कुराको थियो। जुन पीडा म आमा बुबालाइ सुनाउन पनि सक्दैन थिएं। मैले आमालाइ सोधें “मेरो फोन खोइ?”
आमाले भन्नू भयो “खै थिएन तेरो साथमा त फोन…. उतै झर्यो होला ….छोड्दे…. बुबाले अर्को ल्याइ दिनु हुन्छ भरे भोलि।”
त्यो पटक हाम्रो घरमा दशैं आएन। अरुका घरमा आयो अनि सकियो पनि। दशैं सकिए पछि साथी प्रकाश अस्पतालमा नै आइ पुग्यो। उ आएर मेरो नजिकै टुल तानेर बस्यो अनि भन्यो “यार… यत्रो दिन सम्म आउन नि पाएन दशैंले गर्दा….।”
मैले भने “ठिकै छ नि… यहा आमा बुबा हुनुहुन्थ्यो, भै हाल्यो नि।”
उसले सोध्यो “अनि तलाइ कस्तो छ त अहिले ?”
मैले हांसे झै गर्दै भने “ठिकै छ यार… खुट्टा भाचिएको रे… बिस्तारै ठिक होला नि।”
उसले फेरि भन्यो “म नि अब भोलि फर्किन्छु काठमान्डौं। चांडै ठिक हो… आफ्नो ख्याल गर।”
म केही बोलिन। उ पनि निकै बेर सम्म चुपचाप मलाई हेरि रह्यो। केही बेर पछि उसले बोल्यो “अब जान्छु यार म…. इटहरिमा अलिकती काम छ… भोलि फर्कनु पर्ने।”

मैले सानो स्वरमा भने “ए सांच्चै… तैले भनेको त्यो दिप्तिको कुरा सांचो हो?”
उसले मलाइ चकित नजरले हेर्यो अनि भन्यो “कसरि दिप्ती भनेर चिनिस तैले?”
मैले भने “म चिन्छु उसलाइ…. एउटा साथिको घर नजिकै उनिहरुको पसल छ… त्यहिं चिनजान भएको।”
प्रकाशले केही बोलेन। उसको अनुहार थोरै अँध्यारो भयो। मैले फेरि भनें ” मलाइ त त्यो केटि त्यस्ती होलि जस्तो लाग्या थेन यार।”
केही बेर पछि प्रकासले लामो सास फेरेर भन्यो “तं संग के झुट बोल्नु यार… काठमान्डौंमा हामी एउटै कलेजमा पढेको… म उसलाइ मन पराउथे तर उ मलाइ मन पराउदिन थि…. यति नै हो कुरा।”
मैले हतारिदै सोधी हालें “अनि अस्ति त अरु नै कुरा भन्थिस त?”
उसले हांस्दै बोल्यो “त्यो रक्सी खाएको बेला बोलेको कुरा छोड न यार…. गफ लगाको नि केटाहरुलाइ।”
यति बोलेर उ त्यहां बाट उठेर बिदा भयो। मेरो मनमा भने पस्चतापको आगो बल्न थाल्यो। त्यो सब कुरा झुट हो भन्ने थाहा पाएर म खुशी हुन पर्नेमा म अझै धेरै दुखी भएको थिए। मैले बिना गल्ती उनलाइ त्यति नराम्रा सब्दले गाली गरेकोमा आफै संग घृणा बोध भयो। मलाइ त्यति नै बेला उनलाइ भेटेर माफी माग्न मन लागेको थियो। तर मेरो त उठ्न पनि सक्ने अवस्था थिएन। उनलाइ फोन गर्नका लागि म संग मेरो फोन पनि थिएन। एक पटक बुबाको मोबाइल मागेर पनि हेरें तर बुबाको अगाडि फोन गर्न सकिन अनि त्यसै छोडी दिएं।

केही दिन पछि बुबाले मलाइ एउटा फोन ल्याएर दिनु भयो। मैले उनलाइ फोन गर्न खोजें तर उनको फोन अझै अफ थियो। मैले बारबार कोसिस गर्दा पनि उनको फोन कहिले लागेन। अस्पतालमा बीस दिन कटेपछी मलाइ बुबाले घर लिएर फर्कनु भयो। म बैसाखी टेकेर थोरै हिड्न सक्न थालेको थिएं। तर मेरो खुट्टाको प्लस्टर भने खोलेको थिएन। म दिन रात उनलाइ फोन लगाउन खोज्थें तर कहिले लाग्दैन थियो। यसरी पखेटा काटिएको चरा झै छटपटिएर मैले दुई महिना कटाएं।
मङ्सिर सात गते मेरो खुट्टाको प्लस्टर खोलियो। थोरै असजिलो गरि भए पनि म हिड्न सक्न थालें। भोलिपल्ट बुबा पसल गएको केहि घन्टा पछि मैले आमालाइ भने “म पनि पसल जानू पर्यो…. घर बस्दा बस्दा अल्छी लाग्यो।”
आमाले भन्नू भयो “जाने भए जा नत, तर रिक्सा मा जानू…. खुट्टालाई धेरै बल नदिनु ।”
आमालाइ “हुन्छ” भनेर म घरबाट निस्किए। घर नजिकैको चोकबाट रिक्सा चढेर म दमक बजारको बस स्टेन्डमा पुगें। त्यहां बाट बस चढेर म दिप्तिलाइ भेट्न सुरुंगा तिर लागें।

सुरुंगा बजार पुगेपछी बसबाट उत्रीएर म दिप्तिको घर नजिकैको पान पसल अगाडिको बेन्चमा गएर बसें। उनको घरमा सामन्य भन्दा बढी नै मान्छेहरुको भिड थियो। तर उनी भने कतै देखिएकी थिइनन। म एकहोरो उनको घर तिर हेरेर उनैलाइ खोजी रहेको थिएं। घरको मुल ढोकाबाट उनको भाइ बाहिर निस्कियो। उसका र मेरा नजर जुधी हाले। उ रिसाएको अनुहार बनाएर म भए तिर आयो। म नचिने झै गर्दै यता उता नजर घुमाउदै त्यहिं बसि राखें। आइ पुग्ने बित्तिकै उसले झर्कदै बोल्यो “ओए तं किन आको यहाँ हं ?”
म चुपचाप केही नबोली बसि राखें “उसले मेरो टाउकोमा हातले ठेल्दै बोल्यो “किन आको भन मुजि….।”
मैले सानो स्वरमा भने “दिप्तिलाइ भेट्नु छ….।”
उसले सन्किदै भन्यो “तंलाइ किन भेट्न पर्यो दिप्तिलाइ ? ….. उसको बिहे छ पर्सि।”
उसको कुरा मेरो मुटुमा तिर झैं गाडियो। मन मस्तिष्क नै शून्य भयो। सयौं प्रस्नहरु एकै पटक उठे। मैले आत्तिएर सोधें “सांच्चै बिहे पर्सि उनको ?”
उसले उस्तै रुखो स्वरमा जवाफ फर्कायो “तलाइ के जिस्किए झैं लाग्यो मुजि… यहा बाट गइ हाल नत्र खान्छस दह्रो।”
मलाइ उसको रुखो बोलिले कुनै फरक परेको थिएन। मलाइ त मात्र उनको बिहेको कुराले नमीठो झट्का लागेको थियो। आंखाबाट आँसु झरेका थिएनन तर मन रोइ सकेको थियो। ओरिपरी सबै धमिलो देख्न थालेको थिएं। रिगंटा लाग्छ कि झैं भएको थियो। मैले जसो तसो आवाज निकालेर उसलाइ सोधें “के दिप्तिले नै बिहे गर्न मानेकी हुन?”
उस्ले कड्किएर भन्यो “मानेर त बिहे गर्न लागेको त… धेरै कुरा नगरी तं यहा बाट खुरुक्क गै हाल नत्र….।”
म संग बोल्नको लागि कुनै शब्द थिएनन। डाको छोडेर रुन मन थियो तर सकिन। म चुपचाप उठेर बाटो तिर लागें। पछाडी बाट उ कराउदै थियो “फेरि यता तिर देखें भने तेरो ढाड भांच्दिन्छु, याद राख रन्डिका बान।”

घर फर्केर कोठाको ढोका बन्द गरेर म धेरैबेर सम्म रोएं। आफ्नै गल्तिले यो भएको भन्दै आफैलाइ नाना थरी गाली गरे। उनी संग भेट भए देखि लिएर हामिले साथमा बिताएका सारा पलहरुलाइ सम्झिदा मुटु फुट्ला झै भएको थियो। कोठा भित्र जति रोए पनि बाहिर निस्किदा आफुलाइ सम्हाल्न नै पर्ने मेरो बाध्यता थियो। म आमा बुबालाइ फेरि अर्को चोट थप्न चाहन्न थिए। बेलुका मन नलागी नलागी खाना खाएर कोठा पसेपछी उनलाइ फेरि फोन गर्न खोजें तर सधैं झै उनको फोन बन्द नै थियो। म संग रुने सिवाय अरु कुनै बिकल्प थिएन। ओछयनमा पल्टिएर रुंदा रुदै कति खेर निदाएछु पत्तो भएन।
भोलिपल्ट बिहानको छ बजे मेरा आँखा खुलेका थिए तर मलाइ उठ्ने मन थिएन। म ओछ्यानमा नै पल्टेर दिप्तिको बारेमा सोच्दै थिएं। अब भोलि पल्ट देखि त दिप्ती अरु कसैकी हुँदै थिइन। यस्तो सोच्दा मेरो मुटु तीखो कांडा गाडिए झैं चस्कन्थ्यो। त्यति नै बेला अर्को कोठामा ल्यान्डलाइन फोनको घन्टी बज्यो। आमाले आएर फोन उठाउनु भयो। फोन मेरो लागि आएको रहेछ। आमाले कराउंदै भन्नू भयो “ए सन्तोष…. प्रकाशले फोन गरेका छन काठमान्डु बाट.. आएर बोल।”
म मन नलागी नलागी भए पनि उठेर फोन भएको कोठामा पुगें अनि फोन पकडें। उसले उताबाट आत्तिएको स्वरमा बोल्यो “ओए एउटा कुरा थाहा पाइस …..?”
मैले सानो स्वरमा भने “के कुरा हो…..?”
उसले फेरि भन्यो “यत्रो हल्ला चलेको छ अझै थाहा पाको छैनस….?”
मैले भने “अहं…. के कुरा हो?”
उसले भावुक स्वरमा बोल्यो “दिप्ती थि नि…… झुन्डिएर मरिछ यार… भोलि बिहे रैछ…. आज नै मरिछ बिचरा……. उसको एउटि साथिले सुनाएकी भर्खरै…..।”
मेरो मुख बाट केही आवाज निस्किएन। फोन भुइंमा झर्यो अनि आंखाबाट आशुका धारा बग्न थाले।

समाप्त।।

लेखक :- सन्तोष बस्नेत
सन्तोष बस्नेतका अर्को कथा पढ्न यहाँ क्लिक गर्नुहोस् :-असफल प्रेम अनी आत्महत्या

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)