आमा

Santosh Basnet

परदेशबाट घर फर्कने बेलामा आमालाइ फोन गरेर सोधें “के ल्याइ दिउँ त आमा?”

आमाले केहिबेर सोचेर भन्नू भयो “पैसा छ भने एक तोला सुन लिएर आइज न त बाबु।”

आमाले ‘सुन’ भन्ने बित्तिकै म झस्किएं। श्रीमतिलाई पनि जाँदा सुन अनि एउटा राम्रो मोबाइल लगिदिनु थियो। मैले अन्कनाउँदै आमालाइ भनें “त्यत्रो सुन किन्ने पैसा त कहाँ छ त म संग? म त अरु केही होलाकी भनेर….।”

मेरो कुरा सकिन नपाउँदै आमा बोल्नु भयो “पैसा छ भने मात्र ले भनेको बाबू, छैन भने केहि ल्याउन पर्दैन। तँ आए भै हाल्यो नि मलाइ।”
आमाले यति भनेपछी ढुक्क भएर मैले फोन राखी दिएँ।


घर पुगेको भोलिपल्ट बसि राखेको बेला आमाले एउटा सानो पोको मेरो हातमा राख्दै भन्नू भयो “सुन ल्याउन पनि सकिनस् यो पल्ट, सबैका बुहारी सुनै सुनले ढाकिएर हिंड्छन्। आफ्नी चाहिँ त्यही एउटा सिक्री भिरेर हिड्छे। यो मेरो तिल्लरीमा अलिकती थपेर एउटा राम्रो मंगलसुत्र बनाइ दे। म बुढिलाइ किन चाहियो अब, घर बाहिर निस्किने भएपो।”
म आमाका कुरा सुनी मात्र रहेँ, केही बोल्न सकिन।

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)