कथा:- पागल

सन्तोष बस्नेत

लगभग दुई बर्ष देखि उ मेरो गाउँ ओरिपरी भौतारिइ रहन्थ्यो। झुत्रा कपडा, खिएका चप्पल, लामा दारी अनि कपालले उस्को रुप उराठ लाग्दो देखिन्थ्यो। उ कहिले बरबराउदै हिड्थ्यो त कहिले खोलाको डिलमा बसेर रोइ रहेको देखिन्थ्यो। उ कहाँ बाट आएको थियो भनेर कसैलाइ थाहा थिएन। मान्छेहरुले उस्लाइ उसको बारेमा कहिल्यै सोधेनन पनि। सारा गाउंको नजरमा उ एउटा पागल मात्र थियो। साना बच्चाहरु उसलाइ देख्दा डराएर लुक्ने गर्थे अनि केही ठुला केटाकेटी उस्लाइ बहुला भन्दै जिस्काउथे। उ कुनै कुरामा ध्यान दिदैन थ्यो। एकहोरो बरबराउदै हिडि रहन्थ्यो। कसैले दया गरेर केही खान दिए खान्थ्यो त नदिए भोकै सुत्ने गर्थ्यो।

उ दिन बिराएर मेरो घर अगाडि आंगनमा आउथ्यो अनि बसिरहन्थ्यो चुपचाप। आमा कराउनु हुन्थ्यो “यो बहुला फेरि आएछ, खान पल्किए पछि नछोड्ने भयो यसले।” उ सुनेर पनि नसुने झैं गर्दै त्यही बसि रहन्थ्यो। आमा कराउदै भए पनि खाना लगेर दिनु हुन्थ्यो। उ खाना खाइ सक्थ्यो अनि जुरुक्क उठेर उस्तै बर्बराउदै बाटो तिर लाग्थ्यो। म सोच्थे, यो मान्छे कहाँ बाट आयो होला ? कसरी यस्तो भयो होला ? यसका परिवार छन कि छैनन होला? उसलाइ देख्दा मेरो दिमागमा यस्तै प्रश्नहरु आउथे तर मैले कहिले उसलाइ बोलाएको सम्म थिएन। बोलाउं पनि किन ? उ त सबैका नजरमा एउटा पागल थियो अनि मेरो नजरमा पनि।

उसले आफ्नो घर खोलाको पुललाइ बनाएको थियो। पुलको मुनि उसले केही थांग्ना कपडाहरु भेला गरेको थियो। दिन भर यता उता हिडिरहे पनि हरेक रात उ त्यही पुल मुनि बिताउने गर्थ्यो। कहिलेकाहिं उ आधारात सम्म खोलाको डिलमा बसेर गित गाउथ्यो। उ धेरै जसो नारायण गोपालका गित गाउथ्यो। त्यसमा पनि उसले सबै भन्दा बढी गाउने गित थियो “मुटु जलि रहेछ……।”
एकदिन म बेलुका पख खोला पारिको गाउँ तिर जाँदै गर्दा उ त्यही खोलाको डिलमा बसेर एउटा कागज झैं देखिने केही हेर्दै रुदै थियो। म नजिक पुग्नै लागेपछि उसले त्यो हातको चिजलाइ हतार हतार ज्याकेटको गोजिमा राख्यो अनि डराए झैं म पटि फर्किएर हेर्यो। मैले उसको नजिकै लगेर मोटरसाइकल रोकें अनि सोधें “किन रोएका छौ?”
उसले आंखाका आँसु पुछ्दै कामेको स्वरमा बोल्यो “रोएको हैन सर….।”
मैले फेरि सोधें “अनि त्यो के हेर्दै थ्यौ त ? पढ्न आउँछ ?”
उसले केही नबोली आफ्ना नजर खोला तिर घुमायो। मैले अलिक ठूलो स्वरमा सोधें “केही पढे जस्तो लाग्दै थियो, फेरि हतार हतार लुकायौ, के हो त्यो भनत ?”
उसले मेरो प्रश्नको कुनै जवाफ दिएन। त्यहांबाट जुरुक्क उठ्यो अनि पुल मुनि तिर लाग्यो। मेरा मनमा उसलाइ सोध्नको लागि धेरै प्रश्नहरु थिए तर उसले म संग कुनै कुरा गर्न नचाहे पछि म खिन्न हुँदै आफ्नो बाटो लागें।

एकदिन म घरमा बसि राखेको बेला कार्की बा आइ पुगे। कार्की बा हाम्रो गाउंका गन्ने मान्ने मान्छे मध्य एक हुन। उनी आएर मेरो नजिकैको मुडामा बसे अनि भने “हौ केटा, त्यो बहुलालाइ गाउंबाट खेदाउन पर्ने भयो हौ। ठिक छैन जस्तो छ त्यो…..।”
कार्की बाका कुरा सुनेर मैले चकित हुँदै भने “के भयो र त्यस्तो ? फटाइं काम त गर्दैन थ्यो त त्यसले।”
कार्की बाले लामो सास फेरेर बोले “प्रधानकी छोरिलाइ हिजो पकडेर तान्यो अरे….।”
उनका कुराले म अचम्मित भएं। आज सम्म त्यसले कसैलाइ बोलाएको सम्म पनि थाहा थिएन मलाइ। मैले केही गहन हुँदै बोलें “त्यो नौ बर्षकि बालख केटिलाइ किन तान्यो होला र त्यसले ….?”
कार्की बाले मलाइ हेर्दै केही सानो स्वरमा बोले “त्यस्ता बहुलाको के भर हुन्छ र …… धिमाल कान्छाले नै देखेको रहेछ त्यो केटिलाइ समातेको…. धन्न त्यसले कराएछ र छोडेछ।”
मैले केही बोलिन। किन किन मलाइ उनका कुरामा बिस्वास नै लागि रहेको थिएन। सायद मैले त्यो मान्छेका आंखामा एउटा असल मान्छे देखेको थिएं। कार्की बाले मुडा बाट उठ्दै भने “खेदाउन नै पर्छ त्यसलाइ…. पछि केही भइ हाल्यो भने फेरि……. अहिले कता गएको छ कोनि आएपछि सबै गएर लखेट्न पर्छ।”
म यो पटक पनि केही बोलिन। कार्की बा उठेर पल्ला घर तिर लागे।
दिउँसो टिभी हेरेर बसेको बेला बाहिर बाट पल्ला घरे काका कराए “ओए सन्तोष, सबै जना त्यो बहुलालाई लखेट्न जाँदै छन त, तं चाहि जांदैनस?”
त्यसलाइ लखेट्न नै लागेको थाहा पाएर मेरो मन सिरिङ्ग भयो। म हतार हतार बाहिर निस्किए। बाटोमा एक हुल मान्छे हरु पुल तिर जाँदै थिए। केही उरान्ठेउला केटाहरुले हातमा लाठी पनि बोकेका थिए। म केही बेर सम्म त्यो हुललाई हेरर जाउं कि नजाउं भनेर सोची रहे। कसैले पिटि पो हाल्ने हुन कि उसलाइ भनेर म चिन्तित भएको थिएं। म त्यो मान्छेलाइ गाउंबाट निकाल्न बाट त रोक्न सक्दैन थिए तर त्यसलाइ कुट्न चाहि दिन हुन्न सोचेर म उनिहरुको पछि लागें।

उ सधैं झै खोलाको डिलमा बसेर टोलाइ रहेको थियो। मान्छेको हुल होहल्ला गर्दै उ तिर बढ्दै गरेको देखेपछि उसले चकित नजर गाउंलेहरु तिर घुमायो। नजिकै पुगेपछी कार्की बाले बोले “तं मान्छे ठिक रहेनछस, अब हाम्रो गाउंमा नबस तं, जहाँ बाट आएको होस त्यतै जा।”
उसले आफ्नो अनुहार अँध्यारो बनायो अनि कार्की बालाइ हेर्दै भन्यो “किन र हजुर…म यो खोलामा बस्दा के भयो र गाउंलेलाइ ?”
उसले त्यति बोल्ने बित्तिकै प्रधान बाले उस्लाइ एक झापड लगाए अनि भने “अझ के भयो भन्छस ? हिजो मेरि छोरिलाइ किन पकडेको….?”
उसले केही बोलेन, आंखाभरी आँसु पारेर गाउंले तिर हेरि रह्यो। प्रधान बा फेरि उसलाइ कुट्न तात्तिदै थिए तर कार्की बाले रोके पछि उनी चुप बसे। कार्की बा कड्किएर बोले “अब तं यहाँ बाट बाटो लागि हाल, नत्र यी केटाहरुले तेरा हात खुट्टा भांच्छन।”
यति भन्दा पनि उ नटेरे झैं त्यही बसि रहेपछी एउटा केटाले उस्को ढाडमा लाठी बजार्यो। उ रन्थनियो अनि ढाड छाम्दै निरही अनुहार बनाएर त्यहां बाट उठ्यो। त्यो केटाले फेरि उस्लाइ प्रहार गर्न खोज्दै थियो तर कार्की बाले दिएनन। कार्की बाले उसलाइ हेरेर बोले “तं अटेरी नगरी यहाँ बाट गइ हाल, नत्र तंलाइ मार्छन आज…।”
उसले आंखाबाट आँसु चुहाउदै एकपटक गाउंले तिर हेर्यो अनि फर्केर सरासर पुल पारी तिर हिड्यो। कार्की बा कराए “तेरा थांग्ना लिएर जा…..।”
उसले कार्की बाको कुरालाइ वास्ता गरेन। उ पछाडी नफर्की अगाडी हिंडी रह्यो। प्रधान बाले बोले “जाओ केटा हो त्यस्लाइ रतुवा खोला कटाएर आओ……।”
केटाहरु दौडदै उसको पछाडी कुदे। कसैले ढुंगा टिपेर हान्न थाले त कोहि कराउन थाले ” फर्केर आइस भने मर्छस तं…….।” उ छिटो छिटो पाइला चाल्दै अगाडि बढी रह्यो…।
त्यो पुलमा हामी केही जना मात्र बांकी थियौ। कार्की बाले भने “ती थांग्ना फाल्दिम अब…..।”
प्रधान बाले पनि उनको कुरामा सहमती जनाए। कार्की बा, प्रधान बा लगाएत अरु सबै जना पुल मुनि तिर गए पछि म पनि उनीहरु संगै तल तिर गएं। त्यहां केही प्लास्टिकका बोतल, थोत्रा थांग्ना ओड्ने ओछयाउने अनि छेउमा झुन्डिएको एउटा थोत्रो ज्याकेट बाहेक अरु केही थिएन। कार्की बाले प्लास्टिकका बोत्तललाइ लात्तले हान्दै खोला तिर झारी दिए। प्रधान बाले ओड्ने ओछ्याउने नाक खुम्च्याउदै उठाएर अलिक पर फ्यांक्न लिएर गए। मेरो नजर त्यो छेउमा झुन्डिएको ज्याकेटमा पर्यो। मैले त्यो ज्याकेट निकाले अनि गोजिमा हात हाले। त्यहां एउटा कागज जस्तो केही चिज थियो। मैले बाहिर निकालेर हेरें। फोटो थियो त्यो। मैले सुटुक्क फोटो आफ्नो खल्तिमा राखें अनि ज्याकेट कार्की बालाइ दिएं। त्यहांका हरेक कुरा फाली सकेपछी हामी घर फर्कियौ। त्यो पागललाइ खेदाउन गएका केटाहरु पनि फर्किएर आए।

घर पुगेपछि कोठामा पसेर मैले आफ्नो खल्ती बाट त्यो फोटो निकाले अनि नियालेर हेरें। त्यो फोटो बिहेको फोटो थियो, बेहुला अनि बेहुलिको। देखे झैं लागे पनि धेरै बेर सम्म मैले अड्कल पाउन सकिन कोहो भनेर। धेरैबेर नियाले पछि त्यो फोटोको बेहुलो त्यही पागल भएको निस्कर्षमा पुगें। बेहुली पनि मैले देखेकै जस्तो अनुहार थियो तर ठ्याक्कै दिमागमा आइ रहेको थिएन। धेरैबेर सम्म नियाले पछि मैले त्यो तस्बिरकि बेहुली पत्ता लगाएं। मलाइ रिंगटा लाग्ला झैं भयो। मुटुको गति तेज संग बढ्यो। तस्बिरकी बेहुली अरु कोहि नभएर प्रधान बा कि श्रीमती थिइन।
प्रधान बाकि पहिली श्रीमतिको अकालमै निधन भए पछि ४ बर्ष पहिले उनले एउटि बिधुवा आइमाइलाइ ल्याएका थिए। मान्छेहरु भन्थे “उनको श्रीमान बिहे भएको केही महिनामा अरब छिरेका तर केही बर्ष पछि उनी मरेको खबर मात्र आएको थियो रे।” प्रधान बाले उनलाइ ल्याउंदा उनकी छोरी पांच बर्षकि थिइ। प्रधान बाले त्यो छोरिलाइ आफ्नै छोरी झैं पालेका थिए। श्रीमति पनि पुरानो जिन्दगी सबै भुलेर प्रधान बा संग खुशियाली पुर्ण जीवन बिताउंदै थिइन।
तस्बिर हेरे पछि मलाइ सबै कुरा छर्लङ्ग भयो। सबैका नजरको त्यो पागल मेरा नजरमा पागल नभएर एउटा भाग्यले ठगेको दुखी मान्छे मात्र रह्यो। मैले त्यो तस्बिरलाइ जतन साथ दराजको भित्र पटि लुकाएं कुनै दिन भेटेछु भने दिन्छु भनेर।
तर त्यो पागल कहिले कतै भेटिएन……।

समाप्त।

सन्तोष बस्नेतको अर्को कथा पढ्न यहाँँ क्लिक गर्नुहोस् :- कथा:- तँलाई रोएको सुहाउँदैन

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)