प्रेम अनी गीत

लेखक: सन्तोष बस्नेत

टिमिक्क शरिरमा मिलेका कुर्था सुरुवाल, ओठमा हल्का पोतिएको लिपस्टिक, कालो स्ट्रेट गरेर छोडेको कपाल अनि आँखामा मिलाएर लगाएको गाजल। उनलाइ देख्दा लाग्थ्यो, उनी नै सृष्टिको सबै भन्दा सुन्दर सिर्जना हुन्। उनी मेरो नजिक आउने बित्तिकै म उनलाइ हेरेर मुस्कुराउंदै सधैं एउटै गित गुनगुनाउने गर्थें “गाजलु ती ठुला ठुला आँखाSss तिर बनी बसे यो दिलैमा…… कालो लामो परेली केसSss….।”
एकपटक उनले सर्माउदै भनेकी थिइन् ” फेरि जिस्काउन थाली हाल्नु भयो है?”

मैले उनका हातमा पकडेर आफू तिर तान्दै भनेको थिएं “यति राम्रो गित गाई दिदा पनि जिस्काएको हुन्छ त लाटी?”
उनले मेरो छेउमा बसेर मलाइ हेर्दै भनेकि थिइन् “जिस्काएको त हो नि, सधैं एउटै गित गाएर जिस्काउनु हुन्छ हजुर।”
मैले उनको कुममा हात राख्दै भनेको थिए “मलाइ सबै भन्दा बढी मन पर्ने गित हो सानू यो…. राम्रो छैन र?”
उनी मेरो अनुहारमा हेरेर हांस्दै बोलेकी थिइन् “राम्रो त छ तर मलाइ त यस्ता गित त्यति मन पर्दैनन्।”
मैले सोधेको थिंए “अनि तिमिलाइ कस्ता गित मन पर्छन् त ?”
उनले उस्तै हांस्दै बोलेकी थिइन् “नया गित नि, पप गितहरु।”

मैले उनलाइ तानेर अंगालो हाल्दै भनेको थिएं “आफू त पुरानो जमनामा नै छु अझै, पप सप भन्दा यस्तै मन पर्छ मलाइ त…..।”
उनले जिस्किदै भनेकी थिइन् “म बिस्तारै नयां जमानामा ल्याइ हाल्छु नि अब।”
मैले उनको अनुहारमा हेर्दै भनेको थिएं “कसरी ल्याउछौ हौ सानु नया जमानामा ?”
उनले हांस्दै छेउमा रहेको उनको मोबाइल तानेर गित बजाउदै बोलेकी थिइन् “यी यसरी ल्याउछु नि।”
उनको मोबाइलमा सुगम पोख्रेलको गित “मेरो संसार तिमी नै हौ…… बांच्ने आधार तिमी नै हौ” बज्दै थियो। उनी मेरो अंगालोमा कसिएकी थिइन् अनि उनका र मेरा ओठहरु एक आपसमा जोडिएका थिए।

समय बद्लियो। हाम्रो प्रेम भन्दा परिस्थिति बलियो भैदियो। नचाहेर पनि उनको र मेरो प्रेम सम्बन्ध बिचैमा चुडियो। उनले अरु कसैको सिन्दुर लगाइन्। मैले ज्युनका लागि पिउन सुरु गरें।
उनको बिबाह भएको ६ बर्ष पूरा हुंदा पनि उनका यादहरुले मलाइ सताउन भने छोडेनन् कहिले। जब म एकान्तमा बसेर ती पुराना पलहरु सम्झन्छु तब मेरा आँखाहरु रसाएका नै हुन्छन्। रक्सिको नसामा भएको बेला त उनको झनै बढी याद आउँछ। कहिले काहीँ त सानो बच्चा झैं रोइ दिन्छु पनि।

मेरो एउटा साथिको माध्यम बाट मैले उनको फोन नम्बर पाएको थिएं। तर उनलाइ फोन् गरेर बोल्ने भने कहिले आंट आएको थिएन। एक पटक रक्सी पिउदै गर्दा बहकिएर मैले उनलाइ फोन लगाएं। उता बाट उनको आवाज आयो “हेल्लो….।”
बर्षौं पछि उनको आवाज सुन्दा मलाइ भक्कानो छुट्ला झैं भएर आयो। जसोतसो आवाज निकालेर मैले बोलें “हेल्लो… के छ तिम्रो खबर ?”
उनले सोधिन् “को बोल्नु भएको हजुर ? मैले चिनिन त ।”
मैले लामो सास फेरेर सानो स्वरमा भने “सन्तोष हो म, सायद अब चिन्छौ कि…।”
उनले उताबाट उत्साहित हुँदै बोलिन् “अरे हजुर….. कसरी…?”

मेरा आँखा बाट आँसुका धारा बग्न थाले, गला अवरुद्ध भयो। मैले केही बोल्न सकिन अनि फोन काटी दिएं। लगत्तै उता बाट फोन आयो। मैले फोन नउठाइ बाथरुम गएर मुख धोएं। रुन बन्द गरें। आफुलाइ जबर्जस्ती कठोर बनाए।
बाथरुम बाट फर्कदा पनि फोनको घन्टी बजि राखेको थियो। मैले आफुलाइ सम्हालेर फोन उठाए अनि बोलें “अं भन…..।”
उनले उता बाट सानो स्वरमा बोलिन् “फोन गरेर किन नबोली काट्नु भएको ?”
मैले भने “काटेको हैन आफै काटियो…. अनि के छ खबर तिम्रो?”
उनले उदास स्वरमा भनिन् “ठिकै छ त, हजुरको नि ? कहाँ हुनु हुन्छ अचेल ?”
मैले अझै कठोर स्वर बनाउंदै भनें “त्यहिं त हो नि पुरानै ठाउंमा, खबर ठिकै छ, सबै राम्रो।”
उनले फेरि सोधिन् “अनि अचेल के गर्नु हुन्छ त?

मैले हांसे झैं गर्दै भनें “के गर्नु र… दिन भर जागिर अनि राती रक्सी… यति त हो।”
उनी निकै बेर सम्म केही बोलिनन्। उनको नजिक बाट एउटा सानो बच्चाको आवाज आयो “मामु म पनि बोल्ने नि…।”
मैले उनलाइ सोधें “नानी त बोल्ने भइ सकेछन् त, छोरा कि छोरी?”
उनले उस्तै सानो स्वरमा भनिन् “छोरा हो, पांच बर्षको भयो।”
मैले झट्टै बोली हालें “ए ठुला भइ सकेछन् त, खै बोलुम न त तिम्रो छोरा संग।”
उनले केही नभनी आफ्नो छोरालाइ फोन् दिइन्। मैले थोरै सानो स्वर बनाएर बोलें “हाइ..।”

उता बाट तोते बोली आयो “हेल्लो…।”
मैले उसै गरि सोधें “बाबुको नाम के हो?”
उसले भन्यो “प्लबिन….।”
मैले हांस्दै भनें “प्रबिन हो कि प्लबिन ?”
उसले लजाउदै बोल्यो “प्लबिन….।”
मैले फेरि सोधें “अनि बाबू कतिमा पढ्छौ त?”
उसले उस्तै स्वरमा बोल्यो “नल्सलीमा….।”
मैले जिस्काउदै सोधें “अनि पढेर ठूलो भएर के बन्ने त बाबु?”
उसले केही ठूलो स्वरमा बोल्यो “सिङ्ल बन्ने…।”
मैले हांस्दै सोधें “के हो त्यो सिङल भनेको फेरि?”
उसले फेलि बोल्यो “गित गाउने सिङल के…।”

मैले उस्तै हांस्दै बोलें “ए ए सिङ्गर पो? तिमिलाइ गित गाउन आउंछ?”
उसले आत्तिदै बोल्यो “आउँछ नि……।”
मैले जिस्काउदै भनें “एउटा गित गाएर सुनाउन त ।”
उस्ले सोधी हाल्यो “कुन गाउनु…?”
मैले भने “तिमिलाइ जुन राम्रो आउँछ त्यही सुनाउन ।”
उसले “हस्” भनेर तोते स्वरमा गित गाउन थाल्यो….. “गाजलु ती थुला थुला आँखाSss तिल बनी बसे यो दिलैमा…….. कालो लामो पलेलि केस छाल बने कलिलो मायामा…….. ।”

उस्ले गाएको गित सुनेर मेरो मुटु सिरिङग भयो। ती पुराना पलहरु एक एक गरेर मेरा आंखामा नाच्न थाले। आंखामा आँसु भरिएर मधुरो देखिन थाल्यो। मैले जसो तसो सोधें “कसले सिकायो तिमिलाइ यो गित?”
उसले माया लाग्दो तोते बोलिमा भन्यो “मामुले…. यो मामुको फेब्लेत गित हो नि त।”
मैले मात्र “ए” भनेर फोन काटी दिएं। त्यस पछि उता बाट पनि फोन आएन।

समाप्त।

सन्तोष बस्नेतको अर्को कथा पढ्न यहाँँ क्लिक गर्नुहोस्। :- अन्धो प्रेम

Leave a Comment

Enable Google Transliteration.(To type in English, press Ctrl+g)